मेरो सपनाको काठमाडौँ

  • काठमाडौँलाई चारैतिरबाट हरियालीले घेरेको देखेर लामो सास फेरेँ । अहिले उपत्यकाको सम्पूर्ण नगरपालिकाले ‘ग्रेटर काठमाडौँ, बेटर काठमाडौँ’ अवधारणामा काम गर्दै रहेछन् ।

- मिलन पाण्डे

आज ३० भदौ ०८५ । पढाइ सकेर दशकपछि नेपाल फर्कंदैछु । रातीको समय प्लेनबाट तल काठमाडौँ हेर्दा तिहारको झिलीमिलीझैँ देखिन्थ्यो । न्युयोर्क वा लन्डनको दृश्यभन्दा फरक थिएन ।

निकै सफा र व्यवस्थित एयरपोर्ट देख्दा नेपाल छाड्दाखेरीको एयरपोर्ट सम्झिएँ । गुन्युचोलीमा सजिएका दिदीबहिनीहरू स्वागतका लागि दुईतिर ढोकामा उभिएका थिए । १० वर्षपछि आफ्नो परिवारलाई भेट्दै थिएँ । हर्षविभोर भएर कोही पनि बोल्न सक्ने माहोल थिएन ।

हामी बाहिर निस्कियौँ । ‘साझा बस’ चढ्दै सिनामंगलबाट बानेश्वर हुँदै हाम्रो घर जैसिदेवलका लागि हिड्यौँ । मध्यरातमा पनि पसलहरू खुलै थिए । महानगरका कर्मचारीहरू सडकमा भ्याक्युम लगाउँदै थिए । सडक किनारका फूलहरू र सोलार बत्तीले सहर प्रकाशमान थियो ।

घरमा पूरै परिवारले सँगै खाना खायौँ । र, योजनाहरू पनि बने, भोलिका लागि ।

बिहान मैले आमालाई सोधेँ, ‘नुहाउन पानी त छ ? पहिले पानीको अभावमा आमा रातभर जाग्राम रहेको पनि सम्झिएँ । मेलम्चीको पानीले काठमाडौँको प्यास मेटिइरहेको कुरा सुनाउनुभयो । साथै, अहिले काठमाडौँका हर घरमा वर्षाको पानी संकलन तथा भण्डारण गरिने भएकाले पानीको समस्या नरहेको कुरा थाहा पाएँ । सपरिवार निस्कियौँ ।

 म गणेशस्थान मन्दिरअगाडि उभिएर दुई हात जोड्दै थिएँ, आमाले भाइलाई ढुंगेधाराको चोखो पानी ल्याउन भन्नुभयो । भाइसँगै गएको म ढुंगेधारामा पुगेर हेरेको हेर्‍यै भएँ । फोहोर र सुक्खा ढुंगेधारा अहिले निकै सफा भइसकेछ । मेयरले ‘काठमाडौँ ढुंगेधारा संरक्षण समिति’ बनाएर ढुंगेधाराहरू पुन:स्थापित गरेका रहेछन् । भाइ मेरो गाइड बनिसकेको थियो ।

ढुंगेधाराको भित्तामा चित्रित लाखे, झ्यालिंचा, पुलुकिसी आदि स्थानीय आकृतिबारे कुरा गर्दै फर्कियौँ । ०७२ को भूकम्पमा भत्किएको काष्ठमण्डप जनसहभागिता र पुन:निर्माण प्राधिकरणको सहकार्यमा पूर्ववत् निर्माण भएछ ।

कुमारी घरको दर्शन गर्‍यौँ । गद्दी बैठक, त्रैलोक्य मन्दिर, महादेव–पार्वती मन्दिर सबै सम्पदाहरू पुन:निर्माण भइसकेका रहेछन् । स्वर्गीय आनन्द आयो । हामी हनुमानढोका हुँदै इन्द्रचोकको आकाश भैरवसम्म हिँडेर गयौँ । पहिलेजस्तो फुटपाथमा जथाभावी पसलहरू रहेनछन् । आहा † निकै सफा र व्यवस्थित सहर ।

वसन्तपुरदेखि इन्द्रचोक, असन, भोटाहिटीलाई ‘वाकिंग म्युजियम’ घोषणा गरिएपछि अस्तव्यस्त इन्द्रचोक–असनका गल्लीहरूले सास फेर्न पाएका रहेछन् । विक्रम सम्वत् १८१८ मा असनका स्थानीय राजेन्द्र मल्लले तीन मुरी धान, तीन माना घ्यू दिएर आफ्नी श्रीमतीका लागि बनाएको मल्ल ‘घर’मा लेखेको विवरण पढेँ । जीवन्त सहरका सम्पदा र संस्कृति नै पहिचान रहेछझैँ लाग्यो । अनि, समृद्धिको आधार पनि हो यो । वार्षिक २५ लाख पर्यटक भित्र्याउने काठमाडौँ पाहुना सत्कारबाटै धनी बन्दै रहेछ । वीर अस्पताल पाँच तारे होटेलझैँ रहेछ । डाक्टर गोविन्द केसीले गरेको सत्याग्रहपछि नेपालको मेडिकल क्षेत्रमा निकै सुधार आएको रहेछ । सम्पूर्ण नेताहरू आफ्नो उपचार नेपालमै गराउँछन् रे ! कसोकसो अपत्यारिलो हाँसो फुस्कियो ।

नौ तले धरहराछेउको सुन्धाराबाट कलकल पानी बगेको देखेर मन निकै प्रफुल्ल भयो । मेट्रो रेल अनि केही ठूला बसहरू मात्रै चल्ने काठमाडौँका सडक साइकलमैत्री अनि पैदल यात्रुमैत्री बनिसकेछ । एकाध किलोमिटरको दूरीमा एउटा सार्वजनिक शौचालय अनिवार्य गरिएको रहेछ ।

हाम्रो ‘इलेक्ट्रिक कार’मा सडमा कुद्दा ट्राफिक सिग्नलबाहेक कतै रोकिनु परेन हामीले ।

रिङरोडबाहिर सारिएका सरकारी क्याम्पसले आफ्नै व्यावसायिक भवनहरू बनाई आम्दानीको स्रोत बलियो पारेछन् । त्यस्तै, भद्रगोल जेल अनि भद्रकालीको सैनिक ब्यारेकको ठाउँमा ठूला पार्क बनेछन् । अहिले नागार्जुनमा ‘भीमढुंगा अन्तर्राष्ट्रिय फुटबल मैदान’ र मूलपानीमा ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ बनिसकेको कुराले झन् खुसी बनायो ।

हरियाली काठमाडौँले स्वीट्जरल्यान्डको झल्को दिन्थ्यो । प्रत्येक वडामा एउटा पार्क अनिवार्य बनाएको महानगरले खुला स्थानलाई निकै महत्त्व दिएको रहेछ । कुरा गर्दै पशुपति पुग्यौँ ।

पशुपति अहिले संसारका हिन्दुहरूको पहिलो धार्मिक केन्द्र बनिसकेको रहेछ । धार्मिक पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बनेको रहेछ । ‘पशुपति संस्कृत विश्वविद्यालय’ हेरेपछि वाग्मतीको सफा पानी, माछा र तटका बगैँचाले मनमा शीतलता वर्षा भयो ।

आमाको सल्लाहमा मैले एउटा बिरुवा रोपेँ । नगरवासीले आफ्नो जन्मदिनमा एउटा रूख रोप्दा रहेछन् । ‘मेरो सहरलाई एक दिन श्रमदान’ अभियानले धेरै युवालाई जिम्मेवार बनाएको रहेछ ।

विश्व सम्पदा सूचीमा सबैभन्दा लोकप्रिय रहेको बौद्ध पुगेर ताजा अनुभव गरियो । बौद्धलाई ‘काठमाडौँको शान्ति क्षेत्र’ घोषणा गरिएको रहेछ । अधिकांश मानिसहरू बौद्ध आफ्नो दैनिकको कामबाट भएको तनाव मेटाउन जाने रहेछन् ।

बूढानीलकण्ठदेखि गोदावरीसम्म रेल चल्दो रहेछ । परिवारसँग रेलअगाडि एउटा ‘वीफी’ खिचेर फेसबुकमा अपलोड गरेँ । अहिले काठमाडौँ ‘फ्रि वाइफाई’ सहर भइसकेछ ।

बूढानीलकण्ठमा खाना खाएर रामकोटमाथि रहेको ‘फ्यामिली पार्क’का लागि सीतापाइलातिर लाग्यौँ । रामकोटमाथिको ‘तरकारी गाउँ’मा अग्र्यानिक तरकारी किन्यौँ । नगरले किसानमैत्री नीति तथा कार्यक्रम ल्याएकाले युवाहरू कृषितिर आकर्षित भएका रहेछन् । सुँगुर, बंगुर अनि कुखुरालगायत पशुपंक्षी पालन गरिएको रहेछ । अहिले काठमाडौँमा मानिसहरू जागिरभन्दा पनि उद्यमशीलतामा आकर्षित रहेछन् । कामको सम्मान हुन थालेपछि उपत्यकाको लगभग तरकारी, दुध अनि मासुको माग यस क्षेत्रले पूर्ति गर्दो रहेछ । गोलभेडा त भारतसमेत पठाउने कुराले छाती फुलेर आयो ।

दहचोक गयौँ । ‘फ्यामिली पार्क’ भएकाले निकै रमणीय रहेछ । ठाउँठाउँमा हात्ती, घोडा, छुचुन्द्रा, मयुर आदि वाहनहरूका मूर्तिले निकै आकर्षक अनि आत्मीयता महसुस गराउँदै थियो । करिब तीन घन्टा बिताएर हामी बलम्बुको बाटो हुँदै फर्कियौँ । मैले अलि टाढैबाट ‘अन्तर्राष्ट्रिय च्याउ अनुसन्धान तथा तालिम केन्द्र’ भनेर लेखेको भवन देखेँ । बलम्बु अहिले च्याउका लागि एसियामै प्रख्यात रहेछ । काठमाडौँको च्याउ भारत र चीनमा समेत निर्यात हुने कुराले गर्व लागेर आयो । त्यहाँको ‘च्याउबारी’ पर्यटक क्षेत्रको आकर्षण बनेको रहेछ ।

काठमाडौँलाई चारैतिरबाट हरियालीले घेरेको देखेर लामो सास फेरेँ । अहिले उपत्यकाको सम्पूर्ण नगरपालिकाले ‘ग्रेटर काठमाडौँ, बेटर काठमाडौँ’ अवधारणामा काम गर्दै रहेछन् । अलि पर १७औँ शताब्दीको जस्तै दरबार देख्यौँ । काठमाडौँ महानगरकै संयोजकत्वमा ‘काठमाडौँ पाठशाला’ महानगरले सञ्चालन गरेको रहेछ । यहाँ नेपा: भाषा, कला, संस्कृतिका साथै व्यावहारिक शिक्षा प्रदान गरिने रहेछ । त्यहाँ केही विद्यार्थीहरू माटोको भाँडा बनाउँदै रहेछन् । अलि पर अर्को जमात हाम्रो नेवारी परम्परागत शैलीको नृत्य सिक्दै थिए । यससँगै काठमाडौँ महानगरले आफ्नै लगानीमा स्यूचाटार, भीमढुंगा, सिनामंगल अनि बल्खुमा चारवटा विद्यालय सञ्चालन गर्दै रहेछ, जसबाट भर्खर प्रकाशित १२ कक्षाको नतिजामा देशभरिकै उत्कृष्टसमेत भएछ । साथै, अहिले काठमाडौँ महानगरपालिकाले आफ्नै संयोजनमा ‘मेरो अस्पताल’ सञ्चालन गरेको रहेछ । यो अस्पताल बल्खु, टेकु, पेप्सीकोला र सामाखुसीमा सञ्चालन रहेछ । हामी अगाडि बढ्यौँ ।

नैकापमा हाम्रो गाउँले शैलीका होमस्टेहरू बनाइएको रहेछ । अहिले उक्त स्थानलाई ‘काठमाडौँ भिलेज’ पनि भनिने रहेछ । यस्तै कुरा हेर्दै, सुन्दै हामी कलंकीनजिक आइपुग्यौँ । त्यहाँ एकातिर पेट्रोल पम्प अनि अर्कोतिर ‘इलेक्ट्रिक भेइकल चार्जिङ स्टेसन’ रहेछ । अब केही वर्षमा काठमाडौँलाई पूर्ण रूपमा पेट्रोल–डिजेलमुक्त सहर घोषणा गर्ने योजना बनाइँदै रहेछ ।

वर्षौं पहिले घन्टौँ जाममा फस्नुपर्ने कलंकीमा ‘फ्लाइओभर’ ले गर्दा जाम हुँदो रहेनछ । बाटाहरू पनि चिल्ला थिए । करिब १० वर्षअघि सामाखुसीको नालीमा बच्चा डुबेपछि काठमाडौँवासीले ‘नो रोड, नो ट्यास्क’ अभियान चलाएको र करिब दुई वर्षसम्म कुनै पनि काठमाडौँवासीले रोड कर नतिरेपछि काठमाडौँ महानगर, सडक विभागलगायतका निकायहरू मिलेर काठमाडौँको सडकलाई व्यवस्थित गर्न 

‘काठमाडौँ सडक सुधार आयोग’ बनाएका रहेछन् । साथै, आगामी वर्ष काठमाडौँलाई धूवाँधूलोमुक्त सहर घोषणा गर्ने योजनै रहेछ । अहिले सम्पूर्ण तारहरू समेत अन्डरग्राउन्ड गरिसकिएको रहेछ ।

मैले भाइलाई सोधेँ, ‘अनि, यो सबै कसरी सम्भव भयो त ?’ 

भाइले काठमाडौँमा मेयरले नागरिकमैत्री नीति अनि कार्यक्रम ल्याएको जानकारी दियो । मैले शंकाको भावसहित फेरि सोधेँ, ‘अनि, कर्मचारीले काम गर्न दिए त ?’

भाइले भन्यो, ‘साहसी नेतृत्व भए हुने रहेछ । मेयरले प्रशासनको चुस्ततामा निकै काम गरे । उनले आउने बित्तिकै २० वर्ष काम गरिसकेका कर्मचारीलाई गोल्डेन ह्यान्ड सेकसँगै अवकाश दिएर चुस्त तर सशक्त कर्मचारीतन्त्र निर्माण गरे ।’

साँझ हुन लागिसकेको थियो । म टेकुको पुलनजिक पुगेँ । सडकका दुवैपट्टि हरिया रूखहरू थिए । पश्चिमको घामले पूर्वतिरको बाटोमा रूखहरूका लामालामा आकृति कोरेको थियो । विष्णुमति स्वच्छ देखिएकी थिइन् । खोलाका दुवैतिर बगैँचा देखेँ । सफा पानीमा आकाशको छाया थियो । सेता हाँसका जोडीहरू पौडी खेल्दै थिए । बच्चा बेलामा हजुरआमाले भनेको काठमाडौँ सम्झिएँ । हामीले काठमाडौँ नयाँ बनाएनछौँ । हामीले त मर्न लागेको काठमाडौँमा प्राण भरेका मात्रै रहेछौँ । मैले सपनामा देख्ने जस्तो काठमाडौँ मेरोअगाडि छ । दशकपछि आज मेरो जिन्दगीकै सबैभन्दा महत्त्वपूर्ण दिन भइदियो । 

 

प्रकाशित: कार्तिक २०, २०७४