असफल कालमा एनआरएनए

  • संसारभरिमा सबैभन्दा बढी सदस्य हुने हैसियत राख्ने एनआरएनए अमेरिकामा भने विश्वासकै संकटसँग जुधिरहेको छ ।

- चन्द्र खतिवडा

थुप्रैका लागि एनआरएनएको पदीय दायित्व लिनु सपना होला । कतिका लागि आवश्यकता । कतिका लागि साँच्चिकै केही गर्छु भन्ने जोश । कतिका लागि मातृभूमिप्रतिको हाइपर लिंक (कम्प्युटरको भाषामा यसको सहाराले आफूले चाहेको कुरासम्म पुग्ने र कतिका लागि व्यवसायको बजारीकरण )। 

एनआरएनए अमेरिकामा पनि यो कुरा स्वत: लागू हुने नै भयो । हिजो एनआरएनए गठन हुनुभन्दा अघिदेखिका साक्षीहरूलाई यसको गठनले निकै जोस्याएको थियो । विदेशमा बसेर दु:ख गरी कमाएको समुचित लगानी स्वदेशमा हुने । जलविद्युत्देखि थुप्रै औद्योगिक लगानीका कुरामा हाँकिएको डिंग सम्झिनुभन्दा पनि नसम्झिएकै बेस, अहिले त ।

अमेरिकामा दुई वटा मुख्य राजनीतिक पार्टीका शाखाहरू छँदै थिए । त्यसमा पनि पदको लुछाचुँडी छँदै थियो । चाहिने–नचाहिने सयौँ संस्था पनि थिए नै । फेरि आयो यो एनआरएनए । यसले पनि राम्रै गर्छ होला भनेर सबैले चासो देखाए । हिजो राजनीतिक भ्रातृ संगठनमा आफ्नो स्थान बनाउन नसकेकाहरूले नयाँ ठाउँ पाए । उताका राजनीतिक दलका यताका भ्रातृ संगठनहरू पनि आफ्ना संस्थाका असरल्ल कुरालाई थाँती राख्दै लागे त्यतैतिर । खेले मुख्य भूमिका । जिताए आफ्नै पार्टीका हिजोका हुन नसकेका नेतालाई एनआरएनएका नेता । गज्जब लाग्यो ।

अमेरिकाको एनआरएनए भनेको नेपालको सरकारजस्तो भयो । दुवै पार्टीका मिलेर चलाउने । जित्छन् त त्यसैका कार्यकर्ता, हार्छन् चुनावमा त्यसैका कार्यकर्ता । 

सामाजिक कार्य र अमेरिकामा बस्ने नेपाली सांघुको काम गर्नुपर्ने एनआरएन अब सांघु हैन घिर्लिंङ कस्न नै व्यस्त छ ।

संसारभरिमा सबैभन्दा बढी सदस्य हुने हैसियत राख्ने एनआरएनए यहाँ भने विश्वासकै संकटसँग जुधिरहेको छ । अमेरिकामा आएर आफ्नो सपनाहरूमा यसको पर्वाह देखिँदैन भने यहाँका सक्षमहरूसम्म यसले छुने ल्याकत नै राख्दैन । 

सबैभन्दा धेरै सदस्य कसरी बनाउने ? कसका मान्छे बढी सदस्य छन् ? सदस्यता कहिले खुलाउँदा आफ्नो पक्षमा जान्छ, कहिले बन्द गर्दा चुनाव जितिन्छ, अहिलेको नेतृत्व त्यसैमा मस्त–व्यस्त देखिन्छ ।

२०१५ अप्रिलमा नेपालमा ठूलो भूकम्प गयो । अमेरिकाबासी नेपालीहरूबीच रुवावासी भयो । परिवारका दु:खद समाचारहरू  आएका आयै थिए । यता नेपालीहरू माझ कसरी सहयोग गर्ने ? कुन स्रोत फेला पारे छिटो सहयोग पुर्‍याउन सकिन्छ भन्ने छटपटी थियो । एनआरएनए, केही एनजिओ र तिनै राजनीतिक भगिनी संस्थाहरू थिए, सबैको घाउमा मलमपट्टी लगाउने । अनि थाले सबैले अर्थ संकलन । अनेक कार्यक्रम भयो, लाखौँ उठाइयो । नेपालमा भूकम्प पीडितहरूको सहयोगका खातिर दु:ख गरेर कमाएको धन नेपालीहरूले खुला छातीले दिए । जति तिनीहरूले आफ्नो झोलीको मुख ठूलो बनाए मनकारीहरूले त्यति नै त्यसमा चढाए । 

तर, यतिका वर्ष बितिसक्यो न त्यसको सबै हिसाब एनआरएनए, राजनीतिक संस्थाहरू र एनजीओहरूले देखाउनु परेको छैन । बस् निहुँ पायो, उठायो । यस लेखकले पनि मोटै चेक एनआरएनएका मुख्य पदाधिकारीलाई सुम्पेको थियो त्यतिखेर । साधारण शिष्टाचारका हिसाबले एउटा पत्रको त के कुरा त्यसको रिसिप्ट अहिलेसम्म पठाउने कष्ट भएको छैन । पारदर्शिताका कुराहरू साह्रै संकीर्ण भएका धेरै समाचारहरू बाहिर आइसकेको छ, त्यसपछि पनि सबै मौन नै छन् । 

एनआरएनए हाम्रो हो । हाम्रै हितका लागि हो रे । तर, यो कुराको आभाष हुने गरी काम भएको देखिँदैन । अहिले यो असफल कालमा गुज्रिरहेको छ । यो संस्थाले अमेरिकाका बृहत् नेपालीको हित गर्ने ल्याकत राख्न सक्छ र अहिलेको नेतृत्वले सोचेभन्दा पनि कयौँ गुणा बढी सदस्यहरू यसमा जोडिन सक्छन् । यदि पारदर्शिता र विश्वसनीय संवादको पहल सुरु गर्ने हो भने अझै यसले आफ्नो गुमाएको गरिमा फिर्ता ल्याउन सक्छ र पुन: अमेरिका र संसारका नेपालीमाझ एउटा गर्विलो इतिहास कोर्न सक्छ । 

न्यूजर्सी, अमेरिका

 

प्रकाशित: मंसिर ८, २०७४