तर पनि गुड्दै छ जिन्दगी

  • जन्मजातै क्याल्सियमको कमी भएकाले नविना खनालको गोडाको हड्डी भाँच्चिएर धूलो भएको रहेछ ।

- रवि मानन्धर

पाल्पाबाट राजधानी फर्कने क्रममा तनहुँको दमौलीछेउको एउटा दृश्यले ध्यान खिच्यो तर फोटो खिचिनँ । झन्डै एक किलोमिटर बढेपछि मन मानेन । आखिर को थिए ह्विलचेयरमा बस्ने र ठेल्ने बालबालिका ? अनि, फनक्कै फर्किएँ । राजमार्ग किनारमै रहेछन्, उनीहरु । तस्बिर खिचेँ र गफ गर्न खोजेँ । तर, तीनै जना नि:शब्द रहे । बाबुआमाको फोन नम्बर मागेँ । तीमध्ये केटोले अँध्यारो मुख लगाउँदै नजिकैको पसलतिर इसारा गर्‍यो । पसले उनका मामा रहेछन् । उनै कृष्णराज खनालसँगको भेटपछि उनीहरुबारे छर्लर्ँग भयो । ह्विलचेयरमा बसेकी नविना खनाल १५ वर्षकी रहिछन् । उनी चार वर्षकी छँदा गुन्द्रीमा अल्झेर लडेपछि खुट्टा चल्न छोडेको रहेछ । जन्मजातै क्याल्सियमको कमी भएकाले उनको गोडाको हड्डी भाँच्चिएर धूलो भएको रहेछ । उपचारका क्रममा पोखराका अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले उपचार हुन नसक्ने बताएपछि उनी ह्विलचेयर जीवन बिताउन बाध्य भएकी रहेछिन् । 

नवीनाको दु:ख यत्तिमै थामिएन । भारतमा काम गर्ने उनका बुबा नीरज नायरले कहिलेकाहीँ पैसा पठाउँथे । तर, उनले पनि केही समयपछि वास्ता गर्न छाडे । दमौलीमा डेरा लिएर बसेकी आमा विमला त्यसपछि पैसा कमाउन भारतसम्म पुगिछन् । तर, सानो डुंगाले दु:खको नदी पार लागेन । अन्तत: तनावपूर्ण जीवनकै बीच विमलाको जीवन पनि मृत्युको दहमा डुब्यो । आमाको मृत्युपछि एकपटक घर आएका बाबुले केही दिन उनीहरुको रेखदेखको अभिनय गरे । तर, एक रात नवीना र भाइ आनन्दलाई कोठामा थुनेर बेपत्ता भए । घरबेटीले नवीनाका मामालाई खबर गरेपछि उनीहरुको उद्धार भयो । त्यसयता मामाघरको आश्रयमा छन्, यी टुहुरा । 

दुई वर्षअघि मात्र महेन्द्र मावि, गुणादीमा नर्सरीमा भर्ना भएकी नवीना अहिले यूकेजीमा पढ्छिन् । उनलाई स्कुल ल्याउने–लैजाने काम तीन वर्ष कान्छा भाइ आनन्दले गर्छन्, जो ७ कक्षामा पुगिसके । आनन्दको काममा छिमेकी एक बालिकाले सघाउँछिन् । कक्षा शिक्षक कल्पना श्रेष्ठ भन्छिन्, “नवीनाको पठनकलाबाट प्रभावित छँदैछु । सुन्दर अक्षर लेख्ने उनको कलाबाट झनै मोहित छु । बटारिएर पछाडि पुगेको हात अगाडि ल्याइदिएपछि उनले साँच्चै सुन्दर अक्षर लेख्छिन् ।” 

आमाको नागरिकताका आधारमा बल्लबल्ल यी दुवै जनाको परिचय–पत्र बनेको छ । नवीनाले विकलांग भत्ताबापत मासिक दुई हजार रुपियाँ पाउँछिन् । स्कुलले शुल्क नलिए पनि कापी–कलम, किताब र पोसाक त किन्नैपर्छ । राजमार्ग किनारैमा सानो पसल थापेर गुजारा चलाउँदै आएका उनका मामा कृष्णराजको पीडा भने बेग्लै छ । त्यो हो, वयस्क हुँदै गरेकी भान्जीलाई कसरी स्याहारसुसार गर्ने ? उनीसँग न ज्ञान छ, न त उपाय नै । भन्छन्, “कसैले साथ–सहयोग दिए ठूलो उपकार हुने थियो ।” 

प्रकाशित: मंसिर १२, २०७४