मार्सी मासिने खतरा

  • अग्र्यानिक, रैथाने र जुम्लाको चिनारी बनेको धान उत्पादनमा कमी

- तुलाराम पाण्डे

खलंगा ।। तातोपानी, जुम्लाका गंगबहादुर बुढाको लाछुजीउलामा २० पाथी बीउ लाग्ने धानखेत भए पनि यस वर्ष आधा खेतमा मात्र काली मार्सी अर्थात् जुम्ली रातो चामल फल्ने धान रोपे । बाँकी खेतमा जिल्ला कृषि विकास कार्यालयले भित्र्याएको उन्नत भनिने लेकाली जातको धान रोपे । सात महिनासम्म लगातार स्याहार–सुसार गर्नुपर्ने भएकाले मार्सी धानको खेती घटाएको उनी सुनाउँछन् । छोराबुहारी पनि घरमा नबस्ने भएपछि परम्परागत मार्सीको खेती घटाएको बताउँदै बुढा भन्छन्, “दु:ख धेरै, उत्पादन कम । त्यसमाथि रोग लाग्छ ।”

कृषि कार्यालयले दिएको लेकाली धान रामै्र फलेपछि मार्सीको खेती घटाएको बुढाको भनाइ छ । काली मार्सी बीउ लगाएको भन्दा नयाँ बीउ रोपेको खेतमा तीन बोरा धान बढी फलेकाले अर्को वर्ष बीउ बचाउन मात्र ६ पाथी खेतमा काली मार्सी रोप्ने उनको योजना छ । बुढा मात्र होइन, नेपालकै सर्वाधिक उच्च स्थानमा फल्ने जुम्ली काली मार्सी खेती गर्ने पाताराशी, छुमचौर, सिँजालगायतका गाउँका किसानले काली मार्सीको विकल्प खोज्न थालेका छन् । थोरै खेत हुनेले त काली मार्सी खेती गर्नै छाडिसके । कम समयमै पाक्ने, मिहिनेत कम गर्नुपर्ने, उत्पादन पनि बढी हुने लेकाली–१ र ३, चन्दननाथ–१ र ३ जातका उन्नत भनिने धान लगाउन थालेका छन् । स्थानीय कृष्णबहादुर बोहोरा जुम्ला मात्रै होइन, सिंगै कर्णालीको पहिचान बनेको काली मार्सी संकटमा पर्दै गएको बताउँछन् । भन्छन्, “जुम्लालाई चिनाउने रैथाने धान संकटमा छ । संरक्षणका लागि सरकारले विशेष अनुदानको योजना ल्याउनुपर्छ ।”

परम्परागत मार्सी धानको चामल अन्य आयातीत सेतो चामलको भन्दा दोब्बर मूल्य पर्छ । जुम्लामै प्रतिकिलो १ सय ५० रुपियाँ पर्ने रातो चामल सुर्खेत, नेपालगन्ज बुटवल, काठमाडाैँ, इटहरीलगायतका सहरमा अग्र्यानिक चामलका रूपमा बिक्री हुन्छ । जुम्लाबाहिर यसको मूल्य २ सय ५० देखि ५ सयसम्म पर्छ । जुम्ला हुँदै रारा घुम्न आउने आन्तरिक पर्यटकले जुम्लाबाट लैजाने प्रमुख चिनारीका रूपमा जुम्ली मार्सी नै हुन्छ । जुम्ला उद्योग वाणिज्य संघका सदस्य एवं स्नोल्यान्ड होटलका सञ्चालक ललित महत भन्छन्, “जुम्ला आउने अधिकांश पाहुनाको रोजाइमा पनि जुम्ली मार्सी चामलको भात र रातो सिमीको दाल पर्छ ।” 

अरू चामलभन्दा रसिलो, आडिलो र शक्तिवद्र्धक हुने भएकाले जुम्ली रातो चामल चन्द्रशमशेरको पालामा दैनिक दुई माना हुलाक–डाकमा हालेर काठमाडौँ पठाउने गरिएको आचार्य बताउँछन् । उनका अनुसार जुद्धशमशेरका पालामा राणाविरुद्ध आन्दोलन हुन थालेपछि जुम्लीले चामल पठाउन छाडेका थिए । जुम्ली मार्सी धानको रातो चामलबाट भात, खीर, च्युरा, सिरुडा, ढकनी, सेलरोटी, अर्सा, लाडु, माडेलगायत १६ प्रकारका परिकार बनाएर खाने चलन छ ।

साढे सात हजारदेखि साढे आठ हजार फिटसम्म फल्ने मार्सी धान चौध बीस दराका २२ गाउँ, असी दराका २७ गाउँ र ५ सय दराका ५५ गाउँमा खेती गरिन्छ । यो धानको खेती पहिला जुम्लामै पर्ने कालीकोटको चिल्खाया र रास्कोटको फाँटमा पनि गरिन्छ । चन्दननाथ बाबाको योगदानले मार्सी धान खेती चलेको विश्वासमा हरेक वर्ष बाली भित्र्याएपछि जुम्लाका प्रत्येक घरधुरीले मंसिरमा चार माना चामल चन्दननाथलाई र दुई माना भैरवनाथलाई मानापाथी उठाउने चलन अझै छ । 

मिहिनेत धेरै गर्नुपर्ने, बीउ पनि पुरानो भएको र धानमा नेक ब्लास्ट (पाक्ने बेला बाला सुक्ने समस्या) हुन थालेपछि खेती कम हुन थालेको छ । कुल २ हजार ९ सय हेक्टर जमिनमा धान खेती हुने जुम्लामा दुई हजार हेक्टरमा आयातीत धान खेती हुन्छ । नौ सय हेक्टरमा मात्र काली मार्सीको खेती हुन्छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलका अनुसार उन्नत जातको धान प्रतिहेक्टर २० क्विन्टल उत्पादन हुन्छ भने काली मार्सी प्रतिहेक्टर १५ क्विन्टल मात्र फल्छ । उनका अनुसार काली मार्सी पनि दुई जातका छन्, एउटा पूरै रातो र अर्को खैरो । जुम्लाको सिँजा भेगमा बढी रातो उत्पादन हुन्छ भने खलंगा क्षेत्रमा खैरो ।

०६४ मा अग्र्यानिक जिल्ला घोषणा गरिएको जुम्लामा रासायनिक मल प्रयोग गर्न रोक लगाइएको छ । पुरानो बीउ र खेती प्रणालीमा सुधार नभएकाले ब्लास्टको समस्या देखिएको छ । लुकीछिपी केही किसानले रासायनिक मल जिल्लाबाहिरबाट खरिद गरेर छर्ने गरेका छन् । किसानले राम्रोसँग नकुहाएको गोठे काँचो मल प्रयोग गर्ने, बीउ नबदल्ने, छानेर पोटिलो बीउ प्रयोग नगर्नेजस्ता कारण नेक ब्लास्टको प्रकोप देखिएको वरिष्ठ कृषि विकास अधिकृत कँडेलको भनाइ छ । रासायनिक विषादीले ठीक पार्ने भए पनि त्यो प्रयोग गर्न नपाइने भएकाले कम हानिकारक हिमुसान नामक विषादी छर्ने, बाली फेरेर लगाउने प्रणाली अपनाउनुपर्ने, राम्रोसँग कुहिएको कम्पोस्ट मलको मात्र प्रयोग गर्ने लगायतका सावधानी अपनाउन सके ब्लास्ट रोगबाट धान बचाउन सकिने कृषि प्राविधिक पारसमणि महत बताउँछन् । उनले गत वर्ष सिँजाको नराकोटमा ब्लास्टको प्रकोप देखिएको गुनासो आएपछि हिमुसान विषादीका साथ तीन जना प्राविधिक पठाएर नियन्त्रण गरेको बताउँछन् ।

रासायनिक मलको विस्थापनसँगै जुम्लामा काली मार्सीमा नेक ब्लास्टको समस्या देखिन थालेको छ । पाक्न लागेपछि बोट सुक्ने, बालामा दाना नभरिने समस्या आउने लाम्राका किसान गोविन्द आचार्य बताउँछन् । 

कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डा श्रीप्रसाद मिश्रका भनाइमा महाबै, पातरखोला र चौधबीसको जुम्लाकोटबाहेक सबै गाउँमा काली मार्सी उत्पादन हुने गरेको छ । कर्णाली राजमार्गबाट सहजै चामल आउन थालेपछि पहिलेको तुलनामा धान खेतीप्रतिको मोह घटेको उनी सुनाउँछन् । जुम्लामा बढ्दो सहरीकरणले खेतीयोग्य जमिन मासेर घडेरी बनाउन थालेका, बजार क्षेत्र बाँझै राखिएको, किसानमा दु:ख गर्ने बानी घटेको, खानेबानीमा परिवर्तन आएको, व्यावसायिक रुपमा फाइदा र घाटा हेर्न थालिएको कारण पनि काली मार्सीप्रतिको आकर्षण घटेको मिश्रको ठहर छ । किसान स्याउप्रति आकर्षित हुँदा पनि धानखेत साँघुरिँदै छ । “सानो गह्रामा कोदालोले खनेर धान रोप्न झन्झट मानेर पनि स्याउ रोपेका हुन्,” डा मिश्र भन्छन्, “युवा पलायनले जुम्लाको खेती प्रणालीमा झनै नराम्रो असर पारेको छ । पहिले प्रतिहेक्टर खेतमा १८ क्विन्टल धान फल्ने जमिनमा अचेल १५ बोराभन्दा बढी फल्दैन ।”

जुम्लाका सात गाउँपालिका र चन्दननाथ नगरपालिकाका सबै गाउँमा काली मार्सी उत्पादन हुन्छ । पाताराशी गाउँपालिकाको छुमचौर मार्सी फल्ने सबैभन्दा अग्लो ठाउँ हो । अचेल त्यहाँका किसानले पनि खेती गर्न कम गरिसकेका छन् । बीउको शुद्धता मापन नहुनु, बीउ छर्नुअघि उपचार नगर्नु, किसानले पनि यसको संरक्षणमा चासो नदेखाउनु, मूल्य अभिवृद्धिबारे पनि स्थानीयलाई वास्ता नहुनुजस्ता समस्या छन् । 

जुम्ली मार्सी धानको संरक्षण गर्न बाक्लो गरी नरोप्ने, नाइट्रोजन मात्र प्रयोग गर्ने, समयमा गोडमेल गर्ने, पानी पर्याप्त दिने, २०–२५ सेन्टिमिटरको फरकमा रोप्ने, ब्लास्ट रोग सहन सक्ने स्वस्थ बीउ छनोट गर्नेलगायतका सावधानी अपनाउनुपर्ने कृषि विज्ञको सुझाव छ । चन्दननाथ, आचार्यबाडाका इतिहासकार रमानन्द आचार्य, ७१, का भनाइमा सयौँ वर्ष पहिले जुम्लाको तातोपानीस्थित लाछु जिउलामा काली मार्सीको खेती सुरु गरिएको थियो । चौधबीस, असी दरा र पाँच सय दरामा खेती गरिने परम्परागत धान हो । भन्छन्, “नेपाली भाषा, जुम्ली मार्सी धान जुम्लाको चिनारी हो, सबै मिलेर बचाउनुपर्छ ।” 

खेतीको रैथाने विधि

मार्सी धान पाक्न सात महिना पूरै लाग्छ । १२ चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । १ वैशाखमा बेर्नाको पानी पूरै सुकाउने चलन छ । त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ । १ महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ ।

असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारजंगल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो । तर, अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको इतिहासकार रमानन्द आचार्य बताउँछन् ।

 

प्रकाशित: कार्तिक २७, २०७४