‘दुवै गठबन्धन ढाँटका पुलिन्दा’— बिजुक्छे

- माधव बस्नेत

विसं २०४८ देखि निरन्तर संसद्मा उपस्थिति जनाउने थोरै नेतामध्ये पर्छन्, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । पार्टीकै नेतृत्वमा पनि उनी लगातार ४० वर्षदेखि छन् । यसपटक उनले अचम्मै गरिदिए, आफूले सधैँ जित्दै आएको भक्तपुर–१ बाट उम्मेदवार नबन्ने निर्णय गरेर । बिजुक्छेको यस कदमले राजनीतिक वृत्तमा राम्रै चर्चा कमायो । उनलाई एमाले–माओवादीले वाम गठबन्धनमा सहभागी हुन पनि आग्रह गरेका थिए । तर, उनले मानेनन् । कतिसम्म भने एमाले–माओवादीले भक्तपुर–१ मा बिजुक्छेलाई सघाउने भन्दा पनि ‘आवश्यक नरहेको’ भन्ने जवाफ फर्काइदिए । यही सेरोफेरोमा बिजुक्छेसँग नेपालले गरेको कुराकानीको सम्पादित अंश :

 जित निश्चित हुँदा पनि किन उम्मेदवार बन्नुभएन ?

हाम्रो पार्टीमा नयाँ पुस्ता एकएक पाइला गर्दै अघि बढ्दैछ । केही वर्षदेखि त प्रेम सुवाल, अनुराधा थापा मगरजस्ता साथीहरू संसद्मा धेरै राम्ररी प्रस्तुत भइरहनुभएको छ । म नै टाँसिइरहने हो भने उहाँहरूले के गर्नुहुन्छ ? त्यसकारण हामी पुराना भइसकेका पछि हट्नुपर्छ, नयाँ पुस्तालाई स्थान दिनुपर्छ भनेर उम्मेदवार नबनेको हुँ । 

त्यसो भए राजनीतिबाटै संन्यास लिनुभएको हो ?

समग्र राजनीतिबाट पछि हट्ने त कुरै भएन नि ! नेपालको कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपमा भद्रगोल–कमजोर भएको छ । अब म हाम्रो पार्टीमा सैद्धान्तिक पक्षहरू हेर्छु, जसले आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरूमाथि प्रहार गरोस् । 

चार दशकदेखि पार्टी तपार्इंकै मुठ्ठीमा छ । अझै पनि पार्टी नेतृत्वमा रहिरहने ?

यो मुठ्ठीको कुरा होइन । हामीलाई नेपाली कांग्रेसलगायत अरू पार्टीसँग दाँज्नुभयो भने त्यस्तो लाग्ला । कांग्रेस आफूलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी के–के हुँ भन्छ । कम्युनिस्टहरू, लेफ्टहरू सबैलाई अधिनायकवादीजस्ता अनेक विशेषण दिन्छ । तर, जवाफ एउटै छ– संसद् चलिरहेको समयमा समेत डेढ वर्षमा जम्मा एकपटक मात्र उहाँहरूको संसदीय दलको बैठक बस्यो । जबकि, यस्तो बैठक त सधैँ अथवा हप्तामा कम्तीमा एकपटक हुनुपर्ने होइन र ? हाम्रोमा त्यस्तो हुँदैन । अब, कोचाहिँ अधिनायकवादी, को प्रजातन्त्रवादी ?

राजनीतिबाटै संन्यासचाहिँ कहिले लिनुहुन्छ त ?

मान्छे राजनीतिक प्राणी हो । त्यसैले उसको सेन्सले काम गरुन्जेल ऊ राजनीतिबाट भाग्न सक्दैन ।

त्यसो भए उम्मेदवार नबन्ने कुरा प्रचारको एउटा फन्डा मात्र रहेछ, होइन ?

प्रचारको फन्डा होइन । कार्यकारी भूमिकामा नबस्ने, सैद्धान्तिक पक्षलाई बलियो बनाउने पार्टी निर्णय अनुसार मैले यस्तो निधो गरेको हुँ । 

लामो समयदेखि संसद्मा सहभागिता जनाइरहेको तर अब त्यहाँ नजाँदाको समय भने कसरी बिताउनुहुन्छ ?

साहित्य, संगठनमा बिताउँछु । दुई वर्षदेखि म थोरै मात्र सक्रिय थिएँ, संसद्मा । त्यहाँ हाम्रा साथीहरूको ‘पर्फर्मेन्स’ हेर्थें, अत्यन्त चित्त बुझ्थ्यो । 

तपार्इंकै उमेरका राजनीतिक सहकर्मी, जसले सक्रिय राजनीति छाडेका छैनन्, लाई चाहिँ कसरी हेर्नुहुन्छ ?

उनीहरूले स्वेच्छाले छाडेका भए, उनीहरूको पार्टीले त्यस्तो एजेन्डालाई अघि सारेको भए धेरै राम्रो हुने थियो । 

विगतमा कर्णाली अञ्चलमा समेत राम्रो प्रभाव भएको तपार्इंको पार्टी अहिले भक्तपुरको पनि एउटा क्षेत्रमा मात्र सीमित भएको छ, यस्तोमा उम्मेदवार नबन्ने तपाईंको कदमले कत्तिको गहकिलो अर्थ राख्ला ?

धेरै अर्थ राख्छ । हाम्रो यो निर्णयलाई सबैजसो पार्टीका कार्यकर्ताले सराहनीय काम भनेका छन् । आफूले यसो गर्न नसकेकामा पश्चात्ताप भइरहेको भन्ने गरेका छन् । यो निर्णयपछि मलाई सोचेभन्दा बढी फोन आयो, बधाई आयो । यसबाट के बुझियो भने मानिसहरूले परिवर्तन खोजेका रहेछन् ।

संविधान कार्यान्वयनका लागि संसद्मा तपार्इंको उपस्थिति जरुरी थिएन ?

संसद्मा हाम्रा साथीहरू भइहाल्नुहुन्छ । मैले बाहिरैबाट नियाल्छु । संविधान कार्यान्वयन हुन जनता पनि सचेत हुनुपर्छ । जनतालाई सचेत पार्ने काम हामीले गरिरहेकै छौँ । यसअघि पनि हामीले पुँजीवादी संविधान र समाजवादी संविधानमा के फरक छ भनेर चीन, क्युबाको संविधान अनुवाद गरेर संसद्मै दिएका थियौँ ।

अहिलेको संविधानमा हाम्रा ७२ वटा मतभेद छन् । तर पनि, सुधार गर्दै कार्यान्वयन हुनुपर्छ भन्ने मान्यतामा छौँ हामी । त्यसैले म संसद्बाहिरै भए पनि संविधान कार्यान्वयनमा सहयोग गर्छु ।

आफ्नो राजनीतिक जीवनमा सबैभन्दा उल्लेख्य काम के गरेजस्तो लाग्छ ?

मैले मेरो राजनीतिक जीवनमा गाउँ–गाउँमा गएर नेपाल मजदुर किसान पार्टी स्थापना गरेँ । राजनीतिक दल, कम्युनिस्ट आचरण सामान्य जनताको दु:ख–पीडा बुझ्ने, अरूमाथि अन्याय, विभेद नगर्ने हुनुपर्छ भनेर प्रशिक्षित गरेँ, त्यही नै महत्त्वपूर्ण हो भन्ने लाग्छ ।

अनि, के गर्न सकिएन भन्ने लाग्छ ?

देशभर पार्टीलाई ठूलो बनाउन सकिनँ भन्ने त छ नि ! यति धेरै जिल्ला घुम्यौँ तापनि पार्टी ठूलो बनाउन सकेनौँ । यसबाट के पनि थाहा भयो भने पार्टी त्यत्तिकै ठूलो हुने होइन रहेछ । झूट्टा आश्वासन नदिई पार्टी विस्तार नहुँदो रहेछ । तर, त्यस्ता आश्वासन बाँडेर पार्टी ठूलो बनाउन मैले चाहिनँ । मैले झूट बोल्न सकिनँ । त्यसैले पार्टी ठूलो हुन सकेन ।

के तपाईंको पार्टी यो निर्वाचनबाट राष्ट्रिय पार्टी बन्छ ?

हामी राष्ट्रिय पार्टी त अहिले पनि छौँ । राष्ट्रिय मात्र किन ? हामी अन्तर्राष्ट्रिय पार्टी हौँ । जुन पार्टीको उद्देश्य, गतिविधि राष्ट्रिय स्तरको हुन्छ, त्यो भनेको समाजलाई, संसारलाई व्यापक दृष्टिकोणले हेर्ने पार्टी मात्र राष्ट्रिय पार्टी हो । जहाँसम्म तीन प्रतिशत मतको सन्दर्भ छ, त्यस हिसाबले हामी हेर्दैनौँ । किनभने, प्रतिशत/प्रतिष्ठाचाहिँ १०/२०/३० प्रतिशतकै लिने अनि पद दिँदा आफ्नै परिवार, आसेपासेलाई मात्र दिने, मन्त्री बनेपछि ठूलठूला रकम आफ्नै जिल्लामा मात्र खन्याउने राष्ट्रिय पार्टी हुन् र ? हाम्रो बुझाइमा उनीहरू राष्ट्रिय पार्टी होइनन् । 

त्यसैले त्यस्तो पार्टी मात्र राष्ट्रिय पार्टी हो, जसले क्युबा, कोरिया, अमेरिकालगायतको कुरा उठाउँछ । थिचोमिचो, विभेद, विकासको कुरा गर्छ । जुनसुकै देशमा साम्राज्यवादी हमला भएपछि यो कुरा संसद्मा नेमकिपाले मात्र उठाएको छ । अनि, हामीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय पार्टी हुनबाट कसले रोक्छ ?

राजनीतिप्रति समाजमा ज्यादै नकारात्मक धारणा छ, यसलाई कसरी बदल्ने होला ? 

यसका लागि ठूलो मिहिनेत गर्नुपर्छ । जस्तो कि, १५/२० दिनयता मलाई आफूले कल्पना गरेभन्दा बढी फोन आइरहेको छ । हामीले गरेको निर्णय हाम्रो पार्टीसँग मात्र सम्बन्धित थियो । तर, अरू पार्टी, जनताले पनि मन पराएका रहेछन् । ठूला नेता, कर्मचारीहरू फोन गरेर भनिरहेका छन्, ‘धेरै राम्रो गर्नु भयो तर हामी तपार्इंलाई साथ दिन सक्ने अवस्थामा छैनौँ ।’ अरू–अरू नदेखिने मसिना सैद्धान्तिक कुराहरू सुधार्न झन् जरुरी छ । त्यही सिद्धान्त गलत भएकैले सबै पार्टीहरू बिग्रिरहेका छन् । नेताहरूले जनतालाई झूट्टा आश्वासन दिन छाड्नुपर्‍यो । यस्ता थुप्रै सुधारपछि मात्र राजनीतिप्रति जनताको विश्वासको आधार बन्छ ।

प्रसंग बदलौँ, वाम र लोकतान्त्रिक गठबन्धनको धु्रवीकरण तपाईंलाई कस्तो लागेको छ ?

यी चुनावका निम्ति बनेका हुन् । कांग्रेसले माओवादीलाई छाड्ने सम्भावना थिएन । चुनाव एक्लै लडेमा हारिन्छ भन्ने डरमा एमालेले माओवादीलाई आफूसँग ल्याएको हो । साँच्चिकै कम्युनिस्ट पार्टीको एकता सिद्धान्तका आधारमा हुने हो, निर्वाचनका आधारमा होइन । उनीहरूबीच हामीले जितेर सरकारमा गयौँ भने यो–यो काम गर्छौं भनेर सिद्धान्तमा सम्झौता हुनुपर्ने हो । तर, त्यस्तो भएको छैन । 

उसो भए वामपन्थी होइनन्, उनीहरू ?

यी दुवै वामपन्थी होइनन् । किनभने, वामपन्थीको दुई अर्थ लाग्छन्, संसदीय अर्थमा सभामुखको दायाँतिर सरकार पक्षधर र बायाँतिर प्रतिपक्ष बस्छ । त्यो गठबन्धन बन्दा माओवादी सरकारमै थियो । वाम गठबन्धनमा जाने हो भने माओवादीले सरकारबाट राजीनामा दिनुपथ्र्याे । यो राजनीतिक नैतिकता पनि हो । माओवादीले त्यो धर्म निभाएको छैन । त्यसैले नैतिक हिसाबले पनि ऊ दक्षिणपन्थी नै हो । 

एमालेको कुरा गर्ने हो भने संसद्मा बसाइका आधारमा ऊ वामपन्थी हो । तर, उनीहरूले संसद्मै प्रस्तुत भएको देशलाई नै पछि धकेल्ने विधेयकको समेत विरोध गरेनन् । जुनसुकै विधेयकलाई टेबुल ठटाएर पारित गरिदिए । प्रतिपक्ष छ कि छैन, सुतेको छ कि जागै छ, थाहा भएन । सिद्धान्तका आधारमा पनि यिनीहरू वामपन्थी हुने सम्भावनै छैन । 

अनि, कांग्रेसको गठबन्धन नि ?

त्यो पनि दुई सामन्तबीचको मित्रता हो । त्यसैले यी दुवै गठबन्धन ढाँटका पुलिन्दा हुन् ।

यी गठबन्धन कसरी बने त ?

प्रस्टै छ नि, यी दुईवटै गठबन्धन भारतले बनाइदिएको हो । दुई हातमै लड्डु बोक्न यी गठबन्धन बनाइएका हुन् । 

कतिपयले त एउटा उत्तरले र अर्को दक्षिणले बनाइदिएको भन्छन् नि ?

गलत, गलत । उत्तरले यसमा चासै राख्दैन । नजाने ठाउँको बाटै नसोध्नु भनेजस्तै हामी नेपालीहरूमै समस्या छ । 

प्रकाशित: कार्तिक २७, २०७४