नोटबुक

- गोकर्ण गौतम

बाँच्दा बेवास्ता, मरेपछि ‘रिप’

‘यदि म भोलि मरेँ भने तपार्इंले मेरा बारेमा सम्झने सबैभन्दा राम्रो कुरा के हुनेछ ?’ भाइटीकाको भोलिपल्ट झापाकी ऋचा सेढाईले फेसबुकमा एउटा तस्बिरसहित यी शब्दहरु पोखिन् । त्यसको केही घन्टाअगाडि फेसबुकमै लेखेकी थिइन्, ‘धेरै कुराले यो मन उथलपुथल बनाइदिन्छ ।’ पीडाभाव पोखिएका दुवै स्ट्याटसमा जम्मा दुई जनाले कमेन्ट गरे, त्यो पनि मजाकको शैलीमा ।

त्यही दिन साँझ फेसबुकमा ‘भाइरल’ भयो, ऋचाको आत्महत्याको खबर । मोडलिङमा भविष्य बनाउँदै गरेकी यी सुन्दरीले घरमै आत्महत्या गरिछन् । त्यसपछि के चाहियो र, उनका फेसबुके साथीहरुबीच आफ्नो वालमा ऋचाको फोटो राख्दै समवेदना प्रकट गर्ने ‘फेसन’ सुरु भइहाल्यो । ऋचाका दुवै पोस्टमा एकाध घन्टामा हजारौँले श्रद्धाञ्जली प्रकट गर्न भ्याए । बाँच्दा बेवास्ता, मरेपछि श्रद्धाञ्जलीको हतारो ! कस्तो मानवीयता ? त्यसो त ‘रेस्ट इन पिस’ लेख्ने फुर्सद पनि हुन्न, सिर्फ ‘रिप’ लेखिन्छ । जुन समवेदनामा रोदनभन्दा झारोतिराइको आभास अधिक हुन्छ ।

मनोचिकित्सकका अनुसार प्राय: आत्महत्या हतास र क्षणिक निर्णयमा गरिन्छ । त्यो समयमा आफन्त वा साथीभाइको साथ पाउने र मीठो वचन बोलिदिने हो भने मात्र पनि आत्महत्याको खतरा टर्छ । तर, कृत्रिम सम्बन्धहरुले जेलिएको आजको समाजमा त्यस्ता प्रेमिल व्यवहारहरु लोप हुँदै गएका छन् । सामाजिक सञ्जालमा हजारौँ साथी हुन्छन् । तर, पल–पल एक्लोपनको सिकार हुनुपर्छ । यस्तै संवेदनहीन समवेदनाको प्रवृत्ति बढ्दै गएकाले हुनुपर्छ, ऋचाले देहत्याग गरेको भोलिपल्ट गायक सन्तोष लामाले ट्वीटरमा कठोर शब्दहरु लेखे, ‘म मर्दा कसैले मेरो वालमा वा अन्त कतै ‘रिप’ लेख्या देखेँ भने कस्मम भूत बनेर आएर रगत छाद्ने बनाएर मार्दिन्छु । म यस्ता भावशून्य श्रद्धाञ्जलीलाई घृणा गर्छु ।’ 

यो कस्तो ई–बैंकिङ ?

जमाना ‘ई’ अर्थात् इन्टरनेटको छ । हरेक सेवा प्रदायक क्षेत्रले इन्टरनेटमार्फत आफ्नो सेवा चुस्त र छरितो बनाएका छन् । यसमा बंैक किन पछि पर्थे र ? ई–बैंकिङको लहर छ अचेल । यसले दैनिक जीवनलाई केही सहज बनाएको छ पक्कै । तर, ई–बैंकिङको सवालमा बैंकहरु जति उत्तरदायी हुनुपर्ने हो, त्यो देखिँदैन । कम्तीमा मेरो भोगाइ हो यो । मैले नेपाल इन्भेस्टमेन्ट बैंकको ई–बंैकिङ सेवा लिएको छु । खास गरी फिल्मको टिकट काट्न, मोबाइलमा रिचार्ज गर्न र इन्टरनेटको बिल तिर्न यो प्रयोग सेवा गर्ने गर्छु तर विडम्बना ! केही महिनायता यी सेवा गडबड छन् । 

मल्टिप्लेक्सको टिकट काट्न र इन्टरनेटको बिल तिर्न नमिलेपछि मैले इन्भेस्टमेन्ट बैंकको भोटाहिटी शाखामा सम्पर्क गरेँ । कर्मचारीको प्रतिक्रिया थियो, ‘ए हो र, त्यस्तो समस्या छ ?’ उनीहरुलाई नै भेउ रहेनछ । सिस्टममा समस्या आएको आशंका गर्दै एक–दुई दिनमा बनिहाल्ने आश्वासन दिइयो । यो दसैँअगाडिको कुरा हो । तर, समस्या ज्यूँकात्यूँ छ । तिहारपछि फेरि फोन गरेँ, यसपटक कर्मचारीले आफ्नै पीडा मिसाएर भने, ‘अँ भन्या, मैले पनि इन्टरनेटको बिल तिर्न मिलेन तर एक–दुई दिनमा बन्छ होला ।’ तर, त्यो एक–दुई दिन कहिले आउँछ, स्वयं कर्मचारीलाई नै थाहा रहेनछ ।

मोबाइल रिचार्जको किस्सा अझ रोचक छ । दुई महिनाअगाडि ई–बैंकिङबाट नेपाल टेलिकमको दुई सय रूपियाँको पिन नम्बर लिएर मोबाइलमा रिचार्ज गरेको त जम्मा सय रूपियाँ आयो । तैपनि, आफैँ झुक्किएझैँ लाग्यो । वास्ता गरिनँ । तिहारअगाडि दुई सयकै पिनबाट जम्मा पचास रूपियाँ मात्र आयो । जबकि, पचास रूपियाँको पिन लिने सुविधा ई–बंैकिङमा छँदै छैन । एकछिन रन्थनिएपछि त्यही पिनमा प्रयास गरेको त दुई सय रूपियाँ नै रिचार्ज भयो । फेरि यो समस्या बैंकमा सुनाएँ । कर्मचारीले हाँस्दै भने, ‘तपाईंलाई फाइदै भएछ त ! तैपनि, के भएको रहेछ, कुरा राख्छु नि !’ 

कहिले कुरा राख्ने, कहिले सेवाग्राही ढुक्क हुने ? पैसा खाने वा चाहेको बेला पैसा नदिने एटीएमका बारेमा सुने/भोगेकै हो । ई–बैंकिङमा पनि यस्ता समस्या भोग्नु परेपछि बैंककै विश्वसनीयतामा आँच आउदैन र ?

सवालले सास्ती तर...

‘तपाईं पत्रकार हो ?’ कपाल तिलचामल भएकाले सोधे । म चियाको पहिलो सुरुप लिँदै थिएँ ।

‘अँ, हो,’ यत्ति भनेँ । कान्तिपुर दैनिकको शनिवासरीय कोसेलीमा मेरो फोटो र फिचर देखेकाले अनुमान गरेका रहेछन् । पछि वनस्थली चोकको चियापसलमा हरेक बिहान भेट हुन थाल्यो, उनीसँग । देख्नेबित्तिकै प्रश्नहरुको वर्षा गरिहाल्थे । जस्तो, ‘एमालेले काठमाडौँको मेयरमा केशव स्थापितलाई नउठाएर किन विद्यासुन्दर शाक्यलाई उठाएको ?’, ‘भरतपुरमा रेणु दाहाललाई जिताउन शेरबहादुर देउवा किन मरिहत्ते 

गर्दैछन् ?’, ‘गोविन्द केसी स्वविवेकले अनशन बस्या हुन् कि पर्दापछाडिबाट कसैले उकासिरहेको छ ?’, ‘ट्रम्पले अमेरिकाबाट नेपालीहरु खेद्लान् त ?’ आदि, इत्यादि । सुरुसुरुमा मैले जानेबुझे अनुसार जवाफ दिएँ । तर, बिस्तारै झर्को लाग्न थाल्यो । किनभने, चियाको चुस्कीभन्दा उनका सवालहरु धेरै हुन थाले । हुँदाहुँदा ‘फेरि भूकम्प आउँछ/आउँदैन’ समेत सोध्न थाले । 

उनलाई लाग्दो रहेछ, पत्रकार सबै विषयको जानकार हुन्छन् । तर, त्यस्तो कहाँ हुन्छ र ? कति कुरा त मैले उनले भनेपछि मात्र थाहा पाउँथेँ । पटक–पटक उनलाई बेवास्ता गरेको छनक पनि दिएँ । तर, फिटिक्कै परिवर्तन भएनन् । बरु, टाढैबाट ‘पत्रकार बाबु’ भन्दै सबैका सामु प्रश्न सोध्न थाले । आफू परियो, धेरैसँग परिचित हुने स्वभाव नभएको । रिस उठ्थ्यो । तैपनि, केही भनिहाल्न नमिल्ने, बुबा उमेरको मान्छे । त्यसैले चिया पसल परिवर्तन गर्नुको विकल्प रहेन ।

दुई–तीन महिना त्यत्तिकै बित्यो । एक दिन त्यही चिया पसलमा गएँ । देखा परेनन् उनी । भोलिपल्ट–पर्सिपल्ट पनि देखिएनन् । खुलदुली लाग्यो । साहूजीबाट थाहा भयो, उनी ‘हार्ट एट्याक’ भएर असोज दोस्रो साता बितेछन् । ती साहूजी भन्दै थिए, ‘मर्नु अघिल्लो बिहान पनि सोध्दै हुनुहुन्थ्यो, ती पत्रकार बाबु किन आउन छोडे ? पत्रिकामा त लेखिरहेको देख्छु ।’ 

प्रकाशित: कार्तिक २२, २०७४