मन्त्री नै मन्त्रीको देश

- रुन्चे राइँलो

कुनै बेला मन्दिरै मन्दिरको देशका रुपमा चिनिन्थ्यो नेपाल । ०७२ सालको भूकम्पले धेरै सांस्कृतिक सम्पदाहरु ढले । ढलेका सम्पदा उठाउने फुर्सद नेपालीलाई छैन । किनभने, भूकम्पलगत्तै हामीले संविधान ल्याएका छौँ । संविधानलाई संस्थागत गर्न नौ–नौ महिनामा प्रधानमन्त्री फेर्न भ्याइनभ्याई छ । यतिले नपुगेर विगतका सम्पूर्ण कीर्तिमानलाई उछिन्दै साढे पाँच दर्जन मन्त्री नियुक्त गर्‍यौँ । यसो विचार गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने हाम्रो मौलिक पहिचान नै मन्त्री हुने देखिन्छ । त्यसैले मुलुकलाई मन्त्री नै मन्त्रीको देश बनाऔँँ । केन्द्रमा २५ भन्दा बढी मन्त्री राख्न नपाउने व्यवस्थालाई संशोधन गरौँ । र, केन्द्रमा स्थापित भइसकेको प्रचलनलाई अब प्रदेश–प्रदेशमा चलाऔँँ । एकपटक मन्त्री भइसकेकालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा राज्यबाटै सुविधा दिऔँँ । एक घर, एक मन्त्री, एक पूर्वविशिष्ट भएपछि मुलुक गरिबीबाट मुक्त । सन् २०२० भित्र त विकसित राष्ट्रको सूचीमा चढ्ने पक्का छ ।

प्रकाशित: मंसिर १५, २०७४