प्रचण्ड : दुवै हातमा लड्डु

  • कायम रहला वाम गठबन्धन, होला पार्टी एकता ?

- माधव बस्नेत

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ कात्तिकमा गृह जिल्ला चितवन–३ बाट उम्मेदवारी दर्ता गराउँदै दोहोरो अभिव्यक्ति दिए । उनको पहिलो अभिव्यक्ति थियो, ‘चितवनबाट जितेर देशकै नेतृत्व गर्ने ध्येयका साथ उम्मेदवार बनेको छु ।’ त्यहीँ उनले अर्को संशय पनि सार्वजनिक गरे, जुन उनले उम्मेदवारी दर्ता गराउन जानुअघि निकटहरूसँग पनि चुहाएका थिए । संशय घोलिएको प्रचण्डको दोस्रो अभिव्यक्ति थियो, ‘धेरै साथीहरूले मलाई भन्नुभएको थियो । तपाईं चितवन नजानूस्, सबै मिलेर हराउँछन् । तर, किन हो किन मलाई यसपटक चितवनबाटै लड्नुपर्छ भन्ने लाग्यो । जनताको फैसला मलाई स्वीकार्य छ । हराउने भए पनि हराउनूस् ।’ 

चितवनमा उम्मेदवारी दर्ता गराउन जानुअघि यस्तै भनाइ उनले आफू निकटस्थ पार्टी नेताहरूसँग राखेका थिए । आफूलाई हराउने अनेक प्रपञ्च रचिएको सुइँको पाएको र त्यस्तो भएमा मन्त्रिपरिषद्बाट मनोनीत कोटामा संसद्मा आउन सकिने आशय पनि उनले प्रकट गरेको एक माओवादी नेता बताउँछन् ।

रोचक के भने आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने तरखर गर्दै गर्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कानमा एउटा चिसो सूचना पुग्यो । त्यो थियो, दुई पार्टीबीचको एकतालाई धरमरमा पार्न ओली र प्रचण्ड दुवैलाई हराइँदैछ । त्यो पनि दुवै स्थानमा राप्रपाबाट । प्रचण्डविरुद्ध राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे त मैदानमै छन् । जहाँ उनले प्रचण्डलाई हराएरै छाड्ने दाबी गरिसकेका छन् । यता ओलीविरुद्ध झापामा चाहिँ राप्रपाले राम थापालाई उठाउने तयारी गरेको थियो । थापालाई त्यहाँ कांग्रेसले समर्थन गर्ने तयारी थियो । यही सुइँको पाएपछि ओलीले झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग गठबन्धन गरी ५ मा त्यस पार्टीको समर्थन आफूले लिए । यो अवस्था नबनुन्जेल ओली समानुपातिकमा बस्ने सोचमा पुगिसकेको स्रोतको दाबी छ । 

त्यस्तो सूचना पाएपछि प्रचण्डले पनि चितवन जाने/नजाने वा जाँदा जितलाई कसरी सुनिश्चित बनाउने भनेर निकटहरूसँग सल्लाह गरेका थिए । ०७० को निर्वाचनमा जितेको सिरहाबाटै उठ्ने विषयमा पनि छलफल भएको थियो । तर, त्यहाँ झन् गाह्रो हुने र अन्तिम क्षणमा सिरहा जाँदा अनेक अर्थ लाग्ने निष्कर्षमा पुगेपछि उनी चितवन–३ तिरै हान्निएका थिए । स्रोतको दाबी कतिसम्म छ भने यस्तो सूचना पाएपछि प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत सल्लाह गरेका थिए । देउवाले उनलाई भित्री रूपमा सहयोग गर्ने संकेत दिएका छन् । त्यसबापत निर्वाचनपछि कांग्रेस–माओवादीको गठबन्धन बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ ।

यस्ता संकेतहरू छिटफुट रूपमै सही, कांग्रेस नेताहरूले दिएका पनि छन् । जस्तो कि, सुनसरी–३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएपछि कांग्रेस नेता तथा उपप्रधानमन्त्री विजय गच्छदारले निर्वाचनलगत्तै वाम गठबन्धन चकनाचुर हुने र त्यसका लागि आफूहरू अहिल्यैदेखि लागिपरेको बताएका थिए । कांग्रेसकै अर्का नेता नारायण खड्काले त अझ एक तह अघि बढेर वाम गठबन्धनलाई रोक्न निर्वाचनपछि कांग्रेस प्रचण्डलाई अढाई वर्ष प्रधानमन्त्री बनाउन तयार रहेको खुलासा नै गरिदिए । उदयपुर–१ मा आफ्नो उम्मेदवारी दर्ता गराउन जानुअघि खड्काले यस्तो भनेका थिए । खड्का भन्छन्, “निर्वाचनको नतिजापछि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बन्न सक्छ । देशलाई कम्युनिस्ट अधिनायकवादबाट जोगाउन यस्तो गठबन्धन आवश्यक छ ।” स्मरणीय छ, गच्छदार र खड्का दुवै देउवानिकट नेता हुन् । 

चुनावी मिति जति–जति नजिकिँदैछ, त्यति–त्यति एउटा प्रश्न सर्वाधिक चासोपूर्ण बन्दैछ । प्रश्न के भने एमाले–माओवादी केन्द्रबीच एकता होला वा नहोला ? वाम गठबन्धन कति दिन टिक्ला ? यो प्रश्न किन पनि चासोपूर्ण बनेको हो भने नेपाली राजनीतिमा क्षणिक फाइदाको व्यापार गर्न माओवादी अध्यक्ष प्रचण्ड दरिएका नेता हुन् । शान्ति प्रक्रियामा आएयता उनले शालीन राजनीति गरेको तथ्यांक भेटिँदैन । यस अवधिमा उनी तत्कालको नाफा–घाटामा मात्र हिसाब–किताब गर्ने, एकका विरुद्ध अर्कोलाई चुक्ली लगाउने, उठाउने/पछार्ने धुत्र्याइँपूर्ण राजनीतिको एक अभिन्न अंग बनिरहेका छन् । के २१ मंसिरको निर्वाचनपछि प्रचण्डले आफ्नो यो छवि बदल्लान् ? 

आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रचण्ड आफैँ प्रधानमन्त्री बनेपछि १९ साउन ०७३ मा संसद्लाई सम्बोधन गर्दै ओलीले देउवालाई ‘सचेत हुनूस्’ भनेका थिए । अहिले फेरि तिनै प्रचण्ड र ओलीबीच पार्टी एकतासमेत गर्ने भन्दै चुनावी गठबन्धन बनेको छ । गठबन्धन भइरहँदा ओलीचाहिँ प्रचण्डसँग कति सचेत भएका होलान् ? माओवादी केन्द्रका एक सचिवालय सदस्यका भनाइमा कांग्रेस, माओवादी केन्द्र, मधेसवादी र अन्य केही दल मिल्दा बहुमतको सरकार बनाउन सकिने चुनावी परिणाम आएमा एमालेसँगको गठबन्धन टुट्न सक्छ । त्यसबेला एमालेको सेखी झार्न कांग्रेसले अढाई वर्ष प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराइदिन सक्छ । सुरुमै अढाई वर्ष प्रधानमन्त्री पाए प्रचण्ड एमालेसँगको गठबन्धन टुटाउन तयार हुन्छन् भन्ने कांग्रेसको ठम्याइ छ । यही ठम्याइपछि प्रचण्डलाई बिच्क्याइहाल्नु हुन्न भनेरै देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त नगरेका हुन् । 

त्यति मात्र होइन, देउवाले चितवनमा भित्री रूपमा प्रचण्डलाई सहयोग गर्ने आश्वासन त्यत्तिकै दिएका छैनन् । राजधानीमा बसेका कांग्रेसीहरू राप्रपाका पाण्डेलाई मत हाल्न नगए र आफू राष्ट्रिय नेता भएकाले केही कांग्रेसी मत आफूलाई आए मात्र त्यहाँ सहज रूपमा जित हात पार्न सक्ने प्रचण्डको आकलन छ । स्रोतका अनुसार प्रचण्डले पनि निर्वाचनपछि एमालेसँगको तालमेल भाँडिन सक्ने आशंका गरेका छन् । त्यसैले नै देउवासँगको सम्बन्ध चिसो नबनाउने ठहरसहित आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाएका हुन् । 

प्रचण्डले कांग्रेससँगको सम्बन्ध तोड्न चाहेका भए एमालेसँग चुनावी गठबन्धन घोषणा गरेकै दिन मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्थे । किनभने, निर्वाचनमा गठबन्धन एउटासँग गर्ने, सरकारमा सहभागी अर्कै दलसँग हुने कुरा नैतिक रूपमा पनि सही थिएन । तर, प्रचण्डले त्यही गरिरहेका छन्, जसलाई राजनीतिक संस्कार मानिएको छैन । दोस्रो, देउवाले आफ्ना मन्त्रीहरूलाई बिनाविभागीयमा थान्को लगाइदिँदा समेत प्रचण्डले बाहिरिन जरुरी ठानेनन् । उल्टै माओवादीले सरकारले निर्वाचन गर्न नचाहेकाले कम्तीमा उम्मेदवारको मनोनयन नहुन्जेल सरकारबाट नबाहिरिने निर्णय गर्‍यो । तर, ५ कात्तिकमा मनोनयन दर्ता भएपछि निर्वाचनको वातावरण सुनिश्चित भइसकेको थियो । त्यसैले यसपछि माओवादी सरकारबाट बाहिरिएला भन्ने धेरैको अपेक्षा थियो । तर पनि बिनाविभागीयमै चित्त बुझाएर माओवादी मन्त्रीहरू सरकारमै छन् । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाको निर्देशनमा प्रहरीले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ गर्दा समेत प्रचण्डले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन जरुरी ठानेनन् । ढुंगेलको पक्राउलगत्तै माओवादी केन्द्रको ठूलै पंक्तिले सरकारबाट बाहिरिनुपर्ने दबाब दिएको थियो । नेता–कार्यकर्ताको त्यो दबाबलाई प्रचण्डले त्यत्तिकै टारिदिए । 

माओवादी केन्द्रका एक सचिवालय सदस्यका भनाइमा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन वाध्यताको उपज हो । अहिले उनीहरू दुवै आफू अनुकूल दाउ हेरिरहेका छन् । यस्तो दाउपेच जुनसुकै बेला खतरामा पर्न सक्छ । र, त्यही बुझेरै प्रचण्डले देउवातिर पनि टेको हालिरहेका हुन् । 

एमाले–माओवादीका आ–आफ्ना दाउपेच भएकैले प्रचण्डले प्रधानमन्त्री देउवासमक्ष निर्वाचनसम्म पर्खन भनेका हुन् । उनी देउवासमक्ष मात्र होइन, नेपालस्थित विदेशी दूतहरूसँग पनि यसै गरी प्रस्तुत भएका छन् ।  ३१ असोज साँझ नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतले वाम गठबन्धनबारे कुरा बुझ्नकै लागि आफ्नो निवासमा प्रचण्डलाई निम्त्याएका थिए । त्यहाँ युरोपेली देशका राजदूतहरू त थिए नै, अमेरिका, भारत, दक्षिण कोरियाका राजदूतसमेत सहभागी थिए । त्यो जमघटमा प्रचण्डले वाम एकताबारे प्रश्न उठेपछि ‘यो तालमेल निर्वाचनसम्मका लागि हो, वामपन्थी एकता हुँदैन’ भनेका थिए । 

तर, आफूलाई तत्काल फाइदा हुने देखेमा प्रचण्डले एमालेसँगको गठबन्धनलाई पार्टी एकतामै रूपान्तरण गर्न सक्छन् । नत्र कुनै पनि बेला गठबन्धन टुट्न सक्छ । त्यसका लागि अहिलेलाई एमाले–माओवादी केन्द्रले चुनावी परिणामलाई नै अर्जुनदृष्टि बनाएका छन् । 

तर कांग्रेसको बुझाइ

माओवादी (केन्द्र) : अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति ‘...माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी केन्द्रभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ । यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।’

आफ्नो चुनावी घोषणा–पत्रको पृष्ठ–१४ मा नेपाली कांग्रेसले माओवादी केन्द्रको चरित्रप्रति लेखेका पंक्ति हुन् यी । यसअघि कांग्रेसले आफ्नो प्रतिस्पर्धीलाई यति कडा ढंगले कहिल्यै लेखेको थिएन । कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले थोरै नै सही, प्रचण्डप्रति सहानुभूति राखे पनि अन्य नेताहरूको बुझाइ अब पुन: माओवादीसँग गठबन्धन गरेर जानुहुन्न भन्ने छ । उनीहरूका भनाइमा, कांग्रेसको किल्ला चितवनमा दोहोर्‍याइ–दोहोर्‍याइ रेणु दाहाललाई मत हालेर महानगरपालिकाको मेयर जिताइदिए पनि त्यो गुन चटक्कै बिर्सिएर प्रचण्ड एमालेसँग टाँसिन पुगे । त्यसैले उनीहरू माओवादी केन्द्रसँग तालमेल गर्न नहुने निष्कर्षमा पुगे र त्यसपछि नै आगामी दिनमा तालमेल गर्न सजिलो नहोस् भनेर घोषणा–पत्रमा माओवादी केन्द्रलाई अवसरवादी चरित्रको पार्टी किटान गरिएको हो ।

 

 

प्रकाशित: कार्तिक २१, २०७४