चुनाव बिथोल्ने चाला

  • शंकाको सुई विप्लव नेतृत्वको नेकपातिर

- माधव बस्नेत

घटना १ : माओवादी केन्द्रका नेता एवं गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी ३० कात्तिक अपराह्न गोरखा नगरपालिका–१० स्थित सिर्दी खोलानजिक सुतली बम विस्फोट भयो । श्रेष्ठलाई तर्साउने गरी बम विस्फोट गराइएको थियो । घटनामा कुनै मानवीय क्षति भएन । 

घटना २ : नेपाली कांग्रेसका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सिंचाइ राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी ३० कात्तिक मध्याह्न रोल्पाको देउरीपोखरीमा बम प्रहार भयो । पुनसहितको टिमलाई जंगलबाट बम प्रहार गरिएको भए पनि कुनै मानवीय क्षति भएको छैन । 

घटना ३ : वाम गठबन्धनबाट रोल्पा प्रतिनिधिसभा र प्रदेशसभा २ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता क्रमश: वर्षमान पुन, दीपेन्द्र पुनसहित सवार गाडी २५ कात्तिकमा विद्युतीय धरापमा पर्‍यो । रोल्पाको माडीगाउँपालिका–१ स्थित भिट्टाबाङमा पुन सवार गाडीलाई धरापमा पारिएको थियो । 

घटना ४ : वर्षमान पुनमाथि आक्रमण हुनु अघिल्लो दिन मात्र निवर्तमान गृह तथा हाल बिनाविभागीय मन्त्री जनार्दन शर्मामाथि पश्चिम रुकुममा यस्तै आक्रमण भयो । तर, कुनै मानवीय क्षतिचाहिा भएन । 

रु कुममा जस्तै रोल्पा घटनामा पनि मानवीय क्षति नगराई तर्साउने नियतले मात्र आक्रमण गरिएको बुझ्न सकिन्छ । जस्तो कि, माओवादी केन्द्रका नेता वर्षमान पुन आफैँ विस्फोटक पदार्थको क्षमताप्रति जानकार छन् । २५ कात्तिकमा आफूलाई लक्षित गरिएको विद्युतीय धरापलाई उनले गाडीबाट ओर्लिएर अध्ययन गरेका थिए । यसपछि उनको भनाइ थियो, “तर्साउन मात्र बिछ्याइएको रहेछ ।” निर्वाचनको मिति जति–जति नजिकिँदैछ, त्यति–त्यति बम विस्फोटनका शृंखलाबद्ध हमला बढेका छन् । भलै, अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । घटनाक्रम नियाल्दा नियोजित रूपमै विस्फोटनका घटना भएको बुझ्न कठिन छैन । तर, अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् । त्यसैले जिम्मेवार को त ?

नेकपा माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू भारतमा सुरक्षित नरहेको भन्दै ०६० को अन्तिमबाट नेपाल भित्रिएर रोल्पामा बस्न थालेका थिए । त्यसबेला प्रचण्डका विश्वासपात्र थिए, नेत्रविक्रम चन्द उर्फ विप्लव । माओवादीले रोल्पा र रुकुमको भूगोललाई समेटेर विशेष ब्युरो बनाएको थियो । प्रचण्डले विप्लवलाई त्यही ‘विशेष’ ब्युरोको इन्चार्ज बनाएका थिए । प्रचण्डले ‘क्रान्ति’को विसर्जन गरेको, गद्दार भएको आक्षेप लगाउँदै असोज ०७१ यता विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् । र, रोल्पामै महाधिवेशन गरी पछिल्ला दिनमा त्यसको नाम राखेका छन् नेपाल कम्युनिस्ट पार्टी । उनै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले संघ र प्रदेशको निर्वाचनलाई भाँड्ने नियत राखेर विद्युतीय धराप राख्दै बम विस्फोट गराएको प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको दाबी छ । 

माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि आक्रमण हुनु तीन दिनअघि नै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा इन्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदीलाई पक्राउ गरेको थियो । सुवेदी तिनै हुन्, जसका बाबु झक्कु सुवेदी काठमाडौँ–६ बाट माओवादी केन्द्रका उम्मेदवार बनेका छन् । रोचक चाहिँ यो छ कि विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताको गिरफ्तारीपछि कांग्रेस नेता तथा सिँचाइ राज्यमन्त्री पुनले वक्तव्य जारी गरी उनीहरूको तत्काल रिहाइको माग गरेका थिए ।

यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २७ कात्तिकमा आफ्नो निर्वाचन क्षेत्र चितवनको शिवनगरस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकै संरक्षणमा विप्लवका कार्यकर्ताहरूले माओवादी उम्मेदवारलाई आक्रमण गरेको आक्षेप लगाए । प्रचण्डको भनाइ थियो, ‘रोल्पामा विप्लवसँग सम्बन्धित मान्छेहरू हतियारसहित गिरफ्तार भए । त्यहीँको अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ । उहाँले वक्तव्य निकालेर तिनीहरूलाई छिटो छोडिदेऊ भन्नुभयो । यसले प्रस्टै देखियो, सरकारको संरक्षण र स्थानीय कांग्रेससँगको तालमेलमा हाम्रा उम्मेदवारहरूमाथि आक्रमण भइरहेको छ ।’ प्रचण्डले यस्तै अभिव्यक्ति २९ कात्तिकमा गोरखा पुगेर पनि दोहोर्‍याएका थिए । 

प्रचण्डले सरकारमााथि आक्षेप लगाएको तीन दिन नबित्दै कांग्रेस नेता एवं मन्त्री पुनमाथि आक्रमणको निसाना दागियो । अचम्म के भने विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म कुनै पनि घटनाको जिम्मेवारी लिएको छैन । उल्टै आफूहरूलाई जबर्जस्ती युद्धमा धकेल्ने नियतले उत्तेजित बनाउन, एक्ल्याउन, दमन गर्न खोजेको बताइरहेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवसमेत रहिसकेका विप्लव नेतृत्वको नेकपाका नेता प्रभात चलाउनेका भनाइमा पार्टी नेतृत्वको निर्देशन र योजनामा कुनै पनि आक्रमण भएका छैनन् । त्यही कारण नै नेतृत्वले कुनै पनि घटनाको जिम्मेवारी नलिएको हो । “आक्रमण जसले गरेको भए पनि विप्लव नेतृत्वका नेता–कार्यकर्ताले भन्दै सबै दोष थोपर्ने प्रयास भइरहेको छ,” उनी भन्छन्, “हामीले आक्रमण नै गरेका छैनौँ । जिम्मेवारी कसरी लिने ?

पार्टीको योजनामा आक्रमण भएको हुन्थ्यो भने जिम्मा लिन्थ्यौँ ।” उनका अनुसार माओवादी केन्द्रका नेताहरूले आक्रमणमा जबर्जस्ती मुछेर र प्रहरीले घटनामा संलग्नै नभएका कार्यकर्तालाई पक्राउ गरेर द्वन्द्वको वातावरण सिर्जना गर्न खोजेको दाबी गरे । तर, शंकाको सुई विप्लव नेतृत्वको नेकपातिरै तेर्सिएको छ । र, ३० कात्तिक बिहानसम्म प्रहरीले त्यस पार्टीका १ सय ३६ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेची ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूबाहेक अधिकांश जिल्लास्तरीय कार्यकर्ता छन् । तर, नेकपाकै कार्यकर्ता घटनामा संलग्न भएको दाबी प्रहरीले पनि गर्न सकेको छैन । किनभने, घटनास्थलबाट कोही पनि पक्राउ परेका छैनन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेका भनाइमा आक्रमणमा कुन समूह संलग्न छ, घटनाबारे अनुसन्धानकै चरणमा भएकाले यही समूहले आक्रमण गरेको भन्न सकिने अवस्था छैन । “उम्मेदवारहरूमाथि प्रहरी एकाइ नभएका दुर्गम ठाउँमा आक्रमण भएकाले हामी अनुसन्धानकै क्रममा छौँ,” प्रवक्ता न्यौपाने भन्छन्, “निर्वाचन गतिविधि बिथोल्ने प्रयास गरेको आशंकामा विप्लव नेतृत्वको पार्टीमा आबद्ध मान्छेहरू पनि पक्राउ परेका छन् । तर, आक्रमणमा उनीहरू नै संलग्न छन् भन्ने पुष्टि भइसकेको छैन ।”

यद्यपि, प्रहरी विप्लव नेतृत्वका नेता–कार्यकर्तासँग कतिसम्म त्राहिमाम छ एउटा उदाहरण हेरौँ । माओवादी लडाकुकी पूर्व बटालियन कमिसार तथा पूर्वसांसद सावित्री दुरा गुरुङ नेतृत्वको एउटा समूह २८ कात्तिकमा लमजुङ पसेको सुइँको पायो, सुरक्षा निकायले । गुरुङ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ हुन् । सुरक्षा निकायबाट बेपत्ता अनेरास्ववियु क्रान्तिकारीका पूर्वमहासचिव पूर्ण पौडेलकी जीवनसंगिनीसमेत हुन् उनी । सावित्री नेतृत्वको उक्त समूह लमजुङ पसेको चाल पाएपछि सुरक्षा निकाय ‘अलर्ट’ भयो । कारण, लमजुङमा कुनै समय सावित्रीहरूले नै ‘देवता’ मानेका देव गुरुङ माओवादी केन्द्रबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । उनै देवमाथि आक्रमण गर्न लडाकु समूह लमजुङ पसेको आकलन गरी सुरक्षा निकाय अलर्ट भएको थियो ।

सुरक्षा निकायले पश्चिममा रुकुम–रोल्पा, गोरखा र लमजुङलाई संवेदनशील जिल्लाको सूचीमा राखेको छ । पूर्वमा संखुवासभा, भोजपुर, खोटाङ, सुनसरी संवेदनशील जिल्लाको सूचीमा परेका छन् । ती जिल्लामा सुरक्षा निकायले निर्वाचन बिथोल्न खोज्नेहरूलाई गोलीसमेत हान्न सक्ने अधिकार प्रत्यायोजन गरिसकेको छ । उम्मेदवारहरूमाथि आक्रमण विगतमा माओवादी द्वन्द्वको घनीभूत आधार इलाका मानिने रुकुम, रोल्पामा मात्र भएको छैन, पूर्वतिर पनि यस्ता घटना भइरहेका छन् । २८ कात्तिकमा भोजपुरको ट्याम्केमैयुुम नगरपालिका–७ को गुम्बा भन्ने स्थानमा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वसूचना तथा प्रविधिमन्त्री शेरधन राईलाई लक्षित गरी बम विस्फोटन गराइयो । राई प्रदेश–१ अन्तर्गत भोजपुर प्रदेशसभा १ का उम्मेदवार त हुन् नै, त्यस प्रदेशबाट मुख्यमन्त्रीका प्रत्याशीसमेत हुन् । बम विस्फोटनबाट राईलाई त केही भएन । तर, उनका अंगरक्षक घाइते भए । २८ कात्तिकमा संखुवासभामा पनि संघीयसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतममाथि आक्रमण प्रयास भयो । त्यसअघि खोटाङमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश–१ को प्रदेशसभाका उम्मेदवार सुवास पोखरेलको घर–जग्गा कब्जा गरेको घोषणा गरेका थिए विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताहरूले । पछिल्ला घटनामध्ये नेकपाका कार्यकताले जिम्मा लिएको घटना पोखरेलको घर–जग्गा कब्जा मात्र हो । 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा आफूहरूको निर्देशनमा कोही कसैका उम्मेदवारमाथि आक्रमण नभएको दाबी गर्छन् । “हाम्रो पार्टीले कुनै उम्मेदवारमाथि आक्रमण गरेको छैन,” उनी भन्छन्, “यो हामीलाई बदनाम गर्न लगाइएको आरोप हो ।” नेकपाका कार्यकर्ताहरूले शृंखलाबद्ध आक्रमणको जिम्मेवारी नलिए पनि विस्फोटक पदार्थसँग अभ्यस्त, बम बारुद खेलाउन जान्ने लडाकुहरू नै यस्ता घटनामा संलग्न भएकामा शंका छैन । यस्ता लडाकुहरू कि त माओवादी केन्द्रसँगै छन् कि विप्लवसँगै । माओवादी केन्द्र आफैँ निर्वाचनमा होमिएकाले उनीहरूका यस्ता घटनामा संलग्न नहुन सक्छन् । दुर्गम क्षेत्रमा छापामार शैलीमा यस्ता आक्रमण भएकाले पनि विप्लव नेतृत्वको पार्टीप्रति तेर्सिएको हो । रोल्पामा वर्षमान पुनसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस सल्लाहकार मनोज घर्ती मगर माडीगाउँपालिका–१ स्थित भिट्टाबाङमा विप्लवकै कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराएको बताउँछन् । विप्लव माओवादीका जिल्लास्तरीय कार्यकर्ताले फेसबुकमार्फत घटनाको जिम्मेवारी लिएको उनको भनाइ छ । भन्छन्, “रोल्पामा वर्षमान पुन र रुकुममा जनार्दन शर्मामाथि जुन आक्रमण भएको छ, यसमा विप्लवकै कार्यकर्ताहरू संलग्न छन् ।”

विप्लव नेतृत्वको पार्टीले उम्मेदवार र तिनका सहयोगीहरूमाथि आक्रमण केन्द्रित गरेर नैतिक जिम्मेवारी लिनबाट पन्छिएको हो भने त्यस पार्टीले राजनीतिक र नैतिक दुवै हिसाबले बेइमानी गरेको ठहर्छ । त्यो कसरी भने उसले सशस्त्र द्वन्द्वको ‘फायर’ खोलेको औपचारिक जानकारी दिएको छैन । यस अर्थमा ऊ शान्तिपूर्ण राजनीतिक मैदानमै छ भनेर बुझ्नुपर्ने हुन्छ । शान्तिपूर्ण राजनीतिक मैदानमा भएको पार्टीले एकपछि अर्को आक्रमण गर्नु आपराधिक हर्कत हो । अर्कातिर विप्लव नेतृत्वको नेकपाले संसदीय व्यवस्थालाई जतिसुकै सिंगारपटार गरे पनि त्यसले निकास दिन सक्तैन । समस्याहरू ज्यूँका त्यूँ रहन्छन् । जादुमयी छडीमा समस्याको समाधान गर्न नयाँ जनवादी क्रान्ति नै हुनुपर्छ भन्ने मान्यता राख्छ । साथै, उसले एकीकृत क्रान्ति गर्ने भनेको छ । दस्तावेजमा विप्लवले त्यसको पुरक व्याख्या त गरेका छैनन् । तर, वैधानिक र अवैधानिक दुवै आन्दोलनको संयोजनबाट सत्ता कब्जा गर्ने नीति नै विप्लवको एकीकृत जनक्रान्तिको परिभाषा भएको त्यस पार्टीमा आबद्ध नेता–कार्यकर्ताहरू बताउँछन् । प्रवक्ता विश्वकर्मा भन्छन्, “एकीकृत जनक्रान्ति भनेको जनताको सहभागितामा गरिने आन्दोलन हो ।” 

विप्लव नेतृत्वको पार्टीले प्रस्ट कित्ताकाट नगरेकाले सुरक्षा निकायलाई पनि असमन्जस्यतामा पारिदिएको छ । भलै, यतिका दिनसम्म आक्रमण कसले गरेको हो भनेर पत्ता लगाउन नसक्नु सुरक्षा निकायको कमजोरी हो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार चन्द नेतृत्वको पार्टीका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गरौँ द्वन्द्वमा सहभागी भएको जानकारी दिएको छैन । नगरौँ उम्मेदवारमाथि आक्रमण गरेर त्यस्ता संकेतहरू देखाएको छ । “हामी अहिले अप्ठ्यारो अवस्थामा छौँ,” ती प्रहरी अधिकारी भन्छन्, “आक्रमण कसले गरेको हो, एक–दुई दिनभित्रैमा अनुसन्धान निचोडमा पुर्‍याएर प्रहरी यस्ता घटना नियन्त्रण गर्न लागिपर्छ ।” 

 

प्रकाशित: मंसिर ४, २०७४