[स्मरण] राजाको ढुकुटीबाटै चोरी

- रेवतीरमण खनाल

राजदरबारमा कर्मचारी भर्ना गर्दा कुनै परीक्षा लिने चलन थिएन । त्यहाँ कार्यरत कर्मचारीले अवकाश पाउँदा तिनका छोराहरूले स्वत: जागिर पाउँथे । त्यस अतिरिक्त कर्मचारी प्रमुख र हाकिमहरूको सिफारिसमा तल्लो तहका कर्मचारी सोझै भर्ना गरिन्थ्यो । म दरबार प्रवेश गर्दा राजा त्रिभुवनको समयमा जागिरमा नियुक्त भएका केही कर्मचारीहरू थिए भने धेरैजसो पुराना कर्मचारीका सन्तान ।

दरबारमा जागिर गर्नेहरूको सान बेग्लै हुन्थ्यो । उनीहरू आफ्ना मातहत कर्मचारीका सम्मुख जाडोमा दरबारको बगैँचामा खुला रूपमा हुक्कामा तमाखु खान्थे । राजा महेन्द्र सानो छँदै दरबार प्रवेश गर्नेहरू ठूलो भएपछि समेत राजाको हेक्का नराखी खानपिन गर्थे । दरबारका झाडु–बढारु र बगैँचे तिनीहरूका सेवकजस्तै भएर प्रस्तुत हुन्थे । सचिवालयका तर्फबाट बडाकाजी पुष्पराज राजभण्डारी, काजी हंसमान, काजी मधुसूदन राजभण्डारी र सचिवहरू केही संयमित थिए । तर, उनीहरूले पनि आफ्नो घरमा तरकारी किनेर ल्याउने, धारा–बत्तीको बिल तिर्ने आदि कामदारलाई दरबारको जागिरे बनाएका थिए ।

राजाको मात्र होइन, राजाको वरिपरि बस्नेको पनि सेवा गर्नू भन्ने नीतिशास्त्रलाई दरबारका तल्लो तहका कर्मचारीले पालना गर्थे । म सोझै राजाबाट नियुक्त अपवाद सेवक थिएँ । त्यसकारण मैले अन्य हाकिमहरूको सेवा गर्नु पर्दैनथ्यो । राजा महेन्द्रको रत्नसँग विवाह हुँदा दाइजोमा दरबारमा भित्रिएका खरिदार रत्नमान र सूर्यमान श्रेष्ठ छिट्टै काजी भएर राजा महेन्द्रको ढुकुटी तथा खर्च विभाग एवं घरकाज विभागका हाकिम भएका थिए । उनीहरूकै सिफारिसमा ललितपुरका एक जना व्यक्ति त्यतिबेला राजाको बैठकेमा नियुक्त भएका थिए । 

राजदरबार खर्च व्यवस्था कानुन अनुसार त्रैमासिक रूपमा राष्ट्र बैंकबाट राजाको ढुकुटीमा दाखिला हुने बजेट निकासा हुन्थ्यो । राजा महेन्द्र आफूलाई निकासा भएको रकमको नम्बर टिपोट गरी चन्दा, पुरस्कार र बक्सिसस्वरूप दिनुपर्ने केही नगद आफ्नो चल्तीको ढुकुटीको दराजमा मिलाएर राखी बाँकी रकम ढुकुटी विभागमा पठाइदिन्थे । त्यसबेला एक सय रुपियाँभन्दा माथिका नोटको प्रचलन नै थिएन । दस र पाँच रुपियाँ बढी चलनचल्तीमा थिए ।

विसं ०२२ तिरको कुरा हो । राजाको ढुकुटी कोठाबाटै पाँच रुपियाँका बिटाका केही नोट चोरिए । त्यत्रो सुरक्षा व्यवस्थाका बाबजुद दरबारभित्रैबाट नगद चोरी हुनु चानचुने कुरा थिएन । फेरि राजाले नोट नम्बरसमेत टिपोट गरेको नगद दराजबाटै गायब भएपछि राजदरबारमा त्यस चोरी काण्डले सनसनी नै मच्चायो । धुइपत्ताल खोजबिन गर्दा र अनेक चियोचर्चा गर्दा पनि राजा महेन्द्रको ढुकुटी कक्षबाट चोरी भएको रकम कसले लग्यो भन्ने पत्ता लाग्न सकेन । बैठकेमाथि शंका भएकाले छानबिनका लागि प्रहरीको जिम्मा लगाइयो । त्यसपछि राजा महेन्द्रकै निर्देशनमा गोरखापत्रमा सूचना प्रकाशित भयो । रेडियो नेपालबाट प्रसारित गरियो, ‘... नम्बरदेखि ... नम्बरसम्मका रु पाँचका नोट चोरी भएको हुँदा यस नम्बरका कुनै पनि नोट चलनचल्तीमा नल्याउनू, फेला परे/पारे तुरुन्तै प्रहरीलाई बुझाइदिनू ।’ उक्त नम्बरका नोट कारोबार गरे–गराएको पाइएमा कानुनबमोजिम कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको थियो ।

यस्तो सूचना प्रकाशित–प्रसारित भएको भोलिपल्टै चोरको होस–हवास नै उडेछ । चोरी गरेको कुनै पनि नोट चल्तीमा नआउने भएपछि चोरी कबुल गर्नु मनासिब ठानी प्रहरीसमक्ष बैठकले आफूले चोरी गरेको बयान दिएछ । त्यसपछि उसलाई प्रहरीले मुद्दा चलायो र अदालतले तीन वर्ष कैद सजायसहितको फैसला सुनायो ।

उसले राजाको दराजमा नोटका चाङ देखेर मन थाम्न नसकेकाले चोरी गरेको बयान प्रहरीसक्षम दिएको थियो । बैठक कक्षबाट चोरी गरेको रकम दिउँसो बगैँचामा ल्याई लुकाएछ । र, बेलुका कार्यालय समयपछि घर फर्किने क्रममा लिएर गएछ । सदाझैँ दरबारका बैठकेलाई बचेको बासी फलफूल दिएर पठाउने भएका कारण नगद चोरी गरेका दिन त्यसरी दिएका फलफूलको झोलाको तलपट्टि उक्त नगद लुकाएर राजदरबारको दक्षिण ढोकाबाट ऊ बाहिरिएको रहेछ । 

म दरबारको विशेष जाहेरी विभागमा कार्यरत रहँदा उक्त कैदीले दिएको बिन्तीपत्रमा भनिएको थियो, ‘दरबारको यो सेवकको बुद्धि बिग्रिएर खराब काम भयो । जेलमा बसेर प्रायश्चित्त गरेको पनि डेढ वर्ष पूरा भएको छ । बाँकी सजाय मिनाहा/माफी पाउँm !’ राजा महेन्द्रले यो बिन्तीपत्रको बेहोरा सुनेपछि भनेका थिए, ‘मेरो ढुकुटीमै चोरी गर्नेलाई सजाय माफी/मिनाहा हुँदैन ।’

प्रकाशित: कार्तिक २९, २०७४