फायरफक्स ब्राउजर नयाँ भर्सनमा

- नेपाल संवाददाता

इन्टरनेट ब्राउजर फायरफक्स नयाँ भर्सनमा आएको छ । फायरफक्स क्वान्टम नामले चिनिने यो भर्सन पुरानो फायरफक्स ब्राउजरभन्दा कम्तीमा दोब्बर तीव्र रहेको दाबी गरिएको छ ।

फायरफक्स क्वान्टमले पुरानो भर्सनले भन्दा कम र्‍याम ओगट्छ । त्यसैले यो पुरानोभन्दा तीव्र भएको हो । यसमा टुलबार कस्टमाइज गर्ने र उपयोगी एक्सटेन्सनहरु थप्न मिल्ने सुविधा पनि छ । र, गुगलको चर्चित ब्राउजर गुगल क्रोममा जस्तै फायरफक्स क्वान्टममा पनि धेरै एक्सटेन्सनहरु नि:शुल्क उपलब्ध छन् । त्यसैले फायरफक्स क्वान्टमले अब गुगल क्रोमलाई पनि कडा चुनौती दिने अनुमान गरिएको छ ।

यसमा प्राइभेट ब्राउजिङमा पनि थुप्रै सुधार गरिएको छ । प्राइभेट ब्राउजिङ गर्दा ती सबै फिचर उपलब्ध हुनेछन्, जुन सामान्य ब्राउजिङमा हुन्छन् । तर, यसमा पासवर्ड सेभ र ट्रयाक्सन अफ गरिएको

हुन्छ, जुन प्राइभेट ब्राउजिङको मुख्य विशेषता नै हो ।

फायरफक्सको डिफल्ट सर्च इन्जिन याहु थियो । तर, धेरै प्रयोगकर्ता गुगल सर्च रुचाउँछन् । हुन त पुरानो भर्सनमा डिफल्ट सर्च इन्जिन गुगललाई पनि बनाउन सकिन्थ्यो । तर, फायरफक्स क्वान्टममा भने गुगल नै यसको डिफल्ट सर्च इन्जिन रहनेछ । पुरानो भर्सनलगायत अन्य प्रतिस्पर्धी ब्राउजरको तुलनामा फास्ट र नयाँ फिचरसहित आकर्षक भएर आएको फायरफक्स क्वान्टम वेभ, एन्ड्रोइड वा आईओएस जुनसुकै भर्सनमा पनि उपलब्ध छ ।

 

प्रकाशित: मंसिर ३, २०७४