फाटेको फिल्म

  • जबर्जस्ती ‘कमेडी’ गर्ने निर्देशकको हठले उत्कृष्ट हुन सक्ने यो फिल्म औसतभन्दा पनि तल झरेको छ ।

- गोकर्ण गौतम

निर्देशकको उद्देश्य जहिल्यै कसिलो कथा भन्ने हुनुपर्छ । त्यस्तो कथाबाट दर्शक हाँस्न पनि सक्छन्, रुन पनि । त्यो भिन्न कुरा हो । तर, नियत नै हँसाउने वा रुवाउने राखियो भने कथा, पात्र र प्रस्तुतिमाथि अन्याय हुन्छ । अन्तत: फिल्म चिप्लिन्छ । विडम्बना ! हामीकहाँ यही कोटिका फिल्मको बोलवाला छ । निर्देशक यस्तै फिल्ममा रमाइरहेका छन् । यसको ज्वलन्त उदाहरण हो, फाटेको जुत्ता । जबर्जस्ती ‘कमेडी’ गर्ने निर्देशकको हठले उत्कृष्ट हुन सक्ने यो फिल्म औसतभन्दा पनि तल झरेको छ । सौगात मल्ल, कामेश्वर चौरासिया र प्रियंका कार्कीजस्ता गिनेचुनेका कलाकारले पनि फिल्मको तौल बढाउन सकेनन् । मधेसको ग्रामीण भेगमा खिचिएकाले लोकेसनमा स्थानीयताको स्वाद पाइन्छ । नेपाली फिल्ममा बेवास्ता गरिएका मधेसी पात्रहरूलाई विशेष महत्त्व दिनु सकारात्मक पक्ष हो । 

प्रतापपुरको आवारा केटो मिन्टु (सौगात) का दुईवटा सपना छन्, एउटा डन बन्ने, अर्को इन्दु (प्रियंका)लाई बिहे गर्ने । सहरमा पढेर गाउँ फर्किएकी इन्दु गलत धन्दामा संलग्न महन्थ (रवीन्द्र झा)की छोरी हो । छोरीकै प्रयोग गरेर भए पनि पैसा कमाउने र राजनीति गर्ने ध्याउन्नमा छ महन्थ । यस्तो अवस्थामा इन्दुलाई आफ्नो बनाउन मिन्टु अनेक हर्कत गर्छ तर सफल होला त ? यही सवालको जवाफसँगै फिल्म सकिन्छ । हलबाहिर निस्किँदा मन फुरुङ हुने क्लाइमेक्सचाहिँ छैन । 

खासमा पात्र र कथाको ‘सेटिङ’ नियाल्दा सन्दर्भ अनुसारै हँसाउने पर्याप्त ठाउँ छन् । तर, निर्देशकले त्यो सत्मार्ग रोजेनछन् । एकोहोरो कमेडी बनाउने चक्करमा फिल्म लयबाहिरका दृश्यको खात र अपरिपक्व भइदियो । 

मिन्टु र उसका दुई साथी भागेको लामो र पट्यारिलो दृश्यसँगै फिल्म सुरु हुन्छ । रोचकता थपिँदै जाला भन्ने आशा हुन्छ । तर, तीन पात्रका झिनामसिना गतिविधिमा अल्झिएकाले अपेक्षाकृत ढंगले कथा अगाडि बढ्दैन । त्यो अभाव इन्दुको आगमनले समेत पूर्ति गर्दैन । यसबीचमा महन्थको अपहरण र पैसा असुल्ने शैलीले चाहिँ हाँसो पैदा गर्छ । हुलिया, वाक्शैली र बुद्धि नभए पनि ठूलो काम आँट्ने गुन्डाको रूपमा चित्रित छन् उनी । तर, यसले मूल कथाको बहावमा केही सघाउँदैन, दर्शकलाई क्षणिक ‘होल्ड’ गर्नु सिवाय । पटकथाकार निरोज महर्जन स्वयं फिल्मको केन्द्रीय द्वन्द्व र मूल पात्रको मनोविज्ञानको सवालमा अलमलिन्छन् । पात्रहरूबीच सुहाउँदो समीकरण सिर्जना गर्न चुकेका छन् उनी । आत्मीयता महसुस हुने पात्रको चर्को खडेरी छ । 

हाम्रो समाजमा फाटेको जुत्ता गरिबीको प्रतीक हो । फिल्ममा यही स्थापित मान्यतामार्फत विपन्नलाई सम्पन्न वर्गले हेर्ने दृष्टिकोण सतहमा ल्याउने प्रयास गरिएको छ, जुन आफैँमा तारिफयोग्य हो । तर, निर्देशककै सोच फराकिलो र मूर्त नहुँदा मर्मस्पर्शी ढंगले पर्दापण हुन सकेको छैन । त्यति झिल्के चस्मा र चिटिक्क परेको कपडा लगाउन सक्ने मिन्टुका लागि फाटेको जुत्ता लगाउनु बाध्यता हो त ? जो कोही दर्शकमा उठ्ने सवाल हो यो । मिन्टुले बाबुको फोटोको सामुन्ने फलाकेको दृश्य ‘क्लिसे’ लाग्छ । बरू, उसको काका र उनको आनीबानी रोचक लाग्छ । नेताको आगमन अनि महन्थ र मिन्टुहरूको दाउ हान्ने प्रयास फिक्का छ । हिरोले जसरी पनि जित्छ/जित्नैपर्छ भन्ने ह्याङबाट मुक्त छ फिल्म । अर्को उल्लेखनीय पक्षचाहिँ, आमफिल्ममा झैँ न पात्रहरूलाई जबर्जस्ती देवत्वकरण गरिएको छ, न दानवीकरण । 

यसअघि द युगदेखि युगसम्म, फिटकिरी, चपली हाइट र चपली हाइट २ बनाएका निर्माता अर्जुनकुमारको पाँचाँै फिल्म हो, फाटेको जुत्ता । अघिल्ला फिल्मभन्दा नवीन शैलीको पक्कै छ यो । तर, ‘ड्रिम प्रोजेक्ट’ भन्न लायकचाहिँ होइन । निर्माताका रूपमा फिल्मलाई ‘रिच’ बनाउन कन्जुस्याइँ गरेका छैनन् । तैपनि, यस्तो कमजोर धरातलको पटकथामा किन पैसा खन्याए ? कुरीकुरी त लाग्छ नै । पहिलो फिल्म जिन्दगी रक्सभन्दा खारिएका छैनन् निर्देशक निकेश । सिनेमाटोग्राफर निरज कँडेल प्रशंसाको बलियो हकदार छन् । रिलिजअगावै धेरै हिट भएको ‘आई एम भेरी सरी...’ गीत पात्र र कथा सुहाउँदो लाग्छ । सौगातको न भूमिकाले मन छुन्छ, न अभिनयले । उनी ‘लाउड’को भ्रान्तिबाट मुक्त हुने समय घर्किसकेको छ । प्रियंकाको उपस्थिति पनि चमकदार लाग्दैन । बरू कामेश्वरले राहत दिन्छन् । पृष्ठभूमि संगीत माहौल अनुरूपकै छ । ठाउँ–ठाउँमा डबिङ छुट्नु लापरबाहीको अर्को नमुना हो ।

कमेडीमा अर्थ र सन्दर्भ नखोज्नेलाई फाटेको जुत्ताले रिझाउन सक्छ । तर, फिल्मचाहिँ नामजस्तै फाटेको छ ।

प्रकाशित: कार्तिक १७, २०७४