कुर्दा–कुर्दै हैरान

- नेपाल संवाददाता

गाजलुबाट फिल्मी यात्रा सुरु गर्दा सृष्टि श्रेष्ठलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइएको थियो । पूर्वमिस नेपाल हुनुको नाताले उनको साख अझ बढाएको थियो तर यो दुई वर्षको बीचमा छाएको सुस्तताले सृष्टिको करिअरमाथि प्रश्न उठाउन थालिएको छ । अझ रोचक कुराचाहिँ यसबीचमा उनले फिल्मभन्दा अभिनेता सौगात मल्लसँगको अफेयरका कारण बढी चर्चा पाइन् । फिल्म पनि नपाएको होइन । तर, कुनै पनि तत्काल प्रदर्शन हुने अवस्था छैन । उनले ‘केमियो’को रुपमा काम गरेको लालपुर्जा निर्माताहरुबीचको तनावका कारण त्यत्तिकै अड्किएको छ । उनको अर्को फिल्म लाउरेबाट त निर्देशक निगम श्रेष्ठ नै बाहिरिनु पर्‍यो । सोही कारण प्रदर्शनको भर छैन । सृष्टिको सशक्त भूमिका रहेको रोमियो एन्ड मुनाको बल्लतल्ल सुटिङ सकिएको छ । यसको पनि रिलिज मिति टुंगो लागिसकेको छैन । क्या फसाद !

 

प्रकाशित: कार्तिक २६, २०७४