यो चुनावमा कांग्रेस कस्तो नतिजाको पर्खाइमा छ ?

- सन्तोष आचार्य

नेपाल विद्यार्थी संघका संस्थापक सभापति रहिसकेका नेपाली कांग्रेसका नेता विपिन कोइराला अहिले पार्टीभित्र सीमान्तकृतजस्तै छन् । कांग्रेसभित्र बीपी कोइरालाको विचारलाई पछ्याइरहने कम नेताहरुमध्ये पर्छन् उनी । उनैसँग नेपालमा कम्युनिस्ट पार्टीहरुको विस्तार र प्रभावको अन्तर्य, कांग्रेस नेतृत्व, आसन्न निर्वाचन र धु्रवीकृत राजनीतिमा केन्द्रित रही नेपालले गरेको संवाद । 

दुई ठूला कम्युनिस्ट पार्टीबीच भएको गठबन्धनबाट नेपाली कांग्रेस अत्तालिएको हो ?

अवसरवादको राम्रो खेलाडी हुनुहुन्छ प्रचण्डजी । कहिले यता मिलेर, कहिले उता मिलेर आफूलाई केन्द्रमा राख्नुभएको छ । एमाले पनि त्यस्तै हो । कांग्रेसको सरकारमा पनि आयो, बाबुरामकहाँ पनि गयो, प्रचण्डकहाँ पनि पुग्यो । कम्युनिस्टहरूको दाउ नै सत्ता कब्जा गर्ने नै हो जसरी पनि । ‘बन्दुकको नालबाट सत्ता आउँछ’ भन्नेमा कम्युनिस्टहरू विश्वास गर्छन् । यसैले अहिले कम्युनिस्टहरू एक ठाउँमा आएपछि कांग्रेस पक्कै पनि अत्तालिएको छ ।

के यो बीपी कोइरालाले भनेजस्तै ‘अडित फर्मुला’को परिणाम हो त ?

हो, ०१५ सालको चुनावमा १ सय ९ सिटमा जम्मा चार सिट जितेका थिए कम्युनिस्टले । ०१७ को काण्डपछि पुष्पलाल र मनमोहन अधिकारीबाहेकका कम्युनिस्टहरू कांग्रेसको खिलाफमा राजासँग मिलेकै हुन् । यसैलाई बीपीले अडित फर्मुला भन्नुभएको थियो । जतिबेला इन्डोनेसियामा सुकार्नो राष्ट्रपति थिए, त्यतिबेलै दीपा नौसान्तरा अडित नामका एक कम्युनिस्ट नेता थिए । उनले ‘जय सुकार्नो’ भन्दै गैरकम्युनिस्ट मुलुक इन्डोनेसियामा सात लाख मान्छेलाई कम्युनिस्ट क्याडर बनाए । नेपालमा पनि केही कम्युनिस्टहरूले ०१७ सालपछि ‘श्री ५ महाराजाधिराजकी जय’ भन्दै आफ्नो संगठन विस्तारमा लागेका हुन् । राजालाई कांग्रेस कमजोर पार्नु थियो, कम्युनिस्टहरूलाई संगठन विस्तार गर्दै जानु थियो । त्यसमा उनीहरू सफल भए । आज वामपन्थी गठबन्धन त्यसैको परिणाम हो । 

के यो वामपन्थी गठबन्धनले कांग्रेसले आशंका गरेजस्तै मुलुकलाई कठोर साम्यवादतिर धकेल्छ र ?

एमाले र माओवादी दुवैले संसदीय व्यवस्था मान्छु भनेर सही गरेर यो संविधान जारी गरेका छन् । यही संविधान अन्तर्गत पालो–पालो प्रधानमन्त्री भएका पनि छन् । चुनावबाट दुईतिहाइ बहुमत ल्याएर चिनियाँ मोडेलको राष्ट्रपतीय प्रणाली ल्याउने हुन् कि भन्ने आशंका लोकतन्त्रमा विश्वास राख्नेहरूलाई छ । तर, मलाई यस्तो केही लाग्दैन । यो दिगो र सैद्घान्तिक गठबन्धन होइन । सत्ताप्रति अर्जुनदृष्टि राखेर गरिएको गठबन्धन हो ।

कांग्रेसभित्र एकथरीलाई नेपालमा कम्युनिस्टहरूको प्रभाव बढेको देखेर चिन्ता पनि लाग्दो रहेछ, यस्तो के कांग्रेसकै कारणले भएको हो ?

नेपालमा कम्युनिस्ट बढ्नुमा कांग्रेस नै कारक छ । यसमा पार्टी नेतृत्व नै जिम्मेवार छ । बीपी कोइरालाले कहिल्यै पनि कम्युनिस्टहरूसँग आन्दोलन वा अन्य कुनै प्रयोजनका लागि सहकार्य गर्ने कुरा आफ्नो जीवनकालभरि स्वीकार्नुभएन । किनभने, कम्युनिस्टहरू सहकार्य गर्ने भन्छन् । त्यसपछि आफू स्थापित हुन्छन् । अनि, शक्ति बाँडफाँटका लागि बार्गेनिङ गर्छन् भन्ने बीपीको तर्क थियो । तर, ०४६ मा वाम गठबन्धनसँग मिलेर गणेशमान सिंहले आन्दोलन गर्नुभयो । पञ्चायत त ढल्यो तर त्यही विन्दुबाट कम्युनिस्टहरूले आफ्नो बलियो उपस्थिति देखाउन थाले । कांग्रेसको हाराहारीमा आउन थाले । ०६२/०६३ को आन्दोलनपछि स्थापित संसद्मार्फत गिरिजाप्रसाद कोइरालाले दुईतिहाइ बनाइदिनुभयो संसद्मा कम्युनिस्टहरूको संख्यालाई । त्यही बलमा कहिले यता मिल्ने, कहिले उता मिल्ने गर्छन् उनीहरू । 

कांग्रेसले पनि त गठबन्धन गरेको छ, त्यो केका लागि नि ?

कम्युनिस्टहरूले गठबन्धन गरेपछि कांग्रेसमा हतासा देखियो, जसले गर्दा राप्रपादेखि राजपासँग काँध जोड्न पुग्यो । खासमा अहिले कांग्रेस एक्लै चुनावमा जानुपथ्र्यो । तीन प्रतिशतको जुन थ्रेसहोल्ड राखिएको छ, त्यसले अबको चुनावमा साना पार्टीहरूको खासै अस्तित्व देखिनेवाला छैन । तर, अहिले चुनावमा उनीहरूले आफ्नो हैसियतभन्दा बढी सिट माग्न थाले । यसले गर्दा कांग्रेसभित्र टिकटलाई लिएर असन्तुष्टि पनि बढेको छ । परिणाममा पनि कांग्रेसलाई नै बेफाइदा गर्छ । 

यो चुनावमा कांग्रेस कस्तो नतिजाको पर्खाइमा छ ?

यो एउटा चुनाव हार्न नेपाली कांग्रेस तयार भयो भने केही बिग्रँदैन । ०६४ मा हामी हारेको होइन ? माओवादीले १ सय ४० सिट ल्याउँदा हामीसँग ३७ सिट मात्र थियो । निकटतम प्रतिद्वन्द्विता पनि रहेन । ६ वर्षमा दुई थान एमालेका र दुई थान माओवादीका प्रधानमन्त्री भएर पनि संविधान त आएन । ०७० मा कांग्रेस नै ठूलो पार्टी बनेर आएपछि संविधान आयो । 

कि, फेरि कांग्रेस ठूलो पार्टी बन्न सक्छ ?

कांग्रेसको परम्परागत भोट बैंकमा अरू दलहरूले धावा बोलिसकेका छन् । सत्तालाई मात्र जोड दिँदा कांग्रेसको आफ्नो केही अस्तित्व रहेन । काठमाडौँमा विवेकशील साझाले, तराईमा राजपा र उपेन्द्र यादवको फोरमले अनि पहाडमा माओवादी र एमालेको नक्कली राष्ट्रवादले प्रभाव पार्नेे भएपछि कांग्रेस जाने कहाँ त ? अब कांग्रेसले आफ्नो ‘ग्राउन्ड’ कहाँ छ भनेर खोज्नुपर्ने भएको छ । 

त्यसो भए आफ्नो ‘ग्राउन्ड’ हराएको कांग्रेससँग बौरिन सक्ने के मन्त्र बाँकी छ ?

‘हामी हिन्दु राष्ट्रका पक्षपाती हौँ’ भनेर जनताको बीचमा जानुबाहेक कांग्रेससँग अब अर्को कुनै राजनीतिक एजेन्डा छैन । ०७० मै मैले नेताहरूलाई यो एजेन्डा लगेर चुनावमा जानुपर्छ भनेको थिएँ । तर, कसैले मेरो कुरा सुनेनन् । यही मुद्दा उठाएर कमल थापाले ‘एक गाँछी, एक बाछी’ भन्दै राम्रो मत ल्याएको हामीले बिर्सनु हुँदैन ।

अर्को प्रसंग, तपार्इंले त ०१५ देखि नै हामीकहाँ भइरहेका चुनावलाई नियालिरहनुभएको छ । अहिले हामीकहाँ चुनावको संस्कार कस्तो छ ?

अहिले त कोसित पैसा छ, को ठेकेदार हो, को व्यापारी हो, कसले पैसा खर्च गर्न सक्छ भन्ने कुरा टिकट वितरणको मापदण्ड बनेको छ । मैले प्रत्यक्षतर्फ चाहेको भए टिकट पाउन सक्थँे । तर, म पैसा नभएर चुनाव लड्न मन गरिनँ । स्थानीय निर्वाचन पनि हेरेँ । वडा अध्यक्षमा चुनाव लड्न १५/२० लाख र नगरपालिकाको मेयरमा एक करोड रुपियाँसम्म खर्च गरेको देखियो । खर्च गर्नेमा कांग्रेस, कांग्रेसलाई जित्ने एमाले अनि दुवैलाई जित्ने माओवादी । मलाई चुनावको टिकट वितरण गर्ने जिम्मा दिने हो भने मैले पनि पैसा नहुनेलाई टिकट दिन सक्दिनँ । हामीले मतदाताको बानी बिगारिसकेका रहेछौँ ।

यही कारण हो टिकट वितरणलाई लिएर कांग्रेसभित्र व्यापक गुनासो आएको ?

जिल्ला तहबाट सिफारिस नभएकाहरूलाई पनि पार्टी नेतृत्वले टिकट दिएर गैरप्रजातान्त्रिक चरित्र देखाएको छ । प्रक्रिया र पद्घति भत्काएर पैसा, नाता र निकटता हेरेर टिकट वितरण गरेपछि असन्तुष्टि त आउँछ नै । नेतृत्वका कारण विचलित भएका मान्छेहरू कांग्रेसभित्र धेरै छन् । विवेकी नेतृत्व भएन भने पार्टी झन्झन् कमजोर हुन्छ । यसको असर निर्वाचनको परिणाममा पनि पर्छ भन्ने कुरा नेतृत्वले बुझ्न सकेन ।

अहिले कांग्रेसको नेतृत्वमा त तपाईंका समकालीन साथीहरू नै छन्, सुझाव दिनुहुन्न ?

हाम्रो पार्टीमा कार्यकर्ताको सुझाव लिने चलन छैन । उनीहरूले सुझाव लिन नचाहे पनि मैले सुझाव दिने गरेको छु । तर, नि:शुल्क दिएको सुझाव हाम्रो पार्टी नेतृत्वले लिन चाहँदो रहेनछ । सत्ता आउँछ जान्छ, यो ठूलो कुरा होइन । तर, पार्टी निरन्तर रहनुपर्छ । लोकतन्त्रको मियो, राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्ले समेत पत्याएको कांग्रेस किन ओरालो लाग्दैछ ? कांग्रेसको साँवा–ब्याज सत्ताका लागि अहिल्यै खाइसक्ने कि भोलिको पुस्ताका लागि पनि मार्ग प्रशस्त गर्ने ? के यो कुरा नेतृत्वले सोच्नुपर्दैन ? पार्टीभित्र गहन छलफल चलाउनुपर्दैन ? तर, हाम्रो पार्टी सभापतिलाई यतातिर ध्यानै छैन । पैसा थुपार्नु नै सबथोक हो र ? 

प्रकाशित: कार्तिक २०, २०७४