कमरेडको हात

  • पृथ्वीले मसँग दुव्र्यवहार गरेर गल्ती गरेका थिए । आलोचना र आत्मालोचनाबाट हामी क्लियर हुन चाहन्थ्यौँ ।

- आस्था केसी

असोज ०५८ । हामीले जिल्लामा भर्खरै एउटा ‘स्क्वायड’को घोषणा गरेका थियौँ । ‘जनमुक्ति सेनाको कम्पनी घोषणा’ कार्यक्रममा सहभागी भएर आएका कमरेड ध्रुवले हामीलाई तालिम गराउँथे । झिसमिसेमै हामी रनिङ गथ्र्यौं । नारासहित दौडिन कठिन भए पनि हाम्रो कमान्डरले हामीलाई कासन गरिरहन्थे । हामी सिंगो धरतीका मानव जातिको मुक्तिका लडाइँमा रहेको अनुभूतिबाट कमान्डरले हामीलाई उत्साहित पारिरहन्थे । 

रनिङ, क्रलिङ, पिटी, परेड, बन्दुक पड्काउने, दुस्मनको घेरा तोड्ने अभ्यास पनि हुन्थे । कहिलेकाहीँ प्रहरी र ‘जनमुक्ति टिम’ बनाएर पनि लडाइँको अभ्यास गरिन्थ्यो । 

‘स्क्वायड’ गठनपछि पार्टीले दुइटा टिम बनाएर जिल्लाभर मार्च पास गर्ने योजना बनाएको थियो । त्यसमध्येको एउटा टिमकी सदस्य थिएँ म । हाम्रो टिमको राजनीतिक कमिसार पृथ्वी दाइ थिए । 

युवराज केसी दाइले धेरै कन्भिन्स गरेर मलाई पार्टीमा भूमिगत हुनका लागि उत्साहित गरेका थिए । 

मेरा आफ्नै दाजु आन्दोलनमा सँगै भएको कारण पनि होला, म प्राय: दाइको स्तरका व्यक्तिलाई दाइ नै भन्थेँ । दाइकै नजरले हेर्थें र उनीहरू पनि मलाई बहिनीकै नजरले हेरून् भन्ने मेरो चाहना हुन्थ्यो । 

पृथ्वीलाई पनि म दाइ भनेर सम्बोधन गर्थें । छोएर र बेलाबेलामा धाप मारेर कुरा गर्ने उनको बानी थियो, जो मलाई फिटिक्कै मन पर्दैनथ्यो । त्यसैले उनीभन्दा परपर हिँड्थेँ, सकेसम्म नजिक पर्दैनथेँ । तर, उनी मेरो नजिक आउने बहाना खोजिरहेका हुन्थे । मलाई छोएर कुरा गर्ने मौका मिल्नासाथ त्यसको फाइदा लिन चुक्दैनथे । 

मार्चपास अभियानमा म पृथ्वीकै कमान्डको टिममा परेँ । त्यसैले त्यो मार्चपासको उद्घाटनको दिन म धेरै नै उदास भइरहेकी थिएँ । यहाँसम्म कि म संगीता नाम गरेकी साथीसँग बसेर रोएकी थिएँ । यस्तो कुरा खासै सेयर गर्न पनि सकिँदैनथ्यो । मन नलागीनलागी म त्यो यात्रामा सहभागी भएँ । 

एउटा घटनाबाट गुज्रनुपर्‍यो मैले । त्यस रात म सेन्ट्री बसेर फर्किएँ । ठूलो कोठामा हामी सबैका लागि ओच्छ्यान बनाइएको थियो । पुरुष कमरेड र महिला कमरेडहरू एकै लाइनमा सुत्ने व्यवस्था मिलाइएको थियो । पुरुष र महिलाको बीचमा मुस्किलले एक हात जति ठाउँ खाली राखिएको थियो । त्यहाँ हाम्रा झोला र बन्दुकहरू तेर्सो पारेर बार बनाइएको थियो । 

पुरुषपट्टिको लाइनको छेउमा उनै पृथ्वी सुतिरहेका थिए । महिलापट्टिको छेउको ओच्छ्यान मेरा लागि खाली थियो । मलाई यसरी एउटै कोठामा पुरुष कमरेडहरूसँग सुत्ने अभ्यास भइसकेको थिएन । अप्ठ्यारो लाग्यो ।

अप्ठ्यारै लागे पनि रात बिताउनु त छँदै थियो । प्राय: सबै कमरेड निदाइसकेका थिए । माओवादीमा यस्तै त हुन्छ होला भन्ने लाग्यो । आफ्नै दाइहरू त हुन् नि भन्ने सोच्दै म छेउको बिस्तरामा गएर पल्टिएँ । कति बेला निदाएँ, पत्तै भएन । 

मध्यरातमा कसैले मेरो जीउ सुमसुम्याइरहेको थियो । म डरले खङ्ग्रङ्गै भएँ । जीउ काम्न थाल्यो । निद्राको चापले केहीबेर त भेउ पाउन सकिनँ, म कहाँ छु ? 

झल्याँस्स याद आयो, पृथ्वी दाइ मेरो पल्लोपट्टि छेउमा सुतिरहेका थिए । मेरो जीउमा हात डुलाइरहने मेरा राजनीतिक कमिसार पृथ्वी नै थिए भन्नेमा म ढुक्क भएँ । अब अर्को कुरा थाहा पाउनु थियो, उनले यो सब निद्रामा गरिरहेका छन् कि होसमै ?

म निद्रामै भएजस्तै सास रोकेर उनका गतिविधि नियालिरहेकी थिएँ । उनका हात मेरो शरीरमा अनियन्त्रित भएर निष्फिक्री चल्दै थिए । मैले सर्ट–पाइन्ट लगाएकी थिएँ । यतिन्जेल उनले सर्टबाहिर र मेरो कम्मरको आसपास हात डुलाइरहेका थिए । अब उनका हातले मेरो सर्टको बटन खोल्न लागेका थिए । 

यो काम त निद्रामा होइन, पूरै होसमा भइरहेको छ भन्नेमा म ढुक्क भएँ । के गरुँ‘–कसो गरुँ भयो । एक मन लाग्यो, चिच्याएर सबैलाई उठाऊँ र उनको यो हर्कत तत्काल सार्वजनिक गरिदिऊँ । अर्को मनले त्यो हिम्मत जुटाउन पनि सकिनँ । 

मेरो शरीरमा डुलिरहेको उनको हात चपक्क समातेँ र जोडले उतापट्टि फ्याँकिदिएँ । त्यसपछि जुरुक्क उठेँ । कोठामा गाढा अँध्यारो थियो । अरू सबै जना निदाइरहेका थिए । सिरानीमा लाइट थियो । बालेर हेरँे, छेउमा बार लगाएका बन्दुक र झोलाहरू एउटा कुनामा सारिएको थियो । उनीचाहिँ हत्त न पत्त उता फर्केर सिरकले मुख छोपेर सुते । 

मलाई औडाहा भइरहेको थियो । उठेर बाहिर निस्किएँ । हातको घडी हेरेँ, बिहानको ३ बजेको थियो । 

बाहिर टहटह चम्किलो आभामा मुस्कुराइरहेको थियो जून, सायद शुक्ल पक्षको रात थियो । मेरो मनभित्रको जून भने अस्ताउँदै थियो ।

मेरो मुख सुकेर च्यापच्याप भइरहेको थियो । थुक पनि आइरहेको थिएन । मन व्याकुल भएको थियो । मलाई चिच्याएर, डाँको छोडेर रुन मन लागिरहेको थियो । 

मैले आफूलाई निरीह, एक्ली र अक्करे भीरमा उभिएकी जस्ती पाएँ । कसलाई भन्नु यस्तो कुरा † कोही मन मिल्ने साथी पनि थिएन । आमालाई सम्झिएर बरबरी आँसु झरिरहे । आमालाई नभेटेको केही महिना भएको थियो । बेस्सरी रोइरहेँ । आँगनको वरपर हेरेँ । सेन्ट्रीमा को बसेको थियो कुन्नि † कसैलाई देखिनँ । पिँढीमा खाट थियो । त्यही खाटमा बसेँ । 

भर्खर १७ वर्ष लागेकी थिएँ । नयाँनयाँ सपना र कल्पना सजाउने उमेर थियो ।

सामाजिक विभेद, शोषण र असमानताका पर्खालहरू भत्काउनका लागि म यो क्रान्तिको बाटोमा हिँडेकी थिएँ । हत्केलामा प्राण र टाउकोमा कफन बाँधेर हिँडिएको थियो । 

 विद्रोही पार्टीभित्र पनि यस्ता व्यभिचारीहरू हुन सक्छन् भनेर सोचेकी थिइनँ । आफ्नै दाजुजस्ता नेताले यसरी ममाथि कुनियत राखेर के गर्न खोजेका थिए ? 

मलाई फेरि फर्किएर बिस्तरामा जाने जाँगर चलेन । त्यहाँ जानुको अर्थ थियो, ममाथि बलात्कार गर्न खोज्नेको अनुहार हेर्नु । 

म घरि जून हेर्दै, घरि रुँदै, घरि आँसु पुछेर अब पार्टी सार्टी छोड्छु र घर जान्छु अनि आफ्नो पढाइ अगाडि बढाउँछु भन्ने सोच्दै डेढ घन्टा खाटमै बसिरहेँ । साढे ४ बजेपछि त्यो घरका मानिस उठे । म पनि भान्सामा गएर आगो ताप्दै घरबेटी आमासँग कुरा गरेर बसेँ । 

नानी किन यति छिटो उठेकी ? घरबेटी आमाले मायाले सोधिन् । 

मेरा गह भरिए । तर, मौनताको हात समाएँ । 

एकदमै निराश र क्लान्त भएकी थिएँ म । अब कसरी घरसम्म पुग्ने ? यही सोचेर मथिङ्गल 

खलबलिइरहेको थियो । 

६ बजेतिर सबै जना उठे । 

कमरेड पृथ्वीले बिहानै उल्टो कहानी रचेर सुनाएछन् सबैलाई । भनेछन्, ‘आस्थाको बानी खराब रहेछ । छेउका बन्दुक र झोलाका बार हटाएर उनी मेरै छेउमा सुत्न आइपुगेकी थिइन् । उनले मेरो जीउमाथि खुट्टा पनि चढाइन् ।’

कल्पनाले मलाई यस्तो कुरा सुनाएर हाँसिन् । ससानो कुरामा पनि ठूलो स्वरमा हाँस्ने र प्राय: अरूलाई हाँसोमा उडाइरहने बानी कल्पनाको थियो । मलाई केही बोल्न मन लागेन । फेरि कसै न कसैलाई त मैले भन्नै पथ्र्यो । म यत्तिकै चुप लागेर बसेँ भने पृथ्वीजस्ता व्यक्तिको मनोबल बढ्नेछ । फेरि कोही सिकार हुनेछ । मैले कल्पनासँग सबै कुरा बेली–बिस्तार लगाएँ । 

जिल्ला ‘जनसरकार’ प्रमुख सुदर्शन बराल उर्फ कमरेड कुमारलाई यो कुरा उजुरी गर्ने सल्लाह कल्पनाले दिई । 

म घर जान चाहन्छु, मलाई त्यहाँसम्म पुर्‍याइदेऊ भनेर मैले कल्पनालाई भनेँ । तर, उसले मेरो कुरा सुनेको नसुन्यै गरी । मैले भागिहाल्ने निर्णय गर्न सकिनँ । मसँग पैसा पनि त थिएन । मन नलागी–नलागी म पृथ्वीको अनुहार फेरि हेर्न बाध्य भएँ । टिम त्यहाँबाट ‘मार्चपास’ गर्दै अगाडि बढ्यो । 

पहिले परपर हिँडेकी हुन्थेँ, अब मैले पृथ्वीसँग बोलचाल नै बन्द गरिदिएँ । मेरो एउटै उद्देश्य ‘जनसरकार’ प्रमुख कुमार दाइलाई भेट्नु र उजुरी दिनु थियो । 

उत्साहले भरिएकी एउटी केटी निरुत्साहित भएकी थिई । मुक्ति र परिवर्तनका लागि घर, परिवार, आफ्नो पढाइ र सबै कुरा बीचमै छोडेर क्रान्तिको बलिवेदीमा होमिएकी म यो क्रान्ति भन्ने कुरा पनि भ्रम रहेछ भन्ने निष्कर्षमा पुगेकी थिएँ । म निराशाको चरम दलदलमा भासिइरहेकी थिएँ । 

करिब हप्ता दिन यत्तिकै निराशामा बितेपछि ‘जनसरकार’ प्रमुख कुमार दाइलाई कुण्ठाहरू जसोतसो सुनाएँ रुँदै । 

कुमार दाइले धाराप्रवाह मलाई सम्झाए । लामो क्लास नै दिए । निष्कर्षमा भने, ‘पार्टीभित्र र बाहिर लड्नु छ तिमीले ।’

म रिफ्रेस भएँ । मेरा सारा निराशाहरूको ठाउँमा आशाको सञ्चार भयो । 

लाग्यो– कमरेड पृथ्वीजस्ता मानिसहरू पार्टीभित्र र बाहिर जताततै छन् । मेरो लडाइँ ती समस्त मान्छेहरूको विरुद्धमा हो । प्राण रहुन्जेल संघर्ष गर्नेछु । मैले यस्तैयस्तै प्रण गरेँ । 

पृथ्वीलाई अगाडि राखेर आत्मालोचना गराउने वाचासहित कुमार दाइ मसँग बिदा भएर गए । 

एक महिनापछि गुल्मीकै अर्का नेता, जो पछि पहिलो संविधानसभा निर्वाचनमा गुल्मी–३ बाट निर्वाचित भए, तिनै चन्द्र थापा र कुमार दाइ बसेर फेरि मेरो बयान लिए । मानौँ, म नै अपराधी थिएँजस्तो गरेर चन्द्र दाइले मलाई केरकार गरे । मैले त्यही कुरा बताएँ, जुन कुरा कुमार दाइलाई बताएकी थिएँ । अब अर्को बसाइमा पृथ्वी र मलाई आमनेसामने बनाएर दुवैको बयान लिने र उनलाई आत्मालोचना गराउने भन्ने भयो । 

देशमा संकटकाल लागेको केही दिनमै पृथ्वीलाई गस्तीमा आएको तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर सदरमुकाम तम्घासतिर लगेको खबर सुनेँ ।

गिरफ्तारीमा पर्दा पृथ्वी पार्टी कामका सिलसिलामा कतै गइरहेका थिए । उनी सादा पोसाकमा थिए र उनीसँग पार्टीका केही पर्चा, पम्पलेटबाहेक केही थिएनन् । तर, गिरफ्तारीको तीन दिनपछि सेनाले रेसुंगाको जंगलमा लगेर कम्ब्याट ड्रेस लगाइदिएर पृथ्वीसहित अरू दुई जना सर्वसाधारणलाई गोली हानेर हत्या गर्‍यो । 

पृथ्वीले मसँग दुव्र्यवहार गरेर गल्ती गरेका थिए । आलोचना र आत्मालोचनाबाट हामी क्लियर हुन चाहन्थ्यौँ । मैले सुने अनुसार उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । मैले पनि चेतावनीसहित माफी दिने सोच बनाएकी थिएँ । उनी जतिबेला गिरफ्तारीमा परे, त्यतिबेला हाम्रो बोलचाल पनि बन्द थियो । म उनीसँग फेरि पहिलेजस्तै सम्बन्ध बनाउन चाहन्थेँ । 

पृथ्वी पनि गल्ती स्वीकार गरेर अगाडि बढ्ने सोचमा थिए सायद । तर, विडम्बना ! जिल्ला ‘जनसरकार’ले मेरो उजुरीको छानबिन गर्न समय लगाइदियो र हामी कहिल्यै आमनेसामने भएर कुरा गर्न पाएनौँ । 

उनको हत्या भएपछि मनमा परेको गाँठो फुकाएर मैले उनलाई श्रद्धाञ्जली दिएँ । 

प्रकाशित: कार्तिक ३०, २०७४