अजिब सञ्जीव

- राजकुमार बानियाँ

रिटायर्ड प्रोफेसरको स्टाटसमा छन्, सञ्जीव उप्रेती, ५४ । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा मात्रै २५ वर्ष पढाए उनले । एक शताब्दीको चौथाइ भाग बिताएपछि उनलाई लाग्यो– एउटै काम कति गर्ने ? सिद्धान्त पढाएर कति बस्ने ? अलिकति समय ८४ वर्षीय पितासँग बिताऊँ । अलिकति समय श्रीमतीलाई पैँचो तिरिदिऊँ । जीवनका हरेक क्षणलाई अभिनन्दन गरौँ ।

प्राध्यापक भएको दुई वर्ष भइसकेको थियो । उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिन, डिपार्टमेन्टल हेड आदि प्रशासनिक पदले तान्दै तानेनन् उनलाई । नेपाल अध्ययन अन्तर्गत पुसंत्व, अपांगता अध्ययन आदि नयाँ–नयाँ कोर्स डिजाइन गरी विभागको एमफिल प्रोग्राम चलाउँदा–चलाउँदै उनले राजीनामा दिए । आधा शताब्दी गाउँमै डाक्टरी सेवा दिएका पिता शंकरप्रसाद उप्रेतीको उर्दी पनि मानेनन् । भन्छन्, “म १ सय ५० वर्ष बाँच्ने भए ५० वर्ष अरू पढाइदिन्थेँ । मलाई त आफ्नै छोटो जीवनभित्र खुसी खोज्नु छ ।”

जीवनको भागदौड विचित्र छ । लेक्चरर भएपछि रिडर हुनुपर्‍यो, रिडर भएपछि प्रोफेसर । यस्तो अनन्त मुसेदौडबाट यसो बाहिर निस्केर हेर्ने फुर्सद कसैलाई छैन । उनलाई लाग्छ, अवकाश भनेको तटस्थ भावमा जीवन र जगत्लाई हेर्ने समय हो । देश–विदेशका कति अफर उनले लत्याइसके । बरू केही अन्तर्राष्ट्रिय जर्नलमा रिसर्च पेपर छापे, हाँसको कथा नामक उपन्यासको बक्यौता फस्र्योट गर्नु छ अब ।

यति हुँदाहुँदै पनि एमफिल/पीएचडीका विद्यार्थी उनको मालीगाउँस्थित निवास ‘जिरो माइल’मा आइरहन्छन् । उनी नि:शुल्क सुझाव दिन्छन्, किताब दिन्छन्, पेन ड्राइभमा ‘सफ्ट कपी’ पनि हालिदिन्छन् । सञ्जीवले स्नातकोत्तर टप गरेकै वर्ष पढाउन थालेका थिए कीर्तिपुरमा । डीपी भण्डारी, श्रीधरप्रसाद लोहनी, रामेश्वर अधिकारी, अभि सुवेदीलगायत गुरुको अनुरोधमा । त्यसभन्दा पहिले न स्कुलमा पढाएका थिए, न कलेजमा । कीर्तिपुरे विद्यार्थी उनीभन्दा जेठा हुन्थे प्राय: ।

“क्लासमा पस्नेबित्तिकै मलाई जाँच्ने हिसाबले गोलीजस्तै प्रश्न छुट्थे, गुगल, इन्टरनेट नभएको जमानामा कहाँ खोज्ने ?” उनी सुनाउँछन्, “एक दिन त हैरान भएर भनिदिएँ, म इन्साइक्लोपेडिया होइन । म पनि कोसिस गर्छु, तपाईंहरू पनि कोसिस गर्नूस् । जसले छिटो पत्ता लगाउँछ, उसैले भनौँ ।” त्यसपछि सबै विद्यार्थी साथीजस्ता भए उनका ।

मावली सहर जयपुर (राजस्थान, भारत)मा जन्मेका हुन् सञ्जीव । सरदार मानसिंह मेडिकल कलेज (एसएमएस)मा एमबीबीएस पढ्न जाँदा उनका पिता त्यहीँकी बाला महेश्वरी रावतसँग प्रेममा परेछन् । उनी उतै जन्मिए । पितासँगै कहिले कैलाली पुगे, कहिले भोजपुर । उनलाई घर या क्वाटरमै पढाउँथिन् आमाले । स्कुल नजाने र दाजुभाइ, दिदीबहिनी कोही नभएकाले उनी एकदमै एकान्तप्रिय थिए । एक्लै भएकाले बाबुआमाले उनलाई किताब ल्याइदिन्थे । किताब नै उनका साथीभाइ हुन्थे, किताब नै दाजुबहिनी । बिस्तारै प्रकृतिसँग नजिकिए । अहिले पनि उनको ‘बेस्ट फ्रेन्ड’ प्रकृति नै हो । त्यसैले प्रकृति र एकान्त खोज्दै ‘डे ट्रिप’मै भए पनि नागार्जुन–टौदह–ककनी गरिरहन्छन् । 

एकैचोटि शनिश्चरे हाई स्कुलमा कक्षा ४ मा पढ्न थाले सञ्जीव । उनका सहपाठी थिए, कृष्ण धरावासी । जीवनमा उनले कुनै महत्त्वाकांक्षा पालेनन् । उनी ससाना कुरामै रमाउँथे । चिसो पानी पिउँदा पनि आनन्द, जंगलमा गोठालो जाँदा पनि आनन्द । ०३६ को एसएलसीपछि उनी अमृत साइन्स कलेज आइपुगे । डाक्टर बुबाको इच्छा थियो– छोरा पनि मेडिकल डाक्टरै होस् । उनी क्लास बंक गर्दै कान्तिपथको ब्रिटिस लाइब्रेरी धाउँथे । प्राक्टिकल क्लास मात्र लिन्थे । उनलाई थाहा थियो, यो मेरो कपको कफी होइन । एक दिन उनले मुख फोरे, ‘बुबा ! मैले आईएस्सीमा फस्ट डिभिजन त ल्याएँ । तर, अब अंग्रेजी लिएर बीए पढ्छु ।’ बुबाले कुनै विरोध गरेनन् ।

जनमतसंग्रहको माहोलले आईएस्सीमै चार वर्ष खर्च भइसकेको थियो । बीए पढ्न सेन्ट जोसेफ कलेज नर्थ प्वाइन्ट दार्जीलिङ गए । “गभर्मेन्ट कलेजमा पढेको भए इन्द्रबहादुर राईलगायतको साहित्यिक जमातसँग भेट हुने रहेछ,” उनी थकथक मान्छन्, “हाम्रो मिसिनरी कलेज थियो, भाषामा मात्रै फोकस हुन्थ्यो ।” 

साँच्चै भन्ने हो भने स्नातक पढेपछि झापातिरै मास्टरी गरेर गुजारा चलाउने मनसुवा थियो उनको । तर, बुबाको डरले एमए पढ्न काठमाडौँ आए । युनिभर्सिटी टप गरे तर गोल्ड मेडल भने पाएनन् । “जनआन्दोलन चलिरहेको थियो, बुबालाई पुलिसले थुनेको थियो,” उनी सम्झिन्छन्, “त्यस्तो बेला निवेदन हालेर के गोल्ड मेडल लिनू ?” पुरस्कार र पदकमा उनलाई कहिल्यै पनि रुचि भएन । कसैले अफर गरेको पनि छैन । आउने दिनमा पनि पाउने सम्भावना देख्दैनन् । उनी नपाउँदा नै खुसी छन् । 

त्रिविमै रहँदा थप मास्टर्सका लागि फुलब्राइट स्कलरसिप पाएर स्टेट युनिभर्सिटी अफ न्युयोर्क पुगे । ब्राउन युनिभर्सिटीमा पीएचडी गरे भने पुसंत्वबारे हार्वर्ड र बर्कलेमा पोस्ट डक्टरेट । “माथिल्ला डिग्रीले अध्ययन साँघुरिँदै जान्छ, साहित्य र संगीतको लत लागेको मजस्तालाई गाह्रो हुन्छ,” उनी भन्छन्, “खुसी भएर बाँच्ने हो भने स्नातक नै काफी छ । म पनि त्यत्ति नै पढ्न चाहन्थेँ ।”

उनले तीन पुस्तक लेखेका छन्, सिद्धान्तका कुरा, घनचक्कर र मकैको अर्कै खेती । तर, घनचक्करले उनलाई आख्यानकारको उचाइ दियो । आमालाई अल्जाइमर भएको, जनआन्दोलन–२ का क्रममा प्रहरीको पिटपाटमा परेकाले ‘डिस्टर्ब’ थिए उनी । त्यही झोकमा उनले व्यक्ति र समाजको पागलपनलाई विम्बका रूपमा लिएर लेखेका थिए त्यो उपन्यास । “संसारको कुनै पनि समाज सद्दे छैन, केही न केही पागलपन छ,” उनी भन्छन्, “एक सय प्रतिशत सद्दे त कोही पनि हुँदैन । कोही सय प्रतिशत सद्दे छ भने त्यो पनि आफैँमा पागलपन हो ।”

अमेरिका बसाइमा रिचर्ड ह्याम्सफायरको पागलहरूको संगठनका कोषाध्यक्ष रिचर्ड उनका साथी भए । रिचर्ड आफूलाई पागल स्वीकार्थे । उनले जन्मदिनको पार्टीमा बोलाइने सद्दे र पागल पाहुनाको बेग्लाबेग्लै सूची बनाएछन् । सद्देको पहिलो नम्बरमा आफ्नै सहयोगी नेपालीको नाम राखे । पागलको सूचीको पहिलो नम्बरमा आफ्नै नाम । दोस्रो नम्बरमा सञ्जीव उप्रेती । रिचर्डले भनेछन् ‘तपाईं र मबीच धेरै समानता छ । हामीबीच सधैँ कला, साहित्य, संगीत, दर्शनबारे लामो छलफल हुन्छ । तपाईं मेरो सबैभन्दा मिल्ने साथी । त्यसैले तपाईंलाई म छुट्टै समूहमा राख्न चाहन्नँ ।’

त्यसो त सञ्जीव १७ वर्षको हुँदा परमहंस योगानन्दको अटोबायोग्राफी अफ अ योगी पढेपछि जोगी भएर हिँडेका रहेछन् । चिन्डे भएर तीन महिना पशुपतिको भष्मेश्वरमा बसेछन् गोप्य रूपमा । झापामा रहेको परिवारले काठमाडौँमा भएको सम्झ्यो, काठमाडौँका आफन्तले झापामा । “समाजको हाइरार्कीबाट वाक्क भएर जोगी भएको, जोगीमा पनि उस्तै हाइरार्की हुँदो रहेछ,” उनी जोगी अनुभव बाँड्छन्, “जोगी–जोगीबीच इगो हुँदोरहेछ, कहिले मर्ला र म त्यो अखडामा बसौँला भन्ने ।” त्यहाँबाट विरक्तिएर सांसारिक जीवनमै फर्के पनि उनी आफूलाई पक्का पारिवारिक ठान्दैनन् । तर, फेरि जोगी हुने इच्छा पटक्कै छैन । 

चिन्डे भएकै कारण कीर्तिपुरमा एक ब्याच सिनियर अर्चना थापालाई फकाउन नसकेको अनुभव छ उनीसँग । सञ्जीव कस्ता थिए भने टाउको मुडुलो बनाउने, मसी नै मसी लागेको पाइन्ट लगाउने अनि चप्पल लगाएर हिँड्ने । तर, उनले पहिलो भेटमै काली–काली हिस्सी परेकी जावलाखेलकी ती कन्यालाई मन पराए । तर, उनको ‘एस्’ सुन्न एक वर्षपछि मात्रै पाए । चकलेट लिएर घरमै पुग्दा अर्चनाले मानिनछन् । पछि फूल लिएर गएछन् । ढोका खोल्न आएका अर्चनाका पितालाई सुम्पिदिएछन् । 

अहिले उनीहरू ‘बेस्ट फ्रेन्ड’ मान्छन् दम्पतीभन्दा पनि । बिहान चियाको कपसँगै तर्कवितर्क सुरु हुन्छ । “एस्, एस् भन्ने खालकी श्रीमती भएको भए जिन्दगी कति बोरिङ हुन्थ्यो होला ?” उनी सोच्छन् । दुई छोरी छन्, अमेरिकामा स्नातक गरेकी सृष्टि र थाइल्यान्डमा स्नातक गरिरहेकी स्वस्ति । सञ्जीवका सबै किताब श्रीमतीकै प्रकाशनगृह अक्षर क्रियसनले छापेका छन् । उनीहरूबीच अलिखित दुई बुँदे सम्झौता छ– पाण्डुलिपि अस्वीकृत गर्न सक्ने र अर्को प्रकाशकलाई दिन पनि सक्ने । लेखेरै सबै खर्च चलाउने लेखक स्वतन्त्र नहुने उनको मत छ । 

कर्ली कपाल सञ्जीवको ब्रान्ड हो । कोरेर र छोट्याएर केही फाइदा छैन । फेरि उस्तै घुम्रिहाल्छ । अलि, भुलक्कड छन् सञ्जीव । बाथरुमबाट फर्किएपछि धारा र बत्ती बन्द गर्दैनन् । दराज खोलेपछि लगाउन भुल्छन् । कहिलेकाहीँ मोजा उल्टो लगाउँछन्, साथीभाइको नाम बिर्सन्छन् । नोटबुक, गाडी र मोटरसाइकलको साँचो हराउँछन् । अर्चनाले किनिदिएका दुइटा आईफोन हराइसके । अहिले साधारण फोनमै फर्केका छन् । 

बुबाले डाक्टरीका साथै राजनीति पनि गरे । तर, उनले राजनीतिलाई आफ्नो ठानेनन् । लोकतन्त्र र सामाजिक न्याय उनका आदर्श हुन् । जीवनकालमा धेरै परिवर्तन देखिसकेकाले उनी राजनीतिबाट निराश छैनन् । निराश भएर फाइदा पनि केही देख्दैनन् । क्रिकेट उनको प्यासन हो । बुबाले ब्याट र बल ल्याइदिएपछि झापा जिल्लामा क्रिकेट खेल्ने पहिलो समूह उनकै भयो । सिगरेट छाड्ने उनको कोसिसले अझै मूर्तता पाएको छैन । सोसल ड्रंकर सञ्जीवले सपत्नी ३४ वटा मुलुक घुमे । यात्रामा उनी पाएसम्म मोटरसाइकल नै खोज्छन् । किन किन कारले प्रकृति, हावापानी, घाम सबै छेलेजस्तो लाग्छ । एमए पढ्दा नै मोटरसाइकल चढिसकेका थिए उनले । अब चलाउन नसकेको दिन बुढेसकाल घोषणा गर्नेछन् ।

उमेर ढल्केपछि रंगमञ्च पसे सञ्जीव । तर, उनले स्कुलमा समेत नाटक खेलेका थिएनन् । उनलाई त बरू गानाबजानाको सोख थियो । किशोरकुमार, मोहम्मद रफी, नारायण गोपाल, भक्तराज आचार्यका गीतले उनलाई ‘एरेस्ट’ गरिरहन्छन् । “सानी छोरीले पुराना गीत सुनाएर हैरान पार्नुभयो भनेपछि म अरिजित सिंह, अतिफ असलम आदि गुनगुनाउन थालेको छु,” उनी हाँस्छन् । शनिश्चरेमा बुबाको क्लिनिकमा आउने जालिम मिस्त्रीले बेन्जो बजाउन सिकाएछन् । पछि देब्रे हातले हार्मोनियम बजाउन सिके । दार्जीलिङ पढ्दा गिटार थपियो । ०६३ तिर उनका रंगकर्मी मित्र सुनील पोखरेलले अफर गरे, ‘अल्बेयर कामुको नाटक छ, न्यायप्रेमी । क्रान्तिकारी कविको रोल छ, कालिआएभ (यानिक) । नाटक खेलेको नसम्झीकन काम गर ।’

फस्ट डेको फस्ट सोमा संवाद बिर्सिएला भनेर निकै डराएका थिए, सञ्जीव । तर, १५ दिन देखाउने भनेको नाटक लगातार दुई महिना चल्यो । उनको विशेषता के भने संवाद चार–पाँच दिनमै कण्ठ हुन्थ्यो । अरू कलाकारले संवाद कण्ठ गरुन्जेल उनलाई हाउभाउ, लाइट र साउन्डको ज्ञान भइसक्थ्यो । त्यसपछि उनले सपनाको साबिती, सान्दाजुको महाभारत र मकैको अर्कै खेती नाटक खेले । “प्रत्येक मान्छे आफूवरिपरि नै घुमिरहेका हुन्छन्, यो गर्नुपर्ने, त्यो गर्नुपर्ने सूचीमै अल्झिरहेका हुन्छन्,” उनी भन्छन्, “डेढ घन्टा नाटक गर्दा भने म अरू नै कोही हुन्छु । आफूबाट बाहिर निस्कन पाउँदा त्यो थेरापी या रिल्याक्सेसनजस्तो हुन जान्छ ।” थिएटर भिलेज बन्द भएकाले नाटकमा अलि सुस्तता आएको छ । तर, सञ्जीवमा रंगमञ्चको रहर अझै सेलाएको छैन ।

अवकाशको दुई वर्ष बितेपछि पनि सञ्जीवले सामना गरिरहेका छन्, ‘अब के गर्नुहुन्छ ? ठूलै प्लान भएर छाड्नुभएको त होला ?’ हत्तेरी π एनजीओमा जाने या अरू सुसेधन्दा समात्ने एजेन्डा राख्ने हो भने रिटायर्ड लाइफै कसरी भयो त ? उनलाई कतै पढाउनुपर्छ या नाम–दाम कमाउनुपर्छ भन्ने लागेकै छैन । “म केही लेख्न पनि सक्छु । केही नलेखीकन पनि बस्न सक्छु,” उनी भन्छन्, “जीवन अन्तहीन छैन । खुसीको एउटै सूत्र छैन । अरूलाई दु:ख नदिईकन खुसी भएर बाँच्न चाहन्छु, बस् ।” 

प्रकाशित: मंसिर ११, २०७४