पढ्न लायक कथा

- यशोदा तिम्सिना

स्थानीय धरातल, विषय, पात्र, महिला, पुरुष, रोनाधोना, प्रेम, विछोड, राजनीति, भ्रष्टाचार, गरिबीजस्ता विषय समेटेर लेखिएका कथा हामीले वर्षौंदेखि पढ्दै आएका छौँ । उसो त महिला लेखकबाट यति धेरै विषयवस्तुमाथि पकडको पनि आशा गरिन्न । पाठकले महिला लेखकलाई महिलाका नै विषय भए पनि रोनाधोना, गनगन, पारिवारिक असन्तुष्टि, प्रेम, विछोडभन्दा पृथक् विषयवस्तु दिन्छन् भन्ने विश्वास गर्दैनन् । गैरआख्यानमा कहीँकतै महिलाले प्रस्तुत गर्ने विषयवस्तु केही फरक भए पनि आख्यानमा त उल्लिखित विषयबाहेक लेख्नेको न धेरै संलग्नता छ, न क्षमताप्रतिको भरोसा नै । तर, यक्ष प्रश्न के हो भने, पुरुष लेखकले यिनै रोनाधोना भनिएका विषयवस्तु समेटेर कुनै खुराक पस्किए भने त्यसलाई पुरुषको उदारता, विषयवस्तु बुझेको, लैंगिकमैत्री या संवेदनशील भएको ठान्ने पाठक वर्गले महिलाले तिनै विषयवस्तु पस्किँदा भने तिनको दायरा त्यति नै हो भन्ने अर्थ लगाउँछ । 

पछिल्लो समय बजारमा आएको कथासंग्रह कठपुतलाले भने अब समय फेरिएको संकेत गरेको छ । विषयवस्तुको नूतन छनोट र प्रस्तुतिको फरक शैली बोकेर उदाएकी कथाकार अर्चना थापाका कथा पढेपछि जो कोही पाठकलाई यो सत्य स्वीकार्न करै लाग्छ । महिलाले महिला भएकै कारण आफू सम्बद्ध विषयवस्तुमाथि त न्याय गर्छन् नै, अरू विषयवस्तुमाथि पनि उसैगरी पकड राख्छन्, जानकार छन् र त्यसलाई मिहिन पारामा केलाएर पाठकसामु पस्किन सक्छन् भन्ने कुराको उदाहरण हुन्, अर्चनाका कथाहरू । 

काठमाडौँमा जन्मे–हुर्केर अंग्रेजी शिक्षामा पोख्त अर्चनाका कथामा पहाड, बादल, हावाहुरी, असिनापानी, हिंसा, जनयुद्ध, गाउँघर, छुवाछूत, छाउपडी छैन । तर, उनका कथाले बदलिँदो परिवेश, एक्काइसौँ शताब्दीको हुँकार र समाज विकासक्रमसँगै फेरिएका मान्यता र सोचलाई भरमार सम्बोधन गरेका छन् । अझै पनि पुराना मान्यतामा अडिएको आजको समाज महिला या पुरुष भएकै कारण व्यक्तिलाई लैंगिकतामा बाँधेर राख्छ र पूर्ण मानव हुन दिँदैन भन्ने कुराको वकालत पनि अर्चनाका कथाले गरेका छन् । 

समावेशी समाजको कुरा उठिरहेको यस घडीमा त्यस मुद्दालाई सम्बोधन गर्न पनि आफ्नो क्षमता र पौरख देखाउनै पर्छ । यस मानेमा पनि अर्चना अब्बल देखिएकी छन् । उनका कथा पढेपछि कसैले महिलाले लेखेका कति राम्रा कथा भन्नु पर्दैन । महिलाले राम्रा लेख्न सक्दैनन् भन्ने पुरातन मान्यताबाट ग्रस्त मनोविज्ञानले गर्ने ती टिप्पणीबाट बाहिरिएर अर्चनाका कथा पढ्नुपर्छ । अनि मात्रै कथामाथि न्याय हुन्छ । 

पहिलो कुरा, कथासंग्रहको नाम नै चलनचल्तीभन्दा माथि छ । हामीले कठपुतली भन्दै आएको/सुनेको हो । तर, त्यसै शब्दलाई अर्को रूपबाट हेरिएको थिएन । अब हेर्नुपर्ने जिकिर अर्चनाको छ । किन ? प्रश्नको जवाफ पुष्टि हुने आधारसहित कथा पढ्न पाइन्छ । कथाबारे भन्नलाई शीर्ष कथा ‘कठपुतला’लाई लिऔँ । यस कथामा अर्चनाले विकासको चरम रूपलाई प्रस्तुत गरेकी छन् । अब मानव सक्रिय हुने ठाउँमा क्रमश: त्यो ठाउँ यन्त्रमानवले लिने जिकिर अर्चनाको छ । मानवको उठबस, कुराकानी, दैनिक काम–कारबाहीसमेत यन्त्रमानवसँग बढी, आफ्ना सहोदर या विरादरीसँग कम हुने ठहर पनि कथाकारको छ । 

अहिले समाज मूलत: महिला र पुरुषमा विभक्त भए पनि तेस्रो लिंगीसमेतको अस्तित्वलाई स्वीकार्नुपर्ने कानुन बनेको छ । कठपुतलामा समाविष्ट कथाहरू पढेपछि चौथो लिंगी बनेर यन्त्रमानव उदाउने सम्भावना छ भन्न सकिन्छ । उसो त अहिलेसम्म हाम्रा साहित्य, लेखन, कला, प्राज्ञिक कार्यमा समेत कठपुतलीको मात्रै व्याख्या या संलग्नता छ । त्यसलाई चिरेर अर्चनाले कठपुतलाको परिकल्पना र नामकरण गरेकी छन् । 

बृहत् नेपाली शब्दकोशलाई पत्याउने हो भने पनि कठपुतला भन्ने शब्द त्यसमा समावेश छैन । केवल कठपुतली छ । जसको शाब्दिक अर्थ लेखिएको छ : धागो खिच्दा चल्ने काठबाट बनेको पुतली ।

अर्काको इसारामा चल्ने । ‘तिमी उसको कठपुतली नबन’ । लैंगिक विभेदका आधारमा चल्ने यस्ता शब्दहरूको विरोधस्वरूप कथाकारले शब्दकोशभन्दा माथि उभिएर कठपुतला शब्द चयन गरेको हुनुपर्छ । शीर्ष कथाको शीर्षक चयनबारे अर्चना मौन छिन् । उसो त पितृसत्तात्मक समाजले पारेको प्रभावमा महिला परेका छैनन् भन्ने होइन पनि । यसको उदाहरण लेखिका स्वयं हुन् । ‘कठपुतला’ कथाको युटोपिया राज्यमा पनि सपुत, सहिद, विज्ञान, विकास, भूमि, अस्त्रशस्त्र, राष्ट्रनेता, राष्ट्रनिर्माता, राष्ट्रका विद्वान् सबै पुरुषभावका शब्दहरू मात्रै छन् । शीर्षक ‘कठपुतला’ भए पनि । यसमा पितृसत्ताको राग भेटिन्छ । यसै पनि पितृसत्ता भनेको पुरुषलाई भनिएको होइन, प्रवृत्तिलाई हो । 

यसै कथामा उनले ८० तलाबाट सडकमा पछारिएको चराजस्तो लेखेकी छन् । कल्पना पनि कति कठोर ! निरीह एउटा पंक्षीलाई त्यति माथिबाट पछारिएको देख्ने बीभत्स सोच कसरी कोमल हृदयमा आएको होला ?

संग्रहभित्रको अर्को कथा हो, ‘अन्तर्दाह’ । एउटा किशोरको बिथोलिएको मनोविज्ञानलाई यस कथामा समेटिएको छ । बढ्दो उमेरका सन्तानको मनोदशालाई बुझ्न कति गाह्रो छ भन्ने कुरा यसमा समेटिएको छ । समस्या देखाएर समाधान नदेखाई कथाको अन्त्य गरिनु कथाको दुर्बल पक्ष हो । कम्तीमा उपचारबाट समाधान निस्कन्छ भन्ने सन्देश दिएको भए पनि कथाको तागत अझ बढ्ने थियो । स्याङ्जाबाट काठमाडौँ सरेको परिवारमा आइपरेको समस्यामा केन्द्रित छ कथा । एक त कथामा उल्लिखित भौगोलिक दूरीमा मेल छैन । अर्कोतिर, कथाले भन्न खोजेको स्पष्ट सन्देश पनि छैन । सम्भवत: बाल मनोविज्ञानको अध्ययन कम भएर पनि कथाकार यस विषयवस्तुमा अलमलिएको हुनुपर्छ । अझ यसो भनौँ, संग्रहको सबैभन्दा कमजोर कथा यही हो । 

अर्को कथा हो ‘पराकम्पन’ । भुइँचालोले मथिंगल हल्लाएका युवा श्रीमान्–श्रीमतीमा घुमेको कथा हो, यो । एउटा पुरुष पात्र मानव होइन, पुरुषका रूपमा जिउनु पर्दा कति निरीह हुनुपर्छ भन्ने सन्देश यस कथामा छ । सैन्य परिवारको छोरो सामान्य ट्रेकिङ गाइड बनेर बाँच्छु भन्दा नातागोता, आफन्त, जन्मदाता समेतबाट अस्वीकृत हुन्छ भन्ने कुरालाई मिहिन पारामा केलाइएको छ । 

कथामा थारू गीत राखिएको छ, ठाउँ–ठाउँमा । तर, ती गीतको नेपाली उल्था हुनुपर्छ भन्ने चेत कथाकारमा देखिँदैन । आफूले बुझेपछि पाठकले स्वत: बुझ्नुपर्छ भन्ने हठ कथाकारको हुन सक्छ । यो कथा आफैँमा लम्बेतान भूमिका बाँधेर आएको छ । ११ पाना पढेपछि बल्ल अन्तर्जातीय विवाह भएका केटाकेटी पात्र रहेछन् भन्ने रहस्य खुल्छ । अहिले सर्वत्र राजनीतिको चलखेल छ । त्यो नीति निर्णयमा बस्ने पुरुष–महिलाबीचमा मात्रै होइन रहेछ । धेरैजसो समय भान्सामा बिताउने महिलाहरूसमेत ‘भान्सा राजनीति’ गर्छन् भन्ने यथार्थ महिला पात्रहरूमार्फत झल्काइएको छ । 

‘परमात्मा समाहिता’ अर्को आध्यात्मिक र मनोवैज्ञानिक तत्त्व मिसाइएको कथा हो । यसमा आमा–बाबु छुट्टिएपछि अमेरिका पुगेकी र उमेर बढ्दै गएपछि बाबुको खोजीमा नेपाल  फर्किएकी युवतीको कथा छ । रगतको नातामा एक सन्तानको लगाव कति गहिरो हुन्छ, यस कथामा देखिन्छ । उसको बाबु अध्यात्ममा लागेको देखेपछि छोरीले पनि त्यही बाटो समात्ने निर्णय गर्छे । तर, बाबुलाई आफ्नो सन्तान हो भन्ने जानकारी हुँदैन । आध्यात्मिक गुरुका रूपमा उसले छोरीलाई शिष्या बनाउँछ । अधिकांश नेपालीले प्रयोग गर्ने शब्द हो, बुमर्‍याङ । त्यसको शाब्दिक अर्थ कतिलाई थाहा होला ?

अस्ट्रेलियाका आदिवासीले प्रयोग गर्ने हतियार, जो प्रहारपछि आफ्नै हातमा फर्कन्छ भन्ने अर्थसहितको वाक्य कथामा प्रयोग भएको छ । संग्रहमा समेटिएका आठ कथामध्ये उत्कृष्टमा पर्ने कथा हो, ‘सत्य’ । हाम्रो भौगोलिक, राजनीतिक स्थितिलाई पर्गेल्न यस कथाले महत्त्वपूर्ण भूमिका खेलेको छ । खुम्बुको फेरिचे भन्ने ठाउँलाई कथाको केन्द्र बनाइएको छ । सम्भवत: लेखिकालाई भूगोलको पूरा ज्ञान नभएर पनि यति काल्पनिक नाम राख्न परेको होला । पामर अर्नोल्डमार्फत विदेशी जासुसको सक्रियता देखाइएको छ कथामा । शर्लि भन्ने साथीको साथी बनेर खुम्बु पुगेकी पात्र अन्तिममा शर्लिसमेत जासुस हुन सक्छे भन्ने आशंका जन्मिन्छ । 

खुम्बु जानलाई सूचनाको अभावमा सही समयमा उडान हुने/नहुने, हिमाली क्षेत्रको मौसम थाहा नहुने, अन्य सम्बन्धित कुरा पनि थाहा नभएका कारण सूचना आयोग बनाउनु गफ गर्ने थलो मात्रै भएको टिप्पणी कथाकारको छ । उसो त कथाकारले शीर्ष कथा ‘कठपुतला’मा पनि नागरिक सूचनाको हक र अधिकार नीतिको आदर गर्दै युटोपिया सरकारले ठाउँ–ठाउँमा सौर्य ऊर्जाजडित नियोन सूचना–पाटीमा वायुमण्डल प्रदूषणसम्बन्धी जानकारी उपलब्ध गराएको उल्लेख गरेकी छन् । यसबाट के बुझ्न सकिन्छ भने कथाकारलाई जान्न पाउने नागरिकको मौलिक हकका बारेमा जानकारी छ । 

‘विमर्द’ कथाले तेस्रो लिंगी सन्तान हुने बाबु–आमाको व्यवहार बोल्छ । मानवका रूपमा जे जन्मिए पनि उसलाई मानव नठानी पुरुष, महिला, तेस्रो लिंगीमा विभाजन गर्दा समाजमा समस्या बढेको कथाकारको बुझाइ छ । त्यसलाई पुष्टयाइँ गर्ने आधार पनि उनले दिएकी छन् । निरज नामको केटो भनिएको व्यक्तिले आफूभित्र युवतीको चालचलनको आभास पाएपछि युवतीले गर्ने भनिएका क्रियाकलाप गर्न थाल्छ । टीका, गाजल, लामो कपाल आदि । अहिले पनि यस कुरालाई समाज या परिवारले सजिलै पचाउन सकेको छैन । निरजको हकमा पनि त्यही भयो । सौतेनी आमाले दिएको मायामा भने उसले कहिल्यै कमी पाएन । तर, छोराले आफ्नो बिँडो थामोस् भन्ने आशा पालेका बाबुले भने निरजका क्रियाकलापलाई सहज रूपमा लिइदिएनन् । ऊ एकदिन घर छोडेर हिँड्छ र निर्जला बनेपछि घर आउँछ । जतिबेला बाबु यति जीर्ण अवस्थामा पुगेका हुन्छन् कि निरज निर्जला भएकामा कुनै प्रतिक्रिया जनाउँदैनन् । 

अर्को कथा ‘सेतो बास्ना’मा काठमाडौँकी रैथाने युवतीको कथा छ । डिप्रेसनमा परेकी युवतीको उपचार गर्नुको साटो देवी–देवताले बिगारेको भ्रममा परेकी निरीह आमाको कथा पनि हो यो । नेवार समुदायकी युवती गौरीकामा कथा घुमेको छ । नेवारी भाषाका शब्दहरू धेरै छन् तर त्यसलाई पाठकको सजिलोका लागि उल्था गर्नुपर्ने आवश्यकता कथाकारले महसुस गरेकी छैनन् । 

समग्रमा भन्नुपर्दा, धेरै समयपछि उत्कृष्ट कथाहरू पढ्न पाइयो भन्ने खालका छन् । तर, आफ्नो बौद्घिकताको क्षितिज जति फराकिलो छ, त्यति नै पाठकको पनि हुनुपर्छ भन्ने हठ कथाकारमा देखिन्छ । आफू जान्ने भए पनि सर्वसाधारणले समेत बुझ्ने भाषा र शैलीको अपरिहार्यताबारे लेखिकाले दुईपटक सोच्नु जरुरी छ । भाषा सम्पादनमा ध्यान दिन सकिएन भने राम्रो विषयवस्तु पनि कसरी पाठकलाई ननिको लाग्न थाल्छ भन्ने कुराको चेत कथाकारमा आएको हुनुपर्छ अब । अंग्रेजी भाषा र समालोचनामा क्रियाशील अर्चना साहित्यको लामो रेसमा छिन् । यस मानेमा पनि उनले आगामी दिनमा यस्ता कमी–कमजोरी कम गर्दै जान्छिन् कि भन्ने आशा गर्न सकिन्छ । 

 

कठपुतला

लेखक : अर्चना थापा

प्रकाशक : अक्षर क्रिएसन्स नेपाल

पृष्ठ : २४८

मूल्य : ३५० रुपियाँँ

प्रकाशित: कार्तिक २२, २०७४