एन्ड्रोइड ओरियोमा अपडेट

- नेपाल संवाददाता

एन्ड्रोइडको ओरियो अपरेटिङ सिस्टममा गुगलले पहिलो अपडेट ल्याउने तयारी गरेको छ । ओरियो अपरेटिङ सिस्टम केही महिनाअघि मात्रै रिलिज भएको हो । र, गुगलका अनुसार एन्ड्रोइड प्रयोगकर्ताहरुमध्ये तीन प्रतिशतभन्दा पनि कमले मात्र यो प्रयोग गरिरहेका छन् । किनभने, कमै मात्र स्मार्टफोनमा यो उपलब्ध छ ।

हालका लागि कम प्रयोगकर्ता भए पनि गुगलले एन्ड्रोइडको यो पछिल्लो अपरेटिङ सिस्टममा भएका कमी–कमजोरी हटाउने प्रयास थालिसकेको छ ।

पहिलो अपडेटमै यसलाई कम र्‍याम ओगट्ने अपरेटिङ सिस्टम बनाउन लागिएको छ । ओरियोमा अब यस्तो क्षमता रहनेछ, जसले कुनै एप केही महिनासम्म प्रयोगमा नआएको भए त्यसलाई इनेक्टिभ एप भनेर वर्गीकरण गर्छ । र, यस्ता एपलाई र्‍यामबाट हटाएर सिस्टम मेमोरीको सदुपयोग अन्य एक्टिभ एपका लागि गरिदिन्छ ।

त्यस्तै नोटिफिकेसन र सेटिङमा पनि केही आकर्षक अपडेट आउनेछन् । र, स्मार्टफोनसँग जोडिएका ब्लुटुथ एसेसरिजको ब्याट्री लेभल क्विक सेटिङबाटै हेर्न मिल्नेछ । सेटिङ पेजमा पनि माथितिर सर्च बार थपिनेछ । यी लगायतका अन्य थुपै्र आकर्षक अपडेटसहित एन्ड्रोइड ८.१ छिट्टै नै उपलब्ध हुने अनुमान छ ।

प्रकाशित: मंसिर ५, २०७४