[अनुभूति] नुनको पहाड

  • नुनलाई साझा सम्पत्तिजस्तो खुला स्थानमै भण्डारण गरिनु सामाजिक न्यायको हिसाबले राम्रो लाग्यो ।

- रोशन शेरचन

समुद्र वा नुनिलो पानीको दह नभए पनि भैरहवामा नुनको पहाड थियो । भारतबाट बेलहिया नाका हुँदै नुनका बोराहरू आयात भई समथर भैरहवामा नुनको पहाडको निर्माण भएको थियो । नौतनवासम्म सायद रेलका डिब्बामा आउथ्यो । त्यसपछि लस्कर ट्रकमा सीमा नाका हुँदै देशको एक व्यापारिक क्षेत्रमा भित्रिन्थ्यो । भैरहवामा नुनका ससाना पहाडहरूको बासस्थान थियो– गल्लामन्डी । पुरानो चौराहबाट पूर्वतिर बस स्टेसन । उत्तरतिर बर्मेली टोल । दक्षिणतिर पक्लिहवा । र, पश्चिमतिर गल्लामन्डी । पश्चिम दिशामा महेन्द्र सुगर मिलसम्मै रासन लाइनको अटुट दुकानहरू । यो मन्डी मूलत: खाद्यान्नको बजार लाइन थियो । जिल्लाभित्र मात्र होइन, उत्तरका पहाडी जिल्लामा पनि यहीँबाट खाद्यान्न ढुवानी हुन्थ्यो । 

खाद्यान्नमा नुन नै अग्रपंक्तिमा थियो । दाल, चामल, चिनी, मैदा, सुजी गोदाममै राखिन्थ्यो । सर्वाधिक महत्त्वको नुनचाहिँ पसलअगाडिको सिमेन्टको भुईंमै खप्टाएर चाङ लगाइन्थ्यो । कतै त्यसमाथि त्रिपाल ओढाइएको हुन्थ्यो । कतै त्यो पनि हुँदैनथ्यो । अधिकांश रासन दुकानमा कम्तीमा पनि पचासौँ बोरा नुन भण्डारण गरिएको हुन्थ्यो । जुटको बोरामा जुटकै सुतलीले सिलाएको । कतै प्वालबाट ढिक्का नुनले चियाएको । कतै भित्रबाट नुनको डल्लो उच्चालिएको । पहाडी जिल्लाहरूमा ढुवानीका निम्ति ठिक्क पारिएको । पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, कास्की आदि । 

सबैको घर–भान्सामा प्रयोग हुने नुन । दामको हिसाबले पनि सस्तो । सायद एक रुपियाँमा डेढ किलो आउँथ्यो । जिब्रोमा सांस्कृतिक आधिपत्य कायम गरिसकेको जिनिस । दुई–चार किलो कसैले चोर्दा पनि फरक पर्दैन भनेर होला, भित्री गोदाममा नथन्काई बाहिरै छाडेको । नुनलाई हेपेको हो कि ? भण्डारणको प्राथमिकतामा नपरेको हो ? चित्तबुझ्दो जवाफ सजिलै नभेटिने । अर्को दृष्टिले सोच्दा, नुनलाई साझा सम्पत्तिजस्तो खुला स्थानमै भण्डारण गरिनु सामाजिक न्यायको हिसाबले राम्रो लाग्यो । पैसाकै अभावमा कसैले बिलिनो खानु नपर्ने । दुई–चार ढिक्का नुनको जोहो गर्न नसक्दा आफ्नो दरिद्रतालाई कोस्न पनि नपर्ने । नुनै किन्न नसक्ने समाज पनि त साह्रै फसादको समाज हो नि !

भैरहवामा मैले आफ्नो बाल्यकाल बिताउँदा नुनका पचासौँ साना पहाडहरू देखेको छु । अग्लो माउ पहाड हेर्न भने साल्ट ट्रेडिङको कार्यालय जानुपथ्र्यो । साल्ट ट्रेडिङ कार्यालय बस स्टेसनबाट उत्तरतिर नेपाल राष्ट्र बैंकको नजिकै थियो । अहिले पनि त्यतै होला । रेलको डिब्बाजस्तो देखिने साल्ट ट्रेडिङको गोदामअगाडि सिमेन्टको निकै फराकिलो मैदान थियो । बर्मेली टोल वा बुटवल आउजाउ गर्दा बसको झ्यालबाट नुनका हजारौँ–लाखौँ बोरा चाङ लगाइरहेको देखिन्थ्यो । टाढाबाट पनि अग्लो न अग्लो देखिन्थ्यो । कहिले त्रिपालले छोपिएको, कहिले खुलै छाडिएको । दर्जनौँ ट्रक देखिन्थे । पल्हेदारहरू नुनका बोरा अनलोड गर्दै गरेका । त्यतिबेला त्यो दृश्य विशेष लाग्दैनथ्यो । त्यसको महत्त्व उमेरको अल्लारेपनमा कतै छेकिएको थियो । सिनेमाको पोस्टर प्राथमिकतामा पर्ने उमेर जो थियो । उमेर अहिले निर्जीव पोस्टरबाट ओर्लेर समाजका घटनाहरूतिर आकर्षित भएको छ । 

रासन लाइनमै हाम्रो घर थियो । पोखराबाट झरेका मुल्मी साहूजीले रासन दुकान खोल्न हाम्रो घरको दुई सटर भाडामा लिएका थिए । साल्ट ट्रेडिङबाट नुन, चिनी, सुजी, मैदा ल्याउँदा काठको लामो गाडा प्रयोग गरिन्थ्यो । दुई पांग्राको भरमा धकेलेर चलाउनुपर्ने त्यसको बनोट साधारण थियो । अगाडि दुई जनाले तान्ने र पछाडि दुई जनाले धकेल्दा गुड्ने त्यो गाडा भैरहवाको विम्ब थियो । अर्को सहविम्ब रिक्सा भइहाल्यो । त्यो गाडाको आकार सिनेमा सिटी अफ ज्वोयमा ओम पुरीले तान्ने हाते रिक्साकै नजिक थियो । तर, त्यसमा सिट हुँदैन्थ्यो । पसिनाले लतपत पल्हेदारहरू जब मेनरोडको कोलाहलपूर्ण बजारबीच गाडा तान्थे, समवेत आवाजमा ‘हटके हटके’ आवाज लगाउँथे । पोखरीमा मान्छेको हात पस्दा माछाहरू छड्केझैँ साइकल र रिक्साहरू ट्रिङट्रिङ बजाउँदै साइड लाग्थे । हाफ गन्जी, धोती लगाएका र काँधमा गम्छा भिरेका बलिष्ठ पल्हेदारहरूको श्रमको जगमा नै भैरहवाको रासन बजार उभिएको थियो । 

गरुंगो काम गरे तापनि पल्हेदारको दिनको खाजा सामान्य हुन्थ्यो । भेली, भुजा, खुर्सानी र नुन । भेली वा सख्खर बजारमै पाउँथ्यो । भुजा बनाउने तरिका भने भिन्न थियो । उसिनेको चामल लिएर भुजैकहाँ गएपछि उनले एकाध मुठ्ठी चामल छुट्याई बाँकी चामल माटाको भाँडाको तातो बालुवासँग मिसाउँथ्यो । भुजैको भट्टीमा माटाको भाँडामा जहिल्यै बालुवाहरू तताइरहेको देख्न सकिन्थ्यो । सरसराहटसहित माटाको भाँडाबाट वाफको गुब्बारा उड्थ्यो । भुजै सिन्काको मुठ्ठाले केही बेर चलाउँथ्यो । र, त्यसपछि माटाको भाँडाबाट त्यसलाई छान्नोमा खन्याउँथ्यो । बालुवा छिद्रबाट झरेर निख्रँदै गएपछि छान्नेमा ठ्याम्मै सिरम्लाजस्तो भुजा देखिन्थ्यो । नुनको निम्ति दु:ख गर्नै पर्दैनथ्यो । पहाडमुन्तिर गयो । थोरै खोस्रँदा केही ढिक्का निस्किहाल्थ्यो । भेली र खुर्सानीका निम्ति मात्र पैसा तिर्नुपथ्र्यो । उसिना चामलको पनि पैसा तिर्न पर्दैनथ्यो । चामल लोड–अनलोड गर्दा, घाममा सुकाउँदा बोरा गन्तीको हिसाबले पल्हेदारहरू ज्यालास्वरूप केही चामल, दाल छुट्याउँथे । त्यो चलनै थियो । काम सकाइवरी बेलुकी घर फर्कनुअघि रासन बाँडफाँट गर्थे । सिमेन्टको भुर्इंमा वरिपरि बसेर आ–आफ्ना गम्छा वा झोलामा भागको रासन पोको पाथ्र्यो । बिजुली हुँदा पोलमुनि । नहुँदा, टुकीको उज्यालोमा । भुजासँग भेली, खुर्सानी र नुनको ढिक्का टोक्दै खाएको आम दृश्य थियो । गल्लामन्डीको उदारता, नुनको पहाडमा सबैको पहुँच भएकाले विपन्न पल्हेदार वा स्थानीयले कहिल्यै बिलिनो खानु पर्दैनथ्यो । 

यतैतिर म महात्मा गान्धीको लङ मार्च सम्झन्छु । अंग्रेज शासकले नुनमा थोपरेको करको भद्र अवज्ञामा गान्धीले सन् १९३० मा थालेको लङ मार्च । त्यो लङ मार्च वा दाण्डी मार्चले अहिंसात्मक आन्दोलनलाई पुर्‍याएको आँधीजस्तो बल गान्धी सिनेमामा देखेँ । नुनमार्फत प्रत्येक घरधुरीसँग अहिंसात्मक आन्दोलनमार्फत जोड्न सकिन्छ भनेर सोच्नु गान्धीको दूरदर्शिता थियो । नागरिक आन्दोलनमार्फत समुद्रसम्मै पुगी आफँै नुन बनाएको त्यो घटनाले राजनीतिक आन्दोलनमा धेरै अर्थ राख्छ । भैरहवामा पनि एक प्रकारले नुनका ढिक्काहरू सहजै उपलब्ध हुन्थ्यो । अहिलेजस्तो प्याकेटभित्र धुलिएर नबस्ने ढिक्का नुन खाँटी समाजवादी थियो । तर, विडम्बना † पुँजीवादी नुनको प्याकेट अहिले आम भइदियो । 

विसं २०३५/०३६ तिर हाम्रो घरमा एक जना देहाती बूढा काम गर्न आए । घरपछाडिको थोरै जग्गामा तरकारी बाली लगाउँथ्यौँ । डल्ला फोर्न उनै बूढा आउँथे । धेरैपछि नाम थाहा भो– हजारी । आमाले सुरुमा बजारबाट खोजेर ल्याए वा हजारी काम खोज्दै घरैमा आए, थाहा छैन । हजारी निकै इमानदार र मिहिनेती भएको थाहा पाई उनी घरको स्थायी कामदार नै भए । आमाको विश्वास–पात्र बने । आमाकै कारण भैरहवाको थकाली वृत्तमा उनले धेरै काम पाए । घर बनाउने, बारी खन्ने, मालसमान बोक्ने आदि । वर्षको दुई–तीन महिना देहातबाट भैरहवा आउँथे । अस्थायी डेराडन्डा हामीकहाँ नै हुन्थ्यो । एउटा कुनामा उनी ढुंगाको तीनमुखे चुल्हो बनाउँथे । उनले बनाएको चोखाको भने हामी फ्यान भएका थियौँ । भुँग्रोमा आलुलाई पटपट च्यातिने गरेर पोलेपछि उनी हराउँथे । केही मिनेटमै नुन बोकेर आउँथे ।

खुर्सानी र केही त्यस्तै मसाला हालेर सिलौटामा केके गरेर गज्जबको चोखा बनाउँथे । हामीलाई पनि बाँड्थे । भाइ र म हजारीको चुल्होको वरपरै रमाउँथ्यौँ । छुट्टीमा भैरहवा आउँदा हजारी भेट्दा रमाइलो लाग्थ्यो । घरपछाडिकै सानो पोखरीमा गिरै, माउर र टेङ्ग्रा माछा पाइन्थ्यो । गिरै त भोटी भइगो । टेङ्ग्रा माछा सुन्दर हुन्थ्यो, पेट स्याप्प परेको– च्याप्टिएको । छिर्केमिर्के रंगको काँडेदार पखेटा । निकै आकर्षक । बल्छीमा पारेर माछाहरू हजारीकै भुङ्ग्रोमा पोलिखान्थ्यौँ । नुन खुब पड्काइथ्यो, भुङ्ग्रोमा । पटट् पटट्... । हजारी बूढा डराउँदा हामी झन् मच्चिन्थ्यौँ । थप पड्काउन मन लागे बाहिरतिर कुदिहाल्थ्यौँ र केही मुठ्ठी नुन बोकेर फर्कन्थ्यौँ । हजारीलाई सम्झेर क्याम्पसकालमा कथा पनि लेखेँ । मधुपर्कमा छापियो, हजारी । 

तर, अहिले त्यस्तो नुनको पहाडहरू भैरहवामा देखिँदैन । नुनको पहाडहरू समयको तापले पग्लिसकेको छ । खासमा ढिक्का नुनमा आयोडिन नभएकैले धूले नुनले त्यसलाई विस्थापित गर्‍यो । आयोडिन नामको आधुनिक मुसाले ढिक्का नुनको भीमकाय पहाडलाई खोस्रेर ध्वस्त पारेको यथार्थ ताज्जुबलाग्दो छ । बाल्यकालको रुमानी सम्झना अहिले नपाउँदा नुनिलो आँसु अन्तरमा कतै पलाए पनि आखिर त्यो समयको माग थियो । नुनिलो आँसुको संरक्षणका निम्ति गलगाँड निम्त्याइरहनु बुद्धिमानी त होइन नि !

हरेक स्थानका आफ्ना केही यथार्थ हुन्छन् नै । खोजिपस्ने हो भने भेटिन्छन् पनि । कालान्तरमा केही यथार्थ मिथक बन्छन् । र, समयको माटोमुनि त्यो दन्त्यकथा भएर जन्मन्छन् । भविष्यको कुनै समय बिन्दुमा मैले छोरीलाई भैरहवामा नुनका पहाडहरू थिए भनेर सुनाएँ भने उसले पत्याउने छैन । त्यतिबेला म त सत्य हुने नै छु । र, छोरी पनि । तर, सत्यहरू बाझिने छन् । मात्र समय बदलिएको हुनेछ । समयकै कारण–सन्दर्भ बदलिएको हुनेछ । सत्य र सन्दर्भ बदलिएकामा म दु:खी हुने छैन । बरू, विसंगत अनुभव गर्नेछु । डायनोसरजस्तै लोप भइसकेको नुनको पहाडको टुप्पाबाट अल्बेर क्यामु मतर्फ चियाइरहेको हुनेछन् । त्यतिबेला म फेरि बाल्यकालतर्फ उघ्रिने ढोकातिर दौडिरहेको हुनेछु । 

प्रकाशित: कार्तिक २२, २०७४