आवरण कथा» शोकलाई शक्तिमा बदल्नेहरू

  • तेजाब प्रहारबाट प्रभावित युवतीहरुको दास्रो जुनी

- गोकर्ण गौतम, -वेदराज पौडेल

महिलाको सुन्दरताको केन्द्र हो, अनुहार । अनि, ऐनाचाहिँ हितैषी साथीजस्तो । भनिन्छ, प्राकृतिक रुपमै महिलाहरुमा ऐना हेर्दै आफ्नो सुन्दरतामा रमाउने गुण बढी हुन्छ । जब त्यही अनुहार वा शरीरका अन्य अंग क्षतविक्षत हुन्छन्, दागै–दागले भरिन्छन्, त्यो पनि कुनै रोगव्याधी वा दुर्घटनाबाट होइन, तेजाब प्रहारबाट । कति अन्धकारमय र कष्टकर होला जीवन ? समाजसँग साक्षात्कार गर्न कति मुस्किल पर्ला ? तर, जो यो कारुणिकताको सिकार भए, उनीहरुको भोगाइ यो सोचाइभन्दा ठ्याक्कै उल्टो हुँदो रहेछ । किनभने, सुन्दरता आवरणमा अडेको हुन्न, मनमा हुन्छ । 

हाम्रै समाजमा त्यस्ता महिलाहरु छन्, जो कलकलाउँदो उमेरमा तेजाब आक्रमणमा परे तर हरेस खाएनन्, हीनताबोधको दलदलमा फसेनन् । तेजाबको रापबाट उम्किए । शीतलतातिर लम्किए । र, अहिले आत्मिक रुपमा खुसीको शिखर चढ्दैछन् । सफलताका लागि संघर्ष गर्दैछन् । सुन्दा नमिठो लाग्ला तर सत्य हो, तेजाबले उनीहरुको जीवन थप सार्थक बनायो । अझ यसो भनौँ, त्यो शोकलाई उनीहरुले शक्तिमा बदले । यहाँ यस्तै साहसी चेलीहरुको प्रेरणादायी कथा :

संघर्ष र सन्तुष्टि 

विन्दवासिनी कंसाकार, २३, को गल्ती यत्ति हो, उनले प्रेम प्रस्ताव स्वीकार गरिनन् । परिणाम, तेजाबले उनको अनुहार जल्यो र शरीरका अन्य केही भाग । तेजाब हान्ने अरू कोही नभएर उनकै फुपूका छोराका साथी दिलीप राज केशरी थिए, जसले उनलाई पटक–पटक प्रेम प्रस्ताव राखेका थिए । विन्दवासिनीले ‘उच्च शिक्षा अध्ययन गर्दै गरेको र प्रेम सम्बन्धबारे कुनै चासो नभएको’ जवाफ फर्काइन् । त्यसकै बदलामा दिलीपले उनलाई तेजाब प्रहार गरेका थिए, ९ वैशाख ०६९ मा । 

हेटौँडा उपमहानगरपालिका–२, पीपलबोटस्थित आफ्नो भाँडा पसलमा व्यस्त थिइन्, विन्दवासिनी । दिलीप पसलमा आए, वास्ता गरिनन् । उनी केही बोल्न खोजेपछि ‘यहाँबाट जा’ भनिन् किनभने उनलाई लामो समयदेखि दिलीपले मानसिक यातना दिइरहेका थिए । तर, दिलीपले त्यस दिन केही मिठो बोल्न खोजे, ‘हजुरआमालाई मह ल्याइदिएको छु’ भन्दै बट्टा दिन थाले । विन्दवासिनीको हातमा पर्न नपाउँदै आफैँले बट्टाको बिर्को खोले र उनको अनुहारमा फँयाकेर सुइकुच्चा ठोके । अनि, त्यही मह भन्ठानेको तेजाबले त्यही पलबाट उनको अनुहारको सुन्दरता हरण गर्‍यो । नाकभन्दा माथिको भाग पूरै जल्यो । तेजाबचाहिँ शरीरभरि चुहियो, दागै–दाग छ अझै । विन्दवासिनीले मलिन स्वरमा भनिन्, “यतिधेरै पोल्यो कि त्यो पल अरू के भयो, सम्झनै सक्दिनँ ।” 

घटना भएकै दिन उनी जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भइन् । औषधि र सर्जरीले यत्ति लठ्ठिएकी थिइन् कि दुई–तीन महिना केही सोच्नै सकिनन् । केही दिन दुईवटै आँखा बन्द थिए । चार दिनपछि बल्ल खुले तर पूरै धमिलो । “आँखा खुलेपछि बुबाले मलाई देख्यौ भन्नुभयो । अँ, देखेँ भनेँ,” उनी सम्झिन्छिन्, “तर, बुबाको अनुहार हैन, छायाजस्तो मात्र देखेकी थिएँ ।” घटना भएको पाँच वर्ष बित्यो, त्यतिविघ्न धमिलो त देख्दिनन् । तर, पूरै सफा पनि भएको छैन । उपचार जारी छ । 

त्यतिबेला अस्पतालको ऐनामा आफ्नो अनुहार देखेर तर्सिएपछि चार महिना अनुहारै हेरिनन् । बुबालाई भनेर ऐना झिक्न लगाइन् । कति पीडादायी पल थियो होला त्यो ? तीन महिनाको अस्पताल बसाइपछि घर फर्कदा दंग थिइन् तर आफन्त भेट्न आउँदा झर्को लाग्थ्यो । तेजाबको पीडा त छँदै थियो, ‘बिचरा’ शब्दले त्यसभन्दा बढी पोल्थ्यो । तर, भनेजति रुन पनि मिल्दैन थियो, आँखामा सबभन्दा बढी असर परेकाले । घरबाट बाहिर निस्क्न मन लाग्थ्यो तर धूलो, धूवाँ र बत्तीले पोल्थ्यो । थोरै यताउता भए घाउ चर्किहाल्थ्यो । 

त्यतिबेला १२ कक्षा पढ्दै थिइन् । दुई वर्ष पढाइ रोकियो । केही गर्ने अवस्था नै थिएन तर बिस्तारै उनमा आत्मविश्वास भरिँदै गयो । जे भयो, त्यसलाई स्वीकार्दै अगाडि बढ्नुको विकल्प देखिनन् । बुबा, आमा, दाजुभाइकै साथ र मायाले सहज महसुस हुन थाल्यो । त्यसैले त अनुहारमा ‘ब्यान्डेज’ बाँधेरै नियमित कलेज धाउन थालिन् । अहिले हेटौँडाकै नवोदित नेपाल कलेजमा बीबीएस तेस्रो वर्ष पढ्दै छिन् । पसलमा बसेर सामान बेच्न सक्ने भएकी छन् । 

अहिले पनि तीन–तीन महिनामा उपचार गर्न भारत जानुपर्छ । धूलो र धूवाँबाट जोगाउनुपर्छ । छिनछिनमा हात धुनुपर्छ । फोहोर हातले अनुहारमा छोए ‘एलर्जी’ हुन्छ । चस्मा नलगाई हिँड्ने अवस्था छैन । आँखाबाट हरपल पानी बग्छ, औषधि हालिरहनुपर्छ । बेलाबेला घाउले पोल्छ । उनी दु:खी हुँदै सुनाउँछिन्, “तर, अपराधी पक्राउ नपरेकाले थप पीडा हुन्छ । कहिलेकाहीँ त खपिनसक्नु रिस उठ्छ, आफ्नै अनुहार ऐनामा हेर्दा ।” अपराधीलाई सजाय दिलाउनु त छँदैछ, बाँकी कुनै पश्चात्ताप र मानसिक पीडा छैन । भ्याएसम्म साथीहरूसँग घुम्न जान्छिन्, रमाउँछिन् । भनुँ न, पहिलेजस्तै सामान्य र सन्तुष्टितिर फर्कंदै छन् दिनहरू । निकै आत्मविश्वासी शैलीमा उनले भनिन्, “तेजाब प्रहारपश्चात् अझ सशक्त भएकी छु । मैले लड्नुपर्छ, लड्न सिकेकी छु । जो लड्न डराउँदैन, उसले कहिल्यै हरेस खाँदैन ।”

उनको एउटै उत्कट चाहना छ, अपराधीलाई कारबाही भएको हेर्ने ।

लोला होइन, तेजाब थियो

भर्खर १७ वसन्त पार गर्दै थिइन्, सीमा बस्नेत । जताजतै उत्साह र उमंग मात्रै । सेन्टअप परीक्षा सकिसकेको थियो, एसएलसीको तयारी हुँदै थियो, जोडतोडसँग । हतार–हतार ट्युसन पढ्न जाँदै थिइन्, वसन्तपुर । दुई साथी सँगै थिए । एक्कासि कसैले उनको मुखमा पानीजस्तै तरल पदार्थ फ्याँकेर सुइँकुच्चा ठोक्यो । उनलाई लागेछ, बिहान–बिहानै लोला खाइयो । किनभने, होलीको समय थियो । त्यसैले सुरुमा आत्तिनन् । लोला त चिसो हुनुपर्ने तर त्यसले बिस्तारै पोल्न थाल्यो । अनुहारमा हल्का–हल्का धूवाँ उडेजस्तो भयो । दगुर्दै नजिकैको घरमा पुगेर ऐना हेरिन्, खास केही भएको थिएन । तर, भित्रभित्र आगो सल्किएझैँ पोल्न थाल्यो । अनि, बल्ल उनले भेउ पाइन्, त्यो लोला थिएन, तेजाब थियो । जसले उनको अनुहारको छाला मात्र होइन, सुन्दरता पनि जलाइरहेको थियो । त्यो आर्तनादको पल सम्झँदै सीमा भन्छिन्, “अनुहार भतभत पोलिरहेको थियो तर मलाई जसरी पनि अनुहार बचाउनुपर्छ भन्ने लाग्यो । अनि, कुद्दै नजिकैको वीर अस्पताल पुगेँ ।” 

त्यो कालो दिन थियो, १० माघ ०७२ । जुन दिन सीमासँगै उनकी साथी संगीता मगर पनि तेजाबको 

सिकार भइन् । 

अहिले पनि अस्पताल बसाइको सुरुआती क्षणहरू सम्झँदा सीमाको मुटु काँप्छ, आँखामा अथाह आवेग झल्कन्छ । र, एउटै वाक्य मुखबाट खस्छ, ‘त्यस्तो त कसैको जीवनमा नहोस् ।’ उनी किन यसो भनिरहेकी छन् भने आफैँले त्यतिविघ्न रापको सामना गरिन् तर कति पोल्थ्यो, शब्दमा व्यक्त गर्न सक्दिनन् । केवल आगोको मुस्लोमा परेझैँ हुन्थ्यो । तर, त्यो पोलाइ त सामान्य लाग्यो, जब अस्पतालमा बिताएको पहिलो रात उनले आफ्नो अनुहार देखिन् । आखिर आफ्नो अनुहारसँग आफैँ तर्सिनु जत्तिको भयावह अरू के होला र ? 

पहिलो दिन जति पनि अस्पतालमा भेट्न आए, सबैले ‘विचरा, ला अनुहार त गएछ’ भन्थे । सीमा छक्क पर्थिन् । बिहान घरमा ऐना हेर्दा केही भएको थिएन । त्यसैले कौतूहलतापूर्वक राती हजुरआमा निदाएको मौका पारेर मोबाइलमा अनुहार हेरिन्, उनको होसहवास उड्यो । सुन्दरता सबै अलप भएछ, सिर्फ घाउ थियो, दाग थियो, टाटा र खाटा थिए । “त्यो रातभर निदाउन सकिनँ, रोएको रोयै,” हाल आफूजस्तै तेजाबपीडित युवतीलाई भेट्न दिल्ली पुगेकी सीमाले सुनाइन्, “त्यसपछि कहिल्यै आँसु झरेन । रोएर केही हुँदैन भन्ने बोध भयो ।” 

आफ्नो अनुहार हेरेर आफैँ पुलकित हुने उमेर थियो, त्यो । अनुहारको आकर्षण अझ निखारिन बाँकी नै थियो । तर, भएको सुन्दरता पनि गुम्यो । अनुहारमा दाग मात्र । कसरी बाँच्नू ? किन बाँच्नू ? हो, यस्तै लाग्थ्यो, सीमालाई सुरु–सुरुमा । निराशाको भुमरीमा लपेटिन्थिन् । तर, समयसँगै यो बुझाइ अपूर्ण लाग्न थालेछ उनलाई । किनभने, अनुहार त आवरण मात्र हो । खास सुन्दरता अनुहारमा हुन्न । मनमा हुन्छ तर मन जलेको थिएन । जलेको अनुहार मात्र हो । मन त थप साहसले भरिँदै थियो । मुस्कान भरिएको स्वरमा सीमाले सुनाइन्, “जब यो अन्तरज्ञान महसुस भयो । हीनताबोध मर्‍यो, आत्मविश्वास प्रवाह भयो ।” त्यसो त उनको ज्ञानको मुहान पनि त्यस्तै चोट र भोगाइले भरिएको छ ।

अस्पताल बसाइकै क्रममा एक जना दाइले नोबेल पुरस्कार विजेता मलाला युसुफ्जईको आई एम मलाला पुस्तक उपहार दिए । पाकिस्तानमा तालिवान आक्रमणको सिकार भएकी मलालाको जीवनकथा पढेपछि सीमाको जीवन हेर्ने दृष्टिकोण नै बदलियो । भन्छिन्, “हरपल आतंककारीको निशानामा हुँदा पनि मलाला त्यति सशक्त र प्रेरणादायी जीवन बिताइरहेकी छन् । मेरो त अनुहार मात्र बिग्रिएको हो । पूर्ण स्वतन्त्र र सबल छु । किन दु:खी हुने ?” त्यसमाथि यसपटक दिल्लीमा अनुहारसँगै पूरै शरीर क्षतविक्षत हुँदा पनि ओठमा मुस्कान लिएर बाँचेकाहरूसँग सानिध्यता पाएपछि सीमा बिछट्टै खुसी भएकी छन् ।

तेजाबको पीडाबीच त्यही वर्ष सीमाले एसएलसी पास गरिन् । नोबेल एकडेमीमा भर्ना भइन् । दागै–दाग भएको अनुहार लिएर कलेज जान्थिन् । कसैले माया गर्थे, कसैले छिछि–दूरदूर । उनलाई देख्नासाथ तर्सिएझैँ गर्ने पनि थिए तर वास्तै गरिनन् । प्लस–२ पनि कटाइन् । बीबीएसमा भर्ना हुने तयारीमा छिन् । पहिले बच्चाजस्तो थिइन्, अरूको अगाडि बोल्न पनि धक मान्थिन् । यो घटनाले छिट्टै परिपक्व बनायो, सयौँ अपरिचितको भीडमा निर्धक्क बोल्न सक्छिन् । तेजाब काण्डपछि उनको सपना पनि बदलिएको छ । बच्चैदेखि गायिका बन्ने धोको थियो । तर, अब भने उनलाई राजनीति नगरी भएको छैन । 

किन त ? यसको आफ्नै कारण छ उनीसँग, “दोषी पक्रन सरकारको उदासिनता र गरिब हुँदा डाक्टरको हेपाइ आफैँले भोगेँ । राजनीतिक व्यवस्था कमजोर भएकै कारण पाइला–पाइलामा सास्ती खेपेपछि यसलाई सुधार्ने अभियानमा आफैँ सक्रिय हुने निधो गरेकी छु ।” हिंसापीडित महिला र अनाथ बालबालिकाको अधिकारका लागि लड्ने चाह छ उनको । किनभने, उनी हिंसापीडित मात्र होइनन्, एक हिसाबले अनाथ पनि हुन् । बाबुआमाले सानैमा छोडिदिएपछि उनी मामाघरमा हुर्किन् । आमाबुबाको माया कस्तो हुन्छ, कहिल्यै महसुस गर्न पाइनन् । आमासँग जीवनमै पहिलोपटक अनुहारको उपचारको क्रममा अस्पतालमा भेट भयो । बुबाको अनुहार अझ देख्न पाएकी छैनन् । 

सीमा र संगीतालाई तेजाब हान्ने जीवन विक बाहिरी सुन्दरता बिगारेर उनीहरूलाई बन्द कोठामा कैद गर्न चाहन्थे । तर, विक आफैँ जेलमा छन् यतिबेला । सीमा र संगीता स्वतन्त्र भएर नाँचिरहेका छन् । अगाडि बढ्ने उत्साह र जोश छ । सीमा भन्छिन्, “हामी रोएर बस्यौँ भने तेजाब हान्नेको जित हुन्छ । त्यसैले उसलाई (जीवन) जलाउन पनि हामी हाँस्नुपर्छ । हाम्रो अनुहार जलायो, उसको त मन र जिन्दगी नै जल्नुपर्छ पश्चात्तापले ।” 

हो पनि, सीमा हीनताबोधमा पिल्सिनु पनि किन ? अनुहारमा दाग भए पनि मन सफा र शरीर सबल छ उनको ।

उज्यालो भविष्यतिर

रिंकु मेहता गोरी थिइन् । १० कक्षामा पढ्दै गरेकी । बोलीवचन पनि उस्तै मीठो । यही कारण उनलाई गौतमपुर–३, सुनसरीका ओमप्रकाश मेहताले औधी मन पराए । शारीरिक विकाससँगै विपरीत लिंगीप्रति आकर्षित हुने उमेर थियो । सामान्य चिनजान भयो उनीहरूबीच । कहिलेकाहीँ ओमप्रकाश साथीभाइसँगै विद्यालयको प्रांगणबाहिर चटपटे खान पुग्थे । सामान्य किसिमका उपहार ल्याइदिन्थे, रिंकुले स्वीकार्थिन् पनि । तर, यो बोलचाल र हाँसखेललाई ओमप्रकाशले रिंकुसँग प्रेम झाँगिएको ठानेछन् । ६ महिनापछि रिंकुलाई प्रेम प्रस्ताव राखे, तत्कालै विवाह गर्न कर गरे । रिंकुको जवाफ थियो, ‘अहिले त्यो सम्भव छैन । मैले तपार्इंलाईं साथी मात्र सम्झेकी छु ।’ मनमा जे थियो, रिंकुले त्यही भनिदिइन् । उनको दोष थिएन । न धोका नै दिएकी थिइन् । दुईपक्षीय प्रेम थिएन । तर, ओमप्रकाश रिसले आगो भए । ‘तँ मेरी हुन्नस् भने अरूको पनि हुन्न दिन्नँ’ भन्दै उनी रिस बोकेर बसे । नभन्दै १ फागुन ०७० मा उनले रिंकुको शरीरमा तेजाब खन्याएर बदला लिने प्रयास गरे । यतिबेला रिंकु हरिनगरा उच्च माविमा सेन्टअप परीक्षा दिन जाँदै थिइन् । 

आफूलाई मन पराएको भन्ने मान्छेबाट यस्तो क्रूर व्यवहारको अपेक्षा कसले गर्ला र ? रिंकुका लागि पनि त्यो अनपेक्षित र आततायी थियो । ती पलहरू सम्झँदा अहिले पनि उनमा चरम आवेग पैदा हुन्छ । आक्रमणमा पर्नासाथ उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगियो । एक महिनाको उपचारपछि घर फर्किइन्, जीउभरि तेजाबले खाएका घाउका डोबहरू बोकेर । आफ्नै शरीर हेर्दा आफैँलाई घृणा लाग्थ्यो । नलागोस् पनि किन † त्यति गोरो र आकर्षक शरीरभरि दागैदाग जो थिए ।

तर, दिनहरूसँगै सुन्दरतालाई हेर्ने उनको यो दृष्टिकोण पनि बदलियो । तेजाबले शरीर जले पनि मन पहिलेझैँ थियो, भावना पहिलेझैँ । रिंकु भन्छिन्, “त्यसैले बाहिरी सुन्दरता गुम्यो भनेर निराश हुन छोडेँ । बरू थप साहस जुटाएर अघि बढेँ ।” यतिबेला १२ कक्षामा अध्ययनरत छिन् । शिक्षक बन्ने धोको छ । दैनिकी बिस्तारै सामान्य र सुखमय भइरहेको छ । परिवारको साथ पाएकी छन् । 

अभियुक्त पक्राउ नपरुन्जेल फेरि आक्रमण गर्छ कि भन्ने भय हुन्थ्यो । पछि ओमप्रकाश पक्राउ परे तर तीन वर्षमै जेलबाट छुटे । अहिले वैदेशिक रोजगारीमा गएका छन् । आफ्नो शरीर र जीन्दगीमाथि त्यति ठूलो घात गर्नेलाई सजाय ज्यादै कम भएको आक्रोश छ उनको । 

ओमप्रकाशकै कारण उनलाई पुरुष देख्नेबित्तिकै अपराधी हुन् कि जस्तो लाग्थ्यो । तर, अहिले कलेजका साथीहरूसँग घुलमिल र केटा साथीहरूको सहयोग पाएपछि त्यो सोचाइ हटेको बताउँछिन् । अस्पताल बसुन्जेल जीवन सकियो झैँ लाग्थ्यो, यस्तो विद्रुप शरीर लिएर कसरी त्यो समाज फर्कूंझैं हुन्थ्यो तर अहिले आँट र आत्मविश्वासले भरिपूर्ण भएकी छन् । आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने योजना बुनेकी रिंकु आफ्नो भोगाइ यसरी सुनाउँछिन्, “एउटै घटनाले मात्र जीवन सकिँदो रहेनछ । कालो बादलभित्र पनि चाँदीको घेरा हुँदोरहेछ । जसले कालो बादल हटाएर जीवनमा आशाको किरण छर्दा रहेछन् ।” 

अथाह आत्मविश्वास 

चार वर्षअघि श्रीमान्ले टाउकामै तेजाब खन्याइदिएपछि अनुहार छोपेर जिउन बाध्य थिइन्, 

ज्ञानु चौधरी, २३ । तर, अहिले अनुहारबाट घुम्टो हटाएकी छन् । गाउँले र साथीभाइको मायाले उनलाई यति आत्मविश्वासी बनाइदियो कि घुम्टोभित्र कैद हुनुपरेन । साँच्चै भन्दा २१ माघ ०७० को त्यो घटनापछि इटहरी–१६, पकलीकी ज्ञानुको जीवनले नयाँ मोड लियो । पति ओरेन्ज हुसैनलाई सदाका लागि छोडिदिइन् र माइतीमै आफ्नो दैनिकी चलाउन सुरु गरिन् । मजदुरी गर्ने ज्ञानु र घरमै टायल लगाउने हुसैनबीच घटना हुनु सात वर्षअघि इटहरीमा भेट भएको थियो । 

छोटो समयमै झांगिएको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । एउटा छोरा जन्मियो । सुखदु:ख चलिरहेको थियो । तर, बिस्तारै दाम्पत्य जीवनमा खटपट आयो । कारण थियो, हुसैनको अन्य महिलासँगको सम्बन्ध । ज्ञानुले सम्बन्धलाई लगाम लगाउने प्रयास नगरेकी होइनन् । सम्झाइ–बुझाइ गरिन् । हुसैनले टेरपुच्छर लगाएनन् । त्यही कारण उनी छोरासहित माइतीमै बस्न थालिन् । सरस्वती पूजाको दिन इटहरी आएको मौका छोपेर हुसैनले हङकङ बजारमा ज्ञानुलाई भेटे । मायाले फकाएर घर लैजालान् भन्ने आशा थियो उनको तर बीच बजारमै तथानाम गाली मात्र गरेनन्, गोजीबाट बोतलमा ल्याएको तेजाब पछाडिबाट खन्याइदिए । अनुहार र कानको छेउबाटै पोखिएको तेजाबले उनको शरीर जल्यो ।

हुसैनलाई प्रहरीले तत्कालै प्रक्राउ गर्‍यो । ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलायो । झन्डै एक वर्षको कारावासपछि हुसैन पुनरावेदन अदालतको फैसलाबाट छुटे । तेजाब आक्रमणको केही समय ज्ञानुलाई फेरि आएर त्यस्तै केही गर्लान् कि भन्ने त्रास भइरहन्थ्यो । तर, अहिले आत्मविश्वास बढेको छ । उनी भन्छिन्, “आयो भने त्यसैलाई खन्याइदिन्छु । रत्तिभर डराउन्नँ ।” जबकि, तेजाब आक्रमणपछि उनलाई जीवन नै सकियो होला भन्ने लागेको रहेछ । एक वर्षसम्म त घरमै बन्द हुनुपर्‍यो, घाउले गर्दा । त्यसपछि इँटाभट्टामा काम पाइन् । छोरालाई पढाइरहेकी छन् । आफ्नै जीवन आफूलाई झिँजो लाग्न छोडेको छ । 

तेजाबले अनुहारमा खत र नाकको एकापट्टि मासु थुप्रिएको छ । त्यो निको होला भन्ने आशा छैन । त्यसैले रूपको पछि दौड्ने यो स्वार्थी दुनियाँमा जीन्दगीभर एक्लै बस्नुपर्ला कि भन्ने चिन्ताले सताउँथ्यो बेलाबखत । तर, अहिले उत्साहको सञ्चार भएको छ । कारण, आफूलाई माया गर्ने मान्छे फेला पारेकी छन् । खुसी हुँदै सुनाइन्, “साँचो मायाले मन माग्छ, शरीर होइन भन्ने सुनेकी थिएँ, हो रहेछ ।” हिजोसम्म एकान्तमा बाँकी जीवनको लेखाजोखा गर्दै टोलाउने उनी अहिले आफ्नो मनको हिरोसँग विवाह गर्ने योजनामा छिन् । तैपनि, मनमा ‘पछि यही शरीर र पहिलेको घटनाका कारण धोका पाइएला कि’ भन्ने डर हटेको छैन रे ! त्यही कारण तत्कालै उसको सम्पूर्ण कुरा नबुझी उसैको भइहाल्ने निर्णय गरिसकेकी छैनन् । 

विवाह होला/नहोला तर यतिबेला ज्ञानु खुसी भने पक्कै छिन् । वर्ष दिनअघि बाबु बिते । आमालाई पाल्ने दायित्व पनि छ । एक्ली सन्तान हुन् उनी । आफैँले दु:खजिलो गरेर कमाएको पैसाले सानो घर बनाएकी छन् । छोरालाई पढाएर ठूलो मान्छे बनाउने इच्छा छ । हिजो आफूले पाएको पीडा भुल्ने यत्न गर्दैछिन् तर आफ्नो यो हालत बनाउने हुसैन चाँडै छुटेकामा भने उनलाई दु:ख लागेको रहेछ । भन्छिन्, “त्यस्ता अपराधीलाई जन्मकैद हुनुपथ्र्यो । अनि, अरूले पनि यस्तो अपराध गर्ने आँट गर्दैनथे ।” 

अनौठो प्रेम

जामुनगाछी, हटियामा पकौडा र ढुंग्री बिक्री गर्दागर्दै भेटिइन्, विमला दास । श्रीमान् आशिष पनि उनलाई सघाउन छेउमै बसेका थिए । आशिष रिक्सा चलाउँछन् । फुर्सद हुँदा विमलालाई सघाउँछन् । आशिषको देब्रे आँखा पूर्ण क्षति भएको छ, ‘आइबल’ नै छैन । तर, यो कुनै दुर्घटनामा गुमेको होइन । पत्नी विमलाले तेजाब हाल्दिएपछि आँखाको दाना गुमेको हो, उनको । सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यही हो । अझ आश्चर्यको कुरा त, तेजाब आक्रमणपछि उनीहरूको प्रेम अझ झाँगिएको छ ।

विराटनगर–६ डेरा गरी बस्ने विमला र आशिषका बीच झगडा भइरहन्थ्यो । आशिष सधैँ रक्सी पिएर आउँथे । दिनभरि रिक्सा चलाएर कमाएको पैसा रक्सीमै सकिन्थ्यो । हुँदाहुँदा विमलाले हटियामा खाजा बिक्री गरेर कमाएको पैसासमेत चोर्न थाले । आजित भइन् विमला । आशिषलाई छाडेर अर्कैसँग घरजम गरौँ कि भन्ने सोच पनि नपलाएको होइन तर दुई छोरीको बिजोग हुने डरले त्यो सोच त्यत्तिकै तुहियो । आफन्तलाई हात जोड्दै आशिषलाई सम्झाउन अनुरोध गरिन् तर उनमा कुनै बदलाव आएन । रक्सीको लतमा डुब्दै गए । 

हटियामा आउनेजाने गर्दा बीच बाटोमा पर्ने सुन पसलेहरूसँग चिनजान थियो उनको । एक दिन खुट्टाको घाउ निको नभएको र त्यसमा हाल्न तेजाब चाहिएको बताएपछि पसलेले सिसीमा तेजाब हालिदिए । चुपचाप सिसी डेरामा लिएर आइन् । बेलुका आशिष उसै गरी मातेर होहल्ला गर्दै आए । उनले खाना खान दिइन् र ओछ्यानमा सुताइन् । ‘तिम्रो आँखा त रातो–रातो भएको रैछ, म औषधि हाल्दिन्छु’ भनिन् । आशिषले मानेनन् । उनले जिद्दी गर्दै आँखा सन्चो हुन्छ भन्दै सिसीको तेजाब निकालिन् र देब्रे आँखामा तुक्र्यादिइन् । अर्काेमा हाल्ने प्रयास गर्दागर्दै आँखा पोलेर आशिष चिच्याउँदै भागे । 

आशिष पोल्दै गरेको आँखा लिएर बाबुको घर पुगे । अस्पताल पुगेपछि डाक्टरले आँखा पूर्ण रूपमा जलेको बताए । त्यसपछि उनले पत्नीविरुद्ध जिल्ला प्रहरी कार्यालय, मोरङमा उजुरी दिए । प्रहरी पक्रन आएको थाहा पाएपछि विमला छोरी छाडेर धरानतिर भागिन् । झन्डै एक महिनापछि विमलाले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरिन् । सँगै मिलेर बस्ने कागज भयो । यसबीचमा आशिषलाई आफूले विमलामाथि अन्याय गरेकाले खासमा दोषी मै हुँ भन्ने आभास भएछ । विमलालाई पनि श्रीमान्लाई त्यसरी आँखै बिग्रने गरी तेजाब हाल्नु हुन्थेन भनेर आत्मग्लानि भयो । त्यसैले त एक महिनापछि प्रहरी कार्यालयमा भेट हुँदा दुवैबीच आक्रोश थिएन । बरू, एकअर्कालाई माया दर्शाए । विमलाले मायालु पारामा सोधिन्, ‘छोरीहरूलाई सञ्चै छ ?’ आशिषले पनि सोधे, ‘किन यतिका दिन हराएकी ? घर आउनु पर्दैन ।’ 

एक वर्षपछि विमलाले छोरा पाइन् । परिवारमा नयाँ खुसी छायो । अहिले दुवै कमाउँछन् । पर्दा एकअर्कालाई सघाउँछन् । अचेल त झगडा पनि पर्दैन । विमलाले हाँस्दै सुनाइन्, “आगो पनि नठोसी बल्दैन भन्छन् । हाम्रो पनि त्यस्तै भयो । अहिले असाध्यै खुसी छौँ ।” विमलाको कुरा सकिन नपाउँदा आशिष मुस्कुराए, “उनी बोल्न थालेपछि म चुप लाग्छु, बरू एकातिर निस्कन्छु । मलाई गाली गर्दा मुख फर्काउँदिनँ । आफैँले सहँदा के फरक पर्छ, आखिर बूढी त मेरै हो ।” 

(साथमा, सुरेश श्रेष्ठ/हेटौँडा)

 

प्रकाशित: कार्तिक २०, २०७४