[झटारो] कान्छालाई चिट्ठी

  • एउटालाई भोट हाल्दा अर्काको पाप लाग्ने, अर्कालाई हाल्दा अर्काको श्राप लाग्ने । मरेपछि नर्कमा परिएला भन्ने डर भइसक्यो ।

- लक्ष्मण गाम्नागे

कान्छा ! शुभ आशिक छ । 

ज्यानलाई ठीकै भए पनि मनलाई बेठीक छ । साह्रै रनभुल्लमा परेको छु । देश र प्रदेशको निर्वाचन आयो भन्छन् । चुनावमा उठेका नेता–कार्यकर्ताहरूको लर्को लागेको छ गाउँमा । भोटका लागि हामीलाई अनेक तरहले फकाइरहेका छन् । हामी हत्तपत्त फकिनेवाला थिएनौँ । उहिलेका नेताहरू जस्तै सम्झेर अहिले पनि हामी मुन्टो बटार्दै थियौँ । तर, यसपालिचाहिँ अलि अनौठा उम्मेदवार देखा परे गाउँमा । पहिलाका भन्दा लगनशील, परिश्रमी र जनसेवीजस्ता । तिनीहरूले भोट माग्ने नौलानौला तरिका प्रयोग गरेर हामीलाई फल्स्याङफुल्सुङ पार्न थालेका छन् । एकपछि अर्को झन्झन् सिपालु । सबैलाई जिताउन पाए हुन्थ्यो जस्ता । साह्रै दोधारमा पारे कान्छा यिनीहरूले ।

पहिला–पहिलाका उम्मेदवारहरू यो गरौँला, त्यो गरौंला भनेर ढाँट्थे, जान्थे । तर, अहिलेकाहरू त हामीलाई कामै सघाएर भोट माग्छन् । खेतमै, बारीमै, खर्कमै, पँधेरामै, गोठमै, चुलामै, ओछ्यानमै आएर हामीलाई मुसार्छन् । उनीहरूले गरेका समाजसेवाका फोटाहरू तैँले पनि फेसबुकमा देखिस् होला । सुरुमा एक जना उम्मेदवारले खेतमा आएर चार–पाँच मिनेटजति धान काटेर फोटो खिचे । त्यो फोटो फेसबुकमा देखेपछि अरूअरू उम्मेदवारहरू पनि धमाधम गाउँ पसेर जनताको सेवामा होडबाजी गर्न लागे । धान काट्ने उम्मेदवारका विरोधीले हाम्रा गोठको भकारो सोहोरे । अर्का एक जनाले भैँसी चराए । कोही दुधेरो बोकेर गाई दुहुन लागे, कोही जाँतो घुमाउन थाले । हाम्रो सेवामा यतिसम्म लीन भए कि एक जना उम्मेदवारले जेठाबाको चर्पी टल्काउँदै गरेको फोटो खिचेर लगे । 

एक जना ठिटा उम्मेदवारले एक घन्टा हाम्री नातिनीको कोक्रो हल्लाइदिएर बुहारीलाई भोट दिने बाचा गराएर गए । तिनले कोक्रो हल्लाएको थाहा पाएर अर्का एक जनाले त नानीले फोहोर गरेका थाङ्ना लगेर धुन थालेछन् । अर्का उम्मेदवारसँग धारामै थाङ्ना खोसाखोस भएछ, ल हेर् त कान्छा !

तानातानले गर्दा त्यसको भिडिओचाहिँ बिग्रिएछ, फेसबुकमा हाल्न पाएनछन् । माया लागेर मेरा त आँखामा आँसुु नै आयो । आँसुको कुरा गर्दा एक जना उम्मेदवारले पुरानी कलाकार भन्ने थाहा पाएर तेरी ठूली भाउजुलाई डाँको छाडेर रुन लगाएछन् । एकछिन रुवाएर रुमाल झिकेर आँसु पुछिदिएछन् । त्यो रोएको र आँसु पुछेको भिडिओ फेसबुकमा देखेपछि सारा गाउँले उनैलाई भोट हाल्न कस्सिएका छन् । कस्ता–कस्ता सीप भएका नेता जन्मिएछन् हाम्रो देशमा बाबै !

हाम्रा दु:खका दिन गएछन् अब । हुँदाहुँदा एक जनाले त मेरा खुट्टा च्याप्पै समातेर तातो पानीले धोइदिएर तेल लगाइदिएर ढोगे । शरमले मेरो त सासै जालाजस्तो भो । फेसबुकमा आयो कि आएन कान्छा त्यो ? अर्की एउटी ठाँट परेकी महिला आएकी थिइन्, बाटोमा जसलाई भेट्यो, उसैलाई गम्लङ्ग अँगालो मार्थिन् । भन्न पनि लाजमर्दो, मलाई पनि भोट दिउँदिउँ पारेर गइन् ।

यस्ता अनेक उपकारी उम्मेदवार आएका छन् । एउटा भोट छ । कसलाई दिने, कसलाई नदिने, साह्रै दोधारमा पारे असतीहरूले । एउटालाई भोट हाल्दा अर्काको पाप लाग्ने, अर्कालाई हाल्दा अर्काको श्राप लाग्ने । मरेपछि नर्कमा परिएला भन्ने डर भइसक्यो । भोट हाल्नै नजाउँ भन्दा पनि पछि घिसार्न आइहाल्छन् । साह्रै टेन्सन भयो कान्छा, चाँडो घर आइज, एउटा टुंगोमा पुग्नुपर्‍यो । 

– उही तेरो बा रनभुल्ल नेपाली

प्रकाशित: मंसिर ४, २०७४