[स्मरण] भेडाफर्ममा राजा वीरेन्द्र

- रेवतीरमण खनाल

विसं २०४१ हिउँदको कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले मध्यपश्चिमाञ्चलको क्षेत्रीय भ्रमण गर्ने कार्यक्रम थियो । सुर्खेतमा क्याम्प राखी त्यहीँबाट विभिन्न जिल्ला र क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका बनाइएको थियो । मैले पनि त्यस भ्रमण टोलीमा सहभागी हुने मौका पाएको थिएँ । 

जुम्लाको सदरमुकाममा राजाको अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपूर्व राजा वीरेन्द्रको निर्देशन र सरकारको विशेष सहयोगमा गोठीचौरमा सञ्चालित भेडाफर्म राजाद्वारा निरीक्षण–भ्रमण गर्ने कार्यक्रम थियो । आफ्नो निर्देशमा स्थापना भएको र त्यस क्षेत्रकै नमुना भेडाफर्म बनाउने अभिप्रायले स्थापना गरिएकाले उक्त फर्म हेर्न राजा विशेष आतुर थिए । अस्ट्रेलिया र युरोपका विभिन्न देशबाट उन्नत जातका भेडा ल्याएर त्यहाँ फर्म स्थापना गरिएको थियो । 

मध्यपश्चिम क्षेत्रका किसानलाई भेडा पालनमा विशेष रुचि जगाउन भनेर फर्मबाट त्यस क्षेत्रका किसानलाई सुपथ मूल्यमा भाले भेडा (थुमा)का अतिरिक्त स–साना पाठीहरू पनि उपलब्ध गराइन्थ्यो । त्यसरी उपलब्ध गराइएका भेडा काटेर मासु खान भने मनाही थियो । राजा वीरेन्द्रको हिमाली क्षेत्रमा उन्नत जातका भेडा र अन्य पशुपालन गर्ने, त्यसभन्दा तल स्याउ, सुन्तला, निबुवा, भोगटे, कागतीजस्ता फलफूल खेती गर्ने र मध्य पहाड र तराईमा खाद्यान्न उत्पादन गरी मुलुकलाई आत्मनिर्भर बनाउने स्पष्ट कृषि नीति थियो । सोही अनुसार एउटा उदाहरणीय भेडाफर्मका रूपमा यसलाई सञ्चालनमा ल्याइएको रहेछ ।

तीनवटा हेलिकप्टर एकसाथ गोठीचौरमा अवतरण गर्दा त्यहाँको माहौल नै बेग्लै बन्यो । ठूलठूला गोभ्रे सल्लाका रुखमुनि केही भेडा चरिरहेका थिए । राजाले भेडाफर्म सञ्चालकलाई सोधे, ‘यत्ति हुन् त भेडा ?’ त्यसपछि ती किसानले राजासहितको हाम्रो टोलीलाई चौरतर्फ लिएर गए । उल्लेख्य संख्यामा भेडा देखेपछि राजा वीरेन्द्रले मुन्टो हल्लाए । उनको अनुहारमा खुसीको लहर दौडियो । ती कर्मचारीलाई ढाडमा धाप मार्दै स्याबासी दिए । आफूले यस्तै कामको अपेक्षा गरेको बताउँदै राजाले त्यस क्षेत्रका अन्य किसानलाई पनि सुपथ मूल्यमा भेडा उपलब्ध गराएर गोठीचौर क्षेत्रलाई नै उन्नत जातका भेडा पालनको विशेष क्षेत्र बनाउन पनि निर्देशन दिए ।

त्यसपछि ती किसानले जाडोमा भेडालाई खुवाउनका लागि भनेर सुकेका घाँसका भारी चाङका चाङ पारेर राखेको ठाउँ अवलोकन गराए । त्यो सबै हेरेपछि भ्रमण दलका हामी केही सदस्यहरू हिउँमा चिप्लेटी खेल्दै रमाइलो गर्‍यौँ । 

अब फर्किनुपर्‍यो भनेर तयारी गर्दै थियौँ, अचानक ठूलो हावाहुरी आयो र बादल मडारिएर एक्कासि अन्धकार छायो । हामी त किंकर्तव्यविमूढको अवस्थामा पुग्यौँ । एकछिन बस्दा पनि बादल फाट्ने कुनै संकेत देखिएन । हेलिकप्टर उड्न सक्ने अवस्था रहेन । राजाबाट भेडीगोठका कारिन्दालाई हुकुम भयो, ‘ अब बाहिर जान सक्ने अवस्था रहेन । यहीँ आगो बाल र एउटा भेडाको थुमा ल्याएर त्यसैलाई काटेर पोल । अब त्यही खानुपर्छ ।’ 

दाउराको खलियाबाट दाउरा झिके, थुमा भेडालाई ल्याएर ऊन खुर्किन थालेका मात्र थिए, त्यत्तिकैमा फेरि हुरी चल्यो । आँधीबेहरीसहित बादल फाट्न थाल्यो । एकछिनमै बादल फाटेर आकाश छ्याङ्ग भयो । आकाश सफा भएपछि राजाबाट हुकुम भयो, ‘यो थुमा भेडाको त काल आएकै रहेनछ । अब यसलाई नकाट । छोडी देऊ ।’ त्यसपछि हामी भाले जातको भेडा खाने कार्यक्रम नै रद्द गरी जुम्ला सदरमुकामतर्फ लाग्यौँ । अर्को हलिकप्टर हुरीमा परी बाटो बिराएर हरायो । मलाई त्यो घटना सम्झिँदा ‘प्राकृतिक कानुनको विपक्षमा कोही जान सक्दैन’ भन्ने प्रसिद्ध प्राकृतिक कानुनविद् ह्युगो ग्रोसियसको भनाइ सम्झना आयो ।

हामीहरू ढिलो गरी जुम्ला सदरमुकाम पुग्यौँ । त्यहाँका जनता राजालाई पर्खिएर बसिरहेका थिए । राजा पुगेपछि त्यहाँ भव्य कार्यक्रम भयो । राजाको भव्य स्वागत–सत्कारका अतिरिक्त अभिनन्दन गर्ने कार्यक्रम हुँदै थियो, बल्ल सुरक्षाकर्मीहरू चढेको हेलिकप्टर आइपुग्यो । बाटो बिराएर त्यो हेलिकप्टर अन्यत्रै भौतारिन पुगेछ । सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको थिएन । कार्यक्रम सुरु भएपछि पनि राजा बारम्बार आकाशतर्फ हेर्ने र चारैतर्फ आँखा दौडाइरहेको अवस्थामा रहेको हामीले देख्यौँ । हामी सबैको ध्यान त्यस कार्यक्रममा भन्दा पनि त्यो हराइरहेको हेलिकप्टरतर्फ थियो । कता गए होला भन्ने चिन्तामै कतिखेर कार्यक्रम सकियो, त्यो पनि पत्तो भएन । हेलिकप्टर आएपछि सबै शान्त भयौँ । हामी सबैले सम्भावित दुर्घटना टरेकामा राहतको सास फेर्‍यौँ ।

मुलुकका हिमाली, तराई र पहाडी जिल्लाको समुचित समृद्धिका निम्ति राजा वीरेन्द्रमा विशेष रुचि थियो । जनताको आयस्तर बढाउने र कुनै न कुनै किसिमको रोजगारीको अवस्था सिर्जना गर्न सके उन्नत जीवनस्तरका लागि जनता अन्यत्र भौतारिनुपर्ने र बसाइसराइ गर्नुपर्ने अवस्था आउँदैन भन्ने कुरामा राजा विशेष रूपमा सक्रिय थिए । गोठीचौरमा स्थापना गरिएको भेडाफर्म राजाको त्यही सोचको एउटा उपज थियो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: मंसिर ८, २०७४