[फिल्म] 'तान्द्रो'मा फरक प्रयास

- गोकर्ण गौतम

चकलेटी हिरो–हिरोइन, दुई–चार थान पञ्चलाइन र द्विअर्थी संवाद, केही रुवाइ–धुवाइ, केही रोमान्स अनि आइटम गीत यही सूत्रमा अल्झिएका हुन्छन्, प्राय: नेपाली फिल्म । जबकि, सामाजिक विषयलाई कलात्मक शैलीमा पर्दामा पस्केर सिनेमाको वजन बढाउन यो प्रवृत्ति कहिल्यै फलदायी हुन सक्दैन । यही महत्त्वबोध गरेर हुनुपर्छ, चटपटे समीकरणबाट मुक्त सिर्जनशील फिल्म प्रदर्शन हुन्छन्, यदाकदा । तान्द्रो यही मौलिक सिनेमा निर्माणको ज्वलन्त प्रयास हो । यसलाई दस वर्ष चलेको सशस्त्र द्वन्द्वमा एउटा माओवादी योद्धाले जीवन प्राप्तिका लागि गरेको संघर्षको दस्तावेजीकरण मान्न सकिन्छ । वास्तविक घटनामा आधारित यस फिल्मको कथा र पात्रको क्यानभाष सानो भए पनि सूक्ष्म ढंगले उतारिएको छ । तर, अमूर्त दृश्य पनि उत्तिकै भएकाले अपेक्षाकृत दर्शकको संवेदना जित्न चुकेका छन्, निर्देशक साम्तेन भुटिया । भलै, उनले इमानदार ढंगबाट कथा पस्कन खोजेकामा शंकै छैन । 

सांस्कृतिक विभागको प्रमुख कमरेड कोसिस (दयाहाङ राई)को कथा हो, तान्द्रो । सांस्कृतिक कार्यक्रमपश्चात् आराम गर्ने समयमा उनको टोलीलाई नेपाली सेनाले घेरा हाल्छ । कोही भाग्छन्, कसैको ज्यान जान्छ । कोसिसलाई चाहिँ भाग्ने क्रममा गोली लाग्छ । हिँडडुल गर्न सक्दैनन्, सबैसँग सम्पर्क टुट्छ र अलपत्र पर्छन् । यसरी जीवन–मरणको दोसाँधमा रहेका एक क्रान्तिकारीको आन्तरिक द्वन्द्व र बाह्य संघर्षमा घुमेको छ फिल्म । क्लाइमेक्स नाटकीय होइन, बरू जीवनसँग नजिक छ । 

माओवादी द्वन्द्वका विषयमा बनेका अधिकांश फिल्ममा कि माओवादीको सत्तोसराप गरिएको हुन्छ कि स्तुति गाइएको हुन्छ । पक्षधरताविहीन कथाको साँच्चै खडेरी छ । तान्द्रोले त्यही सुक्खापनलाई रसिलो बनाउनेमा सन्देह छैन । फिल्मले कसैको पक्षधरता लिएको छ भने मानवताको मात्र । निर्देशक भुटियाले उपेन्द्र सुब्बासँग मिलेर लेखेको यस फिल्ममा कसैलाई दोष थुपार्ने वा देवत्वकरण गर्ने नियत देखिँदैन । सुरुआती दृश्यले गाउँ–गाउँमा क्रान्तिको बिगुल फुक्न गीत, नाटक र नृत्यलाई माओवादीले कसरी प्रयोग गरेका थिए भन्ने याद दिलाउँछ । माओवादी कार्यकर्ताबीचको सम्बन्ध र गाउँलेले माओवादीलाई हेर्ने दृष्टिकोण नजरअन्दाज गरिएको छैन । यो त पृष्ठभूमि मात्र हो, कोसिसलाई गोली लागेसँगै फिल्मको खास कथा सुरु हुन्छ । मध्यान्तरपछि त फिल्म पूरापूर दयाहाङमै केन्द्रित छ । तर, सेनाको आक्रमणलाई विश्वसनीय ढंगले खिचिएको छैन । माओवादीलाई पूरै निशस्त्र देखाउनु अर्को कमजोरी हो । सुरुआततिर देखाइने माओवादी कार्यकर्ताहरूबीचको कतिपय सम्बन्ध, संवाद र बानी–बेहोरा हँसाउनकै खातिर राखिएको छनक मिल्छ । 

गोली लागेर बारीको पाटामा ढलेको कोसिसलाई गाउँलेले थोरै मानवीयतासमेत देखाउँदैनन् । यहाँनिर निर्देशकले माओवादीप्रति नागरिकहरू कति रुष्ट थिए भन्ने देखाउने प्रयास गरेका छन् । एक वृद्ध त उनलाई मार्न पटक–पटक झम्टन्छन् । उनी र दयाहाङको सम्बन्धले दर्शकको मन अमिलो बनाउँछ । त्यस्तै, सोही गाउँकी एक बालिका र कोसिसको सम्बन्ध त अझ मार्मिक छ । गोलीको पीडा चर्कंदै गएपछि कोसिसको मनोविज्ञान, मनोद्वन्द्व र उसको विगतलाई प्रधानता दिइएको छ । कोसिसले साना ढुंगाको चाङ बनाएर ढाल्नुलाई उसको सपनासँग दाँजिएको छ । तर, यी दृश्यलाई जीवन्त बनाउने सवालमा भने निर्देशकमा परिपक्वता देखिन्न । मुख्य पात्रको आवेग र छटछटी प्रभावकारी रूपमा दर्शकसम्म प्रवाह हुन सकेको छैन । पात्रको मनोविज्ञानलाई समात्न खोजेको तर दृश्यमा बुन्न सक्षम नभएको आभास हुन्छ । साँघुरो कथा र पात्रलाई सशक्त बनाउन लेखकद्वयको मिहिनेत चित्तबुझ्दो लाग्दैन । एउटै पात्र, त्यसमा एउटै ठाउँमा केन्द्रित भएकाले कतिपयलाई फिल्मको गति धिमा लाग्न सक्छ ।

पछिल्लो प्रहरमा दयाहाङ हास्यपन मिसिएको चरित्रमा सीमित छन्, सोही कारण तान्द्रोमा उनको उपस्थिति ‘सरप्राइज’ लाग्छ । खास गरी मनभित्रको बेचैनीलाई ज्यादै मर्मस्पर्शी शैलीमा व्यक्त गर्न सफल छन् उनी । ‘हैट !’ थेगोबाट लोकप्रियता कमाएका अभिनेता बुद्धि तामाङ गम्भीर भूमिकामा जमेका छन् । गाउँले बच्चीको चरित्र र अभिनय फिल्मको सुन्दर पक्ष हो । गाउँले वृद्धको अभिनय जीवन्त छ । तर, संवादचाहिँ प्राकृतिक लाग्दैन । रामबाबु पनि सम्झन लायक पात्र हुन् । सीमित लोकेसनभित्र पुरुषोत्तम प्रधानले कथाको वहाब अनुरूपमै दृश्य कैद गरेका छन् । निर्देशक र लेखकका रूपमा भुटियाको काम वाहवाही गर्न लायक नभए पनि स्वागतयोग्य पक्कै छ । 

 

प्रकाशित: कार्तिक २४, २०७४