बडी बिल्डर आमा

  • ननिता महर्जनको रोल मोडल बडी बिल्डर कोही छैन । कसैको शैली पछ्याउन पनि चाहन्नन् । आफैँलाई रोल मोडल बनाउन चाहन्छिन् ।

- राजकुमार बानियाँ

कीर्तिपुर, टाउन प्लानिङको एउटै घरमा तीन बडी बिल्डर्स छन् । दुई पुरुष र एक महिला । आठ जनाको परिवारका साना बच्चाले समेत ‘जिमर’ बन्ने सपना देखेका छन् । घरका दुई पुरुषभन्दा पहिले विश्व च्याम्पियनसिपमा कास्य पदक हात पार्न सफल ननिता महर्जन, ३१, को चर्चा अहिले ‘ बडी बिल्डर आमा’का रूपमा छ । 

रोचक के भने घरका एक बडी बिल्डर ननिताकै पति रुदन बज्राचार्य हुन् भने अर्का देवर सुदन बज्राचार्य । ननिता कस्ती आमा हुन् भने शारीरिक सुगठन कला सिक्न थालेको दुई महिनामै राष्ट्रिय च्याम्पियन बनिन् र त्यसको तीन महिनापछि विश्व च्याम्पियनसिपमै पदकको हकदार । 

गत भदौमा ‘मिस्टर काठमाडौँ एन्ड लेडिज फिटनेस च्याम्पियनसिप २०१६’ भएको थियो राजधानीमा । नेपालमै पहिलोपटक भएको प्रतियोगिताका लागि उनलाई परिवारले सजिलै अनुमति दियो र खेलयात्राको औपचारिक सुरुआत भयो । प्रतिस्पर्धामा ६ महिला उत्रिएका थिए । त्यसमा बिनाअपेक्षा स्वर्ण पदक पोल्टामा हालेपछि रित्तो हात फर्कनु नपर्ने आत्मविश्वाससहित थाइल्यान्डको बैंकक गएकी थिइन् । 

अन्तत: विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लूबीपीएफ)को आयोजनामा भएको महिलातर्फको १ सय ६५ सेन्टिमिटर उचाइ समूहको स्पर्धामा ५६ देशका सहभागीमध्ये सेकेन्ड रनर अप भएर देखाइन् । “कास्य पदक पाउँदा मलाई खासै आश्चर्य लागेन,” उनी ढाँट्दिनन्, “बरू विश्व च्याम्पियनसिपमा नेपाली महिलाले पाएको पदक पहिलो भन्ने थाहा पाएर छक्क परेँ ।” यसअघि विश्व च्याम्पियनसिपमा निर्मला महर्जन सहभागी भएकी थिइन् ।

त्यो ट्रफी उचालेपछि ननिता सेलिब्रिटी अवतारमा छाइरहेकी छन् । उनी निरन्तर मिडियाको घेराउमा छिन्, एकपछि अर्को सम्मान लिने चटारोमा छिन् । घर, परिवार, माइती, छिमेकी, साथी, शुभचिन्तकबाट उनलाई बधाईसँगै एकसूत्रीय दबाब छ, अर्को वर्ष मंगोलियाको उलानबटोरमा हुने नवौँ विश्व च्याम्पियनसिपमा राष्ट्रका लागि एउटा स्वर्ण पदक ल्याउने । “पहिले लहडमै लागियो । अहिले गोल्ड मेडलको दबाब छ,” उनी हाँस्छिन्, “यसलाई सकारात्मक रूपमै लिएकी छु ।” 

कीर्तिपुरकै बाघभैरव मन्दिरनेर तननी टोलमा जन्मेकी ननिताले जिन्दगीमा बडी बिल्डर बनुँला भन्ने कहिल्यै सोचेकी थिइनन् । टेलिभिजनमा बडी बिल्डिङ कला हेरेकी भने थिइन् । बरू, उनका पिताले युवाकालमा जिमखाना गएर फलाम उचालेका रहेछन् । तर, त्यो जुग–जमानामा अहिलेजस्तो सामान त कहाँ पाउनू ?

सानोमा खेलकुदमा रुचि थियो ननिताको । भलिबल, बास्केटबल र एथ्लेटिक्स खेलिन् पनि । कीर्तिपुरकै मंगल सेकेन्डरी स्कुलबाट एसएलसी र कुलेश्वरको जनमैत्री कलेजबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातक गरेकी उनी बिहेपछि नै हो बडी बिल्डिङमा लागेको । त्यो पनि गाथको गडबडीका कारण । 

चार वर्ष पहिले ब्याक पेन र माइग्रेनको समस्या देखिएको थियो उनमा । तौल अस्वाभाविक रूपमा बढेर ७१ किलोग्राम पुगेको थियो । डाक्टरले तीन महिनाका लागि औषधि लेखिदिए । औषधिले पनि तैबिसेक भएन । औषधि खाएर पनि हप्ताको दुई दिन त आराम गर्नैपथ्र्यो । सानैदेखि जिमखाना धाउने उनका पति रुदन जवान पत्नीको समस्याले छटपटिए । 

औषधिले स्थायी समाधान दिँदैन भन्ने पनि उनलाई थाहा थियो । त्यसैले डाक्टर र गुरुसँग सल्लाह गरेर ननितालाई फिटनेस क्लब भर्ना गरिदिए । उनलाई के विश्वास थियो भने आधारभूत अभ्यासबाट शरीर मेन्टेन हुन्छ र ब्लड प्रेसर, सुगर आदि अनेक रोगब्याधिबाट मुक्त भइन्छ ।

डिभाइन फिजिकल फिटनेस सेन्टरका प्रशिक्षक रुजेश शाहीको मार्गदर्शनमा ननिताले जुम्बा र एरोबिक्स गरिन् सुरुमा । त्यसपछि कार्डियो (वाकिङ, साइक्लिङ र जगिङ) । तर, यी अभ्यासको प्रकृति अलि फरक छ । जुम्बाले मसल ‘लुज’ गरिदिन्छ, जिमले ‘टाइट’ । एक घन्टा शारीरिक अभ्यास गरेर उनको समस्या ठीक हुनेवाला थिएन । फिटनेस सेन्टर धाउँदा धाउँदै उनी कुन सड्को बडी बिल्डिङतिर प्रेरित भइसकिछन् । शारीरिक सुगठनका लागि उनी लायक रहिछन् ।

ननिताले मसल मात्र ‘टाइट’ गरिनन्, ‘डाइट’ पनि मिलाइन् । रोगसँग ‘फाइट’ पनि गरिन् । उनलाई थाहा थियो, खुराकी नमिल्दा मसल्सको साटो भुँडी मात्र बढ्छ । बडी बिल्डिङ कठोर अनुशासनको प्रतिफल हो । यसमा तौलेर, नापेर मात्र खानुपर्छ । कीर्तिपुरे रैथाने नेवार चेलीले स्वादे जिब्रोलाई पूरै नियन्त्रणमा लिइन् । “राष्ट्रिय स्तरमा खेल्दासम्म हरेक चीज खाऊँखाऊँ लाग्थ्यो,” उनी स्वीकार्छिन्, “विश्व च्याम्पियनसिप पुग्दा त बानी भइसक्यो ।”

प्रतियोगिताछेकका तीन महिना नुनदेखि पानीसम्म बार्छिन् ननिता । नुनको आपूर्ति मासुमा हुने सोडियमबाट हुन्छ । छाला बाक्लो बनाउने नुन त वर्जित नै हुन्छ । प्राय: उसिनेका सागपात र मासु हुन्छ खान्कीमा । कार्बोहाइड्रेडभन्दा प्रोटिन ज्यादा । खान्की मिलाउन नसके नतिजा राम्रो आउँदैन । बाहिरको खानेकुरा खानै नहुने गुरु रुजेश शाही र डा उदीप श्रेष्ठको मार्गदर्शन छ । उनी भन्छिन्, “हप्ताको एकचोटि म:म, चाउमिन, पिज्जाको स्वाद पनि लिन्छु ।”

उनको खान्कीको मेनु विशेष हुन्छ । दिनहुँ कम्तीमा आठ सय ग्राम कुखुराको (छाती) मासु खान्छिन् । रोजिन्दै २० वटा अन्डा चाहिन्छ । त्यसमा स्याउ, केरालगायतका फलफूल, काजु, बदाम, पेस्ता, ओटमिल, दूध आदि पनि समावेश हुन्छन् । एकैचोटि धेरै होइन, दुई–दुई घन्टाको फरकमा ६ पटक खाने तालिका छ । यसका साथै सप्लिमेन्ट प्रोटिन पनि नखाई हुन्न । 

उसिनेका अल्नोबिल्नो परिकार खाने बेला उनलाई साथी चाहिन्छ । साथी हुन्छन् पति रुदन । यसोउसो गर्दा ननिताको एकदिने बजेट नै तीन हजार रुपियाँको हाराहारी हुन आउँछ । “इच्छा भएर मात्र बडी बिल्डर बन्न सकिँदैन,” उनको अनुभव छ, “त्यसका लागि धेरै ठूलो धनराशि अनि पारिवारिक सहयोग चाहिन्छ ।”

च्याम्पियनसिपका दौरान न उनले घर भन्न भ्याइन्, न त परिवार । दिनभरिजसो जिमखानामै हुन्थिन् । बिहान ८ देखि ११ बजेसम्म तीन घन्टा र साँझ साढे ४ देखि साढे ७ बजेसम्म तीन घन्टा प्रशिक्षण लिएकी थिइन् । “मैले घरमा कसैलाई समय दिइनँ, छोरालाई समेत,” उनी गर्व गर्छिन्, “परिवारको सहयोगमा नै विश्व च्याम्पियनसिपमा पदक सम्भव भयो ।” 

हुन पनि प्रशिक्षणका बेला बेसरी थाक्थ्यो ननिताको शरीर । चाहिएका बेला आराम गर्न पाइन् उनले । परिवारका लागि खाना पकाउने, छोरालाई स्कुल पठाउने, खुवाउने या होमवर्क गराउने काम गर्नुपरेन । मनकारी परिवारका कारण उनी ढुक्क भएर प्रशिक्षणमा तल्लीन हुन पाइन् । 

बडी बिल्डरको समस्या बुझ्ने परिवार पाउनुलाई उनी अहोभाग्य सम्झिन्छन् । घरेलु वातावरण कति सहयोगी भने विश्व च्याम्पियनसिपमा ननितालाई हौसला बढाउन आमा, बुबा र दाइ बैंकक नै पुगेका थिए । पदक जितेपछि उनको स्वागतका लागि सासू विमानस्थलसम्म पुगेकी थिइन् ।

बडी बिल्डिङको गजब पक्ष के भने यसमा अविवाहिताभन्दा विवाहिता, अझ छोराछोरीका आमा नै ज्यादा छन् । ननिताको अनुभवमा फिटनेस क्लबमा पनि आमाहरू नै धेरै हुन्छन्, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्पर्धामा पनि आमाहरू नै । “बैंककमा दोस्रो हुने पनि छोरीकी आमा थिइन्,” उनी सुनाउँछिन्, “एउटी ४० वर्षकी आमा थिइन्, आमा र छोरी दुवै खेल्दा रहेछन् ।”

गायिका पनि रहिछन् ननिता । स्कुले जीवनमा उनले थुप्रै गीत गाइन् । नेपाली र नेवारी भाषाका १६ वटा गीत रेकर्डेड नै छन् । ७ कक्षामा पढ्दा दुर्गालाल श्रेष्ठको शब्द र गुजे मालाकारको संगीतमा गाएकी थिइन्, ‘सुनको दरबारभन्दा आफ्नै देश राम्रो... ।’ ‘साना साना नानी हामी...’, ‘चिरचिर चंखु, घुरघुर बंखु...’ आदि गीत उनलाई सम्झना छ । उनका प्राय: गीतका शब्द दुर्गालाल श्रेष्ठ र अमरराज शर्माका हुन् । 

गीतमा मात्र नभएर उनका हातखुट्टा खेलमा पनि हुन्थे, नाचमा पनि । तीन वर्षअघि उनीसहितको एउटा एल्बम पनि निस्केको छ । तर, उनले एल्बमको नाम बिर्सिसकिन् । “मैले स्कुल टाइमभरि मात्रै गीत गाएँ,” उनी भन्छिन्, “प्लस टू पढ्न थालेपछि निरन्तरता दिन सकिनँ ।”

त्यसको खास कारण थियो पाकेट खर्च । उनका पिताको कपडा पसल र सिलाइ गार्मेन्ट थियो । उनले पितासँगै सिलाइ सिकिन् र काम गरेबापत अलिकति खर्चवर्च पाइन् । “मलाई ड्याडीसँग त्यत्तिकै पैसा माग्न अप्ठ्यारो लाग्थ्यो,” उनी सुनाउँछिन्, “त्यसैले काम गरेर पैसा मात्र लिएँ ।”

स्कुले जीवनमा सबैसँग यस्ता प्रतिभा देखिने अनुभव गर्छिन् ननिता । उनले संगीतमा कसैसित औपचारिक प्रशिक्षण लिइनन् । थप करिअरका बारेमा पनि सोचिनन् । “संगीतमा रुचि भए पनि अब जिममा मात्रै लाग्छु । एउटामा लागे मात्रै राम्रो गर्न सकिन्छ,” उनलाई थाहा छ, “बडी बिल्डिङमा हेभी एक्सरसाइज हुन्छ । हेभी एक्सरसाइज गरेपछि खानपिन मिल्दैन, स्वर पनि बिग्रिन्छ ।” 

सानोमा वकिल बन्ने सपना देख्थिन् ननिता । स्कुलमा उनले शिक्षकहरूलाई पनि त्यसै भनेकी थिइन् । साथीभाइलाई पनि त्यही सुनाएकी थिइन् । एसएलसीपछि राम्रो गाइडलाइन नपाएकाले कानुन कतै छुट्यो । कलेजमा पढेको विषय पनि रमाइलै लाग्यो उनलाई । उनको माइती राजनीतिक परिवार रहेछ । पिता पनि राजनीतिमा चासो राख्छन् । काका त एमालेका तर्फबाट वडाध्यक्ष नै छन् ।

स्नातकोत्तरको पढाइलाई भने उनले निरन्तरता दिन सकिनन् । बीए सकेपछि बिहे भइहाल्यो । पतिकै करिअरमा समाहित भइन् । उनका पति रुदनको दौडधूप निकै चर्को छ । सुन ल्याउने, गहना बनाउनेदेखि बिक्री–वितरणसमेत आफैँ गर्छन् । कीर्तिपुरको श्रीकीर्ति ज्वेलर्समा उनका दम्पती र देवर गरी तीनै जना बडी बिल्डर खटिन्छन् । ज्वेलरी उनीहरूको पुख्र्यौली व्यवसाय हो ।

पाटनका रुदनको परिवार कीर्तिपुर सरेको २५ वर्ष भइसक्यो । ललितपुर कलेज पढेका उनको ननितासँग साथी–साथीमार्फत चिनजान भयो, त्यसपछि अफेयर । “पहिले मैले मन पराएँ, त्यसपछि उनले,” उनी भन्छन्, “दुवैले मन पराएपछि ०६५ मा घरजम गर्‍यौँ ।” यो बडी बिल्डर दम्पतीको आठवर्षे छोरा छन्, आदित्य । उनी पनि भविष्यमा ‘जिमर’ बन्न चाहन्छन् । 

ज्वेलरी र गाडीको व्यवसाय गर्ने रुदनले एक वर्षयता कलंकीमा पाराडाइज फिटनेस सेन्टर पनि चलाएका छन् । उनी नभएको भए ननिता फिटनेसै जान पाउन्नथिन्, अन्तर्राष्ट्रिय पदक त परको कुरा । “ननिताको सफलतामा गौरब छ मलाई,” उनी भन्छन्, “महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश गएको छ ।”

फुर्सदमा घरसंसारमै रमाउँछिन् ननिता । बच्चा र परिवारलाई समय दिन्छिन् । गीत गुनगुनाउँदै सरसफाइमा तल्लीन हुुन्छिन् । ननिता बडी बिल्डिङमै थप ज्ञानको भोको छिन् । स्वास्थ्यका लागि भए पनि जिम कहिल्यै नछोड्ने उनको सुविचार छ ।

बडी बिल्डिङ आफैँमा शरीर प्रदर्शनको कला हो । उचाइ र शारीरिक बनोटबीचको आकर्षक तालमेल पनि । शरीर छोपेर हेर्ने कुरा केही हुन्न । महिला खेलाडीको ‘ड्रेस कोड’ नै हुन्छ, ‘टू पिस’ । ननिताको रोल मोडल बडी बिल्डर कोही छैन । कसैको शैली पछ्याउन पनि चाहन्नन् । आफैँलाई रोल मोडल बनाउन चाहन्छिन् । “म कोहीजस्तो बन्न चाहन्नँ,” उनी भन्छिन्, “बरू, अरूले नै मजस्तो बन्न चाहून् ।” 

प्रकाशित: कार्तिक २७, २०७४