तस्करको स्वर्ग

  • उरै भञ्ज्याङ नाकाबाट प्रतिबन्धित जडीबुटी, वन्यजन्तुका आखेटोपहार र रक्तचन्दनको अवैध निर्यात

- बसन्तप्रताप सिंह

चैनपुर (बझाङ) ।। धेरै वर्षदेखि बझाङको उरै भञ्जाङ नाका भएर अवैध रूपमा तिब्बत जाने सामान प्रहरीले पक्राउ गरेको सार्वजनिक भएको छैन । धेरैलाई लाग्न सक्छ, यो बाटो प्रयोग गरेर हुने वन्यजन्तुका आखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बन्द भइसकेको होला । तर, यथार्थ धेरै फरक छ । अहिले त खुलेआम रूपमा यस्तो कारोबार भइरहेको छ । 

नेपालको सीमा सुरक्षा चौकी रहेको काँडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटरको दूरीमा रहेको नेपाल–चीनको सीमानजिकै अस्थायी टहरा नै खडा गरेर तस्करहरूले खुलेआम यस्ता सामानहरू ओसारपसार गरिरहेको दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई अचम्ममा पार्छ । 

खुला हिमाली पाटनमा ठूलो मात्रामा प्रतिबन्धित जडीबुटीहरू सुकाएको, अस्थायी टहराहरूमा बोराका बोरा जडीबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडीबुटी तथा अन्य प्रतिबन्धित सामानहरू लिएर दिउँसै निर्धक्क हिँडिरहेका खच्चर, भेडा, भरिया र तस्करीमा संलग्न व्यक्तिको ताँती देख्ने जोसुकै एकपटक जिब्रो टोक्न बाध्य हुन्छ, ‘ओहो π यो त साँञ्चै तस्करको स्वर्गै रहेछ ।’ 

जडीबुटी प्रतिबन्धित, व्यापार खुलेआम 

अहिले काँडा गाउँपालिका हँुदै तिब्बत जाने बाटोमा पर्ने चौरहरूमा खुलेआम सुकाइएको जटामसी र कटुकीलगायतका जडीबुटी ठूलो परिमाणमा सहजै देखिन्छ । बझाङ तथा हुम्लाका व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मानिसहरूलाई ज्यालामा लगाएर संकलन गरिएको उक्त जडीबुटीको परिमाण दुई सय क्विन्टलभन्दा बढी भएको काँडाका मंगल बोहरा बताउँछन् । भन्छन्, “यो सबै तिब्बत लैजानका लागि ठीक पारिएको हो ।” 

नेपाल–चीन सीमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै पाल टाँगिएका भेटिन्छन् । बाहिरबाट हेर्दा अस्थायी होटलजस्ता लाग्ने पालभित्र हेर्दा सयाँै बोरामा राखिएका कटुकीका खात देखिन्छन् । 

पाल कुरुवाको काम गरिरहेका हुम्लाका युवकहरूले आफूहरू कटुकी तिब्बत ढुवानी गर्ने जिम्मा लिएर त्यहाँ बसेको हाकाहाकी बताउँछन् । उनीहरू २० वटा खच्चर भाडामा लिएको र कटुकी ढुवानी गर्न एक साताजति लाग्ने अनि ढुवानी सकेपछि पाल हटाएर आफूहरू पनि ताक्लाकोट जाने तालिका छ । असोजको अन्त्यसम्म झन्डै १ सय ५० क्विन्टल जति कटुकी तिब्बत पुर्‍याइसकेको र ६०/७० क्विन्टल ढुवानीको क्रममा रहेको उनीहरूको भनाइ छ । 

अहिले बझाङको काँडा गाउँपालिकादेखि चीनको ताक्लाकोटसम्म ओहोरदोहोर गर्नेहरूले प्रशस्त मात्रामा रातो च्याउलगायतका प्रतिबन्धित जडीबुटी लिएर गएका देखिन्छन् भने फर्किंदा लत्ताकपडा, जुत्ता, 

मदिरा लिएर आउँछन् ।

यी सामान्य उदाहरण हुन् । यसअघि साउन, भदौ र असोज महिनामा यो बाटो भएर सयौँ क्विन्टल सतुवा, वन लसुन, पाँचऔलेलगायतका विभिन्न जडीबुटी तिब्बत पुगेको तिब्बती सीमा सुरक्षा पोस्ट नजिक होटल सञ्चालन गरिरहेका हुम्लाका बहादुर लामा बताउँछन् । 

अव्यवस्थित संकलन भएका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषद्ले बझाङमा दुई वर्षका लागि सतुवा, कटुकी, वन लसुनको संकलनमा रोक लगाएको छ । पाँचऔले विश्वमै लोपोन्मुख प्रजातिमा रहेकाले नेपाल सरकारले नै यसको संकलनमा प्रतिबन्ध लगाएको छ भने रातो च्याउ ओसारपसारका लागि के व्यवस्था गर्ने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधीन रहेको जिल्ला वन कार्यालय, बझाङको प्रस्टोक्ति छ ।

उत्तरी नाका भएर निकासी भइरहेको जडीबुटीबारेमा जिल्ला वन कार्यालयलाई कुनै जानकारी नभएको र माथि उल्लिखित कुनै पनि जडीबुटीको जिल्ला वनले संकलन र छोडपुर्जी नदिएको जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठको दाबी छ । 

रक्त चन्दनको ट्रान्जिट

विसं ०६८ चैतमा बझाङ प्रहरीले चीनको तिब्बततर्फ लैजाँदै गरेको अवस्थामा रिठापाटाको बारिल भन्ने ठाउँबाट झन्डै ३५ क्विन्टल रक्तचन्दनसहित बाजुराका ८६ जना भरियालाई पक्राउ गरेको थियो । सोही वर्षको असोजमा १ सय ५० भन्दा बढी भरिया प्रयोग गरेर ५० क्विन्टल रक्त चन्दन तिब्बत पुर्‍याइएको सार्वजनिक भएको थियो । 

त्यसयता यो नाका भएर तिब्बत पुग्ने रक्तचन्दन पक्राउ परेको छैन । तर, प्रत्येक वर्ष रक्तचन्दन यही नाका भएर तिब्बत आउने गरेको यहाँका स्थानीय र यो बाटोमा होटल व्यवसाय गर्नेहरू बताउँछन् । “यो बाटो भएर रक्तचन्दन आउन थालेको झन्डै सात वर्ष भयो,” तिब्बतको लुपुमा ११ वर्षदेखि होटल सञ्चालन गरिरहेका एक हुम्ली भन्छन्, “पहिला–पहिला बाघका छाला, कस्तूरीजस्ता सामान बढी आउँथ्यो, अचेल रक्तचन्दन बढी आउँछ ।” उनको दाबी पत्याउने हो भने गत वर्ष मात्र बाजुरा, साप्पाटाका १ सय २३ जना भरिया प्रयोग गरेर झन्डै ३७ क्विन्टल रक्तचन्दन तिब्बत लगिएको थियो । प्राय: बाटोका सबै होटल उठिसकेपछि दसैँ र तिहारको आसपास र चैतको अन्त्यतिर रक्तचन्दनको ओसारपसार बढी हुने गरेको उनको भनाइ छ । 

प्रहरी स्रोतका अनुसार तातोपानी नाका बन्द भएपछि रसुवा र अन्य नाकामा हुने कडाइका कारण तस्करहरूले नाका फेरेर बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन् । तिब्बतको भूमिमा पुर्‍याइसकेपछि यहाँ यसको खुला व्यापार हुने र बझाङको नाकामा सुरक्षा व्यवस्था नभएका कारण यो नाका भएर रक्तचन्दन तस्करी गर्न सजिलो भएकाले तस्करहरूले यो नाका प्रयोग गर्ने गरेको नेपाल–चीन उद्योग व्यापार संघ अन्तर्गतको कैलाश व्यापार संघका सचिव जगत तामाङ बताउँछन् ।

बाघको छालामा कडाइ, कस्तूरीको विना महँगियो 

ताक्लाकोट प्रशासनले अन्तर्राष्ट्रिय दबाबका कारण बाघको छाला खरिद–बिक्रीमा प्रतिबन्ध लगाएपछि दुई वर्षयता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोबार घटेको छ । 

गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताका रूपमा रहेका एक जनालाई तिब्बत प्रशासनले पक्राउ गरेपछि यसको कारोबारमा कमी आएको कैलाश व्यापार संघका सचिव तामाङ बताउँछन् । भन्छन्, “पहिले धेरै बेचेको सुनिन्थ्यो । एक वर्षजति भयो, त्यस्ता खालका मान्छे ताक्लामा भेटिएका छैनन् ।” 

बाघको छाला र हड्डीको कारोबार घटेसँगै कस्तूरीको विनाको मूल्य भने गत वर्षभन्दा निकै बढेको छ । ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजार रुपियाँसम्म किनबेच भएको कस्तूरीको विना यस वर्ष ५५ देखि ६५ हजारसम्म कारोबार भएको ताक्लाकोटमा कस्तूरीको विना बेचेर फर्किएका बझाङ, काँडाका एक व्यापारी सुनाउँछन् । पाँचवटा विना बझाङको साबिक दाँतोला र चारवटा सुर्मा र दौलीचौर गाविसका सिकारीबाट खरिद गरेको बताउने उनले दुईवटा काँडाका सिकारीबाट प्रतितोला २५ देखि ३० हजार रुपियाँमा खरिद गरेको दाबी गरे । 

कस्तूरीको व्यापारमा बझाङ र हुम्लाका व्यापारी संलग्न रहेको र उनीहरूले यस वर्ष बझाङबाट मात्र ५० वटाजति कस्तूरीको विना संकलन गरेर तिब्बत पुर्‍याएको उनको भनाइ छ । 

नियन्त्रण आवश्यक 

बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनुपर्ने र सीमा सुरक्षाका लागि विशेष खालको सुविधासहित सशस्त्र प्रहरीलाई खटाइनुपर्ने बझाङवासीहरू बताउँछन् । जिल्ला परिषद्ले पटक–पटक निर्णय गरेर केन्द्रमा पठाए पनि यसको सुनुवाइ नहुँदा उरै नाका तस्करका लागि सहज बन्दै गएको बझाङका अधिकारीहरू नै बताउँछन् । 

भन्सार कार्यालय र प्रहरीको उपस्थिति राम्रो भएमा जिल्ला वनले पनि आफ्नो पोस्ट खडा गर्ने र प्रहरी प्रशासनसँग मिलेर तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठ बताउँछन् । भन्छन्, “बर्सेनि ठूलो मात्रामा वन्यजन्तुका अंग र जडीबुटी अवैध निकासी भएको हामी पनि सुनेका छौँ तर हामीसँगको जनशक्ति र सीमा सुरक्षा चौकीमा अहिले भएका प्रहरीकै भरमा यो नियन्त्रण गर्न सम्भव छैन ।” सीमामा सरकारको उपस्थिति शुन्य हँुदा बर्सेनि करोडौँ राजस्वसमेत गुमिरहेको बताउँदै श्रेष्ठ भन्छन्, “प्रहरीको उपस्थिति बाक्लो बनाउने, सुराकी परिचालन गर्ने र सरकारका अन्य निकायको पनि उपस्थिति हुने हो भने अवैध निकासी नियन्त्रण गर्न गाह्रो छैन ।”

जडीबुटी र वन्यजन्तुका आखेटोपहारको तस्करी यो नाकाबाट भइरहेको बारे आफूले जानकारी पाए पनि रक्तचन्दन तस्करीको विषय थाहा नभएको प्रहरी नायब निरीक्षक क्रृषिराम कँडेल बताउँछन् । 

अहिलेको सीमा सुरक्षा चौकी रहेको ठाउँ धुलीबाट सीमासम्म पुग्नै तीन दिन लाग्ने र तस्करीको सूचना पाए पनि प्रहरी पुग्दासम्म तस्कर भागिसक्ने भएकाले सीमामा हुने गैरकानुनी गतिविधि रोक्नका लागि सीमा नजिकै प्रहरीको उपस्थिति आवश्यक पर्ने प्रहरी नायव उपरीक्षक कँडेल बताउँछन् । भन्छन्, “हिमाली भूभाग भएका कारण अहिलेकै सुविधामा त्यहाँ कोही पनि बस्न चाहँदैनन् । सरकारले विशेष सुविधासहित बाह्रै महिना सीमामा प्रहरी रहने व्यवस्था गरेमा गैरकानुनी गतिविधि रोक्न असम्भव छैन । यसका लागि जिल्लामा रहेको संयन्त्रले मात्र पहल गरेर हुँदैन, केन्द्र स्तरबाट चासो देखाउनु जरुरी छ ।” 

प्रकाशित: कार्तिक २२, २०७४