सोनाम सपना

  • भूकम्पले क्षतविक्षत बनेको एउटा गाउँको पुन:निर्माण

- देवेन्द्र भट्टराई

तेम्पाथाङ (सिन्धुपाल्चोक) ।। उपल्लो मुस्ताङलाई लोमान्थाङ भनिएजस्तै उपल्लो सिन्धुपाल्चोकको ने–पेमासाल उपत्यकालाई तेम्पाथाङ भनिँदो रहेछ । दुई वर्षअघिको भूकम्पले जुगल हिमालको काखमा बसेको सिंगो यो भेग सोत्तर बनेको थियो । तेम्पाथाङका एक सयभन्दा बढी घरधुरी माटैमा मिलेका थिए । क्यान्सिङ, ताजी, गुम्बा सबैतिर नसोचेको विपत्ति आएको थियो । “सबैतिर यत्रो हाहाकार छ, आफ्नो गाउँमा के–के भयो, को मर्‍यो, को बाँच्यो भन्ने थाहा पाउन पनि सात दिन लाग्यो,” तेम्पाथाङ गाउँमै जन्मे–हुर्केर काठमाडौँ बस्दै आएका सोनाम शेर्पा, ४६, को औडाहा अलग्गै थियो, “धन्य ! दुई जना महिलाको मात्रै ज्यान गएको रहेछ । अरू आफन्तजन चौँरीगोठमा आश्रित भएका रहेछन् । त्यसपछि गाउँ सम्झेर म बाटो लागिहालेँ ।”

यसरी सुरु हुन्छ, तेम्पाथाङ गाउँको कथा । चौँरीगोठमा जन्मे–हुर्केर उतैको माटोमा नाभि जोडिएका सोनाम शेर्पा अलिकति सामल र लत्ताकपडा लिएर गाउँ पुगेका रहेछन् । “मेरो गाउँको हालत देखेर घरगाउँ पुग्नासाथ म रोएछु, मेरै वरपर उभिएर सबै आफन्तहरू रुन थालेछन्,” सोनाम सम्झन्छन्, “यही गाउँबाट उठेर आज म देश–दुनियाँ हेर्न पुगेको छु, संसारैभरि तेम्पाथाङको सोनामलाई चिन्ने पर्यटकहरू छन् । मलाई नपुग्दो केही छैन तर मेरो गाउँ ?”

त्यसपछि जन्म्यो, तेम्पाथाङ ने–पेमासाल समाज । समाजका संयोजक बने, सोनाम । “म १५ वर्षको उमेरसम्म चौँरीगोठमा बसेको मान्छे हुँ, माथि कुती (तिव्बत सीमा)सम्म चौँरीको घिउ बेच्न हिँडेरै जाने गर्थें,” सोनाम सम्झन्छन्, “घरलाई चाहिने नुनतेल, चामल चार दिनको पैदल हिँडेर बलेफीबाट यहाँसम्म ल्याउने गथ्र्यौं । अब त्यही दु:ख र संघर्ष सम्झेर भए पनि आफ्नो गाउँलाई बनाउने हो, चिनाउने हो भनेर लागेका छौँ ।” संघर्षको कथानकमा जोडिएर सोनामले काठमाडौँ, बौद्धमा केही वर्ष गलैँचा बुनेका रहेछन् । गोंगबु बसपार्कमा चिया बेच्ने काम गरेका रहेछन् । विष्णुमती खोलाबाट बालुवा झिकेर एक बोराको तीन रुपियाँमा बेचेका रहेछन् । तर, चिनारीको कमी थिएन । सोनामका बाबु ल्हाक्पा शेर्पा पनि कुल्लीका नाइके रहेछन् । स्वभावत: कुल्ली–नाइकेका छोरा सोनाम पनि कुल्ली बनेर भाग्यको खोजीमा निस्किएको कथा रहेछ । 

“फ्ल्यासब्याक” सोनाम 

तेम्पाथाङ गाउँबाट सोनामका काका, मामा सबै जना हुल बाँधेर ट्रेकिङ काममा जाने गर्थे । सोनाम पनि त्यही हुलमा मिसिए, १५ वर्षे उमेरमा । पहिलोपटक काठमाडौँबाट जिरी–सल्लेरी हुँदै गोक्यो लेकसम्म भरिया बनेर गएका थिए । “सुक्खा पारिश्रमिक दिनको १ सय २० रुपियाँ पाइन्थ्यो, लगातार २८ दिन हिँड्नुपथ्र्यो । यसरी म अफिसियल्ली–कुल्ली बनेको थिएँ,” तेम्पाथाङबाट गुम्बा फर्कंदै गर्दा सोनाम सुनाइरहेका थिए । 

शिशु कक्षा पनि नपढेका र हातमा कुनै सीप नभएका सोनामलाई त्यसबेला ‘आफ्नो गन्तव्य यही होला’ भन्ने कहिल्यै भएन । “जे आइपर्छ, त्यही गरियो । न राम्रो नेपाली, न अंग्रेजी भाषा जानेको ठिटो थिएँ म । अहिले बुझेर ल्याउँदा कुहिरेले ह्वाट इज योर नेम ? भनेको रैछ । म ट्वाल्लै उभिएको हुन्थेँ, केही भन्न नआएर । मेरा पुराना फोटाहरू ट्वाल्ल परेर ठिंग उभिएको खालका मात्रै छन्,” उनी सम्झन्छन् । 

यसरी सोनामले डोको बोकेरै र कुल्ली बनेरै सात वर्ष बिताए । त्यसपछि उनको प्रमोसन भयो, स्टाफमा । “म छिरिङ शेर्पा ट्रेकमा थिएँ, मेरो डाइरेक्टर मिङमा छिरिङले मलाई प्रमोसन गरिदिएका थिए । स्टाफ भएपछि मैले स्टोभ बोक्न पाएँ । त्यो खुसीको कुरा थियो,” उनले सुनाए, “एक वर्षजति स्टोभ बोकेँ, खानपिन बोकेँ । त्यहाँबाट किचन भरिया बनेँ, झन्डै तीन वर्षसम्म । त्यही भान्साका भाँडा बोक्दै गर्दा र कुकसँगको संगतले म खाना पकाउन एक्सपर्ट भैहालेँ । सोलुका तुलाराम राई मेरा कुक–गुरु थिए, उनी अझै छन् कुक काममा । त्यही सिकाइबाट तीन वर्ष कुक भएँ म ।” 

त्यसपछि सोनाम ‘क्लाइम्बिङ’ शेर्पा बने । फाट्टफुट्ट अंग्रेजी आउने भएपछि गाइड काम गर्न दिइन्थ्यो । पहिलोपटक अरूण उपत्यकाबाट गाइड गर्न थाले उनले । घिउ बेच्न कुती गएकै कारण उनलाई तिब्बतीयन भाषा आउँथ्यो । यसकारण तिब्बतको ग्रुप पनि खुबै चलाए उनले । “यी अनेक घुम्ती नाघेर आफ्नै नाममा हिमाल सोनाम ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनी चलाउन थालेको पनि अहिले १० वर्ष भैसकेको छ,” सोनाम भन्छन्, “म अहिलेसम्म पुग्दै नपुगेको एउटै जिल्ला छ, बाजुरा । अमेरिका २२ पटक पुगेको अनुभव छ । युरोप, अफ्रिका पुगेँ । अर्जेन्टिना पनि गएँ । अब भने तेम्पाथाङ फर्केको छु, मलाई आफ्नो गाउँ फर्काउने भूकम्पलाई धन्यवाद ।”

 

“भर्जिन” तेम्पाथाङ

सिंगो ने–पेमासाल उपत्यकालाई लाङटाङ राष्ट्रिय निकुञ्जले छुन्छ । अझ तेम्पाथाङ, गुम्बा त निकुञ्जभित्रै पर्छ । तर, यहाँ न निकुञ्जको कुनै पोस्ट छ, न सेवा–सुविधा । माथि पेमासाल लेकतिर कीरा (यार्चागुम्बा) टिप्न जाने सिजन चल्दा गाउँलेबाट कर उठाउन भने निकुञ्ज आइपुग्छ तर अरू बेला मतलब छैन । तेम्पाथाङमा स्वास्थ्य चौकी छैन, प्रहरी पोस्ट छैन । टुरिजम बोर्डलाई तेम्पाथाङ थाहा छैन, ट्राभल एजेन्टको संस्था टान पनि पूरै बेखबर छ । गाउँमा फोन, बिजुली वा हुलाक केही छैन । एउटा प्राथमिक स्कुल छ तर मास्टर हत्तपत्त भेटिन्नन् । “हो, यस्ता सेवा–सुविधा केही छैन । तर, इको–टुरिजम छ,” सोनाम भन्छन्, “पैदल बाटोमा एउटा रूख लड्यो भने कीराले खाइन्जेल, मक्किन्जेल त्यो लडिरहन्छ । कसैले लैजाला, उठाउला भन्नु पर्दैन ।”

बाबु–बाजेले हिँड्ने गरेको ‘कुती जाने बाटो’ अहिले हराइसकेको छ । तर, तेम्पाथाङबाट एक दिनको पैदल माथिको डाँडोमा पुगेर जुगल, लाङटाङ, ल्हाक्पा दोर्जे हिमाल शृंखला हेर्ने हो भने यत्तिको अलौकिक दुनियाँ सायदै अरू देखिएला । तेम्पाथाङबाट दुई दिनमा पुगिने ‘छक्छोलु डाँडो’ आसपासमा १० भन्दा बढी ताल रहेको सूचना पर्यटन बोर्डसम्म पनि पुगेको छैन । “दुई वर्षअघि एक जना पिटर ट्रिन्डलर नामका स्वीस नागरिक पर्यटक बनेर तेम्पाथाङ आइपुगेका थिए,” सोनाम सम्झन्छन्, “त्यसपछि लगातार चारपटक उनी यहाँ आइसके, अब तेम्पाथाङ पुन:निर्माण अभियानमा पनि पिटर एक प्रमुख सहयोगी बनेर जोडिएका छन् ।” 

यस्तै संयोगले जुट्ने सहयोगीको खोजी गर्ने क्रममा सोनामले भक्तपुरका सम्पदाविद् रवीन्द्र पुरीलाई भेटेका थिए । “तेम्पाथाङमा गाउँ अनुसारको इकोसिस्टम जोगाउने घर बनाउने अभियान सुरु गर्न काठमाडौँमा अनेक ठाउँ चहारिहेरेँ । तर, सबैतिर बालुवा, सिमेन्ट, रडको मात्रै कुरा गरिरहेका भेटिए,” सोनामले सुनाए, “यसकारण संरक्षणकर्मी पुरीलाई भेटेर आफ्नो गाउँमा माटो/ढुंगाका घर बनाउने उपाय पहिल्याउन हारगुहार गरेको थिएँ ।” यो गुहारलगत्तै गत वर्ष वैशाखमा तेम्पाथाङ गाउँबाट १८ जना उत्साही गाउँलेलाई पनौतीसम्म ल्याएर नेपाल भोकेसनल एकेडेमीमा आवासीय रूपमा राखिएको रहेछ । दुई महिनाको सिकर्मी–डकर्मीको तालिमपछि गाउँले स्वयंले गाउँ फर्किएर माटो–ढुंगाका घर बनाउन थालेका रहेछन् । यो सबै काममा आर्किटेक्ट पुरीको साथ–सहयोग रहेछ । “माथि जंगलबाट काठ काटेर आफैँ ल्याउन पाइन्छ, ढुंगाको भने केही समय र खर्च गरेर जोहो गर्नैपर्ने हुन्छ,” तेम्पाथाङमा पहिलो नमुना भूकम्प प्रतिरोधात्मक घर बनाएका नोर्बु शेर्पाले सुनाए, “अहिले त गाउँसम्म आइपुग्ने विदेशी वा स्वदेशी पर्यटक पनि यही घरमा बस्न थालेका छन् ।” नोर्बुका अनुसार गत एक वर्षमा २० जना विदेशी पर्यटक तेम्पाथाङ गाउँमा घुम्न र बस्न आइपुगेका रहेछन् । 

सोनाम–रवीन्द्रको यो प्रयत्नबाट तेम्पाथाङमा अहिलेसम्म ६ वटा नमुना घर बनिसकेका छन्, अरू आठवटा निर्माणाधीन छन् । र, ४० वटा घर बन्ने क्रममा गाउँलेको प्रस्ताव आइसकेको तेम्पाथाङ ने–पेमासाल समाजका संयोजक सोनामले सुनाए । यत्रो भूकम्प–विपत्ति बेहोरेको गाउँमा क्षतिग्रस्त घरको सूची उतार्न पुन:निर्माण प्राधिकरणका पदाधिकारी दुई वर्षअघि गएका भए पनि गाउँलेले आफ्नै बलबुतामा घर उभ्याइसक्दा पनि प्राधिकरणले पछिल्लो ‘अपडेट’ लिन सकेको रहेनछ । भूकम्पपीडित गाउँलेले प्राधिकरणबाट पहिलो किस्तामा ५० हजार रुपियाँ मात्रै अहिलेसम्म पाएका रहेछन् ।

बनिसकेका र निर्माणाधीन घरको अवलोकनमा हालै तेम्पाथाङ गएका आर्किटेक्ट रवीन्द्र पुरी गाउँ पुगेपछि थोरै हौसिएका थिए, उनी थोरै रिसाए पनि । “यो दूरदराजमा नेपाली शैलीको घर आफ्नै सीप–क्षमतामा बनिरहेको देखेर खुसी पनि भएँ,” उनले सुनाए, “अर्कातिर, काठमा थाहै नपाई इनामेल र रंग दलेको देखेर अनि ढुंगे छानाको सट्टा जस्तापाताको छानो लगाउन थालेको देखेर रिसाएँ पनि ।” जसरी पनि काठलाई काठै रहन दिनु भन्दै कीरा भगाउन आलसको तेल काठमा दल्न र दु:खै गरेर भए पनि जस्ताको ठाउँमा ढुंगे छानो लगाउन गाउँलेलाई सुझाएका थिए । 

यो अभियानमा सघाउ पुर्‍याउन सोनामले काठमाडौँबाट हेलिकप्टरमा जेनेरेटर, वुडकटर मेसिनसहितका सामग्री तेम्पाथाङ पुर्‍याएका थिए । पनौतीबाट सिकर्मी–डकर्मी, काम सिकेका गाउँलेहरू एकपछि अर्को गर्दै घर बनाउने काममा जुटिसकेका छन् । माथि जंगलबाट धुपीको काठ ओसार्न सक्नेले धुपी ल्याएका छन्, नसक्नेले सल्लो ओसार्दैछन् । अबको दुई वर्षमा सिंगो गाउँलाई ‘नमुना’ बनाउन भएभरका गाउँले दिनरात नभनी जुटिरहेका छन् ।

 

जानु छ टाढा... 

तेम्पाथाङमा सरकारी आश्वासन र अनुदानको भरथेगबाट एक दर्जनभन्दा बढी घर बनिरहेका छन् । तर, सोनामको सपना भने अलग छ । “आज मनाङ–मुस्ताङ सबैतिर गाडी पुगिसकेको छ,” सोनाम भन्छन्, “फ्रेस र भर्जिन ट्रेकिङ–रुट पाउनै मुस्किल छ । अब तेम्पाथाङमा दुई वर्षभित्रमा नमुना ४० घर बनेपछि होम–स्टेसँगै दिगो पर्यटनको उपायले यो क्षेत्रलाई तेम्पाथाङ–इन–वन्डरल्यान्ड बनाउँदै छौँ ।” 

सोनाम कतिसम्म लागेका रहेछन् भने आफ्ना पुराना पाहुना पर्यटक क्यारोल क्लार्कको निम्तोमा अमेरिकाको सान फ्रान्सिस्को पुगेका बेला उनले सोधिछन्, ‘तिमी आफू, श्रीमती अथवा छोराछोरीका लागि के चाहन्छौ ?’ ‘म र मेरो परिवारलाई केही चाहिँदैन,’ सोनामको जवाफ थियो, ‘बरू एउटा काठ काट्ने (आराजस्तो मेसिन) दिनुहोस्, म तेम्पाथाङ लैजानेछु ।’ आश्चर्यमा पर्दै क्यारोलिनले त्यो सामान किनिदिइन्, आज त्यो आरा मेसिन तेम्पाथाङको समुदाय–घर निर्माणमा सहयोगी बनेको छ । यस्तै, स्वीस सहयोगी पिटरले दिएका ढुंगा खोप्ने ड्रिलिङ मेसिनसहितका औजार पनि गाउँकै काममा छन् । सोनामले केही सज्जन पर्यटकबाट सिकेको मन्त्र पनि यही रहेछ, “हामी पैसा जति पोको पार्छौं, त्यति गरिब हुँदै जान्छौँ । एक हजार रुपियाँ एक्लै पोको पारेर राख्ने कि तीन जनाले बाँडेर व्यवहार चलाउने ?” 

सोनामकी श्रीमती र छोराछोरी काठमाडौँमै बस्छन्, जो केही उद्यम गर्न वा सधैँका लागि बस्नै पनि दूरदराज गाउँ जानै चाहँदैनन् । यसकारण सोनाम एक्लिएका पनि छन् । “आज तेम्पाथाङमा मेरो घर छैन, बाआमा पनि अब छैनन् । तैपनि, म मेरो जन्म भएको गाउँ फर्कन चाहेको हुँ । धर्म गर्ने भनेर एउटा गुम्बामा ड्याम्मै पैसा चढाए पनि केही नहुने रहेछ । बरू आफ्नो नाभि जोडिएको गाउँ अलिअलि चिनाउन सके धर्म हुन्छ भनेर लागेको हुँ,” सोनाम भन्छन्, “मैले जसोतसो संसार देख्न सकेँ, आफ्नो गाउँलाई पनि यही संसारभित्रै जोड्न चाहन्छु ।” 

प्रकाशित: मंसिर ५, २०७४