चीन बुझाउने पुस्तक

  • चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा पुस्तक यस्तो आँखीझ्याल हो जसबाट चियाउँदा विशाल चीनको चरित्रलाई बुझ्न सकिन्छ ।

- जनकराज सापकोटा

साँध–सिमाना जोडिए पनि विशाल मुलुक चीनबारे नेपाली समाजमा धेरै कौतूहल छन् । भाषा, संस्कृति र परम्पराका हिसाबले चीन र नेपालबीच कैयन् भिन्नता छन् । जसका कारण नजिकको चीन हामीलाई रहस्यले भरिएको देश भएको छ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई), बेइजिङमा विदेशी विशेषज्ञमा कार्यरत चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा पुस्तक यस्तो आँखीझ्याल हो, जसबाट चियाउँदा विशाल चीनको चरित्रलाई बुझ्न सकिन्छ । 

संस्मरण, यात्रा–अनुभूति र आलेखका २० फरक–फरक सामग्रीको संकलन रहेको पुस्तकमा लेखक आचार्यले विविधताले भरिएको चिनियाँ संस्कृतिका अनौठा उदाहरण प्रस्तुत गरेका छन् । नेपालीका निम्ति अनौठो लाग्ने चिनियाँ खानपानको शैली, चाडबाड मनाउने शैली र बदलिँदो चीनका अनेकन् तस्बिरलाई किताबमा रोचक पाराले प्रस्तुत गरिएको छ । चाडबाडमा रक्सी खानैपर्ने चलन र शाकाहारीका निम्ति खानाकै जोहो गर्न मुस्किल पर्ने चिनियाँ समाजका अनौठा तथ्यलाई उनले अनेकन् सन्दर्भ र उदाहरण दिँदै प्रस्तुत गरेका छन् । ‘बेइजिङको छातीमा नेपाली गौरव’ शीर्षकको आलेखमा अरनिकोको कलाले कसरी चीनमा नेपाल चिनाइरहेको छ भन्ने तथ्य बताउन खोजिएको छ । त्यस्तै नेपालबाट चीनको बेइजिङमा पुर्‍याइएको मैत्रेय बुद्धको काष्ठमूर्तिबारे चिनियाँहरूलाई थाहा नभएको तथ्यले नेपाली कलाबारे चिनियाँहरूमा रहेको भ्रमलाई चिर्ने प्रयत्न गरिएको छ । 

कडा शासन व्यवस्था भए पनि चीनमा कसरी लुकीछिपी यौन बजार चलिरहेको छ भन्ने तथ्यबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । त्यस्तै, चीनमा ट्याक्सी ड्राइभरहरूले कसरी विदेशीहरूलाई नक्कली बिल दिएर चर्को शुल्क असुल गरेर ठग्छन् भन्नेबारे पनि केही सत्य घटनाहरूका आधारमा बुझाउने प्रयास गरिएको छ । सार्वजनिक ठाउँमा तास खेलिरहेका चिनियाँका बारेमा होस् वा नक्कली युआन दिएर विदेशी झुक्याउने चलनबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । यस्ता तथ्यले कडा नियम रहेको भनिएको चीनमा पनि कस्ता विकृति र विसंगतिहरू छन् भन्ने बुझाउँछ । 

कम्युनिस्ट शासन व्यवस्था रहेको चीन कसरी बिस्तारै उदार हुँदैछ र आधुनिक चिनियाँहरू विश्वसँग काँधमा काँध मिलाएर अगाडि बढ्दैछन् भन्ने उदाहरण पुस्तकमा थुपै ठाउँमा दिइएको छ ।

पश्चिमाहरूको भ्यालेन्टाइन्स डेजस्तै चिनियाँहरूको सिंगल डे कसरी विश्वव्यापी बन्दैछ भन्ने उदाहरण होस् वा सामाजिक सञ्जाल फेसबुक चलाउन चीनमा प्रतिबन्ध लगाइएको भए पनि आधुनिक चिनियाँ तन्नेरीहरू भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्कमार्फत फेसबुक चलाइरहेको उदाहरणले चीन कसरी विश्वसँगसँगै हिँडिरहेको छ भन्ने बुझाउँछ । 

चीनको विशिष्ट चंगा उडाउने संस्कृतिबारे लेखिएको आलेख होस् वा रक्सी नभई चाडबाड नै सम्पन्न नहुने चिनियाँ चलन, दुवैबारे लेखकले आफ्ना अनुभूति र सुनेका कुराहरूलाई जोड्दै चीनलाई चिनाउने प्रयास गरेका छन् । त्यस्तै, ‘ हारालुछ दक्षिणा’ शीर्षकको आलेखमा भने लेखकले चीनमा वसन्त चाडका बेला नेपालमा जस्तै खाममा दक्षिणा राखेर दिनैपर्ने चलन र त्यसको महत्त्वबारे बुझाउने प्रयास गरेका छन् । सन् २०१६ को वसन्त चाडमा चीनमा ३ अर्ब २० करोड युआन दक्षिणा विच्याटमार्फत आदानप्रदान गरिएको तथ्य पनि पुस्तकमा उल्लेख गरिएको छ । चिनियाँहरूले मनाउने सिंगल डेमा अनलाइन बजार अलिबाबामार्फत सन् २०१६ मा मात्र २० अर्ब चिनियाँ सामान बिक्री भइरहेको तथ्य पनि पुस्तकमा उल्लेख छ । यी दुवै तथ्यबाट बुझ्न सकिन्छ, चीन कसरी परम्परागत पर्व र आधुनिक चलनलाई भर्चुअल संसारमार्फत पछ्याइरहेको छ । 

कानुनी शासनको स्थापनामा चीनले गरिरहेको सुधार र आफ्ना गल्तीहरूबाट सिकिरहेको पाठलाई लेखकले ‘कानुनी शासनका खुड्किला’ शीर्षकको आलेखमा अनेकन् सन्दर्भ र उदाहरण दिएर प्रस्ट पार्ने प्रयास गरेका छन् । चिनियाँ सर्वोच्च जनअदालतले विगत २० वर्षमा निर्दोषले सजाय पाएका १ लाख ३४ हजार मुद्दामा राज्यले क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको रहेछ । तीमध्ये १ लाख २५ हजार मुद्दामा सरकारले ५ अर्ब १६ करोड चिनियाँ युआन क्षतिपूर्ति तिर्नुपर्ने रहेछ । यस्ता अनेकन् सन्दर्भले चीनले विधिको शासन स्थापनामा आफ्ना गल्ती सुधारिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

पुस्तकमा चीनको परम्परा र संस्कृति नबुझ्दा दु:ख र रमाइलो खालका हैरानी बेहोर्नुपरेका कैयन् प्रसंग छन् । कतिपय सामान्य खालका अनुभूति भए पनि ती पढ्दा पाठकलाई रमाइलो अनुभूति हुन्छ, कतैकतै त खित्का छोडेर नै हाँस्नुपर्ने हुन्छ । ‘चिनियाँ केटीको धुस्नु कुटाइ’ शीर्षकको अनुभूतिपरक आलेख होस् वा ‘मासु खाने शाकाहारी’ शीर्षकको लेख, दुवैमा अनौठो चिनियाँ परम्परा र त्यसलाई नबुझ्दा खेप्नुपर्ने भुक्तमानको रोचक वर्णन छ । ‘ चिनियाँ सञ्चारमा नेपाल सन्दर्भ’ शीर्षकको आलेखमा भने नेपाली भाषा चिनियाँहरूका निम्ति कति रोचक छ र नेपाली भाषा बोल्ने चिनियाँहरू कसरी भाषाको प्रयोगमा झुक्किन्छन् भन्ने अनेकन् सन्दर्भ दिइएको छ । 

केही अति सामान्यजस्ता लाग्ने प्रसंग, अनेकन् सन्दर्भमा परिचयबिना नै आउने पात्र र बेलाबखत दोहोरिएका जस्ता लाग्ने सन्दर्भहरूले पुस्तकलाई अझै गतिलो हुनबाट रोकेका छन् । मुद्राराक्षसमा मात्रै होइन, केही तथ्यहरूको वर्णनमा पनि लेखक चुकेका छन् । 

चीन चियाउँदा 

लेखक : चेतनाथ आचार्य

प्रकाशक : सांग्रिला बुक्स

पृष्ठ : १५६

मूल्य : २५० रुपियाँँ

प्रकाशित: कार्तिक २९, २०७४