रैथानेमा माया

  • नेपाली मौलिक फिल्मको बजार क्रमिक रूपमा फराकिलो

- गोकर्ण गौतम

हास्य टेलिसिरियल तीतो–सत्यबाट सफलता चुमेपछि दीपकराज गिरी र दीपाश्री निरौलाले हास्य कलाकारको डफ्फा लिएर ६ एकान ६ बनाए । उनीहरूले प्रचार–प्रसारमा पनि कन्जुस्याइँ गरेनन् । तैपनि, मल्टिप्लेक्सहरूमा जम्मा तीन सो भयो । यही युनिटले बनाएको वडा नम्बर ६ पनि पाँच सोमै सीमित भयो । उनीहरूको तेस्रो फिल्म छक्का–पञ्जाले सुरुमा १२ सो पायो । केही दिनमै यो संख्या ३४ पुग्यो । दीपक–दीपाको छक्का–पञ्जा २ ले सुरुआतमै २६ सो पायो । यो नेपाली फिल्मको इतिहासमा क्यूएफएक्सले दिएको उच्च सो संख्या हो । 

जबकि, त्यो फिल्मसँगै वरुण धवन अभिनीत बलिउड फिल्म जुडुवा २ पनि प्रदर्शन भएको थियो । तर, अचम्म के भने मोफसलमा छक्का–पञ्जा २ ले त्यसलाई रिलिजको भोलिपल्टै विस्थापित गरिदियो । राजधानीमा पनि छक्का–पञ्जा २ को टिकट मारामार भयो । निर्मातासमेत रहेका अभिनेता दीपक भन्छन्, “हाम्रो फिल्मको टिकट नपाएर जुडुवा २ हेरेको गुनासो गर्ने दर्शक धेरै भेटेँ त्यतिबेला ।” हुन पनि फिल्मले प्रतिदिन एक करोड रुपियाँ व्यापार गरेको थियो, ११ दिनसम्म । 

तर, यही व्यापार र दर्शकको ओइरो अघिल्लो वर्षसम्म अपत्यारिलो जस्तै थियो । किनभने, वर्षमा एक सयभन्दा धेरै फिल्म प्रदर्शन हुन्थे, तीमध्ये मुस्किलले तीन–चारले मात्र नाफा गर्थे । लगानी उठाउँदा नै दंग पर्थे निर्माताहरू । तर, यस वर्ष आठ महिना बित्नै लाग्दाको आँकडा सुखद छ । जस्तो : झरना थापाको ए मेरो हजुर २ र असीम शाहको दुई रुपियाँले स्वदेशबाट मात्र ६ करोड रुपियाँ कुल व्यापार गरेका छन् भने प्रदीप खड्का अभिनीत प्रेमगीत २ र सुदर्शन थापा निर्देशित म यस्तो गीत गाउँछुले पाँच करोड रुपियाँभन्दा केही बढी । जबकि, यही समयमा प्रत्येक साताजस्तो नयाँ हिन्दी फिल्म प्रदर्शन भए तर बाहुबली २, जुडुवा २ र गोलमाल रिटन्र्सबाहेकले मुनाफा कमाउन सकेनन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीका बुझाइमा स्वदेशी फिल्मले दर्शकको विश्वसनीयता जित्ने रफ्तार बढेको छ । “फिल्मकर्मी विषयवस्तु र मेकिङमा गम्भीर हुन थालेका छन् र यही कारण फिल्मप्रतिको दर्शकको अपेक्षा पूरा हुँदैछ,” अधिकारी भन्छन् । 

शंकै रहेन, स्वदेशी फिल्मको स्वदेशी बजार फराकिलो भइरहेको छ । त्यसमा पनि मल्टिप्लेक्स संस्कृति ह्वात्तै बढेको छ । सिंगल थिएटरमा पसिना चुहाउँदै हेर्नुभन्दा केही बढी पैसा तिरेर सुविधासम्पन्न हलमा सिनेमाको मज्जा लिने संस्कारको विकास भएको निर्माता र वितरकको साझा बुझाइ छ । यतिबेला राजधानीमा क्यूएफएक्स, बिग सिनेमाज्, एफक्यूब, सीटीसी, क्युज सिनेमाज् र बीएसआर गरी २१ मल्टिप्लेक्स स्नि छन् । मल्टिप्लेक्समा भीड बढिरहेकाले हुनुपर्छ, फिल्मको सुरुआती व्यापारले नै निर्मातालाई राहत दिन थालेको छ । उदाहरणका लागि आइतबारबाट दर्शकको संख्यामा गिरावट आए पनि प्रदर्शनको शुक्रबार र शनिबार जोनी जेन्टलम्यानले एक करोड रुपियाँको व्यापार गर्‍यो । १७ कात्तिकमा प्रदर्शित फाटेको जुत्ताले त राजधानीका मल्टिप्लेक्समा शनिबार पूरै दर्शक खचाखच बनायो । कम्तीमा प्रदर्शनकै दिन दर्शकको खडेरी लाग्ने अवस्थामा कमी आएको छ ।

यो तथ्यले हामीकहाँ हलमा गएर फिल्म हेर्ने संस्कारको विकास भएको संकेत गर्छ । तर, यसमै दंग परिहाल्ने अवस्था छैन किनभने दर्शकको कुल संख्यामा उल्लेख्य प्रगति भएको छैन, मात्र दर्शकको प्राथमिकतामा नेपाली फिल्म पर्न थालेको हो । फिल्म वितरण कम्पनी स्टेसन फाइभका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ भन्छन्, “हिजोसम्म हिन्दी फिल्म हेर्नेहरू अब नेपाली फिल्म रोजिरहेका छन् । तर, पूरापूर दर्शककै संख्या अपेक्षाकृत उभो लागेको भने छैन । त्यसैले अबको चुनौती दर्शककै त्यही आयतन वृद्धि गर्नु हो ।” खासमा नेपाली फिल्मप्रतिको दर्शकको मनोविज्ञान परिवर्तन हुनु अर्को प्रगति हो । 

जब नेपाली फिल्म बलिउडको झट्केलो हुन छाड्यो, त्यहीबाट स्वदेशी फिल्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । यसको पहिलो जस निश्चल बस्नेत र उनको फिल्म लुटलाई जान्छ । यही विरासतमा इँटा थप्ने काम गरे, रामबाबु गुरुङले कबड्डीबाट । रैथाने स्वाद पस्किएसँगै नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्च्याउने सहरिया पुस्ता हलसम्म पुगे । यो उपलब्धिमा अनमोल केसी र प्रदीप खड्काजस्ता चकलेटी हिरोहरूको भूमिका पनि कम छैन । दीपक–दीपाको टिमले टेलिसिरियल पारखीलाई हलमा ल्याए । तर, नेपाली फिल्मप्रतिको आकर्षण बढ्नुको कारण यतिमै सीमित भने छैन । अरू धेरै पक्षको सुखद संयोजनले नेपाली फिल्म ‘भाइब्रेन्ट’ भइरहेको छ । मल्टिप्लेक्स, गुणस्तरीय प्रविधिसँगै नयाँ शैलीका प्रचारात्मक गतिविधि र राष्ट्रवादले पनि स्वदेशी फिल्मप्रतिको प्रेम गाढा बनाउन भूमिका खेलेको छ । अधिकारी भन्छन्, “खासमा यतिबेला फिल्ममेकर, फिल्म र दर्शकबीच सामीप्य बढेको छ ।” 

पहिले पोस्टर, रेडियो/टेलिभिजन विज्ञापन र माइकिङमा सीमित थियो, फिल्मको प्रचार–प्रसार  । तर, अचेल छायाङ् कनसँगै प्रचार सुरु हुन्छ । रिलिजको मुखमा पुगेपछि अझ चुस्त र उपयोगी शैलीको प्रचार–माध्यम अपनाइन्छ । काठमाडौँबाहेक देशका अन्य मुख्य सहरमा फिल्म युनिट उपस्थित भएर दर्शकसँग अन्तरक्रिया गर्छन् । रिलिज भएपछि हल–हल पुग्छन् । त्यसमाथि प्रचारमा फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल वरदान साबित भएका छन् । थोरै खर्चमा लक्षित समूहसँग पुग्न प्रभावकारी हुन्छ । स्टेसन फाइभका श्रेष्ठ भन्छन्, “सुरुआती दुई दिन दर्शक हलसम्म तान्ने प्रमोसनबाटै हो । त्यसपछि चाहिँ माउथ पब्लिसिटी नै हुनुपर्छ ।” धेरैले ख्याल नगरेको तथ्यचाहिँ पछिल्लो समय मौलाइरहेको राष्ट्रियताको नाराले पनि फिल्मको व्यापार वृद्धि हुनुमा भूमिका खेलेको छ । “राष्ट्रियता भनेको सिमाना मात्र होइन, सिनेमा र संस्कृति पनि हो भन्ने भाव विकास भएकाले स्वदेशी फिल्मप्रतिको माया गहिरो बनाउँदै लगेको छ,” छक्का–पञ्जा ३ निर्माणको तयारीमा रहेका गिरी भन्छन्, “अब फिल्मको रिलिज मिति घोषणा गर्दा कुन विदेशी फिल्म चल्छ भनेर क्यालेन्डर हेर्नुपर्ने 

बाध्यता हटेको छ ।” 

दर्शक बढेका छन्, व्यापार बढेको छ, आधुनिक प्रविधि अवलम्बन गर्न थालिएको छ, रैथाने विषय र पात्रलाई प्रधानता दिन थालिएको छ । कम्तीमा विदेशी फिल्मको ‘ कपी/पेस्ट’ गर्ने प्रवृत्ति क्रमश: घटिरहेको छ । स्वदेशी बजारमा हिन्दी फिल्मको प्रभुत्व मत्थर हुँदैछ । हेटौँडा, चितवन, पोखरा, नेपालगन्ज, इटहरी, बिर्तामोडलगायतका सहरमा मल्टिप्लेक्स खुलेका छन् । अर्थात्, फिल्मको व्यापारिक समृद्धिका लागि चौतर्फी सकारात्मक माहोल सिर्जना भएको छ । तापनि, निर्माता संघका अध्यक्ष अधिकारी फुरुङ्ग छैनन् । कारण हो, बक्स अफिस नहुनु । अधिकारी भन्छन्, “बक्स अफिस नभई बढ्दो व्यापार फलदायी र पारदर्शी हुन्न । उही यसो रमाउने मेलो मात्र हुन्छ ।” 

तर, विडम्बना ! बक्स अफिस हाम्रो सन्दर्भमा छेपाराको उखानजस्तै भएको छ । 

प्रकाशित: कार्तिक २८, २०७४