[अनुभूति] पथपरहेजका पक्षमा

- केदार शर्मा

केही दिनअघि मैले सामाजिक सञ्जालतिर लेखेँ, ‘बजारमा फिँजाइएका खानेकुरा देख्नासाथ खाइँदैन, झिल्के मान्छे देख्नासाथ झुत्तिन गइँदैन भने चाखलाग्दा शीर्षक देख्दैमा ढाँटपत्रहरू किन पढ्नू ?’

‘जे पायो त्यही नखाऔँ– स्वास्थ्य जोगाऔँ

जे पायो त्यही नपढौँ– मन, विचार, भावना सबै जोगाऔँ ।’

राम लोहनीले फेसबुकमा थपिदिए, ‘शरीर मात्र होइन, मस्तिष्क पनि स्वस्थ राखौँ ।’ मलाई लाग्यो, मेरो भनाइले अझ सही शब्द पायो ।

अनलाइनका नाममा च्याउसरी उम्रेका नकलटाँसपत्र र ढाँटपत्रहरूप्रति लक्षित थियो त्यो । तर, सावधान हुनुपर्ने अनलाइनदेखि मात्र होइन । किताब, पत्रपत्रिका, चलचित्र, टेलिभिजन, रेडियो, इन्टरनेट, भिडियो गेम– सबैसित सावधान हुनु जरुरी छ । 

अहिले हाम्रासामु ठूलो प्रश्न छ, हामीलाई कति समाचार, सूचना, जानकारी र मनोरञ्जन चाहिन्छ ? सामग्रीहरू कसरी छुट्याउने ? घरका सदस्यसित सञ्चार सामग्रीबारे कसरी छलफल गर्ने र परिवारको सहमति कसरी जुटाउने ?

विज्ञानले अहिले हामीलाई सूचना र सञ्चारप्रविधिको विश्वरूप देखाएको छ । प्रविधिले फ्याकेका झिलिकमिलिकले गर्दा हाम्रा आँखा सही र गलत छुट्याउन नसक्ने गरी तिर्मिराएका छन् । विवेक पुर्‍याउनुपर्ने आवश्यकता पहिलेभन्दा धेरै बढेको छ ।

म सूचनाप्रविधिको सक्रिय प्रयोक्ता र ठूलो समर्थक हुँ । मानव सभ्यताको इतिहासमा कहिल्यै पनि सर्वसाधारण मान्छेका कुराले यति महत्त्व पाएका थिएनन्, जति अहिले सामाजिक सञ्जाल र ब्लग आदिका रूपमा इन्टरनेटको माध्यमले दिएको छ । अढाई दशकअघिसम्म निकै धनी व्यक्तिले मात्र घरमा राख्नसक्ने इन्साइक्लोपिडिया अहिले पाँच हजारको फोन किन्न सक्ने कुनै पनि व्यक्तिले खल्तीमा राखेर हिँड्न सक्छ । छानिएका विषयमा नामीनामी व्यावसायिक लेखकहरूले मात्र लेख्ने इन्साइक्लोपिडिया अब उहिलेका कुरा भइसके । कुनै पनि जाँगरिलो र सामान्य भाषिक क्षमता भएको व्यक्तिले विकिपिडियामा मन लागेका विषयमा लेख्न र अरूले लेखेका कुरा सम्पादन गर्न पाउँछ । फोटोग्राफी सहज, सुलभ र अत्यन्त सस्तो भएको छ ।

आममान्छेले १ सय ४० अक्षरमा लेखेका ट्विटहरूले सार्वजनिक महत्त्वका ठूलठूला निर्णयमा प्रभाव पारेका कैयन् घटना छन् । अभिव्यक्तिको स्वर्णयुगमा छौँ हामी ।

लाग्न सक्छ, स्वर्णयुगमा सावधान हुनुपर्ने ? कुरा विरोधाभाषी भएन र ?

जहाँ शक्ति हुन्छ, त्यहाँ त्यसको दुरुपयोगको सम्भावना हुन्छ । बल, धन, ज्ञान, शस्त्रास्त्र सबै कुराको दुरुपयोग हुन सक्छ भने यो अति शक्तिशाली र प्रभावकारी माध्यमको पनि दुरुपयोग हुन सक्छ र भइरहेको छ ।

धेरैलाई युवकयुवती चौबीसै घन्टा फेसबुकमा झुन्डिएको मन परेको छैन । फेसबुकमा भेटेका थातथलो, जात, कुल थाहा नभएका केटा वा केटीसित आफ्ना छोराछोरीले बिहे गरेको पनि बाबुआमाका लागि सुखद कुरा होइन । सञ्जालको सम्बन्धले मान्छेलाई अपराधको जञ्जालमा फसाएका समाचार हामीले धेरै पढेका छौँ । यी सबै समस्या हुन् । तर, अझ गहिरो समस्या अर्कै छ, सामग्रीको उत्पादन । स्तरीय, तथ्यपरक, सुरूचिपूर्ण र उपयुक्त भन्न नसकिने सामग्रीको प्रभावबाट जोगिनु र आफूभन्दा सानालाई जोगाउनु अहिलेको सबभन्दा ठूलो चुनौती हो ।

 विसं ०५० को दशकमा ‘डिस एन्टेना’बाट छिरेको टेलिभिजनको बाढी अहिले अझ विविधतायुक्त र व्यापक भएको छ । देशभित्र पनि टेलिभिजन स्टेसनहरूको संख्या बढेको छ । यो प्रविधि र माध्यमका लागि हामी बर्सेनि कति खर्च गर्छौं ? त्यसमध्ये कति पैसा विदेश जान्छ ? नेपालीले प्रशस्त धन र समय खर्च गरेको टेलिभजनले हाम्रो रूचिलाई कत्तिको परिमार्जन गरेको छ ? यसले हामीलाई आफू, आफ्नो समाज र संसारका बारेमा कति चेतना दिएको छ वा हामीलाई सस्तो मनोरञ्जनमै बढी अलमल्याएको छ ?

यहाँ सस्तोको अर्थ किफायती होइन, कम मूल्यको होइन । बरू हो स्तरहीन र मूल्यहीन । सस्तो मनोरञ्जन भनेको मान्छेलाई क्षणिक रूपमा खुसी पार्ने तर उसको रूचि, मूल्य–मान्यता र दृष्टिकोण मैलो पार्ने मनोरञ्जन हो । मान्छेलाई सोच्ने खुराक नदिने, समाज र संसारका यथार्थहरूबाट विमुख गराउने, हल्ला मच्चाउने र आफूले तयार गरेको सामग्री धेरैभन्दा धेरैलाई देखाएर पैसा कमाउने मात्र ध्याउन्नले तयार गरिएको सामग्री हो ।

सस्तो मनोरञ्जनका उत्पादकहरू भन्छन्, हामीले टेलिभिजन वा सिनेमाबाट अर्ती–बुद्धि दिने होइन, मनोरञ्जन दिने हो । उनीहरूका लागि मनोरञ्जन भनेको या त हाँस्नु मात्र हो, या त उत्तेजित हुनु मात्र । अनि, उनीहरू या त छिचौरा हास्य र भद्दा यौन पस्किन्छन् या त बेतुकका रोमान्स वा अर्थ न बर्थका रहस्य । उनीहरू ‘फेमिली ड्रामा’का रूपमा महिलालाई प्रत्यक्ष परोक्ष रूपमा अपमानित गरेका र उनीहरूलाई वस्तुवादी र उपभोगवादी देखाउने वा बन्न हौस्याउने सामग्री प्रसारण गर्छन् । सस्तो मनोरञ्जनको एउटा लक्षण स्वतन्त्र चिन्तन, बुद्धि र विवेकलाई निरुत्साहित गर्नु र मान्छेलाई नकल गर्न प्रेरणा दिनु हो । 

यी मापदण्डहरूका आधारमा हामीले भारतीय सोप अपेराहरू– (जसको उत्पादन लागत र कमाइ दुवै अत्यन्त ठूलो हुन्छ)लाई सुरुदेखि नै सस्ता मान्यौँ । तिनको स्थायी ग्राहक बन्ने रूचि र फुर्सद पनि हाम्रा घरमा कसैसित भएन । तर, चर्चाको उत्कर्षमा पुगेको ‘कसौटी...’ नामक सिरियल केही अंक हेरेपछि हामी त्यस्ता सिरियलले समाजलाई दिन खोजेको प्रभावका बारेमा अझ गम्भीर भयौँ । सन्तोष पन्त युगको अन्त्यपछि कुनै पनि नेपाली हास्य सिरियलले उठाएको विषयवस्तु र हँसाउने काइदा हामीलाई राम्रो लागेन ।

मान्छेको हिँडाइ, बोलाइ, जीउज्यानको मोटोपन वा दुब्लोपन, अपांगता आदि हेरेर वा कसैले कसैलाई धारेहात लगाएर सरापेको हेरेर तपाईं हाँस्न सक्नुहुन्न भने नेपाली हास्य सिरियलले तपाईंलाई हँसाउँदैनन्, उल्टो दिक्क लगाउँछन् (आशा छ, आफूले टेलिभिजन नहेरेको यो आधा दशकमा यो अवस्था फेरिइसक्यो होला र म गलत भइसकेको हुन सक्छु !) । 

अनि हामीलाई लाग्दै गयो, हामी समाचारका नाममा जति टेलिभिजन हेर्छौं र त्यहाँबाट जेजे थाहा पाउँछौँ, त्यो पनि हाम्रा लागि जरुरी छैन । आफूले कहिल्यै मन नपराएका राजनीतिक पात्रहरूका गतिविधि हेरेर र कुरा सुनेर मनमा बोझ थप्न नचाहनेले सबैभन्दा पहिले टेलिभिजनमा समाचार हेर्न छाड्नुपर्छ भन्ने लाग्यो । समाचारको थोपा–सिँचाइले पुग्ने ठाउँमा हामी मनमस्तिष्कमा समाचारको बाढी हालिरहेका रहेछौँ भन्ने अनुभव भएपछि हाम्रा घरमा टेलिभिजन लगभग खुल्न नै छाड्यो । पाँच वर्षअघिदेखि काठमाडौँ छाडेर इलामको एउटा गाउँमा बस्न थालेदेखि त हामीसित टेलिभिजन नै छैन र निकट भविष्यमा किन्ने विचार पनि छैन ।

टेलिभिजनबाट राम्रा कुरा पनि प्रसारित हुन्छन् भन्ने थाहा छ । हामीले टेलिभिजन नहेरेर पक्कै पनि केही राम्रा कुरा पनि छुटायौँ । केही राम्रा नेपाली ‘टक सो’हरू छुटे । नेपाली मात्र होइन, भारतीय च्यानलबाट आउने कलात्मक र मनोरञ्जनात्मक सोहरू छुटे । फुटबल र क्रिकेटका विशिष्ट कार्यक्रमहरू, ओलम्पिकको उद्घाटन, आफैँले सुरु गरेको कार्यक्रम ‘आँखीझ्याल’, धेरै कुरा हेर्न पाइएन । ‘कौन बनेगा करोडपति’, ‘इन्डियन आइडल’ को सम्झना अहिले पनि आउँछ । हामीले नियमित रूपले हेर्ने गरेका अरू पनि केही कार्यक्रम थिए । तीमध्ये कतिपय युट्युबमा उपलब्ध पनि छन् । तर, भनेको बेला रोजेको कुरा हेर्न पाइने युट्युब टीभीजत्तिकै सजिलै हेरिने कुराचाहिँ होइन रहेछ । पछि हेरौँला भन्यो तर खासै हेरिँदो रहेनछ । राम्रा कुरा धेरै छुटे होलान् तर पटक्कै पछुतो छैन । किनभने, राजनीति गर्नेहरूले देश र जनताका लागि गरेका अश्लील ठट्टाहरू सुन्नुपरेको छैन । भारतीय मनोरञ्जक समाचार च्यानलहरूको गडगडीले पनि छोएको छैन । हास्यको नाममा हास्यास्पद सिरियल हेर्नुपरेको छैन ।

मदनकृष्ण, हरिवंशलाई उनीहरूको व्यक्तित्व र सामाजिक उपस्थितिका कारण मन पराउन पाउँदा पुगेकै छ । धुर्मुस–सुन्तलीको एउटै कार्यक्रम पनि नहेरेको मजस्तो व्यक्तिले पनि उनीहरूले बनाएका बस्ती हेरेर आदर गर्न पाएकै छु । बाँकी सबैले सबैलाई चिन्न, जान्न, मन पराउन जरुरी पनि छैन । 

भारतीय च्यानलहरूको बिगबिगी घटाउनमा घरपरिवारदेखि सरकारसम्मको अनिच्छा देखेर नराम्रो लाग्छ । हाम्रा बालबालिकहरूको मातृभाषा जे भए पनि मनोरञ्जनको भाषा हिन्दी भएको छ । टेलिभिजनबाट हिन्दी भाषा मात्र भित्रिइरहेको छैन, हाम्रा संस्कारहरूमा भारतीय प्रभाव टड्कारो देखिन थालेको छ । अब नेपाली बिहेमा कसारे र रत्यौलीका विधि होइन, संगीत, मेहन्दी आदिका ‘रस्म’हरू हाबी हुन थालेका छन् । बालबालिकाहरू तारक मेहतालाई चिन्छन्, मोटु–पतलुसित रमाउँछन् । आफूलाई भविष्यको सीआईडी ठानेर जेलाई पनि पेस्तोल बनाएर घर घुम्छन् । त्यो राम्रो होइन भनेर थाहा भए पनि हामीसित आफ्नै बालबालिकाका लागि पनि समय छैन । ‘क्वालिटी टाइम’को त कतिलाई अर्थै लाग्दैन । टेलिभिजनलाई केटाकेटी अलमल्याउने बालगोठालो बनाइदिएका छौँ । उनीहरू के हेरिरहेका छन् भन्ने त थाहा नपाउने बाबुआमाले बालबालिकासित कसरी छलफल गर्न सक्छन् ? कसरी उनीहरूबीच संवादको सम्बन्ध स्थापित हुन सक्छ ? अनि, पछि एकैपटक ‘हिजोआजका केटाकेटी हाम्रो कुरै सुन्दैनन्’ भनेर हुन्छ ?

एउटा प्रश्न १६ वर्षमुनिका छोराछोरीका सबै बाबुआमालाई, तपाईंले छोराछोरीसित बसेर कत्तिको सिनेमा हेर्ने गर्नुभएको छ ? सिनेमाका बारेमा कुरा पनि गर्ने गर्नुभएको छ ? उनीहरूको रूचिलाई परिमार्जन गर्दै लैजानका लागि कत्तिको सचेत हुनुहुन्छ ? उनीहरूको मूल्यप्रणाली कस्तो होस् भन्ने चाहनुहुन्छ ? बजारमा पाइने बालसाहित्यका बारेमा कत्तिको जानकारी छ ? छोराछोरीलाई सहरमा हुने साहित्य, कला, संगीतका कार्यक्रममा, जात्रा–मात्रामा, सामाजिक अभियानहरूमा सामेल गराउने गर्नुभएको छ ?

उनीहरूसित देश, समाज र संसारका बारेमा कुरा गर्नुभएको छ ? कहिल्यै उनीहरूका तर्कसित सहमत भएर आफ्नो कुरा फिर्ता लिनुभएको छ ?

मलाई थाहा छ, माथिका प्रश्नहरूका सकारात्मक उत्तर दिने बाबुआमा पनि हाम्रो समाजमा छन् । तर, जतिखेर बालबालिकालाई रिमोट कन्ट्रोलर हातमा लिएर, कोठामा एक्लै बसेर हिन्दीका कार्टुन हेरिरहेको देख्छु वा ‘फलानो सिरियलको समय भयो’ भनेर हतारहतार टेलिभिजनतिर लम्किरहेका महिला देख्छु वा लगातार च्यानल सारेर अज्ञात मनोरञ्जक सामग्री खोजिरहेका भद्र पुरुषहरू देख्छु, मलाई द:ुख लाग्छ । मनोरञ्जन दिनु भनेको जे गरेर भए पनि हँसाउनु हो भन्ठान्ने, वीभत्स रस र हास्य रस मात्र जानेका निर्माताहरू देख्दा दु:ख लाग्छ । आफ्नो र नानीहरूको शरीरको पोषण अनि पथपरहेजका लागि अनेक प्रयत्न गर्नेहरूले उनीहरूको र आफ्नो मस्तिष्कलाई बेवास्ता गरेको देख्दा दु:ख लाग्छ अनि दोहोर्‍याउन मन लाग्छ– आफ्नो र परिवारको सुस्वास्थ्यका लागि धेरै खर्च र मिहिनेत गर्ने महानुभावहरू हो, मस्तिष्कका लागि पनि पथ्यापथ्य हुन्छ । पथपरहेजमा बस्नुहोस्, बस्न सिकाउनुहोस् । मन र मस्तिष्क स्वस्थ भएन भने बलियो र निरोगी शरीर पनि अर्थ न बर्थको हुन सक्छ । 

 

प्रकाशित: मंसिर ८, २०७४