मेरुदण्ड नै कमजोर

  • कमसल स्क्रिप्टको परिणाम स्तरहीन सिनेमा

- गोकर्ण गौतम

‘राम्रो पटकथामा राम्रो निर्देशकले उत्कृष्ट फिल्म बनाउन सक्छ । त्यही पटकथामा मध्यम स्तरको निर्देशकले कामचलाउ फिल्म बनाउन सक्छ । तर, पटकथा नै खराब छ भने अब्बल निर्देशकले समेत राम्रो फिल्म बनाउने सम्भावना हुँदैन ।’

जापानका विख्यात फिल्म निर्देशक तथा पटकथाकार अकिरा कुर ोसावाको यो भनाइ अस्वीकार गर्ने सायदै कोही फिल्मकर्मी होला । कुरोसावाझैँ सबैको मुखमा झुन्डिएको हुन्छ, पटकथा फिल्मको मेरुदण्ड हो । विडम्बना ! आधा शताब्दी पार गरेको नेपाली फिल्मको मुख्य समस्या नै कमसल पटकथा हो । निर्देशक, निर्माता, पटकथाकारदेखि फिल्मका जानकारहरूसम्म यस्तै भन्छन् । तर, पटकथा किन अब्बल हुँदैन भन्नेमा चाहिँ आरोप–प्रत्यारोप चल्छ । निर्माता/निर्देशकले पटकथाका लागि उचित समय र पारिश्रमिक नदिने अनि कागजमा लेखेको कुरा पर्दामा उतार्दा गुणस्तर अझ घटाइदिने लेखकहरूको आरोप हुन्छ । निर्माता/निर्देशकचाहिँ सुझबुझयुक्त पटकथाकारको खडेरी रहेको कोकोहोलो मच्चाउँछन् सधैँ । कलात्मक फिल्म नुमाफुङका निर्देशक नवीन सुब्बा भन्छन्, “दोष त जसलाई जसले लगाए पनि भयो तर हाम्रो मूल समस्या लेखनमै छ । भलै यसका दोषी निर्देशक र लेखक दुवै हुन् ।” 

फिल्म लेखन भनेको क्यामरा चलाएजस्तै प्राविधिक कुरा हो, जुन निश्चित संरचना र शैलीमा हुनैपर्छ । पात्रहरूको जीवन पनि आउनुपर्छ, मौलिक हुनुपर्छ । तर, केही अघिसम्म हिन्दी वा अरू कुनै विदेशी फिल्मबाट कथा र चरित्र लिने चलन थियो । कुन कथा छान्ने र कसरी लेख्नेभन्दा कुन फिल्मको हुबहु उतार्ने भन्नेतिर ध्यान दिइन्थ्यो । बल्लतल्ल पटकथा रचनात्मक लेखन हो भन्ने अवधारणा विकास भएको छ । तर, दृश्यमा चरित्रको संवेदना उतार्नभन्दा संवादमा बढी जोड दिने प्रवृत्ति अझ मेटिएको छैन । विषय नयाँ र गम्भीर त हुन्छ तर पटकथाको प्रस्तुति सोही अनुरूप सिर्जनशील हुँदैन । परिणामत: फिल्म फिक्का हुन्छ । 

एसिड आक्रमणको सवाल उठाएको रुद्रप्रिया यसको ज्वलन्त उदाहरण हो । अर्थात्, हाम्रा फिल्म मेकरले न सामान्य कथालाई असामान्य शैलीमा भन्न सकेका छन्, न संवेदनशील विषयलाई जीवन्त शैलीमा प्रस्तुत गर्न । केवल कामचलाउमै सीमित छ, हाम्रो लेखाइ र फिल्म । पटकथाकारसमेत रहेका निर्देशक मनोज पण्डितको बुझाइमा नेपाली साहित्यकै धरातल कमजोर छ । फिल्म पनि साहित्यको अभिन्न भाग हो । सोही कारण फिल्ममा त्यसको प्रत्यक्ष असर परेको छ । विषय छनोट, सोच्ने र प्रस्तुत गर्ने कथ्यशैली नै निरीह छ । दासढुंगा, बधशालाजस्ता यथार्थपरक फिल्मका निर्देशक पण्डित भन्छन्, “हामी सबैको धरातल निम्नस्तरीय छ । फिल्म ‘सिनेम्याटिक लिटरेचर’ हो भन्नेसम्म आत्मसात् गर्न सकेका छैनौँ ।” सायद यही कारण हुनुपर्छ, फिल्म र साहित्य अन्तरसम्बन्धित छन् भन्दा गिनेचुनेकै फिल्मकर्मी अझ पनि कुटिल हाँसो हाँस्छन् । 

तर, लेखकका आफ्नै व्यावहारिक कठिनाइ र नियतिलाई पनि नजरअन्दाज गर्न सकिन्न । व्यावसायिकताको चरम खडेरीका कारण पटकथाकारले सिर्जनाको उचित वातावरण पाउनु बालुवामा सुन भेटिएजस्तै हो । यहाँनिर ५० भन्दा बढी फिल्मका लेखक शिवम अधिकारीको भोगाइ सान्दर्भिक छ । उनले कतै लेखेका छन्, ‘अनौठो कुरा हामीकहाँ फिल्मको पटकथा लेखन हलवालाबाट सुरु हुन्छ । वितरकले परिमार्जन गर्छ, निर्माताले स्वीकृत गर्छ, निर्देशकले सही गर्छ अनि लेखक साक्षी बस्छ ।’ ९९ प्रतिशत निर्माता यही कोटिका रहेको उनको ठोकुवा छ । भर्खरै करिअर सुरु गरेका निर्देशक/लेखकले मात्र होइन, स्थापितले समेत निर्माताका यस्ता दबाब झेल्नु पर्छ ।

यसका लागि लुट २ को उदाहरण काफी हुन्छ । यस फिल्मका निर्देशक र लेखक हुन्, निश्चल बस्नेत । लुटबाट उदाएका बस्नेत यो समयका सर्वाधिक सफल निर्देशकमध्ये एक हुन् । उनले लुटको सिक्वेलका रूपमा लुट २ को पटकथा लेखेपछि निर्मातालाई सुनाए । जहाँ लुटकी ऋचा शर्माको संवाद मात्र थियो, पर्दामा उनको उपस्थिति हुँदैनथ्यो । तर, ‘हिरोइनबिना फिल्म चल्दैन’ भन्दै निर्माताले ऋचाको दृश्य समावेश गर्न दबाबमिश्रित आग्रह गरे । नाइनास्ती गर्दा पनि बस्नेतको केही जोर चलेन । उनी भन्छन्, “हिरोइनलाई फोकटमा देखाउन मिलेन । उनका लागि छुट्टै दृश्य थप्नुपर्‍यो । एकपछि अर्को थप्दै जाँदा मूलकथाको प्रवाह बिग्रियो । यसो गर्दा फिल्म ध्वस्त नै त भएन तर स्तरमा पक्कै गिरावट आयो ।” बजारले चाहे अनुरूपको मसला जबर्जस्ती घुसाउन निर्माताले गर्ने यस्तो हस्तक्षेप लेखकहरूको साझा भोगाइ हो, जसले पटकथाको सौन्दर्यमा भारी गिरावट हुने गर्छ । 

निर्माताको दबाब त छँदैछ, त्यसमाथि पटकथाका लागि लेखकले न पर्याप्त समय पाउँछ, न चित्तबुझ्दो पारिश्रमिक । अचेल बन्ने फिल्मको औसत लगानी एक करोड रुपियाँ हुन्छ । तर, निर्माताहरू उस्तै परे ५० हजार रुपियाँमै स्क्रिप्ट फुत्काउन खोज्छन् । त्यो पनि महिना दिनभित्रै । सकारात्मक समीक्षात्मक प्रतिक्रिया बटुलेको टलकजंग भर्सेज टुल्के र पशुपतिप्रसादका लेखक खगेन्द्र लामिछानेका अनुसार एउटा राम्रो पटकथा लेख्न घटीमा ६ महिना लाग्छ । यसो हुँदा एक वर्ष परिवार चल्ने पैसा माग गर्नु परिहाल्यो । तर, करोड–करोडको गफ चुट्ने निर्माता पटकथामा लगानी गर्न औधि कन्जुस्याइँ गर्छन् । जबकि, उनीहरू नै पटकथा फिल्मको गुदी हो भन्न पछि पर्दैनन् । लामिछाने भन्छन्, “हामीकहाँ ९० प्रतिशत फिल्म डुब्छन् । जसको पहिलो कारण कमजोर स्क्रिप्ट हो । तैपनि, उचित पटकथा छनोट गरेर डुब्ने सम्भावना न्यून गर्नतिर निर्माताको ध्यान जाँदैन ।” निर्माताले पटकथाको महत्त्व व्यावहारिक रूपमा आत्मसात् गर्न नसकेको तीतो स्थिति विद्यमान छ । 

रोचक पक्षचाहिँ हरेक फिल्मको सुरुको आइडिया गज्जब हुन्छ । प्लट लेख्दासम्म ठीकठीकै हुन्छ । त्यसलाई पटकथामा ढाल्दा स्तर झरिसकेको हुन्छ । कलाकारको अभिनय र छायाङ्कनसम्म आइपुग्दा त्यस्तै हालत हुन्छ । सम्पादनमा त गल्ती ढाकछोप गर्ने मात्र हो । निर्देशक बस्नेत भन्छन्, “हरेक चरणमा फिल्म बलियो हुँदै जानुपर्ने हो । तर, हामीकहाँ खस्कँदै जान्छ । बबाल होला भनेर बनाउन सुरु गरेको फिल्म हलसम्म आइपुग्दा फिस्स लाग्छ ।” त्यसो त, निर्मातासँग मात्र होइन, प्राय: निर्देशक र लेखकको ‘रिदम’ मिल्दैन । आफ्नो सोचाइ अनुरूपको फिल्म लेखिन्न भनेर एक्सन–कट् भन्नुपर्ने निर्देशक आफैँ कलम समात्छन् । लेखेजस्तो फिल्म बन्दैन भनेर पटकथाकारले लेखनमै आनाकानी गरिदिन्छ । जसले गर्दा हानि फिल्मलाई नै हुन्छ । जबकि, निर्देशकले लेखकलाई ‘ग्रुम’ गर्ने विश्वव्यापी अभ्यास हो । निर्देशक सुब्बा भन्छन्, “तर, हामीकहाँ नाम चलेको लेखक, चिनिएको कलाकार, बाठो सम्पादक र सहायक निर्देशक राखेर फिल्म बनाउने निर्देशकको बोलवाला छ । अनि के अपेक्षा राख्नू र !” यथार्थ पनि यही हो । कथालाई सिर्जनशील शैलीमा दृश्यमा व्यक्त गर्ने ल्याकत भएका निर्देशक औँलामा गन्न सकिन्छ । बरू कालो पोथीबाट मीन भाम र अविनाशविक्रम शाह, जात्राबाट प्रदीप भट्टराई अनि साँघुरोबाट विनोद पौड्यालले पटकथा लेखनमा सम्भावना देखाएका छन् । 

नेपाली फिल्मको लेख्य भाषा नै कमजोर रहेकोमा द्विविधा रहेन । तैपनि, कथा, उपन्यास, कविताजस्ता साहित्यका अन्य विधामा सफल लेखक फिल्मको पटकथा लेख्न आनाकानी गर्छन् । फिल्ममेकरप्रति भरोसा नहुनुको परिणाम हुनुपर्छ यो । नयनराज पाण्डे अब्बल दर्जाका उपन्यासकार मानिन्छन् । तर, उनले लेखेका फिल्म खासै सम्झनलायक छैनन् । तर, खुसीको कुराचाहिँ, फिल्म लेखनमा बिस्तारै साहित्यकारको आगमन हुँदैछ । कवि उपेन्द्र सुब्बाले कबड्डी, कबड्डी कबड्डी र देश खोज्दै जाँदा लेखे । उपन्यासकार बुद्धिसागर आफ्नै स्मृति आलेख ‘बर्मजंगको भिडियो’माथि पटकथा लेख्दैछन् । निगम श्रेष्ठ निर्देशित लालपुर्जाको पटकथा सुपरीवेक्षण फिक्सन डिजाइनर कुमार नगरकोटीले गरेका हुन् । पटकथाकार तथा अभिनेता लामिछाने भन्छन्, “साहित्य पृष्ठभूमि भएका लेखक पटकथामा आउँदा 

फिल्मको समृद्धि हुन्छ ।” 

तर, तत्काल त्यो स्वर्णिम समय आउने अपेक्षा राख्न सकिन्न किनभने अझै अधिकांश निर्माता/निर्देशकलाई पटकथा चुस्त बनाउन भन्दा सुटिङ गर्नै हतारो हुन्छ । 

प्रकाशित: मंसिर १३, २०७४