उपत्यकाको ट्राफिक व्यवस्थापनमा सबैभन्दा जटिल पक्ष के रहेछ ?

  • सडकको दुरावस्था छ । यस्तो अवस्थामा ट्राफिकले मात्रै केही गर्न सक्दैन ।

- मनबहादुर बस्नेत

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा सडक पूर्वाधार विकासमा संलग्न हुने सरकारी निकायहरुमा धाएरै भए पनि यहाँको सडक चुस्त बनाउने अभियानमा लागेको छ । भत्किएका सडक मर्मतदेखि, स्तरोन्नति भइरहेको चक्रपथ चाँडो सकाउन महाशाखाले ताकेता गरिरहेको छ । १ कात्तिकदेखि राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सवारी साधन निषेध गरी ‘वाकिङ स्ट्रिट’ कायम गर्‍यो । यही विषयमा महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनालसँगको संवाद ।

ठमेललाई किन सवारी साधन निषेधित क्षेत्र बनाउनुपरेको ?

यसका तीनवटा पक्ष छन् । पहिलो, सुरक्षाका हिसाबले । यहाँ दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यकीय साधन नै पुग्न सक्दैन थिए । त्यसले गर्दा आगलागी, दुर्घटना वा बिरामी पर्दा समस्या थियो । दोस्रो, फुटपाथबिनाका सडक भएकाले पर्यटक बाटोमा हिँडिराख्दा दुर्घटना हुने डर थियो । पर्यटकीय क्षेत्रमा यो त अति भयो । तेस्रो, यो ठाउँलाई संरक्षण गर्नु आवश्यक महसुस भयो । 

दमकल, एम्बुलेन्सजस्ता साधन पुग्न नसक्ने ठाउँ त राजधानीमा कति छन् कति ?

हो, हामी यस्ता अन्य ठाउँमा समेत कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर महानगरपालिकासँग मिलेर अध्ययन गरिरहेका छौँ । 

अब राजधानीका सबै ठाउँमा यस्ता अत्यावश्यकीय साधन पुग्न सक्ने बनाउन सकिन्छ त ?

के गर्न सकिन्छ, हामीले सबैसँग छलफल गरिरहेका छौँ । सबैतिर त सम्भव नहोला । तर, हामीले वसन्तपुर, यट्खा, इन्द्रचोकजस्ता क्षेत्रमा अत्यावश्यकीय साधन गुड्न सक्ने बनाउन खोजिरहेका छौँ । 

ट्राफिकले सवारी साधन गुड्न बन्द गर्ने अनि पार्किङको विकल्पचाहिँ नहुने समस्या छ । यसले दीर्घकालीन समाधान देला ?

हो, काठमाडौँमा पार्किङको ठूलो समस्या छ । पार्किङ ‘स्पट’हरू विकास गर्नु जरुरी छ । 

अनि, विकल्प नभई योजना कसरी सफल होला ?

ठमेलका लागि त हामीले त्यस्ता ठाउँहरू पहिचान गरिसकेका छौँ । खुसीबु टाउन प्लानिङको उत्तरतिर, लैनचौर, विष्णुमतीको किनारामा त्यस्ता ठाउँहरू विकास गर्ने तय भएको छ । 

ती क्षेत्रमा पार्किङस्थल बनाउन त समय लाग्छ नै । त्यतिन्जेलचाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?

तत्कालका लागि जुद्धोदय विद्यालयछेउमा व्यवस्था मिलाएका छौँ । अन्यत्र पनि विकल्पहरू महानगरपालिकाले हेरिरहेको छ । 

ठमेलमै बस्नेहरूले पनि आफ्नो सवारी साधन घरमा लिएर जान नपाउने हो ?

उनीहरूका लागि पासको व्यवस्था गरेका छौँ । आफ्नो पार्किङ छ भने लैजान पाउनुहुन्छ । घर छ भन्दैमा बाटोमा पार्किङ गर्नचाहिँ पाइँदैन । साथै, बिहान ८ देखि १० बजेसम्म आफूलाई चाहिने सामान लगिसक्नुपर्नेछ त्यहाँ । 

उपत्यकाको ट्राफिक व्यवस्थापनमा सबैभन्दा जटिल पक्ष के रहेछ ?

साघुँरा सडक र धेरै गाडी । गाडीको संख्या गुणात्मक हिसाबले बढिरहेको छ । तर, सडक विस्तार भएको छैन । त्यसमाथि सडकको दुरावस्था छ । यस्तो अवस्थामा ट्राफिकले मात्रै केही गर्न सक्दैन । 

यति जटिल परिस्थिति रहेछ । तर, तपाईंले त ट्राफिक व्यवस्थापनमा सर्वसाधारणले ‘फिल’ हुने गरी सुधार गर्छु भन्नुभएको थियो ?

सुधार भइरहेको छ । सडकका खाल्डाखुल्डी पुर्न एवं सडक विस्तार गर्न महाशाखाले विभिन्न निकायहरूसँग मिलेर काम गरिरहेको छ । 

ट्राफिकको काम सडक पुर्ने, बनाउन जाने हो र ?

सडकमा सवारी साधन भद्रगोल हुनुको एउटा कारण सडकको दुरावस्था हो । सडक खराब हुँदा हाम्रो ‘पर्फर्मेन्स’ कमजोर हुन्छ । घन्टौँ जाममा पर्दा ट्राफिकले केही गरेन भनेर सबैले भन्छन् । त्यसैले सडकसँग जोडिएका निकायहरूसँग मिलेर सुधार गर्न सकिन्छ कि भनेर उपाय खोजेको हो । फेरि महाशाखाले मात्रै गरेको होइन । सबैको सहकार्यमा काम हुँदैछ । 

सर्वसाधारणले राजधानीको ट्राफिक साँच्चै सहज भएको महसुस गर्न पाउलान् ?

यो, ट्राफिकले मात्रै भन्ने कुरा होइन । हामीले ‘म्यानुअल’ जनशक्तिको अधिकतम प्रयोग गरेर काम गरिरहेका छौँ । उपत्यकाको सडक सहज बनाउन राज्यको उपल्लो तहबाटै नयाँ नीति निर्माण आवश्यक देखिन्छ । 

ट्राफिक नियमको कार्यान्वयन अलि खुकुलो पारिएको हो, पहिलेको तुलनामा ?

बिलकुल त्यस्तो छैन । बरू, हामीले झनै कडाइ गरेका छौँ । 

पैदल यात्री जताततैबाट बाटो काटिरहेका हुन्छन्, हर्न पनि बाक्लै बजेको सुनिन्छ, लेन नियममा समेत त्यस्तो कडाइ छैन नि ?

पैदल यात्रीका लागि पर्याप्त जेब्रा क्रसिङहरू नभएर त्यस्तो देखिएको हो । हर्न कहिलेकाहीँ बजाउनैपर्ने अवस्था आउन सक्छ । यसलाई हामीले अलि ‘र्‍यास्नल’ भएर हेर्नुपर्छ । लेन अनुशासन पालनामा त हामीले सकेसम्म कडाइ गरेका छौँ ।  

 

प्रकाशित: कार्तिक १६, २०७४