मोटोरोलाका चार स्मार्टफोन

- नेपाल संवाददाता

मोटोरोलाको नेपाली बजारमा पुनरागमन भएको छ । हालै चार स्मार्टफोन लन्चसँगै मोटोरोलाले आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको हो । अब ती स्मार्टफोन नेपालमा आधिकारी विक्रेतामार्फत बजारमा आउनेछन् । 

सार्वजनिक भएका स्मार्टफोनहरु मोटो सी र मोटो ई सिरिजका हुन् । यी सबै बजेट स्मार्टफोन अर्थात् सस्ता स्मार्टफोन हुन् । मोटो सी र ई सिरिजका स्मार्टफोनले भारतमा राम्रै बजार ओगटेका थिए । 

सी सिरिजका मोटो सी र सी प्लस नेपालमा उपलब्ध छन् । मोटो सी पाँच इन्चको डिस्प्लेसहित एक जीबी र्‍याम र १६ जीबी आन्तरिक क्षमतामा आउँछ । मोटो सी प्लसमा पनि पाँच इन्चकै डिस्प्ले छ । तर, यसमा दुई जीबी र्‍याम र १६ जीबी आन्तरिक क्षमता हुन्छ । यिनको मूल्य क्रमश: १० हजार ९ सय ९० र १३ हजार ९ सय ९० छ । 

ई सिरिजमा मोटो ईफोर र ईफोर प्लस छन् । ईफोरमा पाँच इन्चको डिस्प्ले, दुई जीबी र्‍याम र १६ जीबी आन्तरिक क्षमता अनि आठ र पाँच मेगापिक्सेलका क्यामेरा छन् । यसलाई १६ हजार २ सय ९० रूपियाँ पर्छ । त्यस्तै ईफोर प्लसमा ५.५ इन्च डिस्प्ले, तीन जीबी र्‍याम, ३२ जीबी आन्तरिक क्षमतामा १३ र पाँच मेगापिक्सेलका दुई क्यामेरा छन् । यसको मूल्य २० हजार ९ सय ९० रूपियाँ तोकिएको छ ।

 

प्रकाशित: कार्तिक १९, २०७४