[फिल्म] कामचलाउ कमेडी

  • झ्यानाकुटी अर्थपूर्ण फिल्म होइन तर सवा दुई घन्टा बिताउन खोज्नेलाई कामचलाउ खुराकचाहिँ छ ।

- गोकर्ण गौतम

‘लोग्ने–स्वास्नीको झगडा परालको आगो !’ हाम्रो जनबोलीमा झुन्डिएको उखान हो यो । खासमा पति–पत्नीको सम्बन्ध प्राय: यस्तै हुन्छ । तर, परालमा अलि बढी आगो लाग्यो भनेचाहिँ घर नै जल्न सक्छ अर्थात् सम्बन्धमा पूर्णविराम लाग्ने खतरा हुन्छ । पति–पत्नीको यही प्रेम र रिस मिसिएको सम्बन्धलाई चटपटे शैलीमा देखाइएको छ, सिमोस सुनुवार निर्देशित फिल्म झ्यानाकुटीमा । लोग्ने–स्वास्नीबीच आफ्नै कारण खटपट आउँछ, त्यसपछि छिमेकी र आफन्तले च्याँखे थाप्न खोज्छन् र घाउ अझ बल्झाइदिन्छन् । निर्देशक सुनुवार र लेखक प्रदीप भारद्वाजको ध्यान यही विषयमा हास्य रस दिन केन्द्रित छ । यो आफैँमा समस्या होइन । समस्याचाहिँ ‘ट्वीस्ट’को खडेरी, घरझगडालाई फराकिलो सामाजिक दृष्टिकोणबाट नियाल्न नसक्नु र केन्द्रीय द्वन्द्व झिनो हुनु हो । 

बुधे (सौगात) मासु खाँदैन तर रक्सी भनेपछि हुरुक्कै हुन्छ । उसकी बूढी मालती (वेनिशा) चाहिँ मासु भनेपछि हुरुक्क तर रक्सी पिएको देख्न सक्दिनन् । बुधेलाई रक्सी नपिउन बिन्ती गर्छिन् तर हरदिन रक्सी पिएर हप्कीदप्की गर्छ । अति भएपछि दूधे बालककी आमा मालती घर छोडेर हिँड्छिन् । एक–दुई दिन जसोतसो बिताए पनि बूढीको साह्रै न्यास्रो लाग्छ । तैपनि, मालती फर्केर आउँदिनन् । बरू पोइल गएको हल्ला चल्छ । यस्तो बेला मनमा माया भए पनि देखाउन नजान्ने, बरू उल्टै रिसाउने बुधेले के गर्ला ? फिल्मको कथा यत्ति–यत्ति नै हो । क्लाइमेक्स दर्शकको सोचाइभन्दा टाढा नभए पनि दर्शकको मुहारमा मुस्कानचाहिँ छर्छ । 

टिपिकल गाउँले स्वादमा पस्कनु झ्यानाकुटीको सबल पाटो हो । बुधे र मालतीको हुलिया, बोल्ने शैली र सम्बन्धबाट मात्र होइन, मामा, मासु पसले, होटल साहूजस्ता पात्र र बाख्रा चराएको, दूध बेचेको, दाइँ गरेको, भारी बोकेको जस्ता दृश्यले गाउँलेपनको आभास गराउँछ तर मुख्य कथा बुधे र मालतीको ‘लुकामारी’मै सीमित छ । त्यसैले फिल्मको दायरा साँघुरो लाग्छ । बुधेका कतिपय आनीबानी र व्यवहार हँसाउनकै खातिर राखिएको छ । सुरुआती केही मिनेटमै मालतीले घर छोड्छिन् । बूढाबूढीको कटाक्ष, मालती हराएपछि बुधेले छोरालाई खुसीका लागि गर्ने अनेक प्रयास, सहरबाट भान्जी (सुमी मोक्तान)को आगमन, भान्जी र बुधेको बिहे गराइदिएर ‘चान्समा डान्स’ गर्न खोज्ने मामा (जीवन भट्टराई) चलाख बन्दीपुरे र धूर्त होटल साहूले फिल्ममा जसोतसो ‘होल्ड’ गर्छन् । तर, मध्यान्तरपछि आधा घन्टासम्म निर्देशकको लगाम फुत्किएको छ । यसबीचमा कुनै ठूलो घटना पनि हुन्न । कथा घिसार्ने काम मात्र भएको छ । मालतीको ‘फ्ल्यासब्याक’ पनि रोचक र सान्दर्भिक लाग्दैन ।

लठैत स्वभावको बुधे र रिसको पोकोझैँ लाग्ने मालती हाम्रो सन्दर्भमा नयाँ पात्र होइनन् । बरू चास्नी थप्ने लोभले हुनुपर्छ, निर्देशकले भान्जीको पात्रलाई जबर्जस्ती घुसाएका छन् । बडो आधुनिक लाग्ने भान्जीको रूप र ढंग दुवै नभएको बुधेप्रतिको एकोहोरो आशक्ति विश्वसनीय लाग्दैन । उनी र झाँक्रीको चरित्र अनावश्यक लाग्छ । त्यस्तै, त्यतिन्जेल छोरीले घर छोड्दा पनि माइती पक्षले चाल नपाउनु अर्को बिडम्वना हो । पटकथा अपेक्षाकृत चुस्त र रसिलो नभए पनि पात्र र सन्दर्भ अनुरूपका संवाद लेखेका छन्, भारद्वाजले । ग्रामीण जीवनशैली र परिवेशको झल्को दिने संवादलाई फिल्मको सुन्दर पक्ष मान्न सकिन्छ तापनि समस्याचाहिँ उही छ, पति–पत्नीको मनोविज्ञान र व्यवहारलाई सार्थक रूपमा बुन्न अल्छी गर्नु ।

लप्पनछप्पन, शब्द, फाटेको जुत्ताजस्ता फिल्मबाट निराशा छरेका सौगात झ्यानाकुटीमा प्रिय लाग्छन् । उनको ‘कमिक टाइमिङ’ गज्जब छ । वेनिशाको हाउभाउ र संवाद शैलीले चोथाले भूमिकालाई न्याय गरेको छ । पुष्कर गुरुङ फिल्मका अर्का प्रशंसनीय कलाकार हुन् । जीवन भट्टराईले दर्शकको मन जित्छन् । सुमी मोक्तानको न भूमिका प्रभावकारी छ, न अभिनय जीवन्त । निर्देशक सुनुवारको कमेडी फिल्म बनाउने प्रयास स्वागतयोग्य नै मान्नुपर्छ तर निर्देशक सर्जक हुनुका नाताले यही कोटि र तहको फिल्मलाई बधाई दिनचाहिँ सकिन्न । हरि हुमागार्इंको खिचाइ कथाको बहाव अनुकूल छ । 

झ्यानाकुटी अर्थपूर्ण फिल्म होइन तर सवा दुई घन्टा बिताउन खोज्नेलाई कामचलाउ खुराकचाहिँ छ ।

 

प्रकाशित: मंसिर १, २०७४