अनुभूति: पुरानै लयतिर

- मञ्जुल

म बिरामी भएँ, निकै नै बिरामी भएँ । हातमुख धुनु, खाना खानु, औषधि सेवन गर्नु, सुत्नु मेरो दैनिकी यत्ति नै भयो । 

धेरैजसो आफैँले र कहिलेकाहीँ शुभेच्छुकहरूको मद्दतले विभिन्न समयमा, विभिन्न ठाउँमा भिन्न–भिन्न उपचारकहरूसामु र आवश्यक पर्दा पटक–पटक अस्पतालमा लगेर सुस्मिताले मेरो उपचार गराइन् । औषधि खाएको लामो समयपछि बल्लबल्ल म अलि तंग्रिएजस्तो भएँ । म अलि सञ्चोजस्तो भएँ ।

घरको दैनिकी स्वाभाविक भएर चल्न थाल्यो । पढ्न जानेहरू पढ्न गइरहेका थिए । पढाउन जानेहरू पढाउन जान थाले । साथी–शुभेच्छुकहरू सधैँ आइरहने कुरा भएन । सबैको आ–आफ्नो काम, सबैको आ–आफ्नो व्यस्तता । मैले चाहिँ समय के गरेर बिताउने ? मेरो अगाडि समस्या थियो । मैले सोचेँ, “म एक जना पाठक हुँ । मेरो घरमा थुप्रै किताबहरू छन् । म तिनै किताबहरू पढेर विभिन्न देश–देशावरका, विभिन्न कवि, लेखक र आख्यानकारहरूसँग भेटेर समय बिताउँछु ।”

मैले दराजबाट एउटा किताब निकालेर पढ्न खोजेँ । के भयो, के भयो ध्यान केन्द्रित गरेर मैले पढ्नै सकिनँ । किताबलाई पोखरी र आफूलाई माछाजस्तो बनाएर बसेको मेरो के हालत भयो, सजिलै अन्दाज गर्न सकिन्छ । एक–दुईपल्ट त मैले कोसिस गरेँ तर नभएपछि मैले बढी जोड गरिनँ । पढ्न निकालेको किताबलाई जस्ताको तस्तै जहाँको त्यहीँ राखिदिएँ ।

मैले पीडालाई मनमा लिइरहिनँ । बिरामी छु, त्यसैले अहिले मलाई यस्तो भएको होला । मैले आफ्नो स्थितिलाई स्वाभाविक रूपमा लिन खोजेँ । 

पढ्न त सकिनँ–सकिनँ, लेख्दा हुन्छ कि भनेर मैले लेख्न पनि कोसिस गरेँ । तर, मलाई नयाँ कुरा केही फुर्दै फुरेन । साहित्यलाई नै आफ्नो जीवन बनाएर बसेको मैले आफूलाई बोल्ने तर केही गर्न नसक्ने मुढोजस्तै अनुभूत गरेँ त्यसबेला ।

 त्यही बेलाको कुरा हो, मलाई भेट्न आउने साथीहरू र शुभेच्छुकहरूसँग मैले राम्ररी बोल्न खोजेँ, खुसी पार्न खोजेँ तर त्यसबेला मलाई फरर्र बोली पनि आएन । बोल्न त म बोल्थेँ तर अलिअलि । किफायत गरी गरी । मानौँ, मैले बोल्नै नचाहेजस्तो । 

यस्तो मलाई भइरह्यो । साथी–शुभेच्छुकहरू आउँदा धाराप्रवाह रूपमा बोल्ने, बोलेर कहिल्यै नअघाउने मेरो पहिलेको अवस्था र एकदमै कम बोल्ने, चुप लागेर बस्ने अहिलेको अवस्था साथी र शुभेच्छुकहरूले सजिलै थाहा पाउँथे । दु:ख लाग्थ्यो । तर, के गर्ने ? माया गर्नेहरू मलाई जस्तो गर्दा सजिलो हुन्छ, त्यस्तै गर्नु भन्थे । दु:ख मान्नेहरू पहिलेजस्तै गरी बोल्न कोसिस गर्नुपर्छ भन्थे ।

दराजमा सजाएर राखिएका पुस्तकहरू नचलाइने वस्तुहरूजस्तै देखिए । तिनीहरूलाई धूलोले छोप्न थाले । किताबहरू मात्र होइन, किताबहरू राखेको कोठा नै एक प्रकारले उपेक्षितजस्तै भयो । त्यहाँ जाने, किताब लिने, पढ्ने, फेरि सजाएर राख्ने कुरा त दन्त्यकथाजस्तै भयो ।

म बस्ने एउटा कोठामा, किताबहरू बस्ने अर्को कोठामा । किताबहरूदेखि टाढा भएर पो यस्तो भएको हो कि भन्ने पनि सोचिछन् सुस्मिताले । नजिकै राखिदिए केही हुन्थ्यो कि भन्ने पनि लागेछ उनलाई ।

त्यसैले उनले यसबारे मलाई माया गर्ने मेरा केही साथीहरूसँग पनि सल्लाह गरिछन् । साँच्चै किताबलाई अलि नजिकै राख्न पाए केही हुन्छ कि भन्ने उनीहरूलाई पनि लागेछ । त्यसपछि तीन तलामाथि राखिएका केही दराजहरूलाई र तिनीहरूमा अटाउने किताबहरूलाई भुइँ तलाको बैठक–कोठामा सारेर सजाउने विचार बनाएछन् । त्यसमा मेरो स्वीकृति छ–छैन भनेर उनीहरूले मलाई पनि सोधे । मैले उनीहरूको सोचाइमा कुनै अस्वीकृति जनाइनँ । 

दराजहरूलाई सफा पारेर रंगाइसकेपछि एक दिन उनीहरूले जस्तो सोचेका थिए, त्यस्तै गरे ।

अब त म मेरा प्रिय पुस्तकहरूलाई हरेक दिन तल आउँदा, माथि जाँदा, बाहिर निस्कँदा, भित्र पस्दा बरोबर देख्ने गर्थें । दर्शनका कालममा बसेर, कविता–कथाका कालममा बसेर, जीवनी–आत्मसंस्मरण, गैरआख्यानका कालममा छुट्टाछुट्टै बसेर किताबहरूले मलाई हेरिरहे । मलाई यस्तो होस् भनेर नै उनीहरूले यसो गरेका थिए । जस्तो सोचेको उस्तै भयो ।

बैठक कोठाभरि सजाएर राखिएका पुस्तकहरू । बीचमा घुम्ने मेच । म त्यसमा बसेर रमाइलो मानेर किताबहरूलाई चारैतिरबाट हेर्थें, हेरिरहन्थेँ ।

मलाई भेट्न आउने साथीहरू स्वभावैले किताबलाई माया गर्नेहरूमा पर्नुहुन्थ्यो । कतिपय शुभेच्छुकहरू पनि त्यही खेमाका हुनुहुन्थ्यो । ‘कोठै राम्रो भयो !’ कतिपयले मन थाम्न नसकेर भनिहाल्नुहुन्थ्यो, ‘अबचाहिँ कविको घरजस्तै देखियो ।’ मोबाइल निकालेर कि त मसँग कि सुस्मिता र मसँग फोटो खिचौँ भन्नुहुन्थ्यो । आउने पाहुनामध्ये कोही–कोही किताबको बीचमा बसेर सेल्फी खिच्नुहुन्थ्यो, कोही–कोही उहाँहरूको मोबाइल हामीतिर बढाएर आफ्नो फोटो खिचिदिन अनुरोध गर्नुहुन्थ्यो । त्यस्तो बेला हामी उहाँहरूको फोटो खिचिदिन्थ्यौँ ।

यतिसम्म हुँदा पनि मैले किताबलाई लिने र पढ्ने प्रयत्न गर्ने चाह उमार्ने कोसिस गर्न सकेको थिइनँ । म बरोबर किताबहरूलाई हेर्थें । हेर्दाहेर्दै, यताउति गर्दागर्दै म त्यो दिनको दिनचर्यालाई समाप्त गर्थें ।

हाम्रोमा आउने पाहुनाहरूमध्ये कोही हामीसँग भेटघाट गरेर, सुखदु:खका कुरा गरेर बिदा भएर जानुहुन्थ्यो । कोही–कोहीचाहिँ विनम्रतापूर्वक हामीसँग अनुमति लिएर मस्तसँग किताब पढेर जानुहुन्थ्यो । यस्ता पाहुनासँग अथवा बिहानको समय लिएर अध्ययन गर्ने पाहुनासँग बिहानको नास्ता या दिउँसोको समय लिएर अध्ययन गर्ने पाहुनासँग अपराह्नको खाजा सँगै बसेर खान पाउँदा हामीलाई बेहद खुसी लाग्थ्यो । तापनि, मैले चाहिँ ती किताबहरू पढ्ने बानी बसाउन सकिरहेको थिइनँ । 

किताब चलाउनेहरूमध्ये धेरैले आफ्नो उद्देश्य पूरा भएपछि किताब जहाँबाट जसरी निकालेको हो, त्यहीँ त्यसरी नै राखिदिनुहुन्थ्यो तर कोहीकोहीले भने अलि नमिलाएर पनि राखिदिनुहुन्थ्यो । सबभन्दा पहिले मैले नमिलेका किताबहरूलाई मिलाएर तिनीहरूलाई स्पर्श गर्न सुरु गरेँ । बिस्तारै मैले संग्रहहरू निकाल्ने र केही रचना पनि पढ्न सुरु गर्न थालेँ । यसो गर्दा मलाई त्यति दु:ख हुँदैनथ्यो । 

कान्तिपुरको उपस्थिति घरमा दिनहुँ हुन्थ्यो । सुस्मिता मैले पढोस् भन्ने उद्देश्यले नै अरू पत्रिकाका शनिवासरीय अंकहरू पनि किनेर ल्याइदिन्थिन् । बिस्तारै–बिस्तारै तिनीहरूमा भएका लेखहरू पढ्न थालेँ ।

कहिलेकाहीँ साथीहरू मलाई आफ्ना लेख–रचनाहरू सुनाउन मन गर्नुहुन्थ्यो । त्यो कुरालाई मैले स्वागतका साथ स्वीकार गरेँ । उहाँहरू ती रचनालाई आफैँ पढ्नुहुन्थ्यो, म उहाँ नजिकै बसेर सुन्थेँ । लेख–रचनाको वाचन सकिएपछि मेरो प्रतिक्रिया सुनेर साथीहरू खुसी हुनुहुन्थ्यो ।

मेरो स्वास्थ्यमा अझ विशेष सुधार होला कि भनेर छोराछोरी र मलाई प्रकृतिका सुन्दर–सुन्दर दृश्य भएका ठाउँहरू छानेर घुमाउन लैजान्थिन्, सुस्मिता । त्यसले मलाई राम्रो असर पारेको म अनुभव गर्थें । सुस्मिता खुसी हुन्थिन् । क्याम्पसमा पढाउन जानुपहिले मलाई राम्रो कापी दिँदै मसँग विनम्र अनुरोध गर्थिन्, ‘यसमा केही लेख्नूस् न † तपाईंले लेख्नुभयो भने मलाई खुसी लाग्छ ।’

उनी आश गरेर क्याम्पस जान्थिन् । म पनि केही लेख्न कोसिस गर्थें तर लेख्न नसकेर कापी जस्ताको तस्तै हुन्थ्यो । क्याम्पसबाट फर्किएकी आशावान् सुस्मिता मेरो त्यो हालत देखेर दु:खी हुन्थिन् । म झन् बढी दु:खी हुन्थेँ । अनि, फेरि उनी मलाई सान्त्वना दिँदै भन्थिन्, ‘आउँछ तपाईंलाई, पीर नगर्नूस् ।’

क्याम्पस छुट्टी भएका बेलामा, नानीहरूको स्कुल छुट्टी भएका बेलामा सुस्मिता हामी सबैलाई गाउँको घरमा जान प्रेरित गर्थिन् । माइतीहरू विदेशमा भएर खाली भएको त्यो घरमा हामी गइदिँदा घरको हेरविचार पनि हुन्थ्यो । त्यहीँ बस्ने, त्यहीँ खाने, त्यतैतिर घुम्ने व्यवस्था मिलाउँदा हाम्रा लागि केही दिनको ठाउँ परिवर्तनको मीठो अनुभव पनि हुन्थ्यो ।

यसरी नै गाउँ जाने हुँदा एकपल्ट सुस्मिताले मलाई सामानहरू लाने क्रममा केही किताबहरू पनि साथमा लैजान अनुरोध गरिन् । गाउँमा अनुभूतिले केही फरक रूप लिन्छ कि भनेर मैले पनि केही किताबहरू झोलामा हालेँ । मैले गाउँमा लगेका ती किताबहरू बिनाकुनै कठिनाइँ पढेर सिध्याएँ । मलाई अरू किताबहरू पढ्न मन लाग्यो । यो देखेर सुस्मिता मसँग धेरै खुसी भइन् । मलाई पनि उसरी नै खुसी लाग्यो ।

मलाई लाग्यो, मेरो पढ्ने बानी बिस्तारै ठीक ठाउँतिर आउँदैछ । 

हाम्रा शुभचिन्तकमध्ये एक जनाले हामीलाई हल्का योग र आयुर्वेदिक उपचारमा पनि निर्देशन गरिरहनुभएको थियो । घरका अरूको स्वास्थ्यमा त्यसको असर परेजस्तै मेरो स्वास्थ्यमा पनि त्यसको असर परेको हो कि जस्तो लाग्यो । समग्रमा म निकै खुसी भएँ । 

साथीहरू, शुभेच्छुकहरू, नातेदारहरूले बेलाबखत मलाई फोन गर्नुहुन्थ्यो, गर्नुहुन्छ । मलाई गरिने फोन प्राय: छोटा वाक्य बोल्दा पनि मीठो सुनिने हुन्छन् । म बोल्छु । उताबाट प्रतिक्रिया आउँछ, ‘अहो † बोली त कति राम्रो सुनेँ नि मैले !’

म खुसी भएर भन्थेँ, ‘ठीक–ठीकै छ ।’

अझ खुसीका वाक्यहरू आउँथे उताबाट । मलाई लाग्यो, मेरो बोल्ने बानी पनि बिस्तारै बिस्तारै ठीक दिशातिर आउँदैछ ।

एकपल्ट मलाई एक जना भाइको फोन आयो । उहाँले मसँग टेलिभिजनका लागि अन्तर्वार्ता लिन चाहनुभएको रहेछ, समय माग्नुभयो । मलाई राम्ररी अन्तर्वार्ता दिन सकुँलाजस्तो लागेन । केही दिन पर्खन अनुरोध गरेँ । उहाँले मान्नुभयो ।

केही दिनपछि फेरि उनै भाइको फोन आयो । यसपल्ट पनि उहाँलाई मैले केही दिन पर्खन अनुरोध गरेँ । उहाँले हस् भनेर फोन राख्नुभयो ।

फेरि एक हप्ताजस्तो पछि उही भाइको फोन आयो । उहाँले फोनबाटै यो दिन, यो समयमा मिल्ला कि दाइ भनेर पनि सोध्नुभयो । कति टार्ने ? मैले हुन्छ आउनूस् भनिदिएँ ।

भनेकै दिन, भनेकै समयमा आउनुभयो उहाँ । अन्तर्वार्ता राम्ररी सकिएपछि मैले मनमनै सोचेँ, ‘बेकारमा मैले अघिका अनुरोधहरू अस्वीकार गरेछु ।’

कार्यक्रमहरू हुन्छन् । साथीहरू, शुभेच्छुकहरू मलाई पनि बेला–बेला कार्यक्रममा बोलाउनुहुन्छ । जाऊँजस्तो लाग्यो भने सुस्मिताले लैजान्छिन् । गई पनि हाल्छु । अलि अप्ठ्यारो हुन्छ होलाजस्तो लाग्यो भने माफी माग्छु । माया गर्नेहरू हाँस्नुहुन्छ, गाली गर्नुहुन्न । मलाई लागेको छ, यो पनि एक दिन ठीक हुन्छ । 

प्रकाशित: मंसिर १५, २०७४