विक्षिप्त कि विद्रोही ?

- पदमसिंह कार्की

नेपाली साहित्यले दुई मूर्धन्य साहित्यकारको अपूरणीय क्षति बेहोर्नुपर्‍यो । महाकवि देवकोटालाई राँची समयमै पुर्‍याइएकाले उपचार गर्दै अनुभवी डाक्टर बर्कलेहिलले ‘जोग्राफिकल मिस्टेक’को टिप्पणी गरे । तर, देवकोटा आफैँले भने यसलाई मानसिक होइन, आर्थिक रोग ठम्याएका छन् । उनलाई पागल भन्नेहरूलाई ‘पागल’ कविता लेखेर काव्यात्मक विद्रोह पनि गरे । उता क्रान्तिकारी साहित्यकार गोपालप्रसाद रिमाललाई पनि नियतिले राँची नै पुर्‍यायो । उपचारका क्रममा उनलाई खोरुन्डो बनाएर पठाइयो । उनी स्वयंले भने आफूलाई बहुलाएको स्वीकारेनन् । महाकवि औँसीको राती जन्मेका थिए भने गोपालप्रसाद रिमालको निधन औँसीको दिनमा भएको थियो ।

१६ फागुन १९९२ मा गोरखापत्रमा छापिएको ‘कविको गान’ गोपालप्रसाद रिमालको मात्र नभएर नेपाली साहित्यकै पहिलो गद्य कविता बन्न पुग्यो । सुरुमा रोमान्टिक धारामा लेख्ने कवि स्वस्थ गर्भाधानको वकालत गर्दै बुद्ध र लेनिन जन्माउन आह्वान गर्छन् । विसं १९९७ को सहिद काण्डले रिमालको मनमा चोट लाग्यो । किन्तु विद्यार्थीकालदेखि नै बेपत्ता भएर एकान्तमा बस्ने बानीले विद्रोह जन्मायो । फलस्वरूप अमिनीको लप्टन जागिर छोडेर भारततिर लागे । केही महिनाको प्रवासकालपछि सामाजिक, राजनैतिक र साहित्यिक क्षेत्रमा अग्रसर हुन थाले । आफ्नो संगठनलाई जोगाउन र जगाउन धार्मिक आवरण दिएका थिए ।

विजय मल्ल, कृष्णप्रसाद रिमाल, दमनराज तुलाधर र तीर्थराज तुलाधर र त्रिपुवर सिंहजस्ता शिक्षित युवालाई लिएर बिहान पशुपति र साँझ शोभा भगवतीमा यसरी प्रार्थना गर्थे, ‘म गर्छु देश सेवा, बल देऊ मलाई र बखत यही हो बेला नजर उघारी देऊ !’ गौरीशंकर नाट्य समूह खोलेर नाटक खेले र खेलाए । उनले मोहनशमशेरलाई ‘ तपार्इं’ भनेर सम्बोधन गर्दै प्रजातन्त्रको स्थापनाका लागि अनुरोध गरे । तर, अनुरोध निष्फल भयो । उनलाई ००६ सालमा दोस्रोपटक कालिकास्थानको जेलमा एक्लै राखियो । उनकी श्रीमती हरिकुमारी रिमालका भनाइमा जेलमा अनशन तोडाउने बहानामा दहीमा मन्दविष मिसाएर खुवाइयो । त्यसको असरले नै रिमाललाई उद्दण्ड, एकोहोरो र एक्लै मुर्मुर्‍याउने बनायो । जेलबाट छुटेपछि बीपी कोइराला र डिल्लीरमण रेग्मी गुट मिलाउन भारततिर गए तर सहमति हुन सकेन । विदेशी आड लिएर क्रान्ति गर्न हुँदैन भन्ने यिनको मान्यता अनुसार ‘जय हिन्द’को सट्टामा ‘जय नेपाल’ प्रचलनमा ल्याएर विद्रोहको बीउ रोपे । 

१९९५ मा रिमालको क्रान्तिपुरुष ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ प्रकाशमा आयो, जसले नेपाली राजनीतिमा राष्ट्रियताको र नेपाली साहित्यमा गद्य कविताको क्रान्ति ल्याएर विद्रोह गरे ।

 ‘हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो, त्यही हात अञ्जुली परेको छ’ भनेका छन् ।

नेपाल आमालाई आलम्बन बनाएर सिर्जना गरिएको ‘आमाको सपना’ विषयवस्तुका दृष्टिले मात्र नभई भाषाशैलीको कसीमा पनि उत्कृष्ट ठहरिएको छ । राष्ट्रलाई जननीको प्रतीक अनि जनता र क्रान्तिलाई विम्बात्मक बनाएर बडो सहजताका साथ सम्प्रेषण गरिएको छ । 

रिमालले शारदा पत्रिकाको सम्पादन गरे पनि राजनैतिक सम्पादकीय लेखेबापत हटाइए । ००३ मा आमाको सपना लेखे । यसै बेला भाषानुवाद समितिको जागिरे भएर समको टक्करमा मसान नाटक लेखे । ‘जंगी निसान हाम्रो’ यिनको कालजयी राष्ट्रिय गीत हो । ‘रातो र चन्द्र सूर्य झन्डा’को अमरता र अटलतामा आस्था राख्थे भन्ने सन्देश भएको यो गेयात्मक कविताले मरणोपरान्त मात्र सेना–गीतको सम्मान पायो । 

१८ जेठ १९७४ जन्मिएका रिमाल १९९२ मा एसएलसीमा बोर्ड फस्ट भए र त्रिचन्द्र कलेजबाट छात्रवृत्ति पाए । त्यसपछि जुद्धो दय हाई स्कुलको संस्थापक शिक्षक पनि भए । तापनि, बेलाबेलामा बेपत्ता भएर एकान्तमा पुग्थे पछिल्लो समयमा उनी खुकुरी भिर्थे । जेलदेखि चार दशकका साहित्यिक सहयात्री श्यामप्रसादले भने, ‘दाज्यू ! खुकुरी किन भिर्नुभएको ?’ उत्तरमा रिमाल बोले, ‘तँ पैसा खाएर लेख्छस् ।

तँलाई काट्न ।’ चाहे सम्पादक गोपाल दासलाई खुकुरी उज्याउँदा होस् वा प्रम टंकप्रसादको मोटरमा खुकुरी बजार्दा, कसैको हत्या गर्ने सुनियोजित सोच उनको थिएन । बरू, मानसिक आवेग र उग्रताले जन्माएको विद्रोह थियो । रिमालको साहित्यिक मान्यता यस्तो थियो, ‘मेरो साहित्यिक उद्देश्य प्रगतिशीलता नै हो । साहित्यमा भावपक्षको प्रवलता हुनुपर्छ भन्ने मेरो विचार छ । साहित्य राजनीतिभन्दा अलग हुँदैन । तर, यो अराजकतावादी भने हुँदैन ।’ मनपर्ने साहित्यकारमा इब्सन, वर्नाड शा, दस्तोएब्स्की, गोर्की, टाल्स्टाय, रवीन्द्रनाथ, शरदचन्द्र र ह्विटम्यान पर्छन् । रिमालका प्रतिभा र पौरखका दुई पांग्रा साहित्य र राजनीति हुन् । राजनीतिले उनलाई न सलाम ठोक्यो, न त छाक टार्न सक्यो । त्यसैले उनी विक्षिप्त बने ।

त्यसको कारण कवि सिद्घिचरणले यसरी खुट्याएका छन्, ‘रिमालजीले आफूले भनेजस्तो समाज र मित्रहरू पाएको भए, ठानेको जस्तो अन्याय र शोषणरहित वातावरण पाएको भए उनी बहुलाउने थिएनन् । चारैतिरको प्रतिकूल कचकच र कमाएरै ल्याएन भन्ने परिवारको अवहेलनाले बौलाहा हुन बाध्य गरायो ।’ एउटा खुट्टा खोच्याउँदै रिमाल नयाँ सडकका दुई किनारमा रहेका ब्रिटिस र अमेरिकन लाइब्रेरीका पेटी नापिरहन्थे । कहिले सन्केर टाइप गरेका कविता छरिदिन्थे । मैलो दौरा–सुरुवालमाथि खुकुरी भिरेर वकिल व्याग बोक्ने रिमाल सधैँ जोडीको खोजीमा भड्किरहन्थे । यस्तो विक्षिप्त अवस्थामा उनलाई २०१९ मा पाँच हजार रुपियाँको मदन पुरस्कार र १० हजार रुपियाँको त्रिभुवन पुरस्कार प्रदान गरिएको थियो । 

रिमालको आगो ०३० मा निभे पनि भुंग्रो भने तातै छ । 

प्रकाशित: कार्तिक १६, २०७४