झटारो: माया लागेर आउँछ

- लक्ष्मण गाम्नागे

निर्वाचन जति नजिक आउँदैछ, उति नै मेरो मन भावुक भएको छ । जुन पार्टी देख्यो, त्यसैको माया लाग्छ । जो नेता देख्यो, त्यसैप्रति दया जाग्छ । कोही भन्छन्– अब मेरो मर्ने बेला भयो, अन्तिमपटक भोट पाउँm । कोही भन्छन्– युवा छु, लामो समय तपाईंको सेवा गर्छु, मौका पाउँm । बूढाको पनि माया लाग्छ, युवाको झन् माया लाग्छ । अघाएकाहरू अब खाँदैनौँ भन्छन्, नयाँहरू हामी चोखा छौँ भन्छन् । अघाएकाको पनि माया लाग्छ, भोकाको झन् माया लाग्छ । कसैको इतिहासमै धेरैपटक प्रधानमन्त्री भएर मात्रै मर्ने धोको छ, कसैको एकपटक भए पनि प्रधानमन्त्री भएर अमर हुने घिडघिडो छ । तिनको पनि माया लाग्छ ।    

मलाई सबैभन्दा धेरै माया अभूतपूर्व त्यागी नेता बाबुरामजीको लागेको छ । आजीवन कम्युनिस्ट पार्टीमा लागेर हिजो–अस्ति मात्र बीसौँ हजार युवकयुवतीलाई सहिद बन्न प्रेरणा दिने महान् क्रान्तिकारी नेतालाई आज आएर चुनाव जित्नकै लागि शेरबहादुुरले सुमसुम्याउँदै कमल थापाले पानी छम्किनुपर्ने भएको छ । यस्तो हरिबिजोग देख्दा कसको छाती भक्कानिँदैन ?   

प्रचण्ड कमरेडको मायाले पनि म बेलाबेला भुतुक्कै हुने गर्छु । ज्यानलाई हत्केलामा राखेर कम्युनिस्ट राज्य स्थापना गर्न देखेका कत्राकत्रा सपनाहरू एकपछि अर्को गर्दै त्याग्नुपर्‍यो उनले । एकैपल्ट दुई कान्ला, तीन कान्ला छलाङ हान्दै अन्त्यमा आएर आँखो र खुर्सानीजस्तो सम्बन्ध भएको एमाले, त्यसमा पनि केपी ओलीका शरणमा पुग्नुपर्‍यो । तिनले हिजो प्रहार गरेका व्यंग्यवाणहरू कलेजोमै दबाएर बाहिर–बाहिर अँगालो मार्नुपर्‍यो आज । साह्रै माया लाग्छ ।   

जसरी पनि बहुमत ल्याएर पाँच वर्ष एकलौटी सरकार चलाएर देशलाई तुरुन्तै समृद्ध बनाउने केपी ओलीका भीमकाय सपना बोकेर चुनावमा होमिएको एमाले पनि कम मायालाग्दो छैन । डन, दलाल, तस्कर र भ्रष्टाचारीलाई सेरोफेरोमा राखेर चुनाव जित्नुपरेको छ । उहिल्यै बिरामी भएर अशक्त भएका केपी कमरेड हाम्रो सेवा गर्नकै लागि जर्‍याकजुरुक उठेर मेची–महाकाली म्याराथन गरिरहेका छन् । धपेडी नै धपेडी छ । साह्रै माया लाग्छ ।   

कांग्रेस पार्टीको गति देखेर यो छाती झनै चस्किन्छ । वृद्धभत्ता खाएर आराम गर्ने उमेरमा दिनरात भुँडीको बोसो पगालेर घरदैलोमा कुद्नुपरेको छ । ७० वर्षमा नगरेको विकास ७० दिनमा गर्न कस्सिएको छ । चारपटक प्रधानमन्त्री भएर सकिनँ, सातपटक भएर विकासको गर्भाधान गर्छु भनेर देउवाजी कस्सिएका छन् । यिनलाई भोट दिन पाए, त्यसले यार्सागुम्बाकै काम गथ्र्यो कि भन्ने पनि लागेको छ । 

राप्रपाले पनि फुट्दा–फुट्दा साह्रै दु:ख पायो । त्यसको पनि मायै लाग्छ । मधेसवादी दलहरूको बलिदान सम्झ्यो भने डाँकै छाडेर रुन मन लाग्छ । जिन्दगीमा सुतेको ओछ्यान र लडेको लोटासम्म नउठाएका कलकलाउँदा ठिटाठिटी र केही प्रौढहरू जिब्रोमा ठेला उठाएर वैकल्पिक शक्ति भन्दै भोट माग्न हिँडेका छन् । ‘नदेखेसम्म को हो को हो, देखेपछि माया मोहो’ भनेझैँ तिनीहरूको पनि मायै लाग्छ ।   

पार्टी र नेताहरूको मायाजालको चक्रव्यूहमा परेर मेरो त आधा मासु भइसक्यो । भोट हाल्न जानु कि रुवि जोशीले गाएको यो गीत गुनगुनाउँदै घरैमा बस्नु, सल्लाह पाउँm ।   

‘तिम्रो पनि माया लाग्छ, उनको पनि माया लाग्छ

हुने भए मुटु काटी दुवैलाई आधा आधा बाँडिदिउँmजस्तो लाग्छ ।

प्रकाशित: मंसिर १३, २०७४