यौन विद्रोहका कथा

- जया ओझा

कथाकार डब्बु क्षत्रीको नमस्ते काठमान्डु मानवीय यौन चाहना र यसले समाजमा पार्ने यौनजन्य परिस्थितिको कलात्मक रूप हो । हरेक सजीव प्राणीका लागि यौन आवश्यक हुन्छ । मानिस सामाजिक प्राणी भएकाले यौनलाई खुला रूपमा लिइँदैन । तसर्थ, यो मानव मनभित्र सुषुप्त भएर बसेको हुन्छ । यसले कुनै पनि वर्गीयताको सीमा निक्र्योल पनि गर्दैन । यसको पृथकको आधारभूमि नै हो, मान्छेको इच्छा अनि चाहना । हरेकको सोच, चाहना र व्यवहारबाट नै यौनको प्रयोग र दुरुपयोग हुन्छ । यस्तै यौनले निम्त्याएका आशा र निराशाका सेरोफेरोमा रहेर विद्रोहको रूपमा कथाकारले १८ वटा कथा संगृहीत गरेका छन् । त्यसैले यसलाई यौन विद्रोहका कथा भन्दा अनर्थ नहोला । 

उच्च वर्गमा लिइने यौन विलासिता, मध्यम वर्गमा हुने यौन विद्रोह, निम्न वर्गमा हुने यौनका विवशताहरू र आधुनिकताले भित्र्याएको प्राविधिक यौन विरूपता आदिलाई कथाकारले यस कथासंग्रहमा समेटेका छन् । 

यी कथाहरूले ग्रामीण र सहरिया जीवनका चरित्र, वर्ग र परिवेशलाई ठाउँ दिएका छन् । नमस्ते काठमान्डुका पात्रहरू यौनका मनोगत र यौन मनोदशामा विभिन्न तरिकाबाट उभिएर पाठकसामु खडा हुन सफल भएका छन् । कथाहरूले तीन दशकभन्दा पहिलेको समयलाई बोल्दैन । 

कथा पढ्दै जाँदा घटनाले समाजका समसामयिक यौनका घटनाहरू आँखाअघि नाँच्दै जान्छन् । त्यसैले सबै कथामा मानवीय यौन सुषुप्त एवं यथार्थ चित्रहरू चित्रित भएकाले यो संग्रहलाई समसामयिक यौन कथा भन्न सकिन्छ । किनभने, सबै कथाले मानवीय यौन पीडा र चाहनालाई छताछुल्ल पोखेका छन् । यदाकदा यौनकै कारण अपराधसम्म भएको पाइन्छ । वैंशको उन्मादमा धुलिखेल, नगरकोट, पार्क, क्लब, होटल र रेस्टुराँमा पोखिने यौनका कथा कुनै धार वा वादको धरातलमा नबाँधिएर स्वतन्त्र रूपले प्रस्तुत भएको छ, नमस्ते काठमान्डुमा ।

 मानवीय यौन चाहनालाई कमी–कमजोरी बनाएर नारी र पुरुषबीचको सम्बन्ध यौनले नै जोड्ने र यौनले नै तोड्ने घटनाहरू उनिएका छन् संग्रहमा । तसर्थ, हरेक कथामा प्रोटागोनिस्ट वा एन्टागोनिस्ट नै यौन देखा परेको हुन्छ । हरेक पात्रको प्रेम यौनसँगै हुन्छ र द्वन्द्व पनि यौनसँग नै रहेको हुन्छ । 

कथाको दु:खद र सुखद अन्त्य यौनले नै दिएको पाइन्छ ।

प्रेमबिना यौन सम्बन्ध राख्ने आजका युवाको प्रतिनिधि पात्र पराक्रम राणा र विप्लवलाई उभ्याएर पुरुषको मनोदशालाई उनीहरूको चरित्रबाट प्रस्तुत गरिएको छ । मालिकले आफ्नै घरमा काम गर्ने १४ वर्षीया युवतीमाथि गरेको यौन दुव्र्यवहार अनि सांसदले आफ्नै साथीकी छोरीलाई गर्ने यौन दुव्र्यवहारलाई कथामा उतारेर वर्तमान समाजलाई ऐना देखाउन सफल पनि भएको छ, नमस्ते काठमान्डु । 

त्यसैगरी आधुनिकताले निम्त्याएको प्रविधिको बढ्दो यौन विकृतिलाई देखाउने क्रममा न्युड पेन्टिङको आडमा यौनको मज्जा लुट्ने निभाको चरित्र र रबरको पुत्लाबाट यौन चाहना पूरा गर्ने पुरुषको चरित्रले कथालाई अझ अतियथार्थमा पुर्‍याएको छ । अर्काेतिर, आफ्नो छोराभन्दा पनि कान्छो केटासँग यौनको लत पार्ने दिलमायाजस्ता नारी अनि सन्तानका लागि सहवासको चाहना गर्ने एरिनाजस्ता सोच भएका समाजका नारी पात्रको चरित्रलाई पनि यस कथामा अटाइएको पाइन्छ । जे होस्, यहाँ जो कोही पात्र कुनै न कुनै परिस्थिति र बाध्यतासँग बाँधिएका छन् । त्यसैले कहानी र घटनाका हिसाबले पाठकले आफ्नो समाजलाई नै कथासंग्रहभित्र छुन पाउँछन् । 

‘बिचरी बाख्री † आफ्नो चाहना पूरा गर्न कति दु:खसँग घिस्रेर बोको भाको ठाउँमा पुगी । कति साहसी †’

फक्रिँदै गरेको मस्त जवानीले यौन खोजिरहेको एउटी विधवा युवती आफू मानव भएर पनि समाजको बार नाघ्न नसकेको तर पशु, त्यसमा पनि घाइते बाख्रीले यौन चाहना मेटाउन बोकोसम्म पुगेको यस भावले एकपल्ट चसस्क मनमा घोच्छ । पलपल सोच्न बाध्य बनाउँछ । र, बोध गराउँछ– नारी हुनुको अभिशाप । तर, यसो भन्दैमा नमस्ते काठमान्डु नारीवादी कथा हो भन्न पनि सकिँदैन । त्यसो त नारीका उग्र रूप पनि यस कथामा नभएका होइन ।

‘पुरुष हाकिमका लागि हामी महिला पीए भनेको प्रेमिकाजस्तै हुनुपर्छ, प्रेम गरिरहने । सेविका जस्तै हुनुपर्छ, सेवा गरिरहने । श्रीमतीजस्तै हुनुपर्छ, साथ दिइरहने ।’ यसरी नाम, दाम र आरामका लागि आफ्नो नारीत्वलाई हतियार बनाउने नारी पात्रहरू पनि यसै कथामा चित्रित भएका छन् । यसरी मानवीय यौन प्रवृत्तिको विरोधमा दरिलो प्रहार होजस्तो लाग्छ, नमस्ते काठमान्डु । हुन पनि संग्रहमा भनेजस्तै यौन विद्रोहमा कथा र यसका पात्रहरू केन्द्रित देखिन्छन् । 

यति हुँदाहँुदै पनि यस संग्रहभित्रका केही त्रुटिलाई नजरअन्दाज गर्न सकिन्छ र केहीलाई मिल्दैन पनि । संग्रहका पात्रहरूको यौनको सुरुआत, आसन र क्रियाकलाप उस्तै लाग्छ । भन्नुको मतलब एउटै पात्रको तरिकाको प्रयोग भएको हो कि भन्ने अनुभूति गराउनु एउटा पक्ष हो । 

यौनका कथाले मानव मनमा दुईवटा भाव उत्पन्न गराउँछ, तृष्णा र वितृष्णा । कि कागती सम्झने बित्तिकै मुखमा सरर पानी आएजस्तै यौनका कथा पढ्दा तृष्णा जगाउँछ कि वितृष्णा जगाइदिन्छ । तर, नमस्ते काठमान्डुका कथा यी दुवै भावबाट अलि चुकेको महसुस भने हुन्छ नै । कथाको अर्काे कमजोर पक्ष हो यो । कुनै कथा पढ्दा पत्रिकामा कुनै अपराधका समाचार पढेजस्तो अनुभूति पनि हुन्छ । अनि, कुनै कथाको बैठान कमजोर छ । कुनै फिस्स गएको र कुनै छिटो भएजस्तो पनि महसुस हुन्छ ।

नमस्ते काठमान्डु 

लेखक : डब्बु क्षत्री

प्रकाशक : शिखा बुक्स

पृष्ठ : २४०

मूल्य : ३५० रुपियाँँ

प्रकाशित: कार्तिक १६, २०७४