सर्वोच्च न्यायालयका पात्र र प्रवृत्ति

  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको इजलास अनुभव

- सुशीला कार्की

प्रत्येक मानिसले जीवनमा केही न केही तीता–मीठा अनुभव पाएकै हुन्छ । लक्ष्य प्राप्तिका निम्ति हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने हुँदा त्यस्ता अनुभव प्राप्त गर्नु स्वाभाविक पनि हो । दु:खका दिन पनि सुखका दिनझैँ स्मरणीय नै हुन्छन् । तथापि, दु:खका दिनलाई मानिस बिर्सन चाहन्छन् । बिनासंघर्ष र बिनापरिश्रम लक्ष्य हासिल नहुने हँुदा दु:ख र कष्ट जीवनको एउटा अपरिहार्य पाटो हो । त्यस्ता क्षणलाई पनि आत्मसात् गर्न सक्नुपर्छ । यही सन्दर्भमा न्यायपालिकाभित्र ८ वर्ष ४ महिना १५ दिन काम गर्दा त्यस्ता अनेक भावुक अनुभूतिका क्षण प्रत्यक्ष भोगेँ मैले । त्यसैमध्येको एक थियो, प्रधानन्यायाधीशहरूको बिदाइ । 

मीनबहादुर रायमाझी : केही प्रधानन्यायाधीशहरूको बिदाइ मेरा निम्ति कठिन घडी बन्न पुगेको थियो । ९ माघ ०६५ मा सर्वोच्च अदालतमा बहाल हुन जाँदा शपथग्रहण समारोहमा पूर्वप्रधानन्यायाधीश (तत्कालीन न्यायाधीश) मीनबहादुर रायमाझीले कुनै एक न्यायाधीशसँग कुन नवनियुक्त न्यायाधीशले कति समयसम्म प्रधानन्यायाधीश बन्न पाउने हो भनेर छलफल गर्ने क्रममा मेरो हकमा समेत प्रधानन्यायाधीश पदको कार्यकालको हिसाब गर्दै गरेको सुनेँ । जबकि, मलाई आफ्नो कार्यकाल ज्ञात थियो तर प्रधानन्यायाधीश पनि हुन पाउँछु भन्नेबारेमा अनभिज्ञ थिएँ । 

रायमाझीजी २५ वैशाख ०६६ मा प्रधानन्यायाधीश हुँदा सर्वोच्च अदालतमा हामी करिब २१ जना न्यायाधीश थियौँ । दिउँसो चियापछिको समयमा हामीलाई उहाँको च्याम्बरमा भेला हुन कुनै एक दिन बिराउने इच्छा हुँदैनथ्यो । त्यसको कारण यो थियो कि म कानुन व्यवसायी पृष्ठभूमिबाट आएको न्यायाधीश हुनु । यो क्षेत्रमा मेरा बाबु–बाजे, दाजु–भाइ वा आफन्त कहिल्यै कोही थिएनन् । तसर्थ, न्यायपालिकाभित्र कसरी काम गर्नुपर्छ भन्नेबारेमा मलाई जानकारी थिएन । यस मानेमा रायमाझीजीले मजस्तालाई निकै गुन लगाउनुभएको छ । दिउँसो चियापछिका प्रत्येक भेटघाटमा उहाँ शिक्षाप्रद निर्देशनहरू दिनुहुन्थ्यो । च्याम्बरमा भेटघाट गर्दा उहाँले पत्रपत्रिका नपढ्ने बरू मुद्दामा आइपरेका जटिलता, कानुनी वा न्यायिक सिद्धान्तहरूका बारेमा न्यायाधीशहरूबीच छलफल गर्ने वातावरण मिलाउनुभएको थियो । 

मुद्दाको मेलमिलाप, समयसारणी, छिटो–छरितो फैसला र मुद्दासम्बन्धी व्यवस्थापनको पद्धति उहाँकै प्रयासबाट न्यायपालिकामा कायम भएको हो । पुराना मुद्दाहरूको लगत फस्र्योट गरी छिटोभन्दा छिटो न्याय नि:सृत गर्ने प्रयास उहाँको पालामा भएकै कारण प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको कार्यकालसम्ममा आइपुग्दा सर्वोच्च अदालतमा मुद्दाको लगत आठ हजारमा घटेको थियो, जो आजसम्म हुन सकेको छैन । तसर्थ, २६ माघ ०६६ मा उहाँको बिदाइका बखत भावुक हुनु स्वाभाविक थियो । किनभने, मलाई एउटा सशक्त अभिभावकको अभाव खट्किएको थियो, 

त्यस दिनदेखि ।

अनुपराज शर्मा : त्यसपछिका प्रधानन्यायाधीश अनुपराज शर्माको कार्यकाल मात्र १ महिना १४ दिन (२८ माघ ०६६ देखि १२ चैत ०६६) को रह्यो । ज्यादै कम समयका कारण उहाँले त्यति क्रियाशील हुने अवसर पाउनुभएन । तर, वकालत पृष्ठभूमिबाट आएको, वाणिज्यसम्बन्धी ज्ञान भएको अत्यन्त सरल, निष्ठावान्, बोली–वचनमा त्यति नै भद्र, न्यायको अक्षरश: पालना गर्ने उहाँका गुणहरू अनुकरणीय थिए । उहाँको पदार्पण कानुन व्यवसायी क्षेत्रबाट भएको हुँदा म दाइ भनेर नै सम्बोधन गर्थें । भ्रष्टाचार मुद्दामा उहाँ र मबीच खुलेर नै चर्चा हुन्थ्यो । केही फैसलाहरू उहाँले प्रधानन्यायाधीश नहँुदै पनि उल्लेखनीय रूपमा गर्नुभएको थियो । उहाँमा धेरै विशेषता थिए, यदि कार्यकाल लामो भइदिएको भए न्यायपालिकाको विकासमा नयाँ आयाम थपिन सक्ने थियो ।

रामप्रसाद श्रेष्ठ : शर्मापछिको पालो रामप्रसाद श्रेष्ठको थियो, जो अत्यन्त सरल, धर्ममा प्रगाढ आस्थावान्, प्रस्ट वक्ता, भ्रष्टाचार–अनियमितताका घोर विरोधी हुनुहुन्थ्यो । र, उहाँले आफ्नो कार्यकालमा ती कुराहरू व्यवहारमा उतार्ने प्रयास पनि गर्नुभएको थियो । विकृतिविहीन न्यायपालिकाको अभियन्ताका रूपमा उहाँले अदालतभित्र समेत अनियमितताविरुद्ध कारबाहीको सुरुआत गर्नुभयो । ‘प्रधानन्यायाधीशको पद दिए देऊ, नदिए नदेऊ तर म प्रधानन्यायाधीशको पदको प्राप्तिका निम्ति कसैसँग कुनै प्रकारको सम्झौता गर्दिनँ, कामु भएरै बरू बस्छु’ सम्म भन्नुभएको थियो उहाँले । कुनै लोभ–लालच नभएको व्यक्तित्व थियो उहाँको । मलाई सदैव पशुपतिनाथको दर्शन गर्न प्रेरित गर्ने र प्रधानन्यायाधीश भएपछि पनि ‘घुस खान्न भनी पशुपतिनाथमा गएर संकल्प गर्नुहोस्, तपाईंलाई पशुपतिनाथ बाबाले हेर्नुहुनेछ’ भन्नुभएकाले मैले पनि उहाँको सुझाव अनुसरण गर्दै पशुपतिनाथ पुगेर ठूलो स्वरमा ‘म अनियमित काम गर्दिनँ’ भनेर अठोट गरेकी थिएँ । 

१ वर्ष १ महिना प्रधानन्यायाधीश रहनुभएका उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । म अस्थायी न्यायाधीश पदमा नियुक्त भएकामा स्थायी गराउन उहाँको प्रयासबाट मात्र सम्भव भएको थियो । किनभने, मलाई स्थायी तत्काल नगराउने एउटा ठूलो जमातको दबाब आफूमाथि रहँदा रहँदै पनि उहाँको प्रयत्नबाटै मैले स्थायी न्यायाधीश हुने अवसर पाएँ । यस सन्दर्भमा भरतराज उप्रेती र प्रकाश वस्ती दुवैले प्रधानन्यायाधीश श्रेष्ठसँग ‘पहिले सुशीला दिदीलाई नै स्थायी गरी दिनुहोस्, हाम्रो बरू पछि भए पनि हुन्छ’ भनी अनुरोध गर्नुभएको थियो ।

खिलराज रेग्मी : २३ वैशाख ०६८ मा प्रधानन्यायाधीश हुनुभएका खिलराज रेग्मीको कार्यकाल २ वर्ष ९ महिना ५ दिन थियो । उहाँ आफ्नो कार्यकाल अधुरै छाडी जसै कार्यपालिका प्रमुख बन्न जानुभयो, न्यायपालिकाभित्र एउटा शून्यता नै कायम भयो । उहाँसँग एउटा लामो कार्यकाल थियो । उहाँजति इमानदार, निष्ठावान् र न्यायक्षेत्रको विज्ञ हुनुहुन्थ्यो, लेखनशैली त्यत्ति नै गम्भीर थियो । उहाँजस्ता अनुशासित भद्र व्यक्तित्वको प्रधानन्यायाधीशबाट धेरै कुरा सिक्ने मौका मिल्यो । धेरै भ्रष्टाचारका मुद्दा छिनोफानोमा मैले उहाँसँग बसेर काम गर्ने अनुभव पाएँ । उहाँको सहयोगबाटै भ्रष्टाचारका मुद्दाहरूमा प्रतिपादित हरेक सिद्दान्त, एक प्रकारले मुखाग्र नै थिए, मलाई । धेरैको भनाइ के पनि छ भने उहाँले नेपालको राजनीतिक इतिहासमा परेको बाधालाई इमानदारीका साथ निर्वाचन गराएर फुकाउन सफल हुनुभयो । तर, न्यायपालिकाभित्र हुनुपर्ने गतिशिलतामा उहाँको अनुपस्थितिबाट क्षति हुन गयो, जसलाई वर्षौंदेखि उहाँको कार्यकालमा हुनुपर्ने परिवर्तन भनेर न्याय क्षेत्रका न्यायप्रेमीहरूले आशा गरेका थिए । 

मलाई अहिले पनि सम्झना छ, उहाँले मलाई प्रधानन्यायाधीशको उम्मेदवारका रूपमा व्यवहार गरी रहनुभएको थियो र त्यसरी नै निर्देशन पनि दिने गर्नुहुन्थ्यो । उहाँसँग कतिपय मुद्दामा छलफल गर्न म प्रधानन्यायाधीशको आवास बालुवाटार नै पुगेकी छु । जसै उहाँ न्यायपालिका छाडेर कार्यपालिका तर्फ जानुभयो, अदालत कुनै संरक्षकविहीन सुनसान हुन पुगेको मैले अनुभूति गरेँ । उहाँको बहिर्गमनले मेरो हकमा भने एक प्रकारको त्रास नै ल्यायो । उहाँले बिदाइ लिनुभएन । किनभने, उहाँको पद न्यायालयमा निरन्तर कायम भए पनि उहाँ कार्यकारिणी प्रमुख हुनुभएको थियो र हामीले उहाँको बिदाइ प्रधानन्यायाधीशका रूपमा कहिल्यै गर्न पाएनौँ ।

कल्याण श्रेष्ठ : प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग मैले धेरैपटक एकै बेन्चमा रहेर काम गरेकी छु । म र उहाँबीचको अन्तर के थियो भने फैसला र आदेश लेखनमा उहाँको मस्तिष्कबाट एकैपटक कलममा गम्भीर र ओजपूर्ण शब्दहरू आउँथे, त्यही कुरा मजस्ताको हकमा भने धेरैपटकको काँटछाँट र केरमेटपछि मात्र सम्भव हुन्थ्यो । उहाँको भाषा नै परिष्कृत, ज्ञान पनि अथाह थियो । फैसला लेख्ने काम पनि कानुन व्यवसायीको बहस सकिएपछि बेन्चमा नै गरिदिनुहुन्थ्यो उहाँ । अनि, बेन्चका सहयोगीहरूले केही नसच्याइ जस्ताको तस्तै टाइप गरेर सही गराउन ल्याउँथे । 

२३ असार ०७२ मा पद बहाली गरेपछि करिब नौ महिनाको कार्यकालमा उहाँले न्यायपालिकाभित्रको सुधार र न्याय सम्पादनमा उल्लेखनीय एवं प्रशंसनीय योगदान गर्नुभएको छ । उहाँबाट लैंगिक समानता र अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासम्बन्धी विषयका धेरै व्याख्यात्मक फैसलाहरू भएका छन्, जुन विदेशमा समेत अध्यापन हुन्छन् । 

उहाँसँग मेरो वकालत गर्दादेखि नै परिचय भएको र सबै कानुन व्यवसायीका बीच उहाँ सहज मात्र होइन, लोकप्रिय न्यायाधीशसमेत हो । उहाँले मलाई आफ्ना पालामा अदालतमा भएका गम्भीर मुद्दाहरूका बारेमा जानकारी गराउनुभयो । एउटा कर्मठ र सक्षम प्रधानन्यायाधीशको न्यायालय सञ्चालनमा कस्तो भूमिका रहन्छ, त्यो पनि मलाई बताउनुभयो । सबैभन्दा वढी त वालुवाटारमै बोलाएर ‘कज लिस्ट’ कसरी तयार गर्ने सिकाउनु भयो, जसले गर्दा मलाई कुनै एक दिन कज लिस्ट तोक्न अप्ठ्यारो परेन । 

उहाँ बिदा हुने बेलामा मैले उहाँलाई सहयोग गर्ने कर्मचारीहरूको टिमले मलाई पनि सहयोग गरोस् भनी अपेक्षा गर्दै प्रस्ताव राखेँ । किनभने, मैले त्यस्तो कुनै छुट्टै टिम बनाएकै थिइनँ । यो कुरामा उहाँले मलाई ‘प्रत्येक प्रधानन्यायाधीशले आफ्नै सहयोगी टिम बनाउँछ, एउटाले प्रयोग गरेको टिमलाई अर्कोले गर्दैन, पुरानोबाट केही दिन त सहयोग लिन सकिन्छ तर पूरै कार्यकाल भने सम्भव हुँदैन’ भन्दै छुट्टै टिम बनाउन सल्लाह दिनुभयो । 

आफ्नो प्रधानन्यायाधीश पदको १ वर्ष १ महिना २३ दिनको कार्यकालमा मैले उहाँलाई जम्माजम्मी तीनपटक भेट गर्ने अवसर पाएँ । एकपटक, न्यायाधीश समाजले आयोजना गरेको उहाँको बिदाइ समारोहमा, दोस्रोपटक एक न्यायाधीशको छोराको विवाह भोजमा र तेस्रोपटक २० जेठ ०७४ मा बालुवाटारमा मेरो कार्यकालको अन्त्य हुनु तीन दिनपूर्व । मैले उहाँ र पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीसमेतलाई खाना खान निम्त्याएकी थिएँ । दुवै श्रीमान् बालुवाटार आउन गाह्रो मानिरहनुभएको थियो र मेरो करबलले मात्र हार्न नसकी आउनुभएको थियो । तर, त्यही साँझ एउटा एफएम रेडियोले समाचार प्रसारण गर्‍यो– केही पूर्वप्रधानन्यायाधीश र वर्तमान प्रधानन्यायाधीशसहित हुनेवाला प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र गर्न बालुवाटारमा गोप्य बैठक भयो । मलाई त्यो समाचार सुनेपछि एक प्रकारले उहाँहरूसँग फेरि अनुहार देखाउनसम्म पनि लाज लाग्यो । वास्तवमा पूर्वप्रधानन्यायाधीशले वर्तमान प्रधानन्यायाधीशसँग भेट गर्न नचाहने धेरै कारणहरू हुँदा रहेछन्, त्यसमध्येको मुख्य कारण मुद्दाको हारजितको सिफारिस गर्‍यो कि भन्ने आरोप आउने आशंका पूर्वप्रधानन्यायाधीशलाई हुँदो रहेछ ।

कल्याण श्रीमान् सेवानिवृत्त हुने दिन जतिजति अघि बढ्दै थियो, उतिउति मलाई चिन्ता लागेर आउँथ्यो । किनभने, म न्यायालयभित्रैबाट सबै दाउपेच बुझेर खारिएकी न्यायाधीश थिइनँ । म कानुन व्यवसायी पेसाबाट एकाएक सर्वोच्चमा आएकी थिएँ । मेरो कमजोरी के भने म अदालतभित्रका सबैलाई चिन्दैन थिएँ । त्यसो त पदमा बसेपछि इमानदारीका साथ काम गरेमा सफल हुन सकिन्छ भन्ने विश्वास थियो । तापनि, मलाई आफ्नो कार्यकाल आउन लागेको खुसीभन्दा उहाँको बिदाइको दिन आउन लागेकामा बढी चिन्ता थियो ।

अन्तत: त्यो समय आयो र बिदाइको दिन मैले बल्लतल्ल बिदाइ भाषण गरेँ, कार्यक्रम सम्पन्न भयो । तर, विडम्बना ! नेपाल बार एसोसिएसनका एक जना ब्राह्मण थरका कानुन व्यवसायी, जसले सदैव आरोप लगाए कि सुशीला कार्कीले जे गर्छिन्, त्यो एक पूर्वप्रधानन्यायाधीशको इसारामा हुने गर्छ ।

पुरुष प्रधानन्यायाधीश जोसुकै कुर्सीमा आसीन हुँदा यस्ता मनगढन्ते आलोचना आउँदैन तर महिलाको हकमा कामै गर्न सक्दिन भन्ने कस्तो नकारात्मक धारणा हो ? हर विधामा हर मान्छे जान्ने हुँदैन, तिनै विद्वान्लाई देवानी मुद्दा लेख्न दिएमा उनमा त्यो क्षमता नहुन सक्छ । बारका अचेलका धेरैजसो विद्वान्हरूको प्रवृत्ति कस्तो देखिन्छ भने प्रधानन्यायाधीशले उनीहरूको हुने/नहुने काम गरिदिएमा ऊ जस्तोसुकै किन नहोस् हाई–हाई हुन्छ । कानुन व्यवसायीको सवालमा जुन निष्ठा, जुन मर्यादा ठाकुरप्रसाद खरेल, शम्भुप्रसाद ज्ञवाली, कृष्णप्रसाद पन्त, मुकुन्द रेग्मी, गणेशराज शर्मा, मोतीकाजी स्थापित, वासुदेव ढुंगाना, कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, सर्वज्ञरत्न तुलाधर, रामानन्दप्रसाद सिंह र विश्वकान्त मैनालीहरूले आफ्नो समयमा राखे, त्यो वास्तवमा स्वर्णकाल थियो । अहिले त्यो सब रहेन ।

११ जेठ ०७३ मा अन्तर्राष्ट्रिय महिला न्यायाधीशको सम्मेलनमा कामु प्रधानन्यायाधीश भएर अमेरिका पुगी एक दिन भाग लिएर फर्किएपछि विमानस्थलबाट सरासर कल्याण श्रेष्ठलाई भेट गर्न गएको भन्ने दुष्प्रचार गरियो । जबकि, त्यसबखत उहाँ स्वयं विदेशमा हुनुहुन्थ्यो । मेरो संसदीय सुनुवाइका बखत एक जना कांग्रेसका सभासद्ले मसँग ठाडै प्रश्न राखे– ‘किन एक दिन मात्र अमेरिका बसेको र लगत्तै फर्किएको ?’ के एक दिन अमेरिका बसेर फर्कनु पाप हो ? त्यसको जवाफ के हुन सक्छ ? 

हाई काढिएको कार्यकाल

प्रधानन्यायाधीश खिलराज रेग्मी ३० फागुन ०६९ मा कार्यकारिणी प्रमुख बन्नुभयो, दामोदर शर्मा कायमुकायम प्रधानन्यायाधीश हुनुभयो । उहाँका प्रति मेरो आलोचना पनि छैन र प्रशंसा पनि छैन । उहाँ अदालतप्रति भन्दा बढी ईश्वरतर्फ निष्ठावान् हुनुहुन्थ्यो, यो कुरा जगजाहेर छ । आफ्नो कार्यकालभरि उहाँले अदालत र अदालती कामलाई भन्दा मन्दिर र देवस्थलको पूजाआजालाई बढी महत्त्व दिनुभयो ।

आरुबारी आश्रमबाट अदालत आउने गरी निस्कँदा बाटामा पर्नेजति मन्दिरमा ढोगभेट गरी बाँकी बचेको समय उहाँले अदालतलाई दिने गर्नुहुन्थ्यो । अर्थात्, उहाँ १२ बजे अदालत आए त्यतिबेला नै कज लिस्ट निस्किन्थ्यो, १ बजे आए १ बजे नै । त्यो समयसम्म हाई काढ्दै कालो चिया सुर्केर बस्नु हाम्रो बाध्यता हुन्थ्यो । उहाँको च्याम्बरमा हुने छलफलमा न्याय क्षेत्रको भन्दा बढी धर्मक्षेत्रको चर्चा हुन्थ्यो । कुन कुण्डमा लुगा लगाएर, कुन कुण्डमा नलगारै नुहाएको र कुन–कुन तीर्थस्थलको भ्रमण आदिमा के–के भए, त्यहीबारेमा चर्चा हुन्थ्यो । बिदा भयो कि उहाँ नारायणघाट वा अन्य तीर्थस्थल प्रस्थान गर्नुहुन्थ्यो । न्यायक्षेत्रको चर्चा नै नहुने, चियाको समयमा भेटघाटमा गए पनि वुद्धि–ज्ञान बढ्नेजस्तो नलागेपछि बिस्तारै म उहाँलाई भेट गर्न जान पनि छाडेँ । 

उहाँले हामीलाई मुद्दा तोक्दा सदैव सीके राउत वा अप्ठ्यारा र विवादित मुद्दा मात्र हुन्थे । उहाँ एकपटक मसँग रिसाउनु पनि भयो, त्यसको कारण थियो– तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाटका क्रममा कोइरालाले ‘सुशीलाको प्रधानन्यायाधीश हुने पालो आयो ?’ भनेर सोध्नुभएछ । दामोदरजीलाई लागेछ, म आफ्नो पालो आउनुपूर्व नै प्रधानन्यायाधीश बन्ने कोसिस गरिरहेकी छु । जबकि, मभन्दा अघि रामकुमारप्रसाद साह र कल्याण श्रेष्ठ बाँकी नै हुनुहुन्थ्यो । दामोदरजीको पालामा कज लिस्टको जुन बेथिति थियो, त्यो प्रधानन्यायाधीश साहको पालामा आएर मात्र नियमित बिहान १० बजे नै प्रकाशित हुन थालेको हो ।

उप्रेतीको दु:खान्त र वस्तीको अवकाश

प्रकाश वस्तीलगायत चार न्यायाधीशलाई स्थायी नगरिएपछि ७ माघ ०६९ मा चारै जना सेवाबाट बाहिरिनुभयो । म र गिरीशचन्द्र लालबीच वकालतको पुरानो सम्बन्ध भएकाले स्वाभाविक रूपमा हामीबीच बराबर सरसल्लाह र भेटघाट हुन्थ्यो । हामी दुवै तराईका थियौँ र हामी मिल्थ्यौँ पनि । गिरीशजी मेरा श्रीमान्को मित्र पनि हो । हामीले वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, प्रकाश वस्ती, ज्ञानेन्द्रबहादुर कार्की, भरतबहादुर कार्की आदिलाई स्थायी गराउन बारम्बार जोड गर्‍यौँ पनि । नभन्दै उहाँहरू फेरि ८४ दिनको दिन पुन:बहाल हुनुभयो तर स्थायी नभई एक वर्षको निम्ति मात्र । र, २९ चैत ०७० मा फेरि बाहिरिनुभयो, हाम्रो केही सीप चलेन ।

खासमा भट्टजीलाई एउटा भ्रष्टाचार मुद्दामा अभियुक्तलाई सफाइ दिने फैसला गर्न कांग्रेसवृत्तबाट दबाब थियो । उहाँले त्यस मुद्दाको फैसला गरेपछि नै ‘अब मेरो स्थायी हुन कठिन छ’ भनिसक्नुभएको थियो । उहाँलाई एक जना कांग्रेस समर्थित कानुन व्यवसायीले स्थायी हुन नदिने चुनौती नै दिएका थिए ।

न्यायपालिकामा काम गर्दा अचम्मका घटना देखियो र सुनियो पनि । माफिया र दल समर्थित कानुन व्यवसायीले न्यायाधीशको स्थायी–अस्थायी बन्न पाउने–नपाउने तय गर्ने र न्यायाधीशले प्रधानन्यायाधीश बन्न पाउने–नपाउनेसमेत पहल गर्नेसम्मको हिम्मत गरेको वा गरेरै देखाएको पनि प्रमाणित भयो । जस्तो : पोखरातिरका एक ब्राह्मण थरका प्रभावशाली कानुन व्यवसायी, जो तत्काल वकालत छाडी दामोदर श्रीमान्को भित्रिया भण्डारे हुन पुगेका थिए, ले आरुबारी आश्रमको सप्ताह पूजाका निम्ता मान्न जाँदा मेरा श्रीमान् दुर्गा सुवेदीसमेतलाई सुनाएर नेपालको न्यायपालिकामा अबको प्रधानन्यायाधीश क्रमश: को–को हुनेछन्, तिनको नाम–नामेसी घोषणा गर्दै ५० वर्षसम्मको योजना बताएका थिए । त्यस क्रममा उनले कसका भाइभतिजा उक्त लाइनमा क्रमश: छन्, सविस्तार खुलाएका थिए । 

क्रमिक रूपमा न्यायाधीशहरू सेवानिवृत्त हुँदै गएपछि सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गयो । नयाँ नियुक्ति भएको थिएन र अस्थायी न्यायाधीश प्रकाश वस्तीलगायतको पद स्थायी भएको पनि थिएन । त्यसअघि खिलराज रेग्मीको समयमा अस्थायी न्यायाधीश भरतराज उप्रेतीले राजीनामा गर्नुभयो । उप्रेती, वस्ती र मबीच दिदी–भाइको जस्तै अत्यन्त नजिकको सम्बन्ध बनेको थियो । हामी तीन जनाको बेन्चमा कहिल्यै कुनै कुराको विवाद भएन । भरतजीले राजीनामा दिने दिन कमसे कम प्रकाशजी र मैले बेन्च छाडेर दुई घन्टासम्म सम्झायौँ, अदालत नछोड्नूस् भनेर । उहाँले ‘यो मेरो विषय हो, मैले निर्णय गरिसकेँ’ भनी कठोर भाव देखाएपछि हामी स्तब्ध भयौँ ।

त्यसपछि प्रकाशजी र म केहीबेर कफी पिएर बडो उदास मनका साथ बस्यौँ । अपराह्न ३ बजेतिर प्रधानन्यायाधीशको च्याम्बरमा जाँदा भरतजी त्यहीँ हुनुहुन्थ्यो । दामोदर श्रीमान्ले माला लगाई बिदा गर्ने कुरा गर्दा भरतजीले ‘मैले लगाए पो तपाईंले मलाई माला लगाउने’ भनेपछि उहाँको बिदाइ भएन । अदालतको गाडीसमेत छाडेर पैदल गएको हामीले हेरिरह्यौँ ।

त्यसपछि प्रकाश वस्तीसमेत पनि २९ वैशाख ०७० मा अपहेलित हुँदै बिदा हुनुभयो । ज्ञानेन्द्र कार्की र तर्कराज भट्टले न्यायसेवामा लामो समयसम्म परिश्रम गरे पनि बिनाकुनै त्रुटि मात्र एक वर्ष समय बाँकी रहँदै छोड्नुपर्‍यो । वस्ती खारिएका योग्य न्यायाधिश हुनुहुन्थ्यो । उहाँमा हरेक कुराको क्षमता थियो र मुलुकलाई चाहिने व्यक्तित्व हुनुहुन्थ्यो । तर, सत्तामा आसीन केही स्वार्थीहरूलाई उहाँ नचाहिने हुनुभयो । त्यो दिन म स्तब्ध भएँ, जब उहाँहरूलाई न्यायाधीशमा निरन्तरता नदिई सडकमा धकेलियो । 

भरतराज उप्रेतीजी बेलाबेला फोनमा म र मेरा श्रीमान्सँग अन्तरंग कुरा गरिरहनु हुन्थ्यो । १२ वैशाख ०७२ को भूकम्प आउनु दुई दिनपूर्व उहाँको फोन आयो । उहाँले म र मेरा श्रीमान्लाई बबरमहलस्थित एक रेस्टुराँमा १३ वैशाखमा खाना खान र कुनै विदेशी महिलासँग परिचय गराउने कुरा गर्नुभएको थियो । हामी त्यो दिनको प्रतीक्षामा थियौँ तर भूकम्पले त्यो सम्भव भएन । १३ वैशाखमा हामीले उहाँलाई सम्पर्क गर्ने कोसिस गर्‍यौँ तर फोन लागेन । फेरि कहिल्यै सम्पर्क हुन सकेन । एकाएक उहाँको देहावसान भएको दिन ११ जेठ ०७२ मा एक जना सर्वोच्चका न्यायाधीशको फोनबाट थाहा भयो, उहाँले आत्महत्या गर्नुभएछ । अत्यन्त भारी मनका साथ शिक्षण अस्पतालमा श्रद्धाञ्जली दिन गएँ । एक त भूकम्पको त्रासदी, त्यसमाथि म आफैँ पनि बिरामी थिएँ, उहाँको देहावसानमा आँसु त आएन तर युद्धमा ठूलो हार भएको जस्तो महसुस भइरहेको थियो ।

 

प्रकाशित: कार्तिक १४, २०७४