रेनोको क्याप्चर

- नेपाल संवाददाता

भारतमा रेनोले नयाँ कार क्याप्चर लन्च गरेको छ । रेनो फ्रान्सेली मोटर कम्पनी हो । क्याप्चर कम्प्याक्ट एसयूभी वर्गमा पर्ने कार हो । भारतीय बजारमा क्याप्चरको मूल्य ९ लाख ९९ हजारबाट सुरु छ । र, यसलाई बढीमा १३ लाख ८८ हजार भारतीय रुपियाँ पर्छ । 

क्याप्चर १५ सय सीसीको इन्जिनबाट चल्छ । र, यो डिजेल वा पेट्रोल दुवै किसिमका इन्जिनमा उपलब्ध छ । तर, डिजेल इन्जिन पेट्रोलभन्दा थोरै महँगो पर्नु स्वाभाविक हो । किनभने, पेट्रोलको तुलनामा डिजेल इन्जिनले बढी पावर निकाल्छ । क्याप्चरको डिजेल इन्जिनको अधिकतम पावर क्षमता १ सय ८ ब्रेक हर्सपावरको छ । जबकि, उत्तिकै क्षमताको पेट्रोल इन्जिनबाट बढीमा मात्रै १ सय ४ ब्रेक हर्सपावर शक्ति निस्किन्छ । 

यो कारको पेट्रोल इन्जिनमा पाँच गियरको ट्रान्समिसन छ । तर, डिजेल इन्जिनमा भने यो कारमा ६ गियर रहनेछन् । तर, हालका लागि कुनैमा पनि अटोमेटिक ट्रान्समिसन उपलब्ध छैन । 

भन्नलाई क्याप्चरको डिजाइन रेनोको अर्को एसयूभी डस्टरको डिजाइनबाट प्रभावित भएको भनिएको छ । तर, आकारमा भने क्याप्चर डस्टरभन्दा थोरै सानो छ । कम्प्याक्ट एसयूभी वर्गमा यसको २१ सेन्टिमिटरको ग्राउन्ड क्लियरेन्सलाई सबैले तारिफ गरेका छन् । 

 

प्रकाशित: कार्तिक २७, २०७४