[अनुभूति] जब तिमी बूढी हुन्छ्यौ

  • हाम्रो प्रेम घरबाहिर आरम्भ हुन्छ । जब प्रेम घर भित्रिन्छ, मूलद्वारमा गजबार लाग्छ ।

- सरोनर

क्षेत्रप्रताप अधिकारीको एक कवितात्मक कथनजस्तै ‘एउटा पूर्णविरामबाट आरम्भ गर्छु, माटोको माया, जो अपूर्ण छ ।’ बत्तीको पुतली, त्यहाँ पनि प्रेम जीवन्त छ । र, मृत जीवन छ । एक लास जीवनको एकलासे केतुकीका पातहरूमा, बूढासुब्बाका शिर हराएका मुर्कट्टा बाँसहरूमा हररोज एक गुलाबी नवीन प्रेमको आदिम नाम खोपिन्छ । त्यहाँ जीवन होइन, प्रेमको नाम रोपिन्छ । प्रेमको जुत्ताले जीवन कुल्चिइन्छ । २१ ग्राम आत्मा ८४ लाख हराम योनिको आँतमा भड्किरहन्छ । ‘यौवन बनी ढल्कन्छु म, माया बनी आएको हुँ ।’ भीमदर्शन रोक्का प्रेमको क्षेत्रफलको हिसाबमा यौवनमा अड्डी लिइरहन्छ, अल्झिरहन्छ, अड्किरहन्छ । आधा दर्जन महिना पानी नपिएरै बाँच्ने सामथ्र्य राख्ने मरुभूमिको जहाज ऊँट आफ्नो जिब्रोलाई घोच्ने काँडा चबाउन मन पराउँछ, आकर्षण गराउँछ । काँडा चबाउँदा जिब्रोबाट रगत आउँछ र उक्त रगत त्यसको जगत् फगत काँडामा सम्मिश्रण हुन्छ । अनि, जिब्रोमा केही स्वादको आगमन र त्यसको भ्रमिल चिन्तन, ‘अहा ! कति मिठासपूर्ण डाँडा रहेछन् यी काँडाहरू !’ यस्तै हुन्छ माया भनेको । शिवपुरी बाबा भन्छन्, ‘यो होइन, मायाको अर्थ हो । ‘मा’ भनेको ‘होइन’ र ‘या’ भनेको ‘जो’ । त्यसैले मायाको अर्थ हो, ‘यो वस्तु, जो होइन’ । ‘हो अथवा होइन, यो सवाल हो ।’ ह्याम्लेटको द्विविधाजस्तै ? अथवा, कर्ण कम्प्लेक्सजस्तै ? 

तँ पनि आगो, म पनि आगो । दुवैमा जलन/आँचमा तेरो जडता बोल्छ मेरोमा चेतन/तँलाई देख्छन् आँखाले तर मलाई नदेख्ने/यसैले होला तँ निभे पनि म कहिल्यै ननिभ्ने (कविताको आत्मकथा, 

नीरविक्रम प्यासी) । 

प्रथम पुरुषका अनुभवजन्य, जघन्य व्यथाले भरपुर प्रेमिल ‘पिलपिल’ पिल्सिएका कुराहरू सिर्जनाका माध्यमद्वारा श्रुतिमधुर अझ भनौँ, श्रुतिमनोहर भइदिन्छन् । लेखकहरू एवं पाठक महानुभवहरू आत्मपरक, आत्मपीडक हुन्छन् । सिर्जना कुण्ठाको घाँसदाउरा हो, पानीपँधेरो हो । जीवनबाट काँटछाँट गर्छौं र त्यति नै पुस्तकमा भर्छौं । पुस्तकीय अध्ययन हाम्रो दु:खकै निरन्तर बन्धन हो । हामी सिर्जनाबाट ‘कथार्सिस’को आशिष अपेक्षा राख्छौँ । पुस्तक सांसारिक कला हो । बुद्ध भन्छन्, संसारमा दु:ख छ । एक साटो अर्को भनिदिऔँ, संसारमा बुद्ध छ । खुसी हुने नाममा हामी वेदनाको पछाडि भाग्छौँ, त्यहीँ बाँच्छौँ । सिर्जनाबाट पनि हामी त्यही माग राख्छौँ । हामी केवल सचेत रहन्छौँ । वेदनाभन्दा अगाडि जानबाट भने अचेत रहन्छौँ । अझ भनौँ, वञ्चित रहन्छौँ । हाम्रो जिन्दगी सुखको चयन र दु:खको सञ्चयन हो । छन्, वेदनाका समरगाथा र अमर प्रेमकथा । हाम्रो जिन्दगी एक आकांक्षा, जिन्दगीरहित क्षितिजको प्रेमगीत । हाम्रो प्रेम घरबाहिर आरम्भ हुन्छ । जब प्रेम घर भित्रिन्छ, मूलद्वारमा गजबार लाग्छ । हामी प्यारलाई अत्याचार गर्छौं । प्यारलाई बलात्कारको संस्कार–सत्कार भन्ठान्छौँ र बलात्कारलाई प्यार गर्छौं । परिणामस्वरूप, सुयोगवीरको हृदयको चिहानघारीमा फुलिदिन्छ, शिरीषको फूल । हामीलाई उसको चिहान–ढुंगामाथि एक तारिफ : एपिताफ राखिछोड्न मन लाग्छ– रमेश विकलको भञ्ज्याङको चौतारोजस्तै, मैले ज–जसलाई बलात्कार गरेँ/तिनलाई प्यार गर्न सकिनँ/र, मैले जसलाई प्यार गरेँ/उसलाई बलात्कार गर्न सकिनँ ।

डब्ल्यूबी यिट्सको एक भनाइ छ, ‘जीवन एक लामो तयारी हो, केहीका लागि, जुन कहिल्यै घटित हुँदैन ।’ आफ्नो जीवनको प्रेमप्रति सम्बोधन गरिएको यिट्सको कविता छ, ‘जब तिमी बूढी हुन्छ्यौ ।’ यिट्सको जीवनको प्रेम थिइन्, मौड गन । सम्भवत: आजसम्मकै आइरिस सदाबहार सुन्दरी । वर्ष २३ । जनवरी ३० तारिख सन् १८८९, जुन यौवनको वर्ष गनको यिट्ससँग प्रथमपटक देखाभेट भो ।

गनसित यिट्सको ‘प्रथम दृष्टिको अति प्रेमवृष्टि’ भई त गयो । गन आफ्नो अति राष्ट्रवादी राजनैतिक छवि र अद्भुत सौन्दर्यको खातिर सुप्रसिद्ध थिइन् । माकुरीको जालोजस्तो तर त्यही जालोको प्रत्येक रेखारेखामा, रेसारेसामा जोवन रहेछ, कुनै भुइँचालोजस्तो । यिट्सभित्र गनका निम्ति जोवनभन्दा पनि अलिकमास्तिर जीवनप्रेमको भुइँचालो गइगयो । यिट्सले विविध परिस्थितिको दाउ छोपेर कैयौँ पटक गनसित प्रेमको खातिर गनगन गरे, प्रेमको प्रस्ताव प्रहार गरे । तर, गनले उनको प्रस्ताव सदा अस्वीकृत गरिरहिन् । एक कारण, मौड ‘छुपेरुस्तम’ निस्किदिइन् । उनीभन्दा धेरै बूढो र विवाहित फ्रेन्च पत्रकार एवं राजनीतिज्ञ लुसिएन मिल्लेभोयेसँग गनको गोप्य सम्बन्ध थियो । मौड र यिट्सको भेटघाटको तीन महिनापछि उनी मिल्लेभोयेको बच्चाकी आमा भइन् । उनले आत्मस्वीकार नगर्दासम्म यिट्सले यो सम्बन्धका बारेमा चालचुल पाएनन् । सन् १८९१ मा गनको बच्चाको मृत्युमा उनीहरूले भेटे । यिट्सले मौडको थकान र भेद्यको पत्ता प्राप्त गरे । र, गनको यही व्यक्तित्वभित्रको एक और फरक पाटो अवलोकन गरेपछि गनप्रति अझ अधिकतम तवरले यिट्स मोहित भए । मौडले आफूले देखेको स्वप्न यिट्सलाई सुनाइन् । जुन अनुसार यिट्स र गन दाजुबहिनी हुनुपर्छ, जो अरेबियामा बेचिएका छन् । यिट्स यो सुनेर प्रसन्न पनि भए किनभने यो कुरामा उनीहरूबीच आदिम ‘आत्मिक संगठन’ छ भन्ने आशय सयमा सय न कुनै डर न कुनै भय थियो । 

मृत्यु– जीवनकी बहिनी/मलाई लाग्दछे अतिप्रिय/तर/जसको संसर्गबाट/जन्माउन सक्दिनँ/म कुनै भविष्य ।

जब यिट्सले मौडबिना खुसी हुन नसक्ने जाहेरी दिए । गनले प्रत्युत्तरमा भनिन्, ‘अँ † अवश्य, तिमी हुन्छौ किनभने तिमी सुन्दर कविता सिर्जना गर्छौ, जसको माध्यमद्वारा तिमी आफ्नो असन्तुष्टिलाई आमन्त्रण गर्छौ र तिमी त्यसैमा सन्तुष्ट छौ । विवाह पनि त्यस्तै नीरस घटना हुनेछ । कविहरूले कहिल्यै विवाह गर्नुहुँदैन । दुनियाँले मलाई तिमीलाई विवाह नगरेको हुनाले धन्यवाद टक्र्याउनुपर्छ । सन् १९०३ मा गनले अर्कै व्यक्तिसँग समान बन्धनको नीरस वैवाहिक सम्बन्ध गाँस्न पुगिन् । मौड र यिट्सबीच जीवनभर साथीको सम्बन्ध भने कायम भइरह्यो । यिट्सको पूरा नाम लिएर मौडले कहिल्यै सम्बोधन गरिनन् । गनले यिट्सलाई ‘ विली’ पुकारिन् । आफ्नो आत्मकथा साम्राज्ञीको सेवक (द सर्भेन्ट अफ द क्वीन)मा समेत । 

‘जब तिमी बूढी हुन्छ्यौ’ कवितामा नवयौवनाप्रति प्रत्यक्ष सम्बोधन छ । नवयौवना मौड गन । कवितामा गत परिस्थितिको घोषणा छ, जुनले आगतको पनि भविष्यवाणी गर्छ । अतीतदंशले भविष्यमा ठुङ्छ, कविताको मीमांशा । जब गन बूढी र फुस्री र निद्राग्रस्त हुनेछिन्, आगोको समीपै झुल्नेछिन्, अल्प नमन गरिरहेकी हुनेछिन्, आदेश जारी गरिरहेकी हुनेछिन्, यो कविता र पुस्तक ग्रहण गर्नेछिन् । र, बिस्तारै पढ्नेछिन् । गनले स्मरण गर्नेछिन्, उनको यौवन, उनको ‘सुखमय पारी सब संसार’ (सांसारिक दिनहरू, जुन दिनहरूमा उनी धेरै जवानहरूको प्रेम–स्वप्नपरी सिर्जना भइदिइन् । उनले स्मरण गर्नेछिन् भविष्यको गर्भमा, उनको सौन्दर्य र कौमार्य पुरिइसकेको छ, विगतको गर्तमा ।

उनको सौन्दर्यको सुनाखरी यौवनलाई दृश्यपान गरेर ‘पानपात’ खडा गर्ने, उनलाई चाहने, उनका निम्ति मर्ने सबै प्रेम पातालमा जानेछन्, न कि अनन्तमा । तर, एक ‘अपवाद’ मानुष त्यतिबेला पनि सबैभन्दा माथि उठेर उनलाई प्रेम गरिरहेको हुनेछ । किनभने, यिट्सको प्रेम गनको देहभन्दा गन र उनको देहावसानभन्दा पनि पर जीवन्त छ । यिट्सको गनप्रतिको प्रेम सदाबहार तीर्थस्थलजस्तै दर्शनीय छ, जहाँ ओइली जाने ‘पुष्पक विमान’ यौवनको वर्चस्व अवश्यम्भावी खारेजी हुन्छ । गनले स्मरण गर्नेछिन्, बडो अपसोचका साथ । उनलाई यो ‘अनन्त’ मानुषको प्रस्तावचाहिँ अस्वीकार्य भयो । यो स्मृतिले भविष्यको उनलाई वेदनाग्रस्त तुल्याउनेछ । यिट्सको आत्मा पनि भड्किरहनेछ, गनको अस्वीकृतिको कारण उनले कदापि शान्ति प्राप्त गर्नेछैनन्, किनकि अब त उनको आत्मा गनमै छ । एकदिन यिट्स मर्नेछन्, ताराकण बन्नेछन् र गनले उनलाई सधैँभरिलाई गुमाउनेछिन् र उनी पछुतोबाट अछुतो रहने छैनन् । 

आफ्ना पति जोन म्याकब्राइडसँग गन अलग भएपश्चात् यिट्सले उनलाई अन्तिमपटक विवाह प्रस्ताव राखे । ओ कहानी फिर सही । त्यसपछि चरम निराशा र द्विविधाका माझ गनकी २२ वर्षीय सुपुत्री इसिउल्टलाई विवाह प्रस्ताव राख्न पुगे । इसिउल्टले यिट्सको प्रस्ताव सोचविचार गरिन् । तर, उनले पनि आफ्नी आमाकै पदधारण–पथधारण गरिन् । यिट्सले सन् १९१७ मा आफूभन्दा २५ वर्ष कान्छी जर्जिनासँग विवाह गरे । उनको दिल और दिमागको मछली भने मौड गनकै बल्छीमा अल्झिगएको थियो । यति सब हुनुका बाबजुद पनि उनीहरूको वैवाहिक जीवन दुई बच्चा एन्ने र माइकलसहित सुखी हुन पुग्यो । सन् १९२१ मा यिट्सले साहित्यका निम्ति नोबेल पुरस्कार प्राप्त गरे । सन् १९३९ को जनवरीमा यिट्सको देहान्त भयो । यिट्सले आफ्नो उक्त कवितामा भनेजस्तै उनी ताराकण भए । उनी मरेपछि कुनै साल आफ्नो जन्मदिन पारेर मौड गनले आफ्नो वरिपरि आगो बाल्न लगाइन् र बीचमा कुर्सीमा बसेर त्यही कविता पढिन् । 

म गतमा फर्कन चाहन्छु । गत विगतकै गर्तबाट चियाउँछ, संगतबाट पलाउँछ । अहिले मेरो सामुन्ने एउटा तस्बिर छ । जुन तस्बिरमा छन्– दुई कैदी, अमर न्यौपानेको सेतो धरतीकी तारा आमा र चितवनका कवि शरद ऋतुकी दिदी । तारा आमा बालविधवा भइन् नौ वर्षकै उमेरमा । शरद ऋतुकी दिदी नवविवाहिता हुन् । बूढी तारा आमा देवघाटको गलेश्वर आश्रमनजिकै छिन्, शरणमा । उनका आफन्त छन् तर बालबच्चा छैनन् । देवघाटको कालीगण्डकी र त्रिशूली दोभानजस्तै एउटी बालविधवा बूढीआमा र यौवना शरद ऋतुकी दिदीको सम्मिलन प्राप्त गर्छु, म उक्त तस्बिरमा । ‘ताराकण’ यिट्स र देवघाट ‘शरणार्थी’ तारा आमाबीच एउटा रेखा खिचिन्छ माकुराको जालोजस्तो । मेरो मानसपटलमा । ताराकण, जसकी प्रेमिका मौड गन घाटमा छुटिन् । तारा आमा, जसले आफ्नो मनको प्रेमी ‘बालसखा’लाई घाटमा भेटिन् । देवघाट पुगेर फर्केको रात मेरो मस्तिष्क एउटा विचारले गर्भवती भयो, ‘क्रान्ति कहिल्यै मुर्दा र प्रेम कहिल्यै विधवा हुँदैन ।’ 

प्रिय आत्मा ! जब तिमी बूढी हुनेछ्यौ, तब पढ्नेछौ, ‘सृष्टि’ कविता । 

मेरो आगमन/भूक्षय भइरहेको वक्षस्थल/आमाको/भुइँचालो गइरहेको/आमाशय आमाको/अनि असहनीय/त्यो पल सृष्टिको/प्रसवकाल/त्यो पल सृष्टिको/प्रसव वेदना/जहाँ कालमोचन/खुसीको इरेजर/मेरो प्रथम क्रन्दन/धरतीको आगमन/एक रोदन/बिहानीको प्रथम/एक थोपा शीतविन्दु/सयपत्रीमाथि/तिम्रो प्रथम एक मुस्कान/जहाँ अनगिन्ती खुसीका/ढकमक्क फुले गोदावरी/मलाई बधाई छ/मेरो आगमन आमा हुनेगरी भएन/र, मैले/आमा हुँदाको प्रसव वेदना सहनुपरेन । सृष्टि : दुर्गा खड्का । 

 

प्रकाशित: कार्तिक १५, २०७४