हतियारसहित निर्धक्क यात्रा

  • सीमा नाकादेखि राजधानीसम्मका दर्जनभन्दा बढी सुरक्षा जाँच पोस्ट नाम मात्रका

- मनबहादुर बस्नेत

मिति : १४ कात्तिक ०७४ 

समय : बिहान करिब साढे ११ बजे 

स्थान : सुनौली–बेलहिया 

भारतीय नम्बर प्लेट पीबी–१०–एफएस–७४४९ लेखिएको सेतो रङको सुजुकी स्विफ्ट कार नेपाल छिर्‍यो अनि बेलहियास्थित भन्सार कार्यालयतिर सोझियो । गाडीमा सवार दुई जना भारतीयले नेपाल घुम्न आएको बताएपछि भन्सार कार्यालयले एक हप्ताको अनुमति पुर्जी थमाइदियो । भैरहवा हुँदै काठमाडौँसम्मको २ सय ८५ किलोमिटर दूरी छिचोल्दा यस गाडीमा हतियारधारी यात्रारत छन् भन्ने भेउ कसैले पाएन । सीमापारिबाट भित्रिएको गाडीमा के–के सामान छ, के–कस्तो पृष्ठभूमि भएका व्यक्ति मुलुकभित्र छिर्दै छन् भनेर समेत नेपाल सरकारका कुनै निकायले हेर्ने आवश्यकता देखेनन् ।

बरू, भोलिपल्ट दिउँसो राजधानीको कमलादीस्थित एक डान्स रेस्टुराँमा बिल महँगो भएको विषयमा विवाद हुँदा उनीहरू आफैँले फायर खोले । त्यो पनि काठमाडौँ उपत्यकाको सुरक्षा कमान्ड गर्ने महानगरीय प्रहरी आयुक्त कार्यालयदेखि आधा किलोमिटर नजिक । लगत्तै घटनास्थल पुगेको प्रहरीले पन्जाबका हरविन्दर सिंह र जसवीर सिंहलाई पक्राउ गरेपछि मात्रै उनीहरू हतियारसहित निर्बाध यति लामो यात्रा तय गरेको मेसो पायो । जबकि, भैरहवादेखि काठमाडौँसम्मको सडकमार्गमा दर्जनौँ ठाउँमा सुरक्षा जाँच पोस्ट छिलोल्नुपर्छ । राजधानी छिर्ने थानकोटमा समेत सवारी साधनको जाँच हुन्छ । सीमापारिबाटै यस यात्रुवाहक कारमा एउटा अत्याधुनिक पेस्तोल, चारवटा म्यागेजिन र 

५१ राउन्ड गोली भित्रिएको प्रहरी अनुसन्धानबाट देखियो । 

पछिल्लोपटक २४ दिनको अन्तरालमा दोस्रोपटक भारतीय नागरिक हतियारसहित पक्राउ परेका हुन् । यसअघि २२ असोजमा राजधानीको बौद्धबाट भारतीय नागरिकद्वय दीपकुमार श्रीवास्तव र रञ्जनकुमार यादव हतियारसहित समातिएका थिए । प्रतिआतंकवाद हेर्ने नेपाल प्रहरीको विशेष व्युरोले नियन्त्रणमा लिएका श्रीवास्तव र यादव पनि हतियार बोकेर वीरगन्जको रक्सौल नाकाबाट छिरेका थिए । अझ संवेदनशील पक्ष त के भने कमलादी गोली काण्ड भएको भोलिपल्टै पोखराबाट तीन जना भारतीय ‘सुटर’ पक्राउ परेका थिए ।

नेपालको सीमा क्षेत्रको सुरक्षा प्रणाली कति खुकुलो रहेछ भन्ने देखाउन यी पछिल्ला घटना नै पर्याप्त छन् । २४ घन्टै सुरक्षा तैनाथी हुने द्विदेशीय नाका र राजमार्ग हुँदै हतियार राजधानीमा आएका क्रमिक घटनाहरूले आन्तरिक सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनको कार्यक्षमता र कार्यशैलीमाथि पनि प्रश्न उठेको छ । प्रहरीको तथ्यांक अनुसार ०७१ देखि ०७३ सम्मको तीनवर्षे अवधिमा मात्रै नेपाली भूमिमा हतियारसहित ४० जना विदेशी पक्राउ परेका छन्, जसमध्ये अधिकांश भारतीय नागरिक हुन् ।

सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध वस्तुको निकासी–पैठारी रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको भन्सार सुरक्षा बल खटिएका हुन्छन् । झट्ट हेर्दा राज्यको ठूलो संयन्त्रले सीमा क्षेत्रको गतिविधि नियालेको देखिए पनि प्रत्येक सवारी साधन र व्यक्तिको खानतलासी लिँदैनन् । भन्सारले राजस्व उठाउन बढी ध्यान दिएको हुन्छ । मालवाहक साधन खोतलेर हेर्दैन । सुरक्षाकर्मीले शंकास्पद देखिएकालाई वा सूचनाका आधारमा मात्र खानतलासी गर्छ । शंकास्पद वस्तु जाँच्ने प्रविधि नभएकाले यही स्वरूपमा नाकाको ओहोरदोहोर चल्ने गरेको छ । यही मौकामा नाकाबाटै अवैध सामान र व्यक्ति सहजै पार गराइन्छ । खुला सीमा भएकाले चोर बाटो प्रयोग गर्ने विकल्प पनि अवैध कारोबारीहरूलाई प्रशस्त उपलब्ध छ । 

सदाबहार समस्या 

नेपालमा भारतीयहरू बन्दुकसहित फेला पर्नु नौलो घटना भने होइन । यसको अन्तहीन शृंखला धेरै लामो फेला पर्छ । भारतीय अपराधीदेखि सुरक्षाकर्मीसम्म नेपालमा हतियारसहित फेला परेका उदाहरण पर्याप्त छन् । भारतीय सुरक्षाकर्मी नै सादा पोसाकमा हतियारसहित नेपाली भूमिमा पस्ने गर्छन्, नेपाल घुम्ने बाहनामा । जस्तो कि, १३ वैशाख ०७३ मा हतियारसहित पाँच जना भारतीय प्रहरी अछामको सीमावर्ती क्षेत्र सानागाउँ, डोटीबाट पक्राउ परे । एके–४७ राइफलै बोकेर कञ्चनपुरको गड्डाचौकी नाकाबाटै छिरेका थिए उनीहरू । तैपनि, नेपालको सुरक्षा निकायले पत्तो पाएन ।

नेपाल घुम्न जाने भनेपछि भन्सार कार्यालयले बीबी–१३–एच–००५९ नम्बरको निजी जीप लिएर आएका उनीहरूलाई तीन दिन घुम्ने अनुमति दियो । नेपालभित्रको करिब तीन सय किलोमिटर पार गरेपछि मात्रै उनीहरू अत्याधिुनक हतियार, पेस्तोल, गोली तथा बन्दोबस्तीका सामग्रीसहित पसेको खुल्यो । सानागाउँमा प्रहरीले स्वचालित हतियार एके–४७, त्यसमा लाग्ने गोली २५ थान, पेस्तोल र त्यसको १२ थान गोली बरामद गरेको थियो । भारतमा एक जना चिकित्सकको हत्या गरी नेपालमा लुकेको आशंकाका आधारमा नेपाली आरोपी खोज्दै भारतीय प्रहरी नेपाली भूमिमा गुपचुप पसेको थियो ।

अन्तर्देशीय क्षेत्रमा अपराधी खोज्न विश्वव्यापी सञ्जाल भएको प्रहरीको इन्टरपोलमार्फत सूचना आदान–प्रदान गर्ने अभ्यास छ । कानुनत: नेपाल र भारतका प्रहरीले समेत यही अभ्यास अनुसरण गर्नुपर्छ । कुख्यात अपराधी पक्रन दुवै प्रहरीले सहकार्य गर्दै आएका पनि छन् । तर, भारतीय प्रहरी प्रचलित अन्तर्राष्ट्रिय मान्यतालाई समेत लत्याएर हतियारसहित नेपाल पस्ने गरेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।

भारतीय भूमिगत आपराधिक गिरोह चलाउनेहरूले नेपाललाई आश्रय बनाएका र आफ्ना योजनाहरू कार्यान्वयन गराएका घटना दुर्लभ छैनन् (हेर्नूस्, असुरक्षाको शृंखला) । “विगतमा नेपालमा ठूला आपराधिक घटना कसले, किन र कसरी गरायो भन्ने धेरैलाई थाहा छ,” नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक नवराज ढकाल भन्छन्, “तर, फेरि त्यस्तो दोहोरिन नदिन हामीले आफ्नो क्षमता कति बढायौँ ?” 

बिचरो प्रहरी 

कमलादीबाट बरामद पेस्तोलका पार्टपुर्जा फुकालेर आठ टुक्रामा छुट्टाछुट्टै बोक्न सकिन्छ । तर, प्रहरीको जाँच विधि भने प्रविधिमा आधारित नभई ‘म्यानुअल’ ढाँचामै चलिरहेको छ । उसै पनि नेपाल र भारतबीचको खुला सीमाका कारण सहजै अवैध गतिविधि वारपार हुने गर्छ । तर, नाकाबाटै ओहोरदोहोर हुने सामान र मानिसको जाँच प्रणाली नेपालसँग उन्नत खालको छैन । भन्सार कार्यालयमा ‘एक्स–रे’ मेसिन भए पनि शंकास्पद वस्तु पत्ता लगाउने स्क्रिनिङ मेसिन छैन, जसले गर्दा दैनिक सयौँको संख्यामा आवतजावत हुने सवारी साधनमा भित्रिने–बाहिरिने सामग्रीबारे समेत नेपालले मेसो पाउँदैन । 

अन्तर्देशीय सीमा नाकालाई सुरक्षाका दृष्टिले हमेसा संवेदनशील मानिन्छ । अझ चीन र भारत दुवै छिमेकी मुलुक उदाउँदा क्षेत्रीय र विश्वशक्ति हुन्, आर्थिक, सामरिक र राजनीतिक हिसाबले । “प्रत्येक सवारी साधन रोकेर जाँच्नु न व्यावहारिक हुन्छ, न फलदायी नै,” महानगरीय प्रहरी आयुक्त एवं अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द भन्छन्, “हरेक गाडीलाई रोकेर ओल्टाइपल्टाइ गर्ने हो भने सवारी साधनको लाम लाग्छ । प्रविधि हुने हो भने शंकास्पद देखिएकालाई जाँच्दा पुग्छ । अब प्रविधिमा आधारित सुरक्षा प्रणाली विकास नगर्ने हो भने हामी सधैँ सुरक्षा जोखिममै परिरहनेछौँ ।”

हुन पनि नेपालसँग चीन र भारतलाई जोड्ने कुनै पनि नाकामा आधुनिक सुरक्षा उपकरण राखिएको छैन । त्यसमाथि द्वन्द्वोत्तर कालमा राज्यका प्राय: संयन्त्रहरू ‘लिक’मा आइसकेका छैनन् । यस्तो बेला सुरक्षा निकायसमेत निष्प्रभावी देखिनु चानचुने चुनौती होइन । “यस्तो बेला हामीले आफ्नो सुरक्षा प्रणालीलाई कसरी मजबुत बनाउने भन्ने भिजन राज्य सञ्चालकहरूमा हुनुपर्ने हो,” पूर्वएआईजी ढकाल भन्छन् । 

अर्कोतिर प्रहरीको जासुसी प्रणालीसमेत भुत्ते बन्दै गएको छ । सम्भावित दुर्घटना टार्न र सुरक्षा रणनीति तर्जुमा गर्न जासुसी प्रणालीको प्रमुख महत्त्व हुन्छ । पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लका अनुसार दुई कारणले प्रहरीको जासुसी प्रणाली कमजोर बनेको छ, व्यावसायिक जनशक्ति उत्पादन गर्न संगठन चुक्दै जानु र अहिले सूचना प्राप्तिका लागि लगानी गर्नुपर्छ भन्ने सोच नहुनु । मल्ल भन्छन्, “यी दुवै कुरा नभएपछि प्रहरी प्रो–एक्टिभ हुँदैन । घटना भएपछि अनुसन्धान गर्ने निकाय मात्रै बन्न सक्ने जोखिम हुन्छ, भइरहेको छ ।” 

संघीय शासन पद्धति कार्यान्वयनको चरणमा रहेको समयमा हतियारसहित आपराधिक पृष्ठभूमिका व्यक्तिहरू छिर्नुले अर्को गम्भीर पक्षतिर इंगित गर्छ । पक्राउ परेकाहरूको सम्बन्ध संगठित आपराधिक गिरोहसँग छ/छैन, के–कस्तो योजना लिएर छिरेका हुन् भन्नेबारे प्रहरीले निक्र्योल गर्न सकेको छैन । “हाम्रो सुरक्षा रणनीतिमै कमजोरी भएको हुन सक्छ,” गृह मन्त्रालयको समेत अनुभव लिएका पूर्वसचिव वामनप्रसाद न्यौपाने भन्छन्, “गलत नियत भएकाहरूले चाहेमा जे पनि हुन सक्छ भन्ने त्रास छ । यसलाई चिर्न विद्यमान सुरक्षा प्रणालीको समीक्षा जरुरी छ ।” 

प्रकाशित: कार्तिक २८, २०७४