गलत बाटो समातेको प्य्रांक

  • मनोरञ्जनका नाममा युट् युबमा अपलोड गरिने प्य्रांक भिडियोको गलत अभ्यास

- गोकर्ण गौतम

काठमाडौँको नयाँ बस्तीमा दुई केटाहरू बाटोमा हिँडिरहेका थिए । एक अपरिचित आएर उनीहरूलाई एउटा पोको दिन खोज्छन् । लिन नमानेपछि जबर्जस्ती छेउमा राखिदिन्छन् र कुलेलम ठोक्छन्, ‘बम बम...’ भन्दै । ‘टुँ..टुँ...’ आवाज पनि आउँछ । केटाहरूको सातो नउड्ने कुरै भएन । आत्तिदै भाग्छन् । यसरी दौडदा सडकमा गुडिरहेको गाडीको ठक्करबाट कसोकसो बाँच्छन् । स्याँ–स्याँ गर्दै अलि पर पुगेर पछाडि फर्कन्छन् । बम भनिएको पोको जस्ताको त्यस्तै हुन्छ । त्यही बेला अघिको अपरिचित केटा आएर हाँस्दै भन्छ, ‘त्यो बम होइन । प्य्रांक गरेको ।’

ठमेलमा दुई केटाले पर्यटकलाई रोकेर खुसुक्क भन्छन्, ‘ब्राउन सुगर चाहिन्छ ?’ कसैले वास्ता गर्दैनन् । तैपनि, देखेजति सबै पर्यटकलाई सोधिरहन्छन् । दिनदहाडै यसरी ब्राउन सुगर बेचेको देखेपछि नजिकैको पसलेले प्रहरीलाई खबर गरिदिन्छन् । एकछिनमा प्रहरी सहायक निरीक्षक (सई) आइपुग्छन् । उनले केरकार र खानतलासी लिन्छन् । एकछिन प्रहरीलाई समेत रिंगाएपछि ती केटाहरूले गुह्य कुरा खोल्छन्, ‘ हामीले मधुमेहका बिरामीले खाने ब्राउन सुगर बेचेको, लागूऔषध होइन । त्यो पनि प्य्रांकका लागि ।’ 

पर कतैबाट थाहा नपाउने गरी यी दुवै दृश्य क्यामेरामा कैद गरिएको थियो र युट्युबमा अपलोड गरियो, प्य्रांक भिडियोको नाममा । ‘नेपाली प्य्रांक मिनिस्टर’ नामक युट्युब च्यानलबाट अपलोड गरिएको बमको भिडियोले १ लाख ९० हजार भ्युज पाएको छ भने ब्राउन सुगरको भिडियोले ७० हजार । ‘नेपाल प्य्रांकस्टर्स’ नामको अर्को च्यानलको बम प्य्रांकलाई त २१ लाख पटक हेरिएको छ । यही च्यानलको ‘सुसाइड बम प्य्रांक’ अढाई लाखले हेरेका छन् । त्यति मात्र होइन, यस्तै प्रकृतिका बन्दुक वा चोरी प्य्रांक युट्युबमा छ्यापछ्याप्ती भेटिन्छ । प्य्रांक गर्नु भनेको रमाइलोका लागि कसैलाई छक्काउनु हो । पश्चिमा देशमा यस्ता भिडियोको लोभलाग्दो लोकप्रियता छ । 

हामीकहाँ इन्टरनेट र क्यामेराको पहुँच सहज भएसँगै युट्युबमा विभिन्न थरीका भिडियोको बिगबिगी हुन थाल्यो । कतिपय सिर्जनात्मक छन् । प्य्रांक आफैँमा कलात्मक काम हो, जसले दर्शकमा हाँसो पैदा गर्छ । विडम्बना † हामीकहाँ यसको गलत अभ्यास हुन थालेको छ । झन्डै चार वर्षदेखि प्य्रांक गरिरहेका आशीष प्रसार्इं आफैँ स्वीकार्छन्, “भ्युज बटुल्ने र रातारात हिट हुने लालसामा सस्ता र अनैतिक खालका प्य्रांक गर्ने प्रवृत्ति बढेको छ । यसले प्य्रांक गर्नेलाई मात्र होइन, हेर्नेमा पनि नकारात्मक असर पार्छ ।” प्य्रांकको मान्यता हुन्छ, कसैलाई हानि नपुर्‍याई रमाइलो शैलीमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु । तर, यो मान्यतालाई आत्मसात् नगर्ने प्य्रांकको बाहुल्यले चिन्ता बढाएको छ । जस्तो : ब्राउन सुगर प्य्रांकमा सामेल भएका पर्यटकलाई नेपालमा ब्राउन सुगर खुलेआम बिक्री हुँदोरहेछ भन्ने गलत छाप बस्छ । किनभने, उनीहरूले त प्य्रांक हो भन्ने पत्तै पाएनन् । त्यस्तै, अश्लील तथा द्विअर्थी संवादसहितका प्य्रांकले खासगरी बच्चा र युवाहरूमा नमीठो प्रभाव पार्छ । कारण, उनीहरूमा नक्कल गर्ने तर गलत र सही छुट्याउने क्षमता कम हुन्छ । मनोविज्ञ नन्दिता शर्मा भन्छिन्, “रमाइलोका नाममा यस्ता गलत कार्यलाई प्रश्रय दिई युट्युबमा राख्दा एकै पटक ठूलो जनसंख्यामा असर पार्छ ।” अझ आत्मशक्ति कमजोर भएकाहरूलाई त यस्ता प्य्रांकले गहिरो चोट दिने शर्माको भनाइ छ । अर्को विडम्बनाचाहिँ हामीकहाँ युट्युबमा कुनै छेकबन्दी छैन । प्राथमिक तहका बच्चाले पनि युट्युबमा भिडियो हेरिरहेका हुन्छन् । “बच्चाहरूले प्य्रांक भिडियो हेरे भने घर, स्कुल र साथीभाइसँग त्यस्तै व्यवहार देखाउँछन् । जसले गम्भीर दुर्घटना निम्त्याउने खतरा हुन्छ,” शर्मा भन्छिन्, “बाटोमा एकसुरले हिँडिरहेको मान्छेलाई तर्साउने, धम्काउने वा अलमल्याउनु नै गलत हो । व्यक्तिको गोपनीयताको हक पनि उल्लंघन गर्छ ।” उनी युट्युबजस्तो फराकिलो पहुँच भएको माध्यमबाट उत्प्रेरणा र हौसला प्रदान गर्ने कन्टेन्ट प्रवाह हुनुपर्ने आवश्यकता देख्छिन् । 

युट्युबको माध्यमबाट हुने मनोवैज्ञानिक प्रभाव त छँदैछ, प्य्रांक गरिरहँदा त प्रत्यक्ष शारीरिक र मनोवैज्ञाविक पीडाको उस्तै सम्भावना हुन्छ । व्यस्त सडकमा गरिएका बम वा बन्दुक प्य्रांक होस् वा चोरीको, कहीँ कतै सुरक्षा अपनाइएको हुन्न । दौडिँदा–भाग्दा लाग्न सक्ने चोट पूरै नजरअन्दाज गरिन्छ । त्यसैले त बम प्य्रांक भिडियोमा क्यानभास थापाको प्रतिक्रिया छ, ‘यस्तो मुख्य सडकमा प्य्रांक नगर्नु होला । दुर्घटना भयो भने कसले जिम्मा लिने ?’ अन्य कतिपय प्रतिक्रियामा यस्तै चिन्ता व्यक्त गरिएको छ । भलै, यो प्य्रांक गर्ने नीरज श्रेष्ठचाहिँ सकेसम्म सावधानी अपनाएको दाबी गर्छन् । अढाई वर्षदेखि प्य्रांक गरिरहेका नीरज भन्छन्, “हाम्रो उद्देश्य मनोरञ्जन दिलाउने हो । सकेसम्म सन्देश पनि दिन खोज्छौँ । दुर्घटना नहोस् भनेर सचेत हुन्छौँ ।” बरू, नेपालमा अझै प्य्रांकको महत्त्व नबुझेकाले आफूहरूलाई हावादारी ढंगले लिने गरेको दुखेसो छ उनको ।

एकातिर प्य्रांकको प्रवृत्ति र प्रभाव अप्रिय हुँदैछ, अर्कातिर यस्ता भिडियोले युट्युबमा उल्लेखनीय भ्युज बटुलिरहेका छन् । अहिले चर्चामा रहेकामध्ये नेपाली प्य्रांकस्टर्स सबभन्दा पुरानो हो, जसको सुरुआत आशिष र आकाश सेढार्इंले गरेका थिए । पछि आशिष एक्लैले प्य्रांकस्टर रिभाइल च्यानल खोले । नेपाली प्य्रांक मिनिस्टर चलाउनुअगाडि नीरज पनि आकाशसँगै काम गर्थे । यीबाहेक वाइल्ड प्य्रांक, क्युरियस ब्रोसजस्ता च्यानल छन्, जसले नियमितजस्तो प्य्रांक भिडियो अपलोड गर्छन् र लाखौँ भ्युज बटुल्छन् । तर, यो क्रेजलाई सही मार्गमा डोर्‍याउन भने प्य्रांकस्टारहरू चुकिरहेका छन् । 

यो समयमा युट् युब कला प्रदर्शन गर्ने माध्यममा सीमित छैन, उद्यमको गतिलो स्रोत भएको छ । भ्युज अनुसार डलर झर्छ, बैंक खातामा । त्यसैले सिर्जनशील तन्नेरीहरू युट् युबमा लहसिएका छन् । पक्कै सकारात्मक पाटो हो यो । तर, कतिपय प्य्रांकले युट् युबरलाई हेर्ने दृष्टिकोण धमिलो बनाउन भूमिका खेलेको अहिलेका चर्चित युट् युबर गिरीश खतिवडाको भनाइ छ । “सबै त होइन, कतिपय प्य्रांक भिडियो शान्ति भड्काउने र गलत सन्देश प्रवाह गर्ने खालका छन् । यसलाई निषेध नै गर्नुपर्छ,” नेपाली जीवनशैलीसम्बन्धी भ्लग बनाउने गिरीश भन्छन्, “युट्युब च्यानलका कन्टेन्टले हाम्रो संस्कृतिमाथि खराब प्रभाव पार्नुहुन्न ।” रातारात हिट हुनेभन्दा स्तरीय र उत्तरदायी भिडियोमा जोड दिनुपर्ने मत राख्छन् उनी ।

त्यसो त नेपालमा मात्र होइन, विदेशमा पनि प्य्रांक भिडियोले दुर्घटना नित्याएका उदाहरण धेरै छन् । गत अंग्रेजी वर्षको सुरुआतमा अस्ट्रेलियामा गुडिरहेको बसको ड्राइभरलाई बन्दुक ताकेर प्य्रांक गर्ने तीन युवालाई त्यहाँको प्रहरीले हिरासतमा लिएको थियो । त्यसको केही समयपछि आर्ट ग्यालरीमा प्य्रांकको नाममा आतंक मच्चाएको भन्दै चार जनालाई बेलायतमा जेल हालियो । यस्ता भिडियोले सनसनी मच्चाएपछि युट्युबले बनाएको नीतिमा भनिएको छ, ‘युट्युबमा दुराचार रोक्नका लागि कडा नीति छ । हाम्रो प्लेटफर्मभन्दा बाहिर जाने कार्यहरू नियन्त्रण गर्छौं ।’ 

तर, नेपालकै हकमा भने कुनै प्य्रांक भिडियोलाई युट्युबले हटाएको देखिन्न । बरू, हिंसा भड्काउने प्य्रांक गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बस्तीमा बमको प्य्रांक गर्ने तीन जनालाई एक रात हिरासतमा राखिएको थियो । ब्राउन सुगर प्य्रांक गर्नेलाई प्रहरीले सम्झाइबुझाइ छोडेको थियो । तर, प्य्रांक वा युट्युबमा राखिने नकारात्मक भिडियोका लागि निश्चित कानुन भने छैन । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी भन्छन्, “मनोरञ्जनका नाममा कसैलाई पीडा दिने, सामाजिक सद्भाव बिगार्ने र दुर्घटना निम्त्याउने छुट कसैलाई हुन्न । उजुरीका आधारमा हामी कारबाही गर्छौं ।” 

यस्तो हो प्य्रांक

प्य्रांक एउटा छल हो, जसको उद्देश्य हुन्छ, कसैलाई कुनै हानि नपुर्‍याई रमाइलो गर्ने । खासमा प्य्रांक सामाजिक प्रयोग हो । पत्तो नदिई गरिने त्यस्ता हँसीमजाकमा मान्छेको मनोविज्ञान र नियत छर्लङ्ग हुन्छ । ढोंग देखाउन मिल्दैन ।  अभिनय हुन्न । त्यसैले प्य्रांकलाई वास्तविक हास्य मानिन्छ । प्य्रांक गर्ने र गरिने दुवै एकअर्कामा अपरिचित हुन्छन्, जसलाई प्य्रांक गरिँदैछ, उसलाई केही जानकारी दिइँदैन । टाढा कतैबाट लुकेर क्यामेराले दृश्य कैद गरिरहेको हुन्छ । सही विषय, समय र सन्दर्भमा प्य्रांक गर्दा निश्चय नै हास्य पैदा गर्छ । हानि पनि हुन्न । अझ सकारात्मक सन्देशसमेत प्रवाह गर्न सकिन्छ । विडम्बना ! हामीकहाँ छिटो हिट हुने बहानामा प्य्रांकको गलत अभ्यास भइरहेको छ ।

 

 

प्रकाशित: मंसिर ५, २०७४