सत्ताको सजिलो बाटो

  • प्रत्यक्ष चुनाव छलेर बसी–बसी सांसद हुने दाउमा पहुँचवाला, अवसरवादी र चर्चित अनुहार

- बाबुराम विश्वकर्मा

प्रत्यक्ष चुनावको माध्यमबाट नीति र नेतृत्व छनोट लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण आधारस्तम्भ हो । त्यसैले आवधिक चुनावको माध्यमबाट मतदाताले आफ्ना प्रतिनिधि र नीति दुवै चयन गर्छन् । तर, लोकतन्त्रको यो सर्वमान्य विधिविपरीत विगतमा सांसद–मन्त्री बनेर सत्ता हाँकिसकेका नेताहरू नै प्रत्यक्ष चुनाव छलेर सजिलै सांसद हुने सहज सूत्रको पछि दौडिएका छन् । 

सिद्धान्तत: निम्छराहरूलाई सहज रूपमा विद्यायिकामा ल्याउनका निम्ति व्यवस्था गरिएको समानुपातिक निर्वाचन (अप्रत्यक्ष निर्वाचन) पहुँचवालाहरूकै लागि रामवाण साबित भएको छ, विगतका दुई संविधानसभा निर्वाचनमा समेत । त्यसैले साना दलका पार्टी प्रमुखहरू मात्र होइन, ठूला दलका उपल्ला तहका नेताहरूसमेत आसन्न चुनावमा प्रत्यक्ष निर्वाचन छलेर समानुपातिको अग्रसूचीमा परेका छन्, पारिएका छन् ।

जनताले देख्न नपाएका नेता

नेकपा मालेका महासचिव सीपी (चन्द्रप्रकाश) मैनाली नेपाली राजनीतिका जानेमानेका नेता मात्र होइनन्, नेकपा एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई टक्कर दिने नेता नै हुन् । त्यो महाधिवेशनमा भण्डारीलाई टक्कर दिँदै उनले नौलो जनवादी क्रान्तिको कार्यक्रम पेस गरेका थिए । यो बेग्लै कुरा हो कि उनको दस्तावेज महाधिवेशनबाट पारित भएन । उनी विसं ०२८ को झापा आन्दोलनदेखिकै चर्चित नेता हुन् । तर, नौलो जनवादका नाममा आजीवन जनताको शासनको वकालत गर्दै आएका उनै सीपीलाई जनताले प्रत्यक्ष भेट्न नपाएको चाहिँ १८ वर्ष भइसकेको छ । ०५६ यता प्रत्यक्ष मतदानबिना नै उनी सांसद र मन्त्री बन्नबाट भने वञ्चित छैनन् । 

०४८ मा झापा–५ बाट उनी प्रतिनिधिसभामा विजयी भएका थिए भने ०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट सांसद चुनिएका थिए । मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा उनी स्थानीय विकास र आपूर्ति मन्त्री भए । ०५४ मा एमालेबाट विभाजित भएर माले बनेपछिचाहिँ उनी मालेबाट ०५६ को आमचुनावमा झापा–५ मै पराजित भए । दोस्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकाले ०६३ को अन्तरिम संसद्मा उनी मनोनीत सांसद भए ।

०६४ र ०७० का दुवै संविधानसभामा उनी नेकपा मालेको समानुपातिक सांसद रहे भने यसपालि उनले फेरि तेस्रोपटक समानुपातिक सांसद बन्ने बाटो रोजेका छन् । मालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा खस आर्य ‘क्लस्टर’मा मैनालीको नाम तेस्रो नम्बरमा छ । जनताबाट प्रत्यक्ष निर्वाचित हुन उनी किन डराए त ? भन्छन्, “म झापा–२ बाट प्रत्यक्षमा चुनाव लड्ने योजनामा थिएँ । तर, साथीहरूले पार्टी नेताका रूपमा देशभरि नै सक्रिय हुनुपर्छ भन्दै एउटा क्षेत्रमा मात्र सीमित हुन दिएनन्, त्यसैले समानुपातिकमा बसेको हुँ ।”

मैनालीको पुरानो क्षेत्र अहिले झापा–२ मा परेको छ र त्यहाँबाट नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार बनेका छन् । ओलीसँग वाम गठबन्धन गरेर प्रत्यक्ष चुनावमा जाने मैनालीको योजना थियो । तर, ओलीले सूर्य चिह्नमा चुनाव लड्न भनेपछि उनी गठबन्धनमा मिसिन तयार भएनन् । भन्छन्, “पार्टी एकता होइन, साना वामलाई निल्ने एमालेको दाउ रहेछ, आत्मसमर्पण र सिद्धान्तहीन एकता गरेर प्रत्यक्ष सांसद बन्न चाहिनँ ।” 

समानुपातिक सांसद मैनाली ओली नेतृत्वकै सरकारका उपप्रधानमन्त्रीसहित महिला तथा बालबालिका मन्त्री थिए । पहिलो संविधानसभामा चाहिँ उनी प्राकृतिक स्रोत बाँडफाँट समितिका सभापति थिए । भन्छन्, “मजत्तिको नेता प्रत्यक्षमै लड्नुपर्ने हो तर परिस्थिति बनेन ।”

न नोट, न भोट

उम्मेदवारी दर्ताअघि प्रत्यक्ष निर्वाचनका लागि टिकट पाउन दौडधूप र मरिहत्ते गर्नेहरूको संख्या थोरै थिएन । टिकट वितरणमा डनवाद र धनवाद हाबी भएको भन्दै पार्टीहरूभित्र त्यसको चर्को आलोचना भयो । तर, ठूला दलको टिकट वितरण गर्ने हैसियतमा रहेका शक्तिशाली नेताहरूले नै प्रत्यक्ष चुनिने बाटो छलेर सजिलै संसद् र सत्तामा पुग्ने तरिका अपनाएका छन् । जस्तो : प्रमुख विपक्षी नेकपा एमालेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने । उनी एमालेका पुराना नेता त हुन् नै, पार्टीको केन्द्रीय समितिमा ३२ र स्थायी समितिमा २० वर्षदेखि निरन्तर छन् । ०४८ र ०५१ को संसदीय चुनावमा बारा–१ बाट जितेका उनी ०५४ मा श्रममन्त्री बने । यति लामो राजनीतिक पृष्ठभूमि र सार्वजनिक पदीय हैसियत बनाएका उनी ०५६ यता कुनै पनि प्रत्यक्ष निर्वाचनमा सहभागी छैनन् । ०५६ मा बारा–२ बाट पराजित भएपछि चुनावदेखि नै डराए । भन्छन्, “यो लोकतन्त्र होइन, नोटतन्त्र हो, नोटतन्त्रमा मजस्तो नोट नभएको मानिसले कसरी प्रत्यक्ष चुनाव जित्न सक्छ, त्यसैले मलाई चुनावदेखि नै डर लाग्छ ।”

न्यौपाने संविधानसभाका दुईवटै चुनावमा कतैबाट पनि प्रत्याशी बनेनन्, न त समानुपातिक सांसद नै भए । उनीसँग प्रत्यक्ष चुनाव लड्ने आत्मविश्वास नै सकिएको ठानेर होला, उनलाई एमालेले यसपालि समानुपातिक कोटाको खस आर्य क्लस्टरको पहिलो नम्बरमा राखेको छ । यसको अर्थ हो, न्यौपाने अप्रत्यक्ष चुनावबाट सांसद बन्ने सम्भावना निकै बलियो छ । भन्छन्, “नोटबिना भोट आउँदैन, त्यसैले चुनाव लड्न छाडेँ ।”

प्रत्यक्ष चुनाव छलेर समानुपातिकबाट विधायक बन्ने सजिलो र कम खर्चिलो बाटोमा अरू पनि नेता लागेका छन् । एमालेकै स्थायी समितिसरहको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पुष्पराज कँडेल पनि समानुपातिक कोटाको खस आर्य क्लस्टरमा दोस्रो र तेस्रो नम्बरमा छन् । प्यासीले ०४८ र ०५१ को संसदीय चुनावमा कास्की–३ बाट जितेका थिए भने कँडेल अहिलेसम्म चुनाव नलडेका नेता हुन् । 

राजनीतिको अनुभव नै नभएका, कुनै पनि प्रत्यक्ष चुनाव नलडेका, अवसरको फाइदा मात्र उठाएर पटक–पटक समानुपातिक सांसद र मन्त्रीसमेत भएका राजनीतिक हैसियतहीन नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि फेरि सजिलै सांसद हुने जुक्ति निकालेका छन् । आफ्नो नाम मात्रको दलबाट कुनै हालतमा सांसद बन्ने सम्भावना नदेखेपछि एमालेको समानुपातिक कोटाबाट उनी संघीय संसद्मा पुग्ने दाउमा छन् । उनी दुइटै संविधानसभामा परिवार दलका एक्ला सभासद् थिए । उनी दुईपटक मन्त्री बन्न सफल भएका एकसिटे सभासद् थिए ।

चर्चितका छिर्के दाउ

सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित अनुहारहरू पनि समानुपातिकको छिद्रबाट कम खर्च र मिहिनेतमै सांसद बन्न प्रतीक्षारत छन् । तिनैमध्येकी हुन्, कांग्रेस नेतृ चित्रलेखा यादव । ०५१ मा नेपाली कांग्रेसबाट सिरहा–२ मा पराजित यादव ०५६ को आमचुनावमा त्यहीँबाट जितेर प्रतिनिधिसभाकी उपसभामुख बनेकी हुन् । तर, पहिलो संविधानसभामा उनले सिरहा–२ मा पराजय भोगिन् र फेरि प्रत्यक्ष चुनाव लड्ने आत्मविश्वास गुमाइन्् । त्यही भएर ०७० को संविधानसभामा समानुपातिक सभासद् बनेकी उनी शिक्षामन्त्री भइन् । झन्डै २५ वर्षको विजय–पराजयको अनुभव सँगालेकी यादव प्रत्यक्ष चुनावबाट यसपटक पनि भागेकी छन् । कांग्रेसको समानुपातिक सूचीमा उनको नाम मधेसी क्लस्टरमा दोस्रो नम्बरमा छ । कांग्रेसको १२औँ महाधिवेशनमा कोषाध्यक्ष चुनिएकी उनी तेह्रौँ महाधिवेशनमा त्यही पदमा अर्की नेतृ सीतादेवी यादवसँग पराजित भएकी हुन् ।

त्यसो त, चित्रलेखालाई कोषाध्यक्ष पदमा हराउने सिरहाकै सीतादेवी यादव पनि अहिलेसम्म प्रत्यक्ष चुनावमा गएकी नै छैनन् । ०६३ को अन्तरिम संसद्मा मनोनीत भएकी उनी दुवै संविधानसभामा समानुपातिक सभासद् र एकपटक मन्त्रीसमेत भइन् । तैपनि, उनले जनताबाट प्रत्यक्ष चुनिने आँट गर्न सकेकी छैनन् । र, फेरि चौथोपटक सजिलै सांसद हुने दाउमा छिन् । कांग्रेसको समानुपातिकतर्फ मधेसी कोटामा उनको नाम एक नम्बरमै छ । कांग्रेसकी अर्की चर्चित नेतृ सुजाता कोइराला पनि प्रत्यक्ष चुनाव छल्नेमै परेकी छन् । ०६३ मा अन्तरिम संसद्मा मनोनीत उनी ०६४ मा सुनसरी–५ मा पराजित भएकी थिइन् भने ०७० मा समानुपातिक सभासद् भइन् । यसपटक भने स्वास्थ्यकै कारणले उनी समानुपातिकमा बसेकी छन् । 

कांग्रेसकै अरू चर्चित अनुहारहरू जो विगतमा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए, उनीहरू पनि प्रत्यक्ष चुनावबाट पछि हटेका छन् । उदाहरणका लागि, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेता बालकृष्ण खाँड । पटक–पटक मन्त्री भएका उनलाई कांग्रेसले समानुपातिक सूचीको तेस्रो नम्बरमा राखेको छ । उनी ०४८ को आमचुनावमा रुपन्देही–१ बाट निर्वाचित भएका थिए भने ०५१ मा त्यही क्षेत्रबाट पराजित । संविधानसभाका दुवै चुनावमा उनी रुपन्देही–३ बाट निर्वाचित सांसद हुन् । पटक–पटक मन्त्री भएका खाँडले प्रत्यक्ष चुनाव छल्नुको कारण हो, उनको क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको पुन: उम्मेदवारी । भुसाललाई ०७० को संविधानसभा निर्वाचनमा ८६ मतले पराजित गरेका खाँडले पुन: भुसालसँगै भिड्नु चुनौतीपूर्ण ठानेर बसी–बसी सांसद हुने बाटो रोजेको स्रोतको भनाइ छ । 

कांग्रेसको राजनीतिमा लामो अनुभव भएका अर्का नेता दिलेन्द्रप्रसाद बडु पनि समानुपातिकबाट सांसद हुने सजिलो विधितिर आकर्षित भएका छन् । ०४८ मा दार्चुला–१ बाट निर्वाचित उनी ०५१ मा चाहिँ पराजित भए, फेरि ०५६ मा चुनिए भने ०६४ र ०७० को चुनावमा हारे । उनी दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको सरकारमा सञ्चारमन्त्री थिए भने कांग्रेसको प्रवक्ता पनि भए । तर, संसदीय चुनावमा दुईपटक जित र तीनपटक हार भोगेका उनी यसपालि कांग्रेसको समानुपातिक सूचीमा छन् । 

खाँड र बडुकै समानुपातिक बाटो समातेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन्, मानबहादुर विश्वकर्मा । कांग्रेसको समानुपातिक सूचीको पाँचौँ नम्बरमा परेका उनी ०७० मा समानुपातिक सांसद थिए भने ०६४ को चुनावमा अर्घाखाँची–१ बाट पराजित भएका थिए ।

 

नयाँ पनि उस्तै 

चुनावी राजनीतिको लामो अनुभव भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माले मात्र होइन, दुईवटा संविधानसभा र एउटा स्थानीय तहको मात्र चुनावको अनुभव हासिल गरेको नेकपा माओवादी केन्द्रका नेताले पनि प्रत्यक्ष चुनाव छलेका छन् । जस्तो : माओवादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती । उनी पनि प्रत्यक्ष चुनावबिना नै फेरि सांसद हुने बाटोमा छिन् । उनको नाम माओवादीको समानुपातिक सूचीको आदिवासी जनजाति क्लस्टरमा तेस्रो नम्बरमा छ भने उनीअघि शशि श्रेष्ठ र जयपुरी घर्तीको नाम छ । ओनसरी ०६४ मा रोल्पा–२ बाट सभासद् तथा झलनाथ खनाल नेतृत्वको सरकारकी युवा तथा खेलकुदमन्त्री थिइन् भने ०७० मा माओवादीको समानुपातिक सांसद भइन् । र, ०७२ मा नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्की सभामुख चयन भएकी थिइन् । 

अर्की माओवादी नेतृ तथा पहिलो संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदी पनि समानुपातिकमै बसेकी छन् । उनले ०६४ मा बाँके–२ बाट प्रत्यक्ष चुनाव जितेकी थिइन् भने ०७० मा पराजय । 

माओवादीको कोटाबाट समानुपातिक सांसद बन्ने दौडमा गैरमाओवादी पनि अग्रस्थानमा छन् । जस्तो : दुईवटै संविधानसभाको चुनावमा अर्को नाम मात्रको र हैसियतहीन समाजवादी प्रजातान्त्रिक जनता दल नेपालबाट समानुपातिक सभासद् बनेका प्रेमबहादुर सिंह यसपालि माओवादीको समानुपातिक सूचीमा खस आर्य कोटामा छन् । एकसिटे सांसद भए पनि उनी तीनपटक कानुनमन्त्री, दुईपटक खानेपानी तथा सरसफाइ र एकपटक विज्ञान तथा प्रविधिमन्त्री भइसकेका हुन् । अझ राजा ज्ञानेन्द्रको शासनकालमा त्यतैतिर लागेर मन्त्री पनि भएका उनी अहिले माओवादी कोटामा पर्नुलाई राजनीतिमा अवसरवादको प्रतीक नै मानिन्छन् । ०४८ मा एमालेबाट ६ वर्षका लागि राष्ट्रियसभाका सांसद बनेका सिंह ०५६ को आमचुनावमा कालीकोट–१ बाट निर्वाचत भएका थिए । त्यसयता उनी कुनै पनि प्रत्यक्ष निर्वाचनमा गएका छैनन् । जनताबाट निर्वाचित नभई पनि गणतन्त्रकालमा धेरैपटक मन्त्री बन्ने अवसर विरलैलाई प्राप्त हुन्छ । सिंहबाहेक माओवादीको समानुपातिक सूचीको खस आर्य कोटाको एक नम्बरमा नेता हितराज पाण्डे र पाँचौँमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल छन् ।

संसद्मा अलग पहिचान बनाउन सफल राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पनि प्रत्यक्ष चुनावको रिङबाट बाहिरिएका छन् । ०४८ को आमनिर्वाचन बहिष्कार गरेको उनको दलले ०५१ देखि चुनावमा भाग लिन थालेको हो । ०५१ मा उनी बाग्लुङ–२ बाट ९४ मतले पराजित भए भने ०५६ को आमचुनावमा त्यही क्षेत्रबाट जिते । त्यस्तै पहिलो संविधानसभामा पनि उनी बाग्लुङ–२ बाटै चुनिए । ०७० मा उनी समानुपातिक सभासद् भएका हुन् भने यसपालि पनि राजमोको समानुपातिक सूचीको एक नम्बरमा छन् । समानुपातिकतर्फ बसेकामा केसीको प्रस्टीकरण छ, “तस्कर, कालोबजारी, दलाल र ठेकदारहरू बोरामा करोड बोकेर चुनावमा गएका छन्, मैले कहाँबाट पैसा फिँजाउनू र चुनाव जित्नू ? त्यसैले प्रत्यक्ष चुनाव लड्ने आँट गरिनँ ।”

पञ्चायतकालदेखि पटक–पटक मन्त्री भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ पनि प्रत्यक्षको चुनावी बाटोबाट भागेका छन् । उनी त्यो दलको समानुपातिक सूचीको पहिलो नम्बरमा छन् । २६ वर्ष राष्ट्रिय पञ्चायत सदस्य, विभिन्न पटक गृह, भूमिसुधार, उद्योग वाणिज्य मन्त्री बनेका उनी ०७० को संविधानसभामा धादिङ–१ बाट पराजित भएका थिए । ०६४ को संविधानसभामा सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीबाट समानुपातिक सूचीमा रहे पनि थापाले सांसद नबनाएपछि उनी त्यहाँबाट विद्रोह गरी पशुपतिशमशेर राणाको राप्रपा प्रवेश गरेका थिए । राप्रपा र राप्रपा नेपालको एकतापछि उनी कमल थापाको राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका हुन् । राप्रपाका केन्द्रीय सदस्य भरत पाठक भन्छन्, “उहाँ प्रत्यक्ष चुनाव लड्न चाहनु भएन । वरिष्ठ नेता भएकाले उहाँलाई समानुपातिको पहिलो नम्बरमा राखियो ।” उता, पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिकका महामन्त्री धु्रवबहादुर प्रधान पनि प्रत्यक्ष चुनाव छल्नेमै पर्छन् । ०५४ मा वामदेव गौतम गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेललाई हटाएर प्रहरी महानिरीक्षक बनाइएका उनी सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला उनको सुरक्षा सल्लाहकार भएका थिए । 

प्रत्यक्ष चुनावकै परिपूरकका रूपमा लोकतन्त्रलाई सहभागितामूलक बनाउनका लागि समानुपातिक चुनाव प्रणाली लागू गरिएको हो । सिद्धान्त: यसले विधि निर्माण र शासन सत्तामा निम्छरा वर्ग, क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गर्ने हो । तर, राजनीतिक दलको स्वेच्छाचारिता र दुरुपयोगले समानुपातिक प्रणाली पनि प्रत्यक्ष चुनाव लड्न सक्ने नेताहरूकै लागि लाभकारी सिद्ध हुँदैछ । त्यसैले यो पद्धतिले फेरि पनि कमजोरलाई भन्दा शक्तिशाली र पहुँचवालहरूलाई सांसद हुँदै सत्तामा पुर्‍याउने जोखिम बढेको छ । 

प्रकाशित: कार्तिक २७, २०७४