[परदेशबाट] आफ्नै देश नचिन्दा

- विश्वास हमाल

लन्डनको व्यस्त जिन्दगीबाट केही दिनका लागि भए पनि छुट्कारा पाउन इंग्ल्यान्डको प्रसिद्ध प्राकृतिक पर्यटकीय स्थल ‘पिक डिस्ट्रिक्ट’ जाने भयौँ । डाँडाकाँडाले भरिएको, देशकै सुन्दर गन्तव्यमध्ये एक ‘पिक डिस्ट्रिक्ट’का बारेमा धेरै चर्चा सुने–पढेको अनि हेरेको थिएँ । पहाडै–पहाड, चारैतिर हरियाली अनि शान्त तथा सुन्दर ठाउँको कल्पना गर्दै लिभरपुल र म्यानचेस्टरजस्ता फुटबलले प्रसिद्धि कमाएका सहर छिचोल्दै वर्षमा एक करोडभन्दा बढी पर्यटक भित्र्याउने ‘पिक डिस्ट्रिक्ट’ प्रवेश गरेँ । पाँच सय वर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको त्यो निकुञ्जभित्र घन्टाँै गाडी कुदाउँदै अग्लाअग्ला पहाड खोज्दा केही नभेटेपछि बाटो बिराएर गलत ठाउँमा पो आइएछ कि भनेर एकछिन झुक्कियाैँ पनि ।

 

पछि पो थाहा भयो । त्यही नै रहेछ नेपालमा भन्दा २० गुणा बढी पर्यटक भित्र्याउने फुच्चे डाँडाहरू । ती स–साना थुम्काहरू नै रहेछन्, जसलाई हेर्न देश–विदेशबाट लाखौँ पर्यटक आउँदा रहेछन् । सप्ताहान्तको दुई दिन छुट्टीमा त्यहाँ बसुन्जेल मलाई नेपालकै आफ्नै डाँडाकाँडाहरू झल्झली याद आयो । अनि, सम्झेँ, नेपालका ती पहाड, हिमाल अनि पाखा–पखेराहरू । प्रत्येक दिन स्कुल जाँदा यी बेलायतका फुच्चे थुम्काहरूभन्दा हजारौँ गुणा सुन्दर पहाडहरूमा उकाली–ओराली गर्दै हिँडेको । त्यो पहाडको तल सुसाउँदै बग्ने काली गण्डकी अनि अर्कोतिर आँधीखोला । पहिला पो त्यसको महत्त्व थाहा भएन, त्यही उकाली–ओराली गर्नुलाई नै यतातिर ‘हाइकिङ’ भनिँदो रहेछ । थाहै नपाई कति अमूल्य जिन्दगी बाँचिएको रहेछ । विदेशीहरू घुम्न आउँदा ‘नेपाल इज ट्रुली अ पिस अफ हेभन’ भनेको साँच्चिकै रहेछ भन्ने बल्ल थाहा हुँदै थियो । 

नेपालमा छँदा मौसमका बारेमा कहिल्यै चासो राखिएन । जाडो–गर्मी आउँथ्यो–जान्थ्यो । बर्खाका बेला कृष्णभीरमा पहिरो जानुको चिन्ताबाहेक खासै चिन्ता केही थिएन । हुन पनि मौसमभन्दा अरू महत्त्वपूर्ण कुराहरू प्राथमिकतामा थिए जिन्दगीमा । १२ महिनामा १० महिना चिसो हुने युरोपतिर छिरेपछि बल्ल पो थाहा भयो, जति रुवाएको छ, यही मौसमले रुवाएको रहेछ यिनीहरूलाई । 

यतातिर आकाश खुलेर घमाइलो दिन देख्नु भाग्यमा लेखिनुपर्छ । त्यसैले त केवल घामको एक झुल्का पाउन वर्षाैदेखि योजना गरेर पैसा बचत गरेर न्यानो ठाउँमा छुट्टी मनाउन जान्छन् युरोपेलीहरू । इजिप्टदेखि टर्की या दुबईदेखि माल्दिभ्सको समुद्री तटमा भेटिन्छन् चिसो छल्नेहरू । ठीक त्यसै ५० डिग्रीको गर्मीले आत्तिएका अरबीहरू तेलबाट कमाएको पैसाको सदुपयोग गर्दै चिसो युरोपतिर छिर्छन् । तर, हाम्रो यो सानो देश जहाँ काठमाडौँमा पारिलो घाम लागेको बेला, सोलुखुम्बु र मुस्ताङतिर सेताम्मे हिउँ जमेर चिसो हुन्छ भने तराईका हरिया फाँटहरूमा सूर्यको पारिलो घामले जाडो लागेको अनुभव नै गर्न दिँदैन । प्रकृतिले हामीलाई यस्तो वरदान दिएको छ कि जुन संसारका सायदै कुनै देशमा यस्तो होला । रुसको हिमपात, अफ्रिकाको कपाल तताउने गर्मी र बेलायतको उराठलाग्दो चिसो सिरेटोको अनुभव गरेपछि पो बल्ल बुझ्दैछु साँच्चिकै स्वर्गजस्तो नै रहेछ नेपाल । सानो देश तर भाषा र संस्कृति मात्र होइन, मौसममा पनि विविधता । 

नेपालमा बस्दा न मलाई कहिल्यै नेपाली बाहेक अरू भाषा संस्कृतिसँग लगाव रह्यो, न कहिल्यै बुझ्ने चासो राखेँ । मधेसी, नेवारी, गुरुङ सबै समुदायका साथीको संगत भए पनि उनीहरूको चाडपर्व संस्कृतिमा खासै महत्त्व दिएर कहिल्यै बुझ्ने कोसिस गरिनँ । केही महिनाअगाडि काममा बेलायतकै अर्को राष्ट्र वेल्सको एक जना सहकर्मीसँग कफी गफ हुँदा आफ्नो देशको अलग्गै भाषा भएको कुरा निकै गर्वका साथ सुनायो । त्यही भाषाकै कारण आफूहरू इंग्ल्यान्डभन्दा विशेष रहेको तर्कहीन कुरा गर्‍यो । जे होस्, वेल्समा ९९ प्रतिशतले अंग्रेजी बोल्छन् र मात्र १९ प्रतिशतले वेल्सको आफ्नै भाषा सामान्य लेखपढ गर्न मात्र जानेका छन् । र, बोलीचालीको भाषा प्रयोग गर्ने मात्र १ प्रतिशत छन् । त्यही पनि उनीहरू धेरै गर्व गर्छन्, आफ्नो भाषा हुनुमा । 

मुस्किलले दुई–तीनवटा भाषा मात्रै भएका युरोपियन देशहरूमा आफ्नो भाषा हुनु ठूलो मात्र नभई राष्ट्रकै गौरवको कुरो मानिँदो रहेछ । त्यसैले त बोलीचालीको भाषामा कतै प्रयोग नभए पनि भाषा संरक्षणका लागि सरकारले धेरै लगानी गरेको हुन्छ । उदाहरणका लागि उत्तरी युरोपको स्केन्डेन्भिनियामा मात्र ३० हजारले बोलिने सामी भाषाको संरक्षणका लागि सरकारले धेरै प्रयास गरेको छ । 

त्यसपछि मलाई हाम्रो देशमा बोलिने ७० भन्दा बढी भाषाको महत्त्व बल्ल थाहा भयो । मगर, गुरुङ, मैथिली, नेवारी आदि । समुदाय–समुदायबीच आफ्नै छुट्टै भाषा । आफ्नो अलग्गै भाषा हुनु भनेको इतिहास र सभ्यता बोकेको ठूलो पहिचान रहेछ । नेपालको आफ्नै विक्रम सम्वत् मात्र नभएर नेवारको नेपाल सम्वत्, किराँतको येले सम्वत्जस्ता आफ्नै इतिहास बोकेका समयहरू छन् ।

सोच्छु, यदि यस्तै आफ्नो भाषा, लिपि अनि सम्वत्हरू हुन्थे भने पश्चिमी देशहरूले कति गर्व गर्दा हुन् ? हाम्रोजस्तो भौगोलिक रूपले सानो तर एकै समयमा विविधताको मौसम हुने भए विदेशीहरूले आफूलाई कति भाग्यमानी ठान्दा हुन् । प्रकृतिले दिएको सर्वोच्च शिखर सगरमाथा, अग्ला हिमशिखरहरू अनि अनगिन्ती पहाड र त्यसबाट बग्ने नदीनालाको भरपूर सदुपयोग गरी प्राकृतिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि कति समृद्धि हासिल गर्दा हुन् । 

विदेशी धर्तीमा बसेर म अचेल धेरै सोच्ने गर्छु । आफ्नै देशको सुन्दरता, संस्कृति अनि यसको भविष्यबारे । अनि, फेरि सम्झिन्छु आफूले गर्न नसकेको योगदानबारे । माधव घिमिरेले यो कवितामा भनेजस्तै :

मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको

नेपालीको दिल छुन अझै छैन मैले सकेको । 

प्रकाशित: कार्तिक २१, २०७४