लाहुरे लहर

  • नेपाली युवाको आकर्षण भारतीय सेनामा पनि

- जनक नेपाल

नेपालगन्ज ।। दुई वर्षअघिको भारतीय नाकाबन्दीविरुद्ध निस्किने हरेक जुलुसमा व्यापक भारतविरोधी नारा लागे । माओवादी   ‘जनयुद्ध’ होस् वा विद्यार्थी आन्दोलन, युवाहरू सबैभन्दा अघि बढेर भारतविरोधी नारा लगाउँछन् । विरोधको भीडमा देखिने अनुहार अधिकांश पहाडी समुदायको देखिन्छ । तर, त्यसभन्दा ठूलो भीड गत २१ देखि ३० असोजसम्म भारतीय सैनिकले नेपालगन्जमा खोलेको गोर्खा भर्तीमा देखियो । 

 

हजारौँ युवा भर्तीका लागि लामबद्ध थिए । युवाहरूको त्यो आकर्षण बुझेरै छनोटका लागि महेन्द्र रंगशाला रोजिएको थियो । “भारतीय सेनामा नेपाली युवाको असाध्यै आकर्षण छ,” गोर्खा भर्ती कार्यालय गोरखपुरका बिग्रिडियर पीजी राई भन्छन्, “छनोटका लागि कुनै समस्या छैन । छनोटमा सहभागी हजाराैँ युवाबाट ३ सय ६१ जना छनोट गरेर गोरखपुर लगिएको छ । छनोटका बाँकी चरण पार गरेपछि उनीहरू भर्ती हुनेछन् ।”

 

गोर्खा भर्तीप्रति युवाहरूको आकर्षण यति धेरै छ कि एकपटक असफल भए पनि उनीहरू हार खाँदैनन् । जाजरकोट, पजारुका भागीराम पुन, २०, चौथोपल्ट भर्तीका लागि आएको बताउँछन् । “यसपटक दौड र शारीरिक तन्दुरुस्तीमा सफल भएको छु,” उनी भन्छन्, “भाग्यले साथ दिए भर्ती भइन्छ । नत्र फालिन्छ ।” उनी दुईपटक दौडमा फालिए । पहिलोपल्ट आउँदा उनी बिरामी थिए । त्यसैले प्रारम्भिक मेडिकल जाँचबाटै बाहिरिए । तैपनि, उनको मनले मानेन । त्यसैले भर्तीका लागि उमेर हद सकिन ६ महिना बाँकी रहँदा उनी अन्तिम पटक कोसिस गर्दैछन् । 

 

बर्दिया, बारबर्दिया–६ का भीमबहादुर भण्डारी, २०, दोस्रोपटकमा अघि बढेका छन् । “भारतीय सेना हुने लक्ष्य लिएर आएको छु,” सुनाउँछन्, “गतवर्ष दौडमा फालिएँ । यस वर्ष छानिने आशा छ ।” प्रमाणपत्र तह अध्ययन गर्दै गरेका भण्डारीले नेपाली सुरक्षा निकायका भर्तीमा भने अहिलेसम्म आवेदन दिएका छैनन् । 

 

भर्ती कार्यालयले शारीरिक तन्दुरुस्ती, दौड र लिखित परीक्षा नेपालगन्जमा लिन्छ । उत्तीर्णहरूलाई स्वास्थ्य जाँचका लागि गोरखपुर लैजाने गरेको छ । ब्रिगिडियर राई गोर्खा सैनिकका सातवटा रेजिमेन्टका लागि हरेक वर्ष नयाँ भर्ती खुल्ने गरेको बताउँछन् । प्रदेश ६ र ७ का पहाडी भेगहरू भेरी, कर्णाली, सेती र महाकालीका युवाहरूको छनोट नेपालगन्जमा हुँदै आएको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा १८ साउन ०७१ मा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै ‘नेपालीले रगत नबगाई हिन्दुस्तानले कुनै लडाइँ नजितेको’ बताउँदै गोर्खा सैनिकको उच्च प्रशंसा गरेका थिए । ‘भारतको स्वाभिमान र रक्षाका लागि जिउने र मर्ने बहादुर सिपाहीप्रति म नमन गर्दछु’ उनले भनेका थिए, ‘नेपाल वीरहरूको भूमि हो ।’ मोदीले भारतीय सेनाका फिल्ड मार्सलको भनाइ उद्धृत गर्दै थपेका थिए, ‘कोही सेनाको जवानले मर्नदेखि डर लाग्दैन भन्छ भने या त ऊ झूट बोलिरहेको छ वा ऊ गोर्खा हो ।’

छिमेकीको स्वाभिमानको चिन्ताले मात्र नेपाली युवालाई भारतीय सेनामा पुर्‍याएको होइन । गरिबी, बेरोजगारीले थिचिएका युवाहरू ‘राम्रो तलब र सुविधासहितको आकर्षक रोजगारी’ले उनीहरूलाई तानेको हो । सन् १९७१ देखि झन्डै ३२ वर्ष भारतीय सेनामा काम गरेका कृष्णबहादुर थापा, ६४, गरिबी र बेरोजगारीकै कारण एउटा देशको नागरिकले अर्को देशको स्वाभिमानका लागि रगत बगाउनुपरेको बताउँछन् ।

 

“स्वरोजगारी सुनिश्चित हुनासाथ गोर्खा भर्ती आफैँ घट्छ,” नेपाल भूतपूर्व सैनिक विकास समितिका अध्यक्षसमेत रहेका उनी भन्छन्, “देश अघि बढेन । रोजगारी र सुव्यवस्था छैन । त्यसैले अरब जानुभन्दा ब्रिटिस र भारतीय सेनामा भर्ती हुनु ठूलो आकर्षण भइरहेको छ ।” कुनै बेला स्वीट्जरल्यान्डका युवाहरू पनि अमेरिकी र ब्रिटिस सेनामा नेपालीझैँ भर्ती हुन्थे । तर, स्वीट्जरल्यान्डले समृद्धिको बाटो समात्नेबित्तिकै स्वदेशमै रोजगारी सिर्जना भई विदेशी सेनामा भर्ती रोकिएको थापा बताउँछन् । 

 

भारतले बर्सेनि भर्ती संख्या घटाइरहेको छ । कुनै बेला भारतीय सेनामा डेढ लाख गोर्खाली कार्यरत थिए । तर, अहिले घटेर ३६ पल्टनमा ४० हजारको हाराहारीमा मात्र गोर्खा सैनिक कार्यरत रहेको थापा बताउँछन् । “बर्सेनि पन्ध्र सय पनि नयाँ भर्ती लिइरहेको छैन,” अध्यक्ष थापा भन्छन्, “भारतीय दूतावास र दिल्ली पुगेरै हामीले नघटाउन भनेका छौँ ।”

 

भारतीय सैनिक जवानको प्रारम्भिक तलब स्केल ४० हजार भारतीय रुपियाँ छ । पेन्सन पनि सैनिक सेवा अवधि र पद अनुसार आकर्षक छ । जुनियर अफिसरमा सेवा निवृत्त पूर्वगोर्खाको पेन्सन मात्र मासिक ८० हजार रुपियाँ हुने गरेको छ । “भर्ती भएपछि सामाजिक सुरक्षा हुन्छ । छोराछोरी पढाउन सैन्य स्कुल हुन्छ । रिटायर्ड भएपछि पनि स्वास्थ्य बिमाको व्यवस्था छ,” मानार्थ क्याप्टेनका रूपमा सेवानिवृत्त पूर्वगोर्खा धनबहादुर चन्द भन्छन्, “यही आकर्षणले नेपाल सरकारले गोर्खा भर्ती बन्द गर्न नसकेको हो ।”

 

‘जनयुद्ध’ सुरु गर्नुअघि विसं ०५२ मा संयुक्त जनमोर्चाका संयोजक बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे ज्ञापनपत्रको चौथो बुँदामा गोर्खा भर्ती बन्द गर्नुपर्ने माग राखिएको थियो । त्यसको ठीक १३ वर्षपछि ०६५ मा माओवादीले सरकार बनायो । तर, गोर्खा भर्ती बन्द गराउन सकेन । केही चर्चा मात्र भएको थियो, त्यसभन्दा ठूलो विरोध सुरु भएपछि सरकारले आँट गर्न सकेन । नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द भन्छन्, “विकल्प नदिएर बन्द गर्न खोजियो भने सरकारले थाम्न सक्दैन । पहिले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र रोजगारीको सुनिश्चितता हुनुपर्छ ।”

 

सैन्य वैदेशिक रोजगारीमा जति आम्दानी, सेवा–सुविधा र आकर्षण छ, त्यसभन्दा धेरै जोखिम पनि छ । त्यसमाथि युद्धमा ज्यान गुमाउने नेपालीको छुट्टै कुनै लेखाजोखा छैन । उनीहरूको मृत्युको धेरै चर्चासमेत गरिन्न । कतिसम्म भने भारतीय नागरिक मारिए उच्च सम्मानसहित अन्त्येष्टि गरिन्छ । तर, गोर्खा सैनिकको शव स्वदेश ल्याउनसमेत दिइन्न । “त्यस्ता घटनालाई राजनीतीकरण गरेर भारतविरोधी भावना भड्किने भन्दै उतै अन्त्येष्टि गर्ने गरिएको छ,” एक पूर्वगोर्खा सैनिक भन्छन्, “नेपालका नेताहरू समस्या उछाल्ने तर समाधान दिन नसक्ने भएकाले गोर्खा सैनिकको अन्त्येष्टिसमेत मातृभूमिमा हुन पाउँदैन ।” भर्खरै ६ असोजमा दैलेखको दुल्लु नगरपालिका–११, कालभैरव (तोर्या)का राजेश खत्रीको जम्मु–कश्मीरमा गोली लागेर ज्यान गयो । उनको पनि उतै अन्त्येष्टि गरियो । 

 

थापा स्वयं सन् १९९९ मा कारगिल युद्धको मोर्चा सम्हालेका साक्षी हुन् । उनको पल्टनका पाँच गोर्खाले उक्त युद्धमा ज्यान गुमाएको र २३ जनालाई गोली लागेको स्मरण गर्दै भन्छन्, “फर्की आउने कुनै टुंगो हुँदैन । त्यो सम्झेर कमै मात्र लाहुरेले आफ्ना पढालेखा छोराछोरी भर्ती गराएका छन् । नपढेरै काम लागेन भने मात्र खाडी मुलुक पठाउनुभन्दा भर्तीमा पठाएका छन् ।” 

प्रकाशित: कार्तिक १६, २०७४