लुकुवा लेखन

  • ‘घोस्ट राइटिङ’ गरिएका पुस्तक नै ‘बेस्ट सेलर’

- राजकुमार बानियाँ

हिजोआज न्युजरुममा भेटिँदैनन्, कुसुम भट्टराई, ४६ । मोबाइल स्वीच्ड अफ छ भने पनि घरमै भेटिन्छन् । सञ्चारगृहमा नभए पनि उनको घरेलु उद्योग भने लेखनै हो । नियमित आय पनि राम्रै छ । उनले साबिक परिचय बदलेका छन्, ‘घोस्ट राइटर’का रूपमा । तीन वर्षमा १७ वटा पुस्तक लेखेछन् उनले । “मलाई अब बाइलाइन जरुरी छैन । साउनयता लेखेरै पाँच लाख रुपियाँ कमाएँ,” उनी हौसिएका छन्, “२७ वर्ष मिडियामा काम गरेपछि बल्ल मैले सुहाउँदो काम भेटेँ ।”

कुुसुम त पूर्णकालीन घोषित घोस्ट राइटर भइगए । अघोषित घोस्ट राइटर पनि दर्जनौँ छन् । लेखन–सम्पादनका अनुभवी र भाषाशैलीमा पकड भएका थुप्रै लेखक–पत्रकारले यसलाई ‘साइड जब’ बनाएका छन् । दिवंगत सन्त नेता रामहरि जोशीको आत्मकथा अँध्यारोबाट उज्यालोतिर दुई महिनामै तयार गरेर नयाँ दुनियाँमा छिरेका रहेछन् कुसुम । “साइकल जसले पनि चलाउन सक्छ, जहाज जो कसैले चलाउन सक्दैन,” उनी परिचय दिन्छन्, “लेखक–पत्रकार जो पनि हुन सक्छ, घोस्ट राइटर जो पनि हुन सक्दैन ।”

पछिल्लो समय निकै चलनचल्तीमा छ, घोस्ट राइटिङ । यसलाई कसैले लुप्त लेखन भन्छन् त कसैले छाया लेखन । कोही कोही ‘भाडाका लेखक’ या ‘प्रेत लेखक’ भनेर छिर्के पनि हान्छन् । यत्ति हो, यसमा लेखक अदृश्य हुन्छ । आफ्नो परिचय नखोल्ने सर्तनामामा बाँधिएको हुन्छ । कुनै पनि व्यक्तिले आफ्ना कुरा लेखिदिन नियुक्त घोस्ट राइटर या लुप्तकले पारिश्रमिकबाहेक अन्य ‘क्रेडिट’ पाउँदैन । पुस्तकबापतको गाली वा आलोचनाको भागी पनि हुनु पर्दैन ।

त्यसो त घोस्ट राइटरको अर्जुनदृष्टि पैसा कमाउने नै हुन्छ । पुस्तक लेखनका लागि सुरुमा न्यूनतम रकम लिने, बढीमा ६ महिनाको समय दिने अनि पाण्डुलिपि तयार गरेर पूर्ण भुक्तानी लिने या रोयल्टी नै बुझ्नेसम्मका घोस्ट राइटर भेटिन्छन् । लेखक–पत्रकारहरू यसमा किन आकर्षित छन् भने विभिन्न ठाउँ चहार्ने, पुस्तकहरू पढ्ने या विभिन्न स्रोत खोज्ने लेठो गर्नु नपर्ने र सीधै पात्रसँग डिल गरे पुग्छ ।

बिस्तारै लुकेर होइन, खुलेर लेख्ने चलन आइसक्यो । त्यसैले सहलेखक या सम्पादकका रूपमा आउन थालेका छन् कतिपय घोस्ट राइटर । रोचक त के भने बजारमा सबैभन्दा बढी चर्चित या बेस्ट सेलर घोस्ट राइटिङ गरिएकै पुस्तक छन् । यसमा चिना हराएको मान्छे, विनोद चौधरी, रुक्मांगद कटवाल या फूलको आँखामा पर्छन् । हरिवंश आचार्यको पुस्तक अमर न्यौपाने, विनोद चौधरीको सुदीप श्रेष्ठ, कटवालको किरण भण्डारी र आनी छोइङ डोल्माको गिरीश गिरीले घोस्ट राइटिङ गरेका थिए । एउटा पुस्तकमा एक लाखदेखि पाँच लाख रुपियाँसम्म कमाउने गरेको घोस्ट राइटरहरू सुनाउँछन् । कतिपय त शब्दको हिसाबले पैसा असुल्छन् । 

पूर्वीय साहित्यमा पाँच हजार वर्ष पहिले यसको सफल उपयोग भएको रहेछ । प्राचीन महाकाव्य महाभारत वेदव्यासले लेखेका होइनन् । बरू व्यासको अद्भुत स्मरणशक्तिलाई आशुलेखक गणेशले साकार तुल्याइदिए । सोझै भन्ने हो भने त्यही ‘व्यास राइटिङ’ नै अहिले ‘घोस्ट राइटिङ’का रूपमा चिनिएको छ । चल्तीको भाषाका ‘घोस्ट राइटर’ तिनै गणेश हुन् । 

पश्चिमा जगत्मा डेढ सय वर्षको इतिहास बनाइसकेको घोस्ट राइटिङ नेपालमा व्यावसायिक रूपमा बामे सर्दैछ । कतिसम्म भने ‘तपाईं कथा भन्नूस्, हामी लेखिदिन्छौँ’ नारासहित घोस्ट राइटिङ नेपाल नामक कम्पनी नै खुल्यो, ०६७ मा । यसमा ३० जनाजति लेखक–पत्रकार आंशिक या पूर्णकालीन रूपमा आबद्ध भएका छन् । संस्थाले १ सय ५० भन्दा बढी व्यक्तिको आत्मकथा, संस्मरण, जीवनी लेखाइसकेको कम्पनीका प्रबन्ध निर्देशक कमल ढकालको भनाइ छ । 

“घोस्ट राइटिङ संगीतकारले वाद्यवादन बजाएजस्तै, गायकले गीत गाएजस्तै एउटा पेसा हो,” कमलको दाबी छ, “कतिपयको मनमा भावना हुन्छ, लेख्ने फुर्सद हँुदैन । जिन्दगी विशिष्टताले भरिएको हुन्छ तर लेख्न आउँदैन । घोस्ट राइटिङको संस्कृति हुने हो भने लेख्न नजान्नेका कथा पनि बाहिर आउँछन् । लेखन कलाको पनि विकास हुन्छ ।”

पैसा दिएर वा लिएर लेखक बन्ने वा बनाउने पेसा भनेर बदनाम पनि नगरिएको होइन यसलाई । माक्र्सवादी समालोचक ऋषिराज बराल उपभोक्तावादी प्रचार आतंकले कुरूपलाई सुन्दर र हीनलाई उदात्त बनाएको जिकिर गर्छन् । “उपभोक्तावादको दलदल र फेसबुके राजनीतिको मायाजालले गम्भीर लेखन ओझेलमा परेको छ र केही खास पत्रिकाका टिप्पणी र चियापसलका उडन्ते गफहरू कृति र लेखकको स्तरीयता मापक बनेका छन्,” उनी भन्छन्, “सर्जक र सिर्जना दुवै हराएका छन् र घोस्ट राइटिङ नामको भाडाको लेखन मौलाउन थालेको छ ।”

कर्ण शाक्यको किताबमा घोस्ट राइटिङ गर्दागर्दै कम्पनी खोल्न पुगेका कमललाई भयंकर गल्ती पो भयो कि भन्ने नलागेको होइन । “कतिपय पब्लिकेसन स्वीट सुट लगाएर आएका छन् तर घोस्ट राइटिङबाटै चले पनि वाहवाही कमाएका छन्,” कमल थप्छन्, “हामीले घोस्ट राइटिङकै नाममा अन्डरवेयर लगाएर आउने साहस गर्‍यौँ र बदनामी पाएका छौँ ।” उनको कम्पनीले भुवन केसी, करिश्मा मानन्धर, भूमिका श्रेष्ठ आदिको आत्मकथा बजारमा ल्याउन लागेको छ । 

यही बदनामीका कारण लेख्ने र लेखाउने  दुबै यसलाई अति गोप्य राख्न चाहन्छन् । रहस्य खुल्दा बचाउ गर्छन्, ‘हात काम्ने भएर मात्र हो, नत्र आफैँ लेख्थेँ ।’ घोस्ट राइटिङको व्यावसायिक सुरुआत भर्खरै भएकाले यसमा कतिसम्म वैधानिक, कतिसम्म अवैधानिक भन्ने कुनै सीमारेखा छैन । 

राम्रा लेखक ओझेलमा पर्ने वा सिर्जनात्मक क्षमता मर्ने मत पनि छ कतिपयको । राजा, महाराजा, नेता, अवकाशप्राप्त कर्मचारी, उद्योगपति, व्यापारीको पहुँचमा रहेको घोस्ट राइटिङ पछिल्लो समय ‘कमनम्यान’का लागि पनि उपलब्ध छ । 

दमनराज तुलाधरको चर्चित आत्मकथा दमनराज तुलाधरसमेत घोस्ट राइटिङ नै हो । संग्रह प्रकाशन ललितपुरले ०३९ मा छापेको यो पुस्तकको भूमिकामै दमनराजले भनेको, वासुदेव शर्मा लुइँटेलले सुनेको र दाताराम शर्माले ४० दिन लगाएर लेखेको उल्लेख छ । प्रख्यात अंग्रेजीबाज दमनराजले नेपालीमा आफ्नो कलम नसरेकाले लेखाउनुपरेको बताएका छन् । 

त्यतिबेला वासुदेवले निजी प्रकाशनमार्फत थुप्रै व्यक्तिका जीवनकथा टेप गराएका थिए । तीमध्ये हबल्दार देवीप्रसाद, हरिहर शास्त्री, शंकर कोइराला, शंकर लामिछाने, साम्बभक्त शर्मा सुवेदी, धरणीधर कोइराला, केदारमणि आचार्य दीक्षित, नरपति शर्मा पोख्रेल, भरतराज पन्त, छविलाल पोख्रेल, अलि मियाँ, मुक्तिनाथ तिमिसिनाका जीवनकथा छापिए पनि । ती पुस्तिका कुनै लेखकबाटै त कुनै घोस्ट राइटरबाट सम्पन्न गराएको देखिन्छ । 

घोस्ट राइटिङ आत्मकथामा मात्रै सीमित छैन, कथा, उपन्यास तथा कवितासमेत अरूकै नाममा लेखिदिने अभ्यास औपचारिक या अनौपचारिक ढंगबाट भइरहेकै छ । “जीवनी, आत्मवृत्तान्त र उपन्यास लेखिदिएको छु,” कुसुमको अनुभव छ, “कतिले कविताको सम्पादन गरिदे भन्छन् । माथिदेखि तलसम्म केही नभेटेपछि के सम्पादन गर्ने ? नयाँ नै लेखिदिन्छु ।”

सबै पुस्तकमा आत्मबखान मात्रै हुन्न, कन्फेसन्स पनि हुन्छ । भविष्यमा समाजको सम्पत्ति बन्ने ती पुस्तकमा कथा, घटना र विचार मात्र नभएर नयाँ पिँढीका लागि सन्देश पनि हुन सक्छन् । संसारमा प्राय: घोस्ट राइटर नाम चलेकै लेखक हुन्छन् । पुस्तकमा स्तरीय भाषा, रोचक शैली र पठनीय गुण सिकारु लेखकबाट सम्भव छैन । प्रकाशन व्यवसायलाई अगाडि बढाउनका लागि चाहे लेखन वा मार्केटिङमा उदार हुनुपर्ने धारणा राख्छन् प्रकाशक नेपालय पब्लिकेसनका किरणकृष्ण श्रेष्ठ । 

पुस्तक सहकार्यका लागि घोस्ट राइटिङभन्दा सुकिलो नाम पनि छ, ‘कोल्याबोरेटिभ राइटिङ’ (साझेदारी लेखन) । स्वतन्त्र लेखनको आफ्नै महत्त्व छ, साझेदारीको आफ्नै । “जोसँग लेखन कला छ, ऊसँग कथा नहुन सक्छ । जोसँग कथा छ, उसलाई लेख्न नआउन सक्छ, यी दुवैको सहकार्य भयो भने पाठकले नयाँ किताब पढ्न पाउँछन्,” नेपालयका किरणकृष्ण भन्छन्, “विनोद चौधरीको आत्मकथा आफँैले लेखेका होइनन् । रुक्मांगद कटवालको किताब आफैँले लेखेको भए कस्तो हुन्थ्यो ? सम्पादन नगरेको भए कति पठनीय हुन्थ्यो ?” 

प्रकाशित: मंसिर ५, २०७४