अन्तत: २ सय ८० क्यारेक्टरको ट्वीट

- नेपाल संवाददाता

दुई महिना लामो परीक्षणपछि ट्वीटरले क्यारेक्टर लिमिट बढाउने निर्णय गरेको छ । अब प्रयोगकर्ताले १ सय ४० को सट्टा २ सय ८० क्यारेक्टरसम्ममा ट्वीट गर्न सक्नेछन् । यो अपडेट गत हप्ताबाट प्रयोगकर्ताले पाएका छन् । 

तर, जापानी, चाइनिज र कोरियन भाषामा ट्वीट गर्ने प्रयोगकर्ताका लागि भने यो सुविधा उपलब्ध हुने छैन । किनभने, यी भाषामा कम क्यारेक्टरमै धेरै कुरा व्यक्त गर्न सकिन्छ । ट्वीटरका अनुसार जापानी भाषाका ट्वीट औसतमा मात्रै १५ क्यारेक्टरका हुने गरेका छन् । 

परीक्षण अवधिको सुरुमा धेरै प्रयोगकर्ताले ट्वीटका लागि पूरै २ सय ८० क्यारेक्टर खर्चे पनि पछि त्यसभन्दा कम क्यारेक्टरमा बढी ट्वीट भए । त्यसकारण ट्वीटरको छोटो र मीठो ढंगबाट कुराहरु व्यक्त गरिने सोसल मिडियाको छवि रहिरहनेमा आशावादी छ ।

 

प्रकाशित: कार्तिक २८, २०७४