जीओनीको एम सेभेन पावर आउँदै

- नेपाल संवाददाता

नेपालमा जीओनीले नयाँ स्मार्टफोन एम सेभेन पावर ल्याउने तयारी गरेको छ । यसलाई मिड रेन्जको स्मार्टफोन भनिएको छ । जसको मतलब यसको मूल्य ३५ हजार नेपाली रूपियाँको आसपासमा रहने अनुमान लगाउन सकिन्छ ।

एम सेभेन पावरको सबैभन्दा बलियो पक्ष यसको ब्याट्री क्षमता हो, जुन पाँच हजार एमएएच क्षमताको छ । त्यसकारण यो स्मार्टफोन ती प्रयोगकर्ताका लागि उत्कृष्ट रोजाइ हुन सक्छ, जो लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोनको खोजीमा छन् । र, यसको ब्याट्रीले फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । एम सेभेन पावर एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टमबाट चल्छ, जुन यसको अर्को राम्रो पक्ष हो ।

यो स्मार्टफोन ६४ जीबी आन्तरिक मेमोरी क्षमतामा आउँछ । यसमा २ सय ५६ जीबीसम्मको मेमोरी कार्ड पनि प्रयोग गर्न मिल्छ । र, यसको र्‍यामको क्षमता चार जीबीको छ । यसको डिस्प्ले स्क्रिन ६ इन्चको छ ।

यसका क्यामेरा पनि राम्रै क्षमताका छन् । यसको रियर क्यामेरा १३ मेगापिक्सेलको र सेल्फीको क्यामेरा आठ मेगापिक्सेलको छ, जसबाट प्रयोगकर्ताले राम्रै गुणस्तरमा फोटो खिच्न सक्छन् । यसमा फिंगर प्रिन्ट सेन्सर पनि राखिएको छ, जुन यसको पछाडिपट्टिको भागमा छ ।

प्रकाशित: कार्तिक २६, २०७४