अधकल्चो अनुवाद

  • विभिन्न भाषामा उल्था गरिएका पुस्तक प्रभावहीन

- राजकुमार बानियाँ

विख्यात लेखक इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको अंग्रेजी अनुवाद मैजारो गर्न ठ्याक्कै १६ वर्ष लाग्यो, मञ्जुश्री थापालाई । राईका साथी कवि वैरागी काइँलालाई साक्षी राखेर १० कात्तिक साँझ पाटन दरबार स्क्वायरको आँगनमा विमोचन गरिन्, देयर्स अ कार्निभल टुडे । 

आफ्नो पुस्तक ट्युटर अफ हिस्ट्री विमोचनका लागि सन् २००१ मा राईलाई काठमाडौँ निम्त्याएका बेला मञ्जुश्रीले अंग्रेजी अनुवादका लागि अनुमति लिएकी रहिछन् । आधा शताब्दी पहिले छापिएको उपन्यासको भावभूमि अहिले पनि सामयिक लाग्छ । दार्जीलिङ त्यतिबेला पनि राजनीतिक रूपमा अशान्त थियो, अहिले पनि उत्तिकै असामान्य छ ।

पाण्डुलिपिमै पेन अमेरिकाबाट ‘उत्कृष्ट अनुवाद’का रूपमा चार हजार डलरसहित पुरस्कृत भइसकेको र नयाँदिल्लीको स्पिकिङ टाइगर्स पब्लिकेसनले छापेको पुस्तकको कामबाट मञ्जुश्री स्वयं सन्तुष्ट छैनन् । उनलाई लाग्छ, अनुवादको काम सम्पूर्ण रूपमा सफल हुन सक्दैन । “अनुवाद भनेको अर्काको सिर्जनामा पस्ने मात्रै हो, मूल सिर्जनाको नजिक–नजिक पुग्न पनि सकेँ कि सकिनँ,” उनी भन्छिन्, “अनुवादमा कहीँ न कहीँ, केही न केही हराएकै हुन्छ । त्यसको अर्थमा केही कुरा गुमेको भान परिहाल्छ ।”

अनुवादक मञ्जुश्रीले भनेजस्तै अनुवाद ‘असफल प्रयत्न’ मात्रै हो । न लेखकको चित्त बुझाउन सकिन्छ, न त पाठकको । अनुवादबाट मूल लेखक त बिरलै सन्तुष्ट हुन्छन् । कोही अनुवाद हुनै नसक्ने काम मान्छन्, त कोही एकदमै अविश्वसनीय । अझ नेपाली पुस्तककै कतिपय अंग्रेजी अनुवाद ऊँटजस्तो भएको स्थिति छ । अभि सुवेदी बरोबर सुनाइरहन्छन्, ‘देशबाहिर लगेका अनुवादका पुस्तक देखाउन सकिनँ ।’ अभिका शब्दमा थोरै अनुवाद मात्र अगाडि बढ्छन् तर थुप्रैचाहिँ ‘सहिदको सूची’मा चढ्छन् ।

केही वर्षअघि साहित्यकार खगेन्द्र संग्रौला अफ्रो एसियाली लेखक सम्मेलनका क्रममा इजिप्टको राजधानी कायरो पुगेका थिए । सम्मेलनका आयोजकले नेपालका नामुद लेखकका रूपमा उनको परिचय गराए । त्यहाँ सहभागी लेखकहरूले उनलाई सोधे, ‘तपाईंका पुस्तकहरू पनि ल्याउनुभएको होला नि ?’ असमजस्यमा परे संग्रौला । विदेशी लेखकका अंग्रेजी भाषाका तीन दर्जन पुस्तक अनुवाद गरेका संग्रौलाको भने अंग्रेजीमा एउटै पुस्तक थिएन । 

अनुवादको सन्दर्भमा यहाँ कृतिभन्दा व्यक्ति नै हावी छन् । योग्य सिर्जनाभन्दा उच्च पदस्थ, पहुँचवाल र पैसावालकै अनुवाद ज्यादा भएका छन् । यसको एउटा दृष्टान्त हो, कवि मवीवी शाह उर्फ राजा महेन्द्रको एउटै कविता पुस्तक तीनचोटि अनुवाद भयो । साहित्यवृत्तमा खासै चाख नदिइएका भरत जंगमको उपन्यास कालो सूर्य सबैभन्दा धेरै भाषामा अनूदित पुस्तक हो । त्यसका अंग्रेजी, असमिया, उर्दू, हिन्दी, नेपाल भाषा, चिनियाँ र रुसी भाषाका संस्करण प्रकाशित छन् ।

एक अध्ययन अनुसार नेपालीका कविता, कथा, उपन्यास, नाटक आदिको अंग्रेजी अनुवाद संख्या ७५ मात्रै छ । त्यस्तै, नेपालीबाट असमियामा दुई, उर्दूमा तीन, चिनियाँमा दुई, जापानीमा एक, डेनिसमा एक, नेपाल भाषामा ११, बंगालीमा एक, मैथिलीमा आठ, रुसीमा सात, संस्कृतमा चार र हिन्दीमा साढे दुई दर्जन कृति अनूदित छन् । अवस्था कस्तो छ भने नेपालमा बिक्रीको ‘कीर्तिमान’ राखेको मुनामदन चिनियाँ भाषामा हालसालै अनुवाद भएको छ । चीनमा त्यसले कति ‘कमाल’ गर्‍यो, कसैलाई थाहा छैन ।

“राष्ट्रको जिन्दगी पनि कामचलाउ, सरकार पनि कामचलाउ, अनुवाद पनि कामचलाउ नै छ,” संग्रौला उदेक मान्छन्, “विदेशमा अनुवाद गरेर पठाइएका नेपाली साहित्य पनि नेपालीले मात्रै पढिरहेको स्थिति छ । आर्थिक र सामरिक हैसियत नभएको मुलुकको साहित्यलाई कसले पत्याउँछ र ?” विषयवस्तु र शैलीको उच्चता एवं व्यापकताबिना भाषानुवादको मात्रै अर्थ नभएको उनको जिकिर छ । 

संग्रौलाका शब्दमा अनुवादक भनेको हल्कारा हो । देश, संस्कृति र सभ्यतालाई अर्को भूगोल र सभ्यतासम्म पु‍र्‍याउने अनि एक भाषाबाट अर्काे भाषासम्म नित्य हिँडिरहने हल्कारा । नेपाल प्रज्ञा–प्रतिष्ठानको निर्माणाधीन अनुवादक परिचय कोशमा कम्तीमा एउटा पुस्तक अनुवाद गरेका ३ सय ८७ जना त्यस्ता हल्काराको परिचय भेला पारिएको छ । त्यसमा अनागारिका अग्गञाणी ‘धम्माचरिय’देखि गोविन्दराज भट्टराईसम्म पर्छन् । दिवंगतबाहेक अनुवादकर्ममा क्रियाशीलको संख्या तीन सयभन्दा ज्यादा हुन जान्छ ।

“ती सबैका लागि अनुवाद ‘पार्टटाइम जब’ मात्रै हो,” अनुवादक बलराम अधिकारी भन्छन्, “अनुवादलाई ज्यालादारीजस्तो काम सोच्छन् । ज्यालामै गर्ने हो भने सजिलो काम गर्ने नि, अनुवाद किन गर्ने ?” मञ्जुश्री थप्छिन्, “युरोपतिर जीविका चलाउने हिसाबले यसमा लाग्छन् । नेपालमा अनुवादमै लागेर जीविका चल्दैन भनेर अन्यत्र लाग्छन् ।”

अंग्रेजीबाट नेपालीमा सबैभन्दा धेरै पुस्तक अनुवाद गर्नेमा पर्छन्, संग्रौला । “कोशका लागि दुई सय शब्दमा परिचय तयार गर्ने भनेर लागेको,” कोश निर्माणमा संलग्न अनुवादक समाज नेपालका उपाध्यक्ष अधिकारी भन्छन्, “त्यति शब्दमा संग्रौलाका पुस्तकको सूची नै अटाएन ।”

संग्रौलाले अनुवादकर्म कति गरेका छन् भने त्यसको सूची आफैँसँग छैन । उनले ०२७ मा पहिलो अनुवाद गरेछन्, नुयेन नोकको भियतनामी उपन्यास द भिलेज द्याट वुडन्ट डाई । स्नातकको परीक्षा दिएर बसेका बेला निरञ्जनगोविन्द वैद्यको उक्साहटमा पढेको त्यो उपन्यासलाई उनले बिनापारिश्रमिक अनुवाद गरेका थिए अजम्मरी गाउँका रूपमा । 

वैद्यकै कारण उनले याङ मोको सङ अफ् युथलाई युवाहरूको गीत, माओका चार ठेली, लु सुनको जीवनी, माओ तुनको सिल्क रोड एन्ड अदर स्टोरिजज आदि चिनियाँ प्रकाशनको उल्था गरे । म्याक्सिम गोर्की र निकोलाई गोगोलका पुस्तक पनि अनुवाद गरे । भलै ‘क्रान्तिको सेवा’पछि उनी गैरसरकारी संस्थाका ‘एक ट्रक विकासे डंगुर’तिर लागे । 

चिनियाँ साहित्यपछि यहाँ फस्टायो, रुसी साहित्य । प्राध्यापक जंगब चौहानका अनुसार आन्तोन चेखोभ, लियो टाल्सटाय, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ४९ कृतिले नेपाली अवतार पाए । सोभियत संघको विघटनअघि रादुगा नामक रुसी प्रकाशनले अनुवादकलाई खर्च दिएरै कृति प्रकाशन गराउँथ्यो । रादुगा, प्रोग्रेस (प्रगति) र इन्द्रेनी प्रकाशन बन्द भएपछि त्यो क्रम टुट्यो । नेपालका धेरै कम्युनिस्ट नेताहरू चिनियाँ र रुसी अनुवाद पढेर राजनीतिमा लागेको सुनाउने गर्छन् ।

विश्व चेतना, व्यावहारिक ज्ञान र साहित्यको विस्तारका निम्ति पनि अनुवादको महत्त्वलाई नकार्न सकिँदैन । अनुवाद विश्व चेतना आफूमा ल्याउन पनि आवश्यक छ, आफ्नो चेतना विस्तारका निम्ति पनि । ‘डाउनलोड’ र ‘अपलोड’को अनुपात चार : एकजस्तो छ । “हाम्रो साहित्यमा चेतना र वैचारिक लेखनभन्दा पनि सस्तो भावुकता र व्यक्तिगत कुण्ठा ज्यादा छ,” अधिकारी भन्छन्, “व्यक्तिको लहडमा अनुवाद भयो, संस्थागत प्रयास भएन ।” अधिकारी स्वयं दौलतविक्रम विष्टको उपन्यास चपाइएका अनुहार र लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य प्रमिथसमा काम गर्न इच्छुक छन् । तर, न्यूनतम लगानीकर्तासमेत भेटेका छैनन् ।

अनुवादकमा शब्दभण्डार र ज्ञान भण्डार मात्र नभएर दुई भाषा र संस्कृतिको दख्खल एवं अनुवादप्रतिको निष्ठा चाहिन्छ । विज्ञहरू यसमा ऋद्धिबहादुर मल्ल, माइकल हट, अभि सुवेदी, वसन्त थापा, मञ्जुश्री थापा, प्रवीण अधिकारी आदिको नाम लिन्छन् । उनीहरू मुख्य समस्या पारिश्रमिक र समय एवं मिहिनेतबीच तालमेल नहुनुलाई देख्छन् । “अनुवादकलाई नाम मात्रको पैसा दिन्छन् ।

अहिले त साहित्य, कला, संस्कृति, दर्शन, समाजशास्त्र, सौन्दर्यशास्त्रका गम्भीर र मौलिक कृतिको अनुवादमा प्रकाशकको पनि रुचि देखिँदैन,” संग्रौला भन्छन्, “खासमा यस्तो काम गर्नुपर्ने प्रज्ञा–प्रतिष्ठानले हो । प्रज्ञा–प्रतिष्ठानमा पार्टीका गोठालाहरू मात्रै छन् । तिनले के गरिरहेका छन् कुन्नि ?”

हुनलाई प्रज्ञा–प्रतिष्ठानमा नाम मात्रैको भए पनि अनुवाद विभाग छ । विभाग छ, बजेट छैन । यति हुँदा हुँदै पनि अनुवादक परिचय कोशसहित देवदास, सार्क मुलुकका महिला कथाकारका कथा र रवीन्द्रनाथ टैगोरका कथाहरूलगायत आठवटा अनूदित कृति ल्याउन लागेको विभागीय प्रमुख उषा ठाकुरको भनाइ छ । विश्वविद्यालयका स्नातक र स्नातकोत्तर कक्षामा अनुवादको पढाइ भए पनि अन्य छुट्टै संस्था छैन । अनुवादकर्मको सैद्धान्तिक व्याख्या, विश्लेषण र विवेचना पनि हुन सकेको छैन । 

कपीराइटबिनाका किताब

एकातिर अनुवाद भएन भन्ने रोइलो छ, अर्कातिर पुस्तक मेला र फुटपाथमा अनुवाद पुस्तक थामिनसक्नु छन् । अनुवादक खगेन्द्र संग्रौलाका शब्दमा भन्ने हो भने चाल्र्स डार्बिनको ओरिजिन अफ् स्पिसिज्देखि नेल्सन मन्डेलाको लङ् वाक टु फ्रिडमसम्म । द होली बाइबलदेखि दास क्यापिटलसम्म । सिमोन वोउभारको सेकेन्ड सेक्सदेखि तसलिमा नसरिनसम्म फालाफाल । 

पुस्तक पारखीहरू डिकुरा पब्लिकेसनलाई खासै चिन्दैनन् । तर, ‘पठन संस्कृतिको विकास’ का लागि उसले तसलिमा नसरिनदेखि खालिद हुसेनी, पाउलो कोहेलोसम्मका विदेशी लेखकका पुस्तक छापेको छ । प्रतिलिपि अधिकार (कपीराइट)बिना गुणस्तरहीन पुस्तक छापेको आरोप उसमाथि छ ।

यसरी मूल कृतिको विषय, भाषा र शैलीलाई कत्ति पनि न्याय नगरी पुस्तक निकाल्ने डिकुराजस्ता प्रकाशक अनगिन्ती छन् । “यति झुर किताब पढेर के ज्ञानगुन बढ्ला ?” एक पाठक भन्छन्, “यो भन्दा राम्रो अनुवाद त नोटरी पब्लिक र गुगल ट्रान्सलेसनले गर्छन् ।”

लेखक बितेको ५० वर्षपछिको वैधानिक छुटबाहेक प्रकाशक वा लेखकसँग अनुमति लिनैपर्ने प्रावधान छ । तर, केही प्रकाशक र अनुवादक छाड्ने हो भने अनधिकृतकै बोलवाला छ । संग्रौला भन्छन्, “यो अनुवादका नाममा कलंक हो । एउटा बेइमान व्यापारीले अर्को बेइमान व्यापारीलाई काम लगाएको मात्रै हो ।”

 

 

प्रकाशित: कार्तिक २०, २०७४