कसैले नदेखेको देश

  • नेपालमा काम गरिरहेका कतिपय गैरसरकारी संस्थाले काम देखाउने नाममा जथाभावी गरेको लेखकको कुराले उनीहरूको उपस्थितिमाथि प्रश्न उठाउने बेला आएको सन्देश दिन्छ ।

- मनबहादुर बस्नेत

‘गिद्धैगिद्धको सहर’ । फिल्म लुटमा काठमाडौँ उपत्यकाको भिडियो देखाउँदै बोलिएको संवाद हो, यो । मिलन बगालेको देशदृष्टि पुस्तक पढ्दा सिंगो देशमा गिद्धैगिद्धको बसोवास रहेछ भन्न कर लाग्छ । किनभने, यति सुन्दर ठाउँमा हामीले कंक्रिटका कुरूप बस्ती बसालिरहेका छौँ । बसोवास पद्धति, निर्माण संस्कृति र ग्रामीण विकासबारे लेखिएको यो पुस्तकले हामी को रहेछौँ भनेर चिनाइदिन्छ । पुस्तक पढ्दै जाँदा जीवनयापन गर्न नजान्ने लाछी पो रहेछौँ भन्न कर लाग्छ । हामी आफूलाई एक्काइसौँ शताब्दीका मानव भन्छौँ । तर, हाम्रो बसोवास र विकास पद्धति भने बेढंगको रहेछ भन्ने पुस्तकमा लेखिएको मात्र छैन, देखाइएकै छ । रिपोर्ताज शैलीमा लेखिएको पुस्तकले व्यावहारिक र सैद्धान्तिक ज्ञानको त्यान्द्रो जोडेको छ । 

निर्माण संस्कृति र ग्रामीण विकास गरी दुई खण्डे यो पुस्तक सिंगो मुलुकको चित्र हो । कुरूप चित्र । किन यस्तो भयो भन्ने जवाफसमेत पुस्तकमा भेटिन्छ । मानवीय जीवनशैली प्रकृतिविरुद्ध गयो भने त्यसले निम्त्याउने दुर्घटना नै हो । प्रकृतिसँग मिल्नुको साटो त्यसविपरीत निर्माण पद्धति अँगालेकाले कतिपय दुर्घटना बेहोरिसकेको र अझै धेरै संकट निम्त्याइरहेको तर्फ पुस्तकले सचेत गराउँछ । मापदण्ड मिचेर घर बनाउने, बनाउन दिने, आफ्नो मौलिकपन नराख्ने प्रवृत्तिले सिमेन्टका पक्की घरहरूले बलियो देखिने काठमाडौँ खाल्डो ज्यादै कच्ची रहेछ । ‘आकाश छेड्ने रहर’ शीर्षकमा भनिएको छ, ‘प्रकृतिसँग मिलेर आफूलाई सजिलो पार्ने चलन खर्लप्पै खाइसकियो । त्यसैले बाहिरबाट हेर्दा धनी देखिएको काठमाडौँ आफ्नै घरभित्र लुगलुग कापिरहेको छ ।’ 

‘अपार्टमेन्ट मन्थन’मा लेखकले यस्ता पेचिला प्रसंग उठाएका छन् कि यो उत्तरआधुनिक निर्माणबारे सायदै हामीले सोचेका छौँ । उनी भन्छन्, ‘सहर भनेको सिमेन्ट संरचना मात्र होइन, आत्मसहितको संरचना हो ।’ यसले जीवन दर्शन बोल्छ । मूलत: लेखक पुस्तकमा मौलिकपनसहितको संरचना निर्माणको पक्षमा खरो उत्रेका छन् । स्वपन बिर्सेर गरेका यावत् निर्माण र विकास आत्मबिनाका मात्रै हुन् । वास्तुशास्त्रबारे उल्लेख गर्ने क्रममा लेखकले एउटा रोचक कुरा उधिनेका छन्, हाम्रो निर्माण संस्कारमा कसरी हिन्दु वर्णव्यवस्था घुसेको छ भनेर । ब्राह्मण, क्षेत्रीय र शूद्र घडेरी बनेर वास्तुशास्त्रमार्फत यस्तो असमान कुरा छिरेको रहेछ । 

कुनै पनि राजनीतिक व्यवस्था हटाउनुको अर्थ त्यस व्यवस्थाका जम्मै चीज उखेल्नु होइन । तर, ०४६ को आन्दोलन र ०६२/०६३ को आन्दोलनमा यस्तै नगर्नुपर्ने काम भयो । राजा–महाराजाका सालिक फोरिए, उखेलिए, ढालिए । लोकतन्त्र उदार हुन्छ, हुनुपर्ने हो । तर, ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैँ हामीले इतिहास संरक्षण गर्ने र गरिबी हटाउने उदार सोच रोप्नै सकेनौँ । हामीले कस्ता शासकहरूसँग लडेर स्वतन्त्रता पायौँ भन्ने गर्विलो इतिहास देखाउने प्रमाण नै नष्ट गरेछौँ भनेर थकथकाउन बाध्य बनाउँछ पुस्तक पढ्दा । हाम्रो इतिहासका धरोहर संसारलाई देखाएर धनार्जन गर्ने माध्यम बन्न सक्थे । भक्तपुर नगरपालिकाले कसरी सम्पदा संरक्षण गरेर ढुकुटी भरिरहेको छ भन्ने उनले दसी नै पस्केका छन् । 

हाम्रो विकास पद्धति कति लहडमुखी छ भन्ने त गाउँहरू जोडेर बनाइएका नगरपालिका हेर्दै थाहा हुन्छ । योजनाबद्ध विकासको कुरै छैन । यसलाई लेखकले राजनीतिक नगरपालिकाको उपमा दिएको खुबै सुहाएको छ । योजनाबद्ध निर्माण र बसोवास पद्धति नभएकाले बजारीकरण हुन ठिक्क परेका यी राजनीतिक नगरपालिकाहरू हेरिसाध्य नहुने किटानी छ, पुस्तकमा । 

विकासोन्मुख मुलुकमा छिरेका गैरसरकारी संस्थाहरूले ती देश बनाउँदैछन् कि बिगार्दैछन् ? यो विश्वव्यापी बहसको विषय हो । नेपालमा काम गरिरहेका कतिपय गैरसरकारी संस्थाले काम देखाउने नाममा जथाभावी गरेको लेखकको कुराले उनीहरूको उपस्थितिमाथि प्रश्न उठाउने बेला आएको सन्देश दिन्छ । विकास–निर्माण मात्रै होइन, पुस्तकले समाजशास्त्र र राजनीतिक सन्देशसमेत दिएको छ । माओवादी लडाकूहरू राखेपछि चितवनको शक्तिखोर चर्चामा आयो । शक्तिखोरको राजनीतिक अर्थ भने पुस्तक पढेपछि थाहा पाइन्छ । मैमत्त हात्ती थुनिएको ठाउँमै युद्ध–उन्मादमा रमाएको विद्रोही फौज बस्नु (थुनिनु ?) संयोग मात्रै हो ? मैमत्त हात्तीको आतंक निस्तेज भएजस्तै युद्धको आतंक पनि त आखिर सकियो π यसको सांकेतिक अर्थ छ ।

पेसाले आर्किटेक्ट इन्जिनियर बगाले झर्रो भाषाशैलीका पनि आर्किटेक्ट नै रहेछन् । इन्जिनियरिङका धेरै कुरा आममानिसले नबुझ्ने खालका हुन्छन् । उनी बस्नयोग्य घर मात्रै बनाउँदैनन्, गहन कुरालाई सरल, मीठो, खँदिलो भाषामा सबैको दिमागमा बस्न योग्य शब्द बुन्दा रहेछन् । यसको तारिफ जति गरे पनि पुग्दैन । भाषा सरल भए पनि प्रवाह गर्ने सन्देश भने निकै चोटिलो । 

हिमाल गरिब कि पहाड ? वा तराई ? तथ्यांक छैन । कसैले अनुसन्धान गरेको भए सन्दर्भ सामग्री दिनुपथ्र्यो । तर, लेखकले मधेसलाई गरिब भनेर ठोकिदिए । यहाँनेर पुस्तकको विश्वसनीयतामाथि प्रश्न उठाउन सकिन्छ । स्थानीय भाषामा समेत केही दोष भेटिन्छ । ‘हामी टेर्दैनम केरे’ सोलुखुम्बुको गुदेलका केटाकेटीको भनाइ भनिएको छ । गुदेलको लबज होइन, यो । गुदेलकै भौगोलिक अवस्थिति दिँदा पनि त्रुटि छ । पुस्तकमा गुदेललाई सोलुखुम्बुको दक्षिण–पश्चिम क्षेत्र भनिए पनि यो दक्षिण–पूर्वी क्षेत्र हो । 

नेपाली समाजमा घरलाई ठूलो महत्त्व दिइन्छ । घर नबनाई जीवनचक्र नै अपूर्ण ठानिन्छ । तर, यसमा हुनुपर्ने सुरक्षा, आत्मा, जीवन्तता, सौन्दर्यको मूल्य भने ख्याल गर्दा रहेनछौँ । ‘नपरी चेत्ने देवता, परे चेत्ने मानिस, परेर पनि नचेत्ने पशु’ काजी कालु पाँडेले पृथ्वीनारायण शाहलाई दिएको यो अर्तीको पालना गर्नुपर्ने सन्देश दिन्छ, यो पुस्तकले ।

देशदृष्टि

लेखक : मिलन बगाले

प्रकाशक : सांग्रिला बुक्स

पृष्ठ : २३४

मूल्य : ३०० रुपियाँ

प्रकाशित: मंसिर १३, २०७४